प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दैछन्।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ३ बजे सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।
‘सरकारले यस बीचमा के-के कामको थालनी गर्यो भनेर जानकारी दिन लागिएको हो,’ प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले भने।
प्रधानमन्त्री ओली गत असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका हुन्।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा ७ बुँदे सहमति भएर ओली प्रधानमन्त्री बनेका थिए।
यसैबीच प्रधानमन्त्री ओलीले सत्तारूढ दलको बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सत्तारूढ दलको बैठक बोलाइएको थियो।
सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन्।
सरकारमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति सहभागी छन् भने जनमत पार्टीले समर्थन गरेको छ।