राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३९ जिल्लाका नेता, कार्यकर्तासँग अन्तर्क्रिया गरेर फर्किएपछि स्वतन्त्र जनप्रतिनिधिहरू बालेन शाह, गोपाल हमाल लगायतसँग मिलेर जानुपर्ने प्रस्ताव अघि सारेका छन्।
पार्टी सभापति रवि लामिछानेलाई बुधबार बुझाएको समीक्षा यात्राको प्रतिवेदनमार्फत् उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले यो प्रस्ताव एक वर्षअगाडि ‘नयाँ युगको संकल्प’ नामको राजनीतिक दस्तावेजमार्फत् पनि अघि सारेका थिए। तर त्यो प्रस्ताव केन्द्रीय कमिटीले फेल गरेको एक नेताले जानकारी दिए।
राष्ट्र निर्माण व्यक्तिगत नभई बृहत् संगठित र सामूहिक प्रयासबाट मात्र सम्भव रहेको उनको त्यतिबेलाको निष्कर्ष थियो।
गत स्थानीय निर्वाचनमा देशका विभिन्न स्थानमा स्वतन्त्र जनप्रतिनिधिहरुको उदय र राष्ट्रिय स्वतन्त्र पार्टीले आर्जन गरेको ऐतिहासिक जनविश्वास पुराना र स्थापित राजनीतिक दलहरूको बेथितिप्रतिको जन आक्रोश र नयाँ परिर्वतनकारी शक्तिहरूप्रतिको आशाको प्रमाण भएको उनले बताएका थिए।
‘पुराना जति एक हुने र नयाँ जति छुट्टिने भएमा जनताको परिर्वतनको आशामा कुठाराघात हुने सम्भावनालाई मध्यनजर गरी स्थानीय निर्वाचनमा उदायका स्वतन्त्र जनप्रतिनिधि लगायत सबै राष्ट्रभक्त र वास्तविक परिर्वतनकारी शक्तिहरुलाई एउटै राजनीति धारमा एकिकृत गर्न पार्टी पंक्ति सदा प्रयत्नशील रहनेछ। साथै पार्टीमा बौद्धिक र प्राज्ञिक व्यक्तिहरुलाई जोड्दै पार्टीलाई इमानदार, राष्ट्रभक्त, श्रमजिवी र विज्ञहरुको राजनीतिक धुव्रको रुपमा विकसित गर्नेछौं,’ त्यतिबेलाको राजनीतिक दस्तावेजमा भनिएको थियो।
तर महामन्त्री ढकालको ‘नयाँ युगको संकल्प’ केन्द्रीय कमिटीले अघि बढाउन चाहेन। बरु राजनीतिक दस्तावेजलाई नयाँ शिराबाट अघि बढाउने भन्दै रास्वपाले केन्द्रीय नेता, सांसदहरूलाई सातै प्रदेशका विभिन्न जिल्ला पठाएको थियो। नीति मन्थन पनि गरेको थियो। त्यसमार्फत् दस्तावजेलाई पूर्णता दिने कार्य पनि अलपत्र परेको अर्का नेताले बताए।
अहिले इलाम २ को उपचुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले जमानतसमेत जोगाउन नसकेपछि रास्वपाले महामन्त्री ढकाललाई देश दौडाहमा पठाएको थियो।
३९ जिल्लाका नेता कार्यकर्तासँगको अन्तरक्रियापछि उनले पुनः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धनगढी उपमहानगरपालिाका मेयर गोपी हमालसँग मिल्नुपर्ने निष्कर्ष निकालेका छन्।
महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै उनीहरूसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ।
‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्। उनको विचारमा या गैरराजनीतिक पद हो,’ महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ।
मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन् भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन्। राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ।
‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन्। २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय त गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन्। २०८९ चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना छ,’ महामन्त्री ढकालको भनाइ छ।
मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनले बताएका छन्। त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले बताएका छन्।
‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौं कि छैनौं पनि महत्त्वपूर्ण छ। अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खान्छ,’ उनले भनेका छन्।
पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा पार्टीले बिर्सिएको सन्दर्भ पनि उल्लेख गरेका छन्। रास्वपाले पनि सानादेखि ठूलासम्म ठाउँमा कता न कता राजनीति सुरू गरिसकेको बताएका छन्।
‘हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तह गैरदलीय बनाउने र स्वतन्त्र पार्टी पनि स्थानीय तह चुनावमा भाग नलिने हिम्मतसहितको निर्णय गर्न सके बालेनसँगको सहकार्य त्यति पर छैन,’ उनले भने।
मेयर बालेनले उठाउँदै आएको बागमतीलगायत नदी किनारका अनधिकृत बस्ती हटाउने विषय सरकारमा भएकाबेला सहयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
सभापति लामिछाने पहिलो पटक गृहमन्त्री भएका बेला पनि मेयर बालेनले बागमती लगायत नदी किनारका बस्ती हटाउने विषयमा छलफल भएको थियो। तर त्यतिबेला ठोस छलफल भने भएन।
अहिले सरकारमा भएका बेला बालेनलाई नदी तटका बस्ती हटाउन सहयोग गर्नुपर्ने उनले बताएका छन्।
‘त्यसो गर्ने हो भने बालेनसँगको सहकार्यको बाटो खोल्न सकिन्छ। बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ र यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन्। तर माहौल अहिलेबाटै बनाउन जरुरी छ,’ उनले भनेका छन्।
बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले पार्टीलाई थप क्षति मात्रै गर्ने उनले बताएका छन्। ‘आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको सट्टा मेयर बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रो लागि हितकर छ,’ महामन्त्री ढकालले प्रतिवेदनमा उल्लेख गरेका छन्।
मेयर बालेनसँगको सहकार्यको प्रस्तावप्रति केन्द्रीय नेताहरूसमेत त्यति सकारात्मक छैनन्। केन्द्रीय सदस्य गणेश कार्कीले हिजो जिम्मेवारी दिँदा ‘बालेनकै मान्छे’ भनेर आफूलाई पन्छाइएकोसमेत बताइसकेका छन्।
यद्यपि महामन्त्रीको प्रतिवेदनबारे असार १९ गते बुधबार बस्ने केन्द्रीय समितिले छलफल गर्नेछ। महामन्त्री ढकालले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नसमेत आग्रह गरेका छन्।
आफूले ३२ दिन देश दौडाहामा निस्किएर तयार पारेको प्रतिवेदन पार्टीका नेता–कार्यकर्ताले मात्र नभई पार्टीलाई भोट हाल्ने १३ लाख मतदाताले पढ्न पाउनुपर्ने उनको भनाइ छ।
यो पनि:
रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक
महामन्त्री ढकालले बुझाएको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौं: शिशिर खनाल (भिडिओ)
'आलोचना गर्दैमा पददेखि घोक्र्याइँदैन भन्ने सबुत म छु'
प्रदेश संरचना खारेज गर्नुपर्छः रास्वपा महामन्त्री ढकाल
हाम्रो पार्टी विवेकशील बन्ने बाटोमा छ भन्दा म महामन्त्रीबाट घोक्र्याइन सक्छु: मुकुल ढकाल
रास्वपा महामन्त्रीको प्रतिवेदनः ओली र प्रचण्डसँग भन्दा बालेनसँग मिल्नु ठिक
चीनको 'पिपुल्स कंग्रेस' बाट प्रेरित रास्वपाको प्रदेश परिषद्को प्रस्ताव: महामन्त्री ढकाल