राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले प्रदेश संरचना खारेज हुनुपर्ने बताएका छन्।
बुधबार बेलुकी सिंहदरबारबाहिर पत्रकारहरूसँग कुराकानी क्रममा महामन्त्री ढकालले प्रदेश संरचना राज्यले जनतामाथि गरेको भद्दा मजाक भन्दै यसलाई खारेज गर्नुपर्ने बताएका हुन्।
'अबका दिनमा इन्तु, किन्तु, परन्तु, केही नभनी, विगतमा जे लेखेको भए पनि, प्रदेश संरचना खारेज गर्नुपर्छ भन्ने पक्षमा उभिनुपर्छ,' उनले भने, 'प्रदेशलाई कुनै खालको कमा, फुलस्टपबिना खारेज नै गर्नुपर्छ। राजनीतिक मुद्दाहरूमा पनि प्रदेश खारेज गर्नुपर्छ। सामान्य बाटो, अस्पताल पनि नपुगेको स्थानीय तहलाई नगरपालिका घोषणा गरिएको छ। यो राज्यले जनतामाथि गरेको भद्दा मजाक हो। यसलाई सच्याउनुपर्छ।'
८० किलोमिटर पैदल यात्रा र ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे समीक्षा यात्रा क्रममा आफूले जनताको माग प्रदेश नभएको बुझेको पनि उनले बताए।
'यात्रा गर्दा मैले देखेको कुरा हो, जनताको माग प्रदेश संरचना होइन, प्रशासनिक सुधार रहेछ। आफ्नो घर नजिकको सरकारी कार्यालयले आफूलाई सहज सुविधा दियोस् भन्ने रहेछ। प्रशासन सुधारियोस् भन्ने रहेछ। त्यसलाई पुराना राजनीतिक दलहरूले तोडमोड गरेर प्रदेश भनेर निकालेका रहेछन्। तर प्रदेश भनेको राजनीतिक दलका नेता-कार्यकर्ता व्यवस्थापनको थलोबाहेक केही भएनछ। त्यसैले रास्वपा प्रदेश सुधारतिर जानुपर्छ,' उनले भने।
उनले समीक्षा यात्राको प्रतिवेदन तयार पारेर पार्टी सभापतिलाई बुझाएको र उनलाई नै सार्वजनिक गरिदिन भनेको पनि जानकारी दिए। पार्टीका शुभचिन्तक, मतदाता, कार्यकर्ता, नेता सबैले यसबारे थाहा पाउनुपर्ने उनको भनाइ छ।
'प्रतिवेदन अध्ययन गरी सार्वजनिक गरिदिन सभापतिलाई नै भनेको छु। उहाँले अध्ययन गरेर, पार्टीका अरू नेतालाई पनि बुझाएर सार्वजनिक गर्छु भन्ने प्रतिबद्धता जनाउनुभएको छ,' महामन्त्री ढकालले भने।
उनले प्रतिवेदन बुझाएको बारे एक विज्ञप्ति पनि जारी गरेका छन्।
विज्ञप्तिमा उनले समीक्षा यात्राबारे जानकारी गराउँदै भनेका छन्, 'यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।'
महामन्त्री ढकालको पूरा विज्ञप्तिः
उपरोक्त सम्बन्धमा पार्टीको निर्देशन बमोजिम म पार्टीको राजनीतिक यात्राको समीक्षा गर्न देशका विभिन्न जिल्लाका पालिकाहरुमा पुगी पार्टीको संगठन, राजनीतिक चरित्र, आर्थिक व्यवस्थापन, पार्टीका नेता, उम्मेदवार छनौट तथा राष्ट्रका विविध विषयहरूका सन्दर्भहरूमा केन्द्रित रही अन्तरक्रिया गरी फर्केको विदितै छ।
जेठ ६ गते पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट सुरू गरेको समीक्षा यात्रा, ३८ वटा जिल्लाको माटो छोइ, २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरी, महलदेखि जंगलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखी दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भखरै ट्र्याक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौं आइपुगेर यात्रा समापन गरेँ।
उक्त समीक्षा यात्राको प्रतिवेदन यसै पत्रसाथ सभापति ज्यूसमक्ष पेश गर्दछु। यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने मेरो विश्वास छ। त्यसैले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता छ। यसलाई तपाईंमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्याइदिनु हुन हार्दिक अनुरोध समेत गर्दछु।
यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्। सहयोगका लागि धन्यवाद।---
यो पनिः