राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना देखाएका छन्।
इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्ता भेटका लागि निस्किएका महामन्त्री ढकालले यस्तो निष्कर्ष निकालेका हुन्।
देश दौडाहापछि महामन्त्री ढकाललाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको थियो। ढकालले बुधबार साँझ ६ बजे सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउने सेतोपाटीलाई बताए।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने बुझाउन तयार पारिएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ।
महामन्त्री ढकालले महाभारतको दृष्टान्तसमेत दिएका छन्।
‘पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो। उनलाई भूत, भविष्य र वर्तमान देख्ने गरी त्रिकालदर्शनको शक्ति प्राप्त थियो। त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले सहदेवलाई आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए, त्यसैले महाभारतमा सहदेवलाई सबै थाहा भए पनि उनी चुप बसे,’ महाभारतको एउटा सन्दर्भ उल्लेख गर्दै उनले भनेका छन्।
उनले अहिले रास्वपासँग जनमत नभएको पनि उल्लेख गरेका छन्। यही जनमतका आधारमा राष्ट्रिय पार्टी बन्न हम्मे हुने उनको निचोड छ।
‘पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला। भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ,’ प्रतिवेदनमा उल्लेख छ।
‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो। भागवत गीतालाई मैले सधैँ मानेको छु, र श्रीकृष्णको वचनलाई सधैं टेरेको छु। यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन्। तर पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाको रूपमा रहेकाले, मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ उनले भनेका छन्।
यसरी दुर्घटना हुँदैछ भन्दा महामन्त्रीबाट हटाइनसक्ने पनि विवेचना गरेका छन्।
‘श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुनसक्छ, अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन्। आगामी राजनीतिक जीवनका लागी यो घातक सावित हुनेछ तथापि यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुञ्जियो– म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस्!,’ उनले भनेका छन्।
महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए।
त्यसक्रममा २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरेको उनले बताए।
८० किलोमिटर पैदल यात्रा र ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे यात्रा समीक्षा गरेको उनले बताए।