माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट तीन जना सदस्य चुनिदैछन्।
६ वर्षअघि राष्ट्रिय सभामा निर्वाचित भएका जाजरकोटका भैरबसुन्दर श्रेष्ठ, कालीकोटका नरपति लुवार र सुर्खेतका नन्दा चपाइँको पदावधि सकिँदैछ।
श्रेष्ठ अन्य क्लस्टर, लुहार दलित क्लस्टर र चपाइँ महिला क्लस्टरबाट चुनिएका थिए। खाली भएका यिनै क्लस्टरमा सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनबाट अन्य क्लस्टरमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक र महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लको उम्मेदवारी परेका छन्।
नेकपा एमालेले अन्य क्लस्टरमा मुगुका डिल्ली भट्ट, महिलातर्फ हुम्लाकी विमला शाही र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाएको छ।
के छ उम्मेदवारहरूको पृष्ठभूमि?
सत्ता गठबन्धनमा रहेको कांग्रेसबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका कृष्णबहादुर रोकाया रूकुम पश्चिमका हुन्। बहुदल स्थापनापछि राजनीति सुरू गरेका रोकाया नेपाल विद्यार्थी संघ रूकुमको संस्थापक अध्यक्ष हुन्। नेपाल विद्यार्थी संघ रूकुमको अध्यक्षमा उनी दुई कार्यकाल निरन्तर रहे।
२०५३ सालदेखि २०५७ सम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य थिए। २०५७ सालको दशौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै जिल्लाको पार्टी सचिव बने। २०६७ सम्म उनी जिल्ला सचिव भएर काम गरेका थिए। १४ औं महाधिवेशनसम्म पनि रोकाया निरन्तर महासमिति सदस्य निरन्तर थिए।
२०७० सालको संविधान सभा निर्वाचनमा रूकुम (१) बाट चुनाव लडेका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि रूकुम पश्चिम प्रदेश (क) बाट उम्मेदवार बनेर चुनाव लडे। यी दुवै निर्वाचनमा उनी पराजित भए।
२०६२-६३ को दोस्रो जनआन्दोलनको बेला सक्रिय रूपमा लागेका उनी एक हप्ता प्रहरी हिरासतमा बसेका थिए।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका विष्णु विक कालीकोटका हुन्। २०४६ मा शिक्षकबाट राजीनामा दिएर उनी राजनीतिमा लागेका हुन्। सुरूमा नेपाल मजदुर किसान पार्टीबाट उनले आफ्नो राजनीतिक यात्रा सुरू गरे।
२०४९ सालमा भएको स्थानीय निकायको चुनावमा मालकोट गाविसको अध्यक्ष निर्वाचित भए।
माओवादीले विद्रोह सुरू गर्नुभन्दा एक वर्षअघि उनी माओवादीमा प्रवेश गरे। विक २०५१ सालमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। २०५४ सालमा उनी भूमिगत भए।
माओवादीमा रहँदा उनले मोर्चाको नेतृत्व गरेका थिए। नेपाल दलित मुक्ति मोर्चाको संस्थापक जिल्ला अध्यक्ष बनेका उनी मोर्चाकै भेरी कर्णाली अध्यक्ष, केन्द्रीय समिति सदस्य र २०६१ सालमा केन्द्रीय सचिव बने।
विक अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति सदस्य तथा कालीकोट इञ्चार्ज छन्।
नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी सावित्री मल्ललाई स्थानीय सरकार सञ्चालनको अनुभव छ। उनी २०७४ सालको स्थानीय तह निर्वाचनबाट दैलेखको नारायण नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिइन्। त्यतिबेला उनी नेकपा एमालेमा थिइन्।
२०४३ सालमा नेपाल मजदुर किसान पार्टीमा आएर मल्लले राजनीतिक यात्रा सुरू गरेकी हुन्। उनी ०५४ सालमा जिल्ला विकास समितिको सदस्य बनिन्।
२०६२-६३ को जनआन्दोलनका क्रममा दैलेखमा सुरूमा गिरफ्तार भएकी थिइन्। उनी प्रहरी हिरासतमा पनि बसिन्।
एमालेमा फुटको अवस्था आएपछि उनी माधव नेपालको पक्षमा उभिइन्। अहिले उनी नेकपा (एस) को केन्द्रीय सदस्य तथा दैलेख इञ्चार्ज छिन्।
नेकपा एमालेबाट उम्मेदवार बनेकी विमला शाही हुम्लाकी हुन्। उनी हुम्लाको चंखेली गाउँपालिकाको उपाध्यक्ष भएर पनि काम गरिसकेकी छन्। २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावमा सहभागी हुँदा उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०६० सालबाट नेकपा एमालेको सदस्यता लिएकी उनले बीचमा चार वर्ष भने राजनीतिमा सक्रिय भइनन्। त्योबेला उनी शिक्षण पेशामा आवद्ध भइन्।
विमला २०७४ सालम पार्टीको जिल्ला कार्य समितिमा सदस्य भएर सचिवालयमा समेत बसेर काम गरिन्। अहिले पार्टीको जिल्ला कमिटीमा उपसचिव छिन्।
दलित कोटामा उम्मेदवारी दिएका हिक्मत विक दैलेखका हुन्। उनी २०४६ सालबाट एमालेमा आवद्ध भएका हुन्। उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनका बेला जिल्ला परिषद सदस्यमा मनोनित भएका थिए।
२०५४ पछि साविकको भैरीकालिकाथुम गाविसको सक्रिय दलको सचिव भएका विक २०६१ मा इलाका कमिटीको उपसचिव र २०६२ सालमा जिल्ला कमिटी सदस्य भएका थिए। जिल्ला कमिटीको सचिवालय सदस्यमा रहेर पनि उनले लामो समय काम गरेका थिए।
नेकपा हुँदा उनी भैरवी गाउँपालिकाको अध्यक्ष थिए। उनले पार्टीको प्रदेश कमिटी सदस्य भएर पनि काम गरेका छन्।
२०७७ मा भएको राष्ट्रिय भेलाबाट नेपाल विद्यार्थी मुक्ति समाजको प्रदेश अध्यक्ष बने। छैटौं राष्ट्रिय सम्मेलनबाट नेपाल विद्यार्थी मुक्ति समाजको केन्द्रीय उपाध्यक्ष र कर्णाली इञ्चार्ज बने।
एमालेबाटै उम्मेदवार बनेका डिल्ली भट्ट मुगुका हुन्। २०३८ सालबाट राजनीतिक यात्रा सुरू गर्न खोजेपनि उनले बीचमा निरन्तरता दिएनन्। उनी केही समय नेपाल सरकारको कर्मचारीका रूपमा काम गरे।
सन् १९९४ मा उनले जापानमा बसेर इञ्जिनियरिङ पढेका हुन्। समाज कल्याण परिषदको सचिव भएर काम गरिसकेका भट्ट अहिले नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्य हुन्।