बाँकेका योगराज ढकाल 'रिगल' लाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको छ।
बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले बिहान दस बजेपछि रिगललाई अदालतमा पेश गरिएको सेतोपाटीलाई बताए।
अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्ने छ।
रिगललाई कुन कारागारमा पठाउने भन्ने कुरा कारागार व्यवस्था विभाग र अदालत दुबैले तय गर्न सक्ने एसपी बोहोराले बताए।
‘अहिलेसम्म कहाँ पठाउने भन्ने यकिन भइसकेको छैन,’ एसपी बोहोराले भने, ‘अदालतको आदेश कुर्छौं र त्यो पनि नभए कारागार व्यवस्था विभागको आदेश कुर्ने पर्ने हुन सक्छ।’
यी दुबै निकायले निर्णय नगरे रिगललाई जिल्ला कारागार बाँकेमै पठाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना पनि एसपी बोहोराले बताए।
अर्का एक प्रहरी अधिकारीले भने रिगललाई बाँके कारागारमा राख्न उपयुक्त नरहेको धारणा राखे।
‘ज्यान मुद्दामा सजाय भोगिरहेका सोही समूहका व्यक्तिहरू पनि बाँके कारागारमै छन् र रिगललाई त्यहाँ पठाउँदा झडपको स्थिति आउन सक्ने आँकलन गरिएको छ,’ उनले भने, ‘त्यही भएर यसअघि पनि रिगललाई बाँके कारागारमा नराखी दाङ कारागारमा पठाइएको थियो।’
रिगल असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा पाएर छुटेका थिए।
सर्वोच्च अदालतले बिहीबार आममाफी बदर गर्दै तत्काल रिगललाई पक्राउ गर्न परमादेश जारी गरेको थियो। त्यसको दुई घन्टा भित्रै नेपालगञ्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए। रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए।