नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नचाहिरहेको आरोप लगाएका छन्।
दाङको तुलसीपुरमा शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शान्ति प्रक्रियालाई गिजोलेर प्रचण्ड त्यसैमा खेल्दै आफूले राजनीति गर्न खोजिरहेको बताएका हुन्।
'प्रचण्ड आफैंले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नखोजिरहेको हामी देख्छौं,' उनले भने, 'शान्ति प्रक्रिया टुंगोमा पुर्याउँदा आफ्नो राजनीति सकिन्छ भन्ने प्रचण्डलाई लागिरहेको छ।'
नेपाल कम्युनिस्ट पार्टीको सरकार हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन पहल गरे पनि प्रचण्डकै कारण त्यो सफल हुन नसकेको उनले बताए।
'केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन के गर्नुपर्छ र त्यसका लागि तपाईंहरू कांग्रेससँग सल्लाह गर्नुहोस्, त्यो टुंग्याउने कुरामा मेरो साथ रहन्छ भन्नुभयो,' महासचिव पोखरेलले कार्यक्रममा भने, 'तर, उहाँहरूले कुनै तत्परता र उत्सुकता देखाउनुभएन।'
एमाले महासचिव पोखरेलले अहिले पनि त्यही भइरहेको बताए। संक्रमणकालीन न्यायका सन्दर्भमा विश्वव्यापी मान्यता जे छ, त्यसलाई कुल्चिएर शान्ति प्रक्रिया नटुंगिने पोखरेलले बताए। त्यसका मापदण्डहरूभित्र रहेर अगाडि बढ्न खोजे बल्ल एमालेको साथ रहने पनि उनले बताए।
प्रचण्डले मानवताविरूद्धका गम्भीर प्रकारका अपराधलाई उन्मुक्ति दिने सन्दर्भबाट पैरवी गर्न थाले, त्यो विषयमा एमालेको साथ नरहने उनले पनि बताए।
'रोल्पाको आजाङमा घरभित्रका मानिसलाई आगो लगाएर हत्या गरियो र बाहिर निल्कन खोज्नेलाई गोली हानेर मारियो,' पोखरेलले भने, 'त्यो द्वन्द्व वा युद्ध हो र? त्यो त अपराध हो नि।'
शान्ति प्रक्रियाका नाममा यस्ता विषयले उन्मुक्ति नपाउने पोखरेलको भनाइ थियो। गम्भीर प्रकृतिका घटनाबारे अदालतमा मुद्दा चलाउने कुरा शान्ति प्रक्रियाको विषय बन्नुपर्नेमा प्रचण्ड सरकार तयार भए एमाले पनि तयार रहेको उनले बताए।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले जति दिन गठबन्धन सरकार टिकिरहन्छ, त्यति मुलुक संकटमा फस्दै जाने समेत बताए।
'प्रधानमन्त्री प्रचण्ड भारत, चीन भ्रमणमा जाँदा नेपालको हितबारे पैरवी गर्न सक्नु हुन्न,' उनले भने, 'देशको प्रतिनिधित्व गर्दै भ्रमणमा जाने प्रधानमन्त्रीबाट यति आँट हुँदैन भने देश र जनताको हित कसरी हुन सक्छ?'
नयाँ नक्सा, नेपालको गुमेको भूभाग, डुबान, इपिजी प्रतिवेदन कार्यान्वयन, भैरहवा विमानस्थलको हवाई रूट लगायत विषयमा बोल्दै नबोली भारतले जुनजुन जलविद्युत परियोजना माग गरेको थियो, प्रधानमन्त्रीले त्यो हस्तान्तरण गरेको र बदलामा मुर्रा राँगा लिएर आएको महासचिव पोखरेलले टिप्पणी गरे।
चीनमा पनि प्रचण्डले राष्ट्र हितबारे केही नबोलेको उनको आरोप थियो। केपी ली प्रधानमन्त्री हुँदा चीनले थुप्रै विषयमा सहयोगको प्रतिबद्धता र प्रक्रिया अगाडि बढाएको भए पनि प्रचण्डले कुनै काम गरेर देखाउन नसकेको उनले बताए।
त्यस्तै प्रचण्ड गठबन्धनभित्र गठबन्धन बनाएर सत्ता टिकाउने र कांग्रेससँग बार्गेनिङ गर्ने खेलमा लागिरहेको उनको भनाइ थियो।
'गठबन्धनभित्र गठबन्धन बनाएर प्रचण्ड सत्ता टिकाउने खेलमा लाग्नुभएको छ,' पोखरेलले भने, 'समाजवादी मोर्चा, सत्तामा रहेकाको मोर्चा, सत्ता आफैं गठबन्धन छ, त्यस भित्र फेरि अर्को गठबन्धन, निश्चित पार्टीको छुट्टै गठबन्धन! त्यो कांग्रेससँग बार्गेनिङ गर्न बनाइएको मोर्चा हो।'
त्यस्तो गठबन्धन र मोर्चाको नेपालको राजनीतिमा कुनै अर्थ नरहेको उनले बताए।
कांग्रेससँगको सहकार्यमा बनाइएको समाजवादी मोर्चाले समाजवादको यात्रा तय गर्छ भन्नेमा कसैलाई विश्वास नरहेको उनले बताए। यसले यथार्थमा कांग्रेसलाई कमजोर बनाउने भएकाले कांग्रेसले गठबन्धनबाट निस्किन आँट गर्नुपर्ने भनाइ राखे।
'कांग्रेस नेतृत्वले बुझ्न जति ढिलो गर्छ, त्यति नै राष्ट्रिय राजनीतिमा चुक्छ,' पोखरेलले भने, 'कांग्रेसका केही साथीमा पनि यो चिन्ता हामी देख्छौं। त्यो समाजवादी मोर्चाका माध्यमबाट गरिएको बार्गेनिङको गठबन्धनबाट कांग्रेस बाहिर निस्किन आवश्यक छ।'
निर्वाचनपछि प्रचण्डले एमालेसँग मिलेर काम गर्ने वाचा गर्दा उनलाई पत्याउनु गल्ती भएको महासचिव पोखरेलले स्वीकार गरे।
'विगतमा साना पार्टीलाई बोक्ने गल्ती कांग्रेसले पनि गरेको हो र एमालेले पनि गरेको हो,' उनले भने, 'आज मुलुकले जे दुख पाएको छ, ठूला पार्टीले साना पार्टीलाई बढी प्रोत्साहन गर्नुको परिणाम पनि हो।'
एमालेले त्यो महसुस गरिसके पनि कांग्रेसले नगरेको उनको भनाइ थियो।
कांग्रेससँग नयाँ समीकरण बन्न सम्भव छ भन्ने प्रश्नमा एमाले महासचिव पोखरेलले अहिले एमालेलाई सत्ताको कुनै मोह नरहेको र गठबन्धन छोड्न तयार रहे कांग्रेसलाई सघाउने कुरामा शंका नरहेको बताएका थिए।
मुलुकको अहिलेको परिस्थिति छिटोभन्दा छिटो समाधान गर्न बलिया राष्ट्रिय शक्तिको निर्माण जरूरी रहेको उनले बताए। निराशाको लाभ लिने नाममा नयाँ शक्तिलाई उचालेर जनमत भड्काउने प्रयत्न भइरहेको र यसले समस्याको समाधान नहुने उनले बताए।
त्यस्तै उनले धार्मिक अतिवादलाई राजनीतिको विषय बनाएर राजनीति गर्न खोज्नेले मुलुकलाई अझ संकटमा पार्ने चिन्ता जाहेर गरे।
'लोकतन्त्र र गणतन्त्रभित्रको समाधान पश्चगमन र प्रतिगमन होइन,' पोखरेलले भने, 'जनताले फालेको राजतन्त्रबाट फेरि समस्याको समाधान खोज्ने कुरा मुलुकलाई पछाडि धकल्ने प्रयत्न हो। अब मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत स्तरको लोकतन्त्र मात्रै हुन सक्छ। कुनै अधिनायकवादी शासन व्यवस्था जनताको चाहना होइन।'
फरक प्रसंगमा उनले विगतमा सर्वोच्च अदालतले व्याख्या गरेअनुरूप कोशीमा निर्दलीय सरकार बन्न पुगेको र लोकतन्त्रमा त्यसलाई उचित मान्न नसकिने बताए।
कांग्रेसका आठ जना सांसद आएपछि एमालेले सहयोग र विगतमा उनीहरूले गरेको व्याख्याको आफूहरूले प्रयोग मात्रै गरिदिएको उनको भनाइ थियो।