नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना सुरू भएको छ।
मतदान सम्पन्न भएको झन्डै १५ घन्टापछि मतगणना सुरू भएको हो। वीरेन्द्रनगरस्थित सिटी हलमा मतगणना सुरू भएको उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले बताए।
कर्णाली कमिटी चयनका लागि आइतबार राति ९ बजे मतदान सकिएको थियो। ढिला भइसकेकाले रोकिएको मतगणना आज बिहान पौने १२ बजेदेखि सुरू भएको हो।
मतगणना सुरू हुनुअघि उम्मेदवारहरू छलफलमा बसेका थिए। अध्यक्षका तीन जना उम्मेदवार र उनीहरूका एकएक जना प्रितिनिधि मतगणना स्थलमा बस्ने सहमति भएपछि मतगणना सुरू भएको हो।
नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ। तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन्। तीमध्ये ४४ जना निर्विरोध चयन भएका छन्।
प्रदेश अध्यक्षमा सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकाया उम्मेदवार छन्।
गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार हुन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।प्रकाश रोकायाको भने कुनै समूह छैन।
यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महातारा उम्मेदवार छन्।
सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।
उपसचिवमा ९ जनाको उम्मेदवारी छ। मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, रुकुम पश्चिमका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।