नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सबैको नेता हुन आफू समानुपातिक निर्वाचन प्रणालीको तर्फबाट चुनावमा जान लागेको बताएका छन्। सोमबार सेतोपाटीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘मलाई धेरै ठाउँबाट उठ्नुपर्छ भनेर प्रस्ताव आयो। सबैको नेता हुनका निम्ति समानुपातिकमा बसेँ,’ उनले भने।
उनलाई यसअघि तीन क्षेत्रबाट निर्वाचनका लागि सिफारिस गरिएको थियो। रोल्पा र दाङका दुई वटा क्षेत्रबाट निर्वाचन लड्न सिफारिस भएका थिए। तर सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको थियो। जसमा उनको नाम पनि सिफारिस भएको थियो।
माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म उनले चार वटा निर्वाचन जितिसकेका छन्। उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। २०४८ र २०७० सालमा रोल्पा र २०६४ र २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए।
उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एकपटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।
यसपटक उनले समानुपातिकतर्फ रोज्नुको कारणबारे विभिन्न अनुमान गरिएको छ। एमाले नेता-कार्यकर्ताले उनले एमाले महासचिव शंकर पोखरलसँग 'वक-ओभर' गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। २०७४ सालमा वाम गठबन्धन भएकाले पोखरेल प्रदेश सभाको उम्मेदवार बनेका थिए। पोखरेल यो निर्वाचनमा संघीय संसदको उम्मेदवार बन्दैछन्। महराले पोखरेलसँग डराएर भन्दा पनि आफैंसँग डराएर प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नबनेको माओवादीका एक नेताले बताए।
'उहाँ शंकर पोखरेलसँग भन्दा पनि रोशनी शाह प्रकरणसँग डराउनुभएको हो। उहाँले चुनाव त एक्लै पनि जित्नुहुन्छ। तर चुनावका बेलामा धेरै विषय उचालिन सक्छ भनेर पछि हट्नुभएको हो,' ती नेताले भने, 'उहाँले अरूलाई अवसर दिनुभएको पनि हो। अब त्यो क्षेत्रमा स्थायी कमिटी सदस्य रेखा शर्माको सम्भावना धेरै छ।'
दाङ क्षेत्र नम्बर २ बाट महरा र शर्मासँगै निर्मल आचार्य पनि सिफारिस भएका छन्।
महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएकी थिइन्। पछि शाहीकै बयानलाई मुख्य आधार मान्दै काठमाडौं जिल्ला अदालतले महरालाई सफाइ दिएको हो।