लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएको छ।
अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत प्रत्यक्ष चुनाव लड्ने गरी अन्य नेताहरू समावेश रहेको समानुपातिक उम्मेदवार सूची लोसपाले बुझाएको छ।
पार्टीका नेता केशव झाले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ करिब २०० उम्मेदवारको सूची बुझाइएको बताए।
‘शीर्ष नेताहरू सबै प्रत्यक्षमा चुनाव लड्नुहुन्छ,’ उनले भने।
प्रदेशसभातर्फ समानुपातिकमा सबै प्रदेशका लागि बन्दसूची बुझाइएको उनले बताए। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आइतबार र सोमबार बन्दसूची पेश गर्न समय दिएको थियो।