संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डले आफूलाई हप्कीदप्की गरेपछि पिएसओले उजुरी दिएको बताएका छन्।
आइतबार सेतोपाटीसँग कुराकानी गर्दै पर्यटन मन्त्री श्रेष्ठले आफू समय लिएर त्यहाँ गएको र लाइनमै बसेको अवस्थामा सुरक्षा गार्डले दुर्व्यवहार गरेको दाबी गरे।
'क्यानडामा हुने आइकाओको मिटिङमा जानका लागि म त्यहाँ गएको थिए। धेरै लामो लाइन पनि थिएन। तर ती सुरक्षा गार्डले सबैलाई थर्काउँदै आएका थिए,' मन्त्री श्रेष्ठले भने,'मेरो सुरक्षा टोलीले मन्त्री हो भनेपछि उनले मलाई मन्त्रीसन्त्री मतलब छैन भन्दै झन् थर्काएका थिए। उनी म पनि सेनाकै भुपू भन्दै रिसाएका थिए।'
आफू मन्त्री भएको परिचय दिँदासमेत सुरक्षा गार्डले उल्टै 'आइ नो' भन्दै झर्किने र सन्किने गरेको श्रेष्ठले बताए।
जनताकै पैसाले चलेको भिएफएसमा सर्वसाधरणलाई समेत ‘दुर्व्यवहार’ गर्ने गरिएको उनको तर्क छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराका अनुसार
पक्राउ पर्नेमा गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ छन्। उनीमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने तयारी थालेको छ।
प्रहरीका अनुसार घटना गत शुक्रबारको हो।
छाया सेन्टरमा बायोमेट्रिक्सको कामका लागि मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए।
मन्त्रीका पिएसओले उनी मन्त्री भएको बुझाउन प्रयास गर्दा पनि उनी नमानेको स्रोतले बतायो।
उनले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ धकेलाधकेलको अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। त्यसपछि पिएसओमार्फत् जाहेरी दिएर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।