हाम्रा स्थानीय सरकार
सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो। गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ। यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।
'मेयरसित मेरो पार्टी त मिल्दैन कि तर उसको टिमले यहाँ बहुत राम्रो काम गरेको छ हाउ!'
सूर्योदय नगरपालिका–३, तीनखुट्टेका ६० वर्षीय पेमा लामा एमालेका पुराना कार्यकर्ता हुन्। कुराकानीमा थाहा भयो, माधवकुमार नेपाल लगायतका नेकपा (एकीकृत समाजवादी) का नेताहरूसँग उनी रूष्ट छन्।
पार्टी विभाजन भएपछि सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई एकीकृत समाजवादीतिर लागे। पेमाले मेयर र उनको टिमको भने तारिफ गरे।
'तपाईंको छिमेकी कि आफन्त हो मेयर सा'ब?' हामीले गरेको प्रश्नबाट उनी झन्डै बिच्किए।
'मेयर गोर्खेको, म यहाँ तीनखुट्टेको, ऊ राई म शेर्पा, अनि के को छिमेकी, के को आफन्त?'
'तपाईंलाई रिस उठ्ने पार्टीमा गएका मेयरको राम्रो कुरा गर्नुभयो त अनि?' हामीले पेमालाई बोल्न हौस्यायौं।
'राम्रो काम गरेकोलाई त राम्रो भन्नु परिहाल्यो नि! मैले अघि भने नि, यहाँ उनीहरूले राम्रो काम गरेका छन्,' पेशाले पूर्णकालीन किसान पेमाले भने, 'अहिलेसम्म नराम्रो गरेको थाहा पाएको छैन।'
एक दर्जनभन्दा बढी पत्रकार, उत्तिकै संख्यामा राजनीतिज्ञ, जिल्ला समन्वय समितिका पदाधिकारी, शिक्षक, पर्यटन व्यवसायी र प्रदेश सरकारका मन्त्रीहरूलाई हामीले सोधेका थियौं– प्रदेश १ मा राम्रो काम गरेको नगरपालिका कुन हो? किन?
यी मध्ये बहुसंख्यकले इलामको सूर्योदय नगरपालिकाको नाम लिए। यसपछि हामी उतै गयौं।
दिन घमाइलो थियो। आँगनमा घाम तापिरहेका एक जना वृद्धसामु हामी रोकियौं।
हामी पत्रकार, तपाईंसित गफ गरौं भनेर आएका भनेपछि उनले बस्न इशारा गरे। उनले आफ्नो नगरबारे दिल खोलेर कुरा गरे।
नयाँ उचाइमा शैक्षिक विश्वासः
आफूले गरेको राम्रो कामबारे केही सुनाउन आग्रह गर्नासाथ अधिकांश जनप्रतिनिधि भन्न थाल्छन्– यति किलोमिटर सडक, यति वटा पुल, भ्यूटावर! इत्यादि।
सूर्योदयका जनप्रतिनिधिहरू चाहिँ शिक्षा क्षेत्रमा गरेको कामबाट कुरा सुरू गर्छन्। किसानका लागि बनाइएका योजना र तिनको कार्यान्वयनले दिएको परिणामबारे कुरा गर्छन्।
नगरपालिकाको वडा नम्बर ३ मा रहेको बौद्धधाम माध्यमिक विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै थियो। एउटा कक्षामा भर्ना भएका कतिपय विद्यार्थी अर्को कक्षामा नपुग्दै स्कुल छाडेर हिँड्थे।
यो क्रम झन् बढ्दै गयो। एक दशक अघिसम्म सरदर ६ सयभन्दा बढी विद्यार्थी पढ्थे। घट्दा घट्दै २०७४ सालमा ७० जनामा सीमित भयो। यस्तो अवस्थाले शिक्षकहरू चिन्तित थिए।
'लगातार विद्यार्थी घट्ने समस्याले हाम्रो स्कुल नै रहँदैन कि भन्ने चिन्ताले सताउन थालेको थियो,' बौद्धधाम माविका शिक्षक पेम्बा योल्मुले भने, '६ सय जना विद्यार्थी पढ्थे, ७० जनामा झर्यो।
गाउँमा खुलेका निजी स्कुलको दाँजोमा सामुदायिक विद्यालयहरू सबै हिसाबले कमजोर थिए।
राज्यले सामुदायिक विद्यालयको स्तर वृद्धि गर्न स्रोत खन्याइरहेको थियो तर विद्यालयहरू खस्किँदै थिए। सबै जिम्मेवारी राज्यले लिने भएपछि विद्यालय व्यवस्थापनलाई पनि हाइसञ्चो थियो।
बन्द हुने अवस्थामा पुगेको बौद्धधाम माविका लागि स्थानीय तहमा जनप्रतिनिधिको उपस्थिति सञ्जिवनी बुटी सावित भयो।
२०७४ सालमा निर्वाचन भएर स्थानीय सरकार गठन भएपछि सूर्योदयको उक्त पुरानो विद्यालयले काँचुली फेर्न थाल्यो। हालसम्ममा नगरका सबै सामुदायिक विद्यालयले नयाँ जीवन पाएका छन्।
हाल सूर्योदयका सामुदायिक विद्यालयहरू विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेका छन्। पहिले सामुदायिक विद्यालयबाट निकालेर छोराछोरी निजीमा पठाउने अभिभावकहरूले फेरि सामुदायिकमै फर्काउन थालेका छन्।
गुणस्तरीय पढाइको खोजीमा सिमानामै रहेको भारतीय सहर दार्जिलिङका विद्यालयमा छोराछोरी पठाएका अभिभावकले यतै ल्याउन थालेका छन्।
सूर्योदयका बासिन्दा दलजित राईले भारतको मिरिकमा एउटा मिसन स्कुलमा कक्षा नौ पढ्दै गरेकी छोरीलाई एक वर्षअघि बौद्धधाम माविमा भर्ना गराए।
'पहिले यहाँका स्कुल राम्रा छैनन् भनेर अरूसँगै मैले पनि छोरीलाई मिरिक पठाएको थिएँ,' दलजितले भने, 'पोहोर हामी चार जनाले नानीहरू यतै ल्याएर सरकारी स्कुलमै हालेका छौं।'
जनप्रतिनिधिहरूसँग के त्यस्तो उपाय थियो जसले सामुदायिक विद्यालयमा सुधार भयो?
बौद्धधाम माविका शिक्षक पेम्बाका अनुसार नगरका मेयर रणबहादुर राईको उच्च शैक्षिक समझ र शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता नै मुख्य कारण हो। पेम्बा भन्छन्, 'स्थानीय सरकारको प्रमुखले शिक्षा क्षेत्रमा कति काम गर्न सक्ने रहेछ भन्ने प्रमाण हाम्रो नगर हो।'
झन्डै साढे तीन दशकदेखि शिक्षण पेसामा रहेका पेम्बाले पछिल्लो तीन वर्षमा फरक अनुभव गरेका छन्।
'३४ वर्षको शिक्षण पेसामा पछिल्लो तीन वर्ष मेरा लागि सम्झनलायक भएको छ,' पेम्बा भन्छन्, 'यसअघि पनि धेरै जनप्रतिनिधि भोगियो, शिक्षाका हाकिम देखियो। अहिलेका जनप्रतिनिधिमा जति चासो र चिन्ता कसैमा पनि देखिएन। अहिले सामुदायिक स्कुलको शिक्षक हुँ भन्दा गौरव हुन्छ।'
सूर्योदय नगरका १५ जना शिक्षकहरूसँग कुरा गर्दा सबै खुसी देखिए। शिक्षा क्षेत्रमा नगरपालिकाको चासो र कामको सबैले खुलेर प्रशंसा गरे। विद्यार्थी र अभिभावक सबैभन्दा सन्तुष्ट भेटिए।
'हाम्रा नानीहरू पढ्ने स्कुल सुधार्ने श्रेय हाम्रो मेयरलाई जान्छ,' स्थानीय अभिभावक राजु प्रधान भन्छन्, 'पहिले हाम्रा नानीहरूको पढाइबारे शिक्षकले पनि चासो राख्दैनथे, अहिले मेयरले नै राख्छन्। योभन्दा बढी के चाहियो र!'
अभिभावक र विद्यार्थीहरूका अनुसार नगर प्रमुख आफैं हरेक महिना सामुदायिक विद्यालयहरूमा पुग्छन्। कक्षामा पसेर विद्यार्थीसँग छलफल पनि गर्छन्।
'मेयर सर आएर हाम्रो समस्या सोध्नुहुन्छ, केही अप्ठ्यारो छ भने मलाई भन भन्नुहुन्छ,' कक्षा १० का एक विद्यार्थीले भने, 'अनि उहाँले दिएको नोटबुक पूरा गरे नगरेको पनि चेक गर्नुहुन्छ।'
हामीले कुरा गर्दा कक्षा १० का विद्यार्थीहरू विज्ञान प्रयोगशालमा थिए।
मेयरले दिएको नोटबुक? मेयरले विद्यार्थीलाई नोटबुक किन दिनुभएको? हामीले सोध्यौं।
कुरा के रहेछ भने मेयरले कक्षा ८ र १० का विद्यार्थीहरूलाई एक पटकमा तीन वटा ठूला कापी दिँदा रहेछन्। ती कापीमा गणित, विज्ञान र अंग्रेजी विषयका अभ्यास गरेर विद्यालयमा बुझाउनु पर्दोरहेछ। ती कापी मेयरले पनि हेर्दा रहेछन् र फेरि सबैलाई तीन–तीन वटा कापी दिँदा रहेछन्।
विद्यार्थीहरूले यसो भनिरहँदा मेयरसहित केही जनप्रतिनिधिहरूसँग हाम्रो साथमै थिए।
शिक्षकहरूका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीहरू गणित, विज्ञान र अंग्रेजीलाई 'गाह्रो' विषय मान्छन्।
विद्यार्थीहरूको कुरा सुनेपछि नगरका मेयर राईले कक्षा कोठामा भने, 'सही अभ्यासले मान्छेलाई परिपक्व बनाउँछ। नानीहरू हो! तिमीहरूलाई ती विषय सजिलो पार्ने उपाय मसँग छ। नगरपालिकाले हरेक महिना तीन वटा कापी दिन्छ, तिमीहरूले ती कापीमा सबै अभ्यास गर्नुपर्छ।'
यसो भनेको अर्को एक सातामै कापी बोकेर नगर प्रमुख विद्यालयहरूमा पुगे। विद्यार्थीलाई अभ्यास गर्न हौस्याए।
'नगरमा ६६ वटा सामुदायिक विद्यालय छन्, जसमा १४ वटा माध्यमिक विद्यालय छन्। सबै माध्यमिक विद्यालयका ८ र १० कक्षाका विद्यार्थीलाई नगरले कापी दिन्छ,' शिक्षक पेम्बाले भने 'यति मिहिन तरिकाले मेयर र उनको टिम कक्षाकोठामा पुग्न थालेपछि स्कुलहरूमा उत्साह बढेको छ।'
विद्यार्थी र अभिभावकलाई विश्वस्त बनाउन नगरपालिकाले शिक्षामा पहिलो वर्ष नै केही कार्यक्रम अघि सार्यो जसले सबैलाई प्रोत्साहित गर्यो।
नगरको कार्यभार सम्हाल्ने बित्तिकै जनप्रतिनिधिले विद्यालयमा गरेको पहिलो काम थियो अनिवार्य ई–हाजिरी।
त्यो समय सामुदायिक विद्यालयहरू दुई वटा पक्षमा बढी आलोचित थिए– शिक्षकहरू पूरा समय विद्यालयमा नबस्ने र कतिपयले खेताला शिक्षक राख्ने।
ई–हाजिरीले खेताला शिक्षक शतप्रतिशत बन्द गरायो। बिहान १० बजेदेखि अपराह्न ४ विद्यालयमा नछोडी पढाउन बाध्य बनायो।
सूर्योदय नगरले शिक्षामा अघि सारेको अर्को योजना थियो– १२ महिना बाह्रै कार्यक्रम। नगरले हरेक महिना प्रत्येक सामुदायिक विद्यालयले फरक फरक अतिरिक्त क्रियाकलाप चलाउनै पर्ने, कार्यक्रममा सबै शिक्षक अनिवार्य सहभागी हुनै पर्ने नियम लगायो।
यस्तो नियमले शिक्षक र विद्यार्थीलाई वर्षभरि सक्रिय बनायो र नगरपालिकासँग पनि सम्पर्कमा पनि राखिरह्यो। हाल नगरका हरेक सामुदायिक विद्यालयमा प्रत्येक महिना कुनै न कुनै नयाँ कार्यक्रम आयोजना हुन्छ जसमा विद्यार्थीहरू प्रतिस्पर्धा गर्छन्।
उत्कृष्ट प्रतियोगीहरू बीच अन्तर विद्यालय प्रतिस्पर्धा पनि हुन्छ। खेलकुद, हाजिरी जवाफ, वादविवाद, वक्तृत्वकला लगायत गणित, विज्ञान, र अंग्रेजीका विषयगत प्रतियोगिता पनि हुन्छन्।
सूर्योदयले शिक्षा क्षेत्रमा अघि सारेको अर्को योजना हो– सूर्योदयको इच्छा, छोरीबुहारीलाई शिक्षा।
यो योजना स्नातक तहको पढाइसँग सम्बन्धित छ। यो योजनाले बाह्र कक्षा सकेर बिहे भई सूर्योदय नगरपालिकामा आएका बुहारी र नगरका छोरीहरूलाई छात्रवृत्ति दिएको छ।
यो कार्यक्रम अन्तर्गत हाल १३० जना छोरीबुहारीहरू करफोक बहुमुखी क्याम्पसमा स्नातक तह पढ्दैछन्।
बिएड तेस्रो वर्षमा पढ्दै गरेकी सुजाता बजगाईंले भनिन्, 'नगरपालिकाले दिएको छात्रवृत्तिले हामीलाई पढाइमा ठूलो सहयोग गरेको छ।'
नगरप्रमुख राईका अनुसार छात्रवृत्तिको उक्त कार्यक्रम नगरमा 'शिक्षित छोरीबुहारी' लक्ष्य पूरा गर्न अघि सारिएको हो।
'भनाइ नै छ नि आमा शिक्षित भए परिवारै शिक्षित हुन्छ,' उनले भने 'हामीले त्यहीअनुसार छोरीबुहारी शिक्षा कार्यक्रम अघि सारेका हौं, यसलाई उच्च प्राथमिकता दिएका छौं।'
नगरपालिकाले शैक्षिक सुधारका लागि नगरका ६६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको छ।
प्रत्येक विद्यालयका प्रधानाध्यापकले पनि आफ्ना शिक्षकसँग त्यस्तै सम्झौता गरेका छन्। प्रत्येक तीन महिनामा सम्झौताको अनुमगन र मूल्यांकन हुने गरेको छ।
खुसी छन् किसानः
कृषि क्षेत्रको कुरा गर्दा नगरप्रमुख राईले सेतोपाटीलाई आत्मविश्वासपूर्वक भनेका थिए, 'नगरको जुनसुकै वडाको जुनसुकै टोलमा गएर जो कोही किसानलाई भेट्नुस्, नगरले हाम्रा लागि केही गरेको छैन भनेछन् भने तपाईंहरूले भनेको सजाय भोगौँला। चाहे जति गर्न सकिएको छैन तर प्रयास गरिएको छ।'
साँच्चै हामीले विभिन्न वडाका २० जना किसानलाई एउटै प्रश्न गर्यौं– खेतीपाती र पशुपालनमा नगरपालिकाले के के सहयोग गरेको छ?
कसैले गाई किन्न अनुदान पाएको कुरा सुनाए त कसैले बंगुरपालनमा पाएको सहयोगको कुरा गरे। बिउबिजन, तरकारी खेतीको तालिम र प्राविधिक सहयोग निःशुल्क पाएको केही किसानले बताए।
सूर्योदय–९, गैरीगाउँका दिनेश प्रधान दुबईबाट फर्केको दुई वर्ष भएको थियो। उनले गाई पाल्न थालेका थिए। दुई वटा गाई र केही बाछी जम्मा गरेर गोठ बनाउँदै थिए। त्यही बेला उनले एउटा सूचना सुने।
सूचनामा नगरपालिकाले किसानलाई गाई किन्न ८० प्रतिशत अनुदान दिन्छ भनिएको थियो। त्यसका लागि मापदण्ड पनि तोकिएको थियो।
अपांगता भएकाको परिवार, एकल महिला, विपन्न नागरिक, दीर्घरोगी भएकाको परिवार र वैदेशिक रोजगारीबाट फर्केका युवाले त्यस्तो अनुदान पाउने भनिएको थियो। दिनेशले आवेदन गरे।
'अनुदानमा म छानिएँ, अनि ८५ हजारमा राम्रो जातको गाई किनेँ। लगानीको ८० प्रतिशत नगरले तिरिदियो,' उनले भने, 'त्यही गाईबाट अहिले तीन माऊ गाई भएका छन्।'
अहिले तीन वटै दुहुना छन्।
नगरपालिकाले गरेको सहयोगले दिनेश खुसी देखिए। उनको मुहार र आवाजमा उत्साह र कृतज्ञताको भाव झल्कियो।
'नेताहरूले भोट मात्रै माग्छन्, जनतालाई केही दिँदैनन् जस्तो लाग्थ्यो,' दिनेश भन्छन्, 'हाम्रो नगरपालिका त फरक रहेछ, म जस्ता धेरै किसानले अनुदान पाएका छौं। धेरैले उन्नत गाई पालेर जीविका चलाइरहेका छौं।'
नगरपालिकाले गाई किन्न अनुदानसँगै विभिन्न जातका डालेघाँस र भुइँघाँसका बिरुवा र बिउ पनि दियो। गाईलाई पोषणयुक्त खानेकुरा बनाउने तालिम दियो। गाईका लागि क्याल्सियम र अन्य मिनरलहरू पनि नगरले नै दियो।
'गाईवस्तु बिरामी हुँदा उपचार सेवा पनि नगरपालिकाले नै दिएको छ,' दिनेशले भने, 'बदलामा हामीले केही दिनु पर्दैन तर हरेक वर्ष हाम्रो आर्थिक प्रगति विवरण नगरपालिकालाई बुझाउनुपर्छ।'
यस्तो विवरण भर्न नगरपालिकाले ढाँचा उपलब्ध गराएको छ। हालसम्म सूर्योदयका २३६ जना किसानले नगरपालिकाबाट गाईपालनमा अनुदान पाएका छन्।
वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माका अनुसार नगरले अधिकतम एक लाख रूपैयाँसम्मको गाई खरिदमा ८० प्रतिशत अनुदान दिन्छ। अनुदानमा गाई किनेका किसानले गाई वा बाछी बेच्नु परे नगरको अनुमति लिनुपर्छ। नगरले अर्को किसानलाई अनुदानमा किनिदिन्छ।
चालु आर्थिक वर्षमा सूर्योदयले गाईको नश्ल सुधार कार्यक्रम पनि चलाएको छ।
'उन्नत जातका बाछी उत्पादन गरेर किसानलाई दिँदा उनीहरूको आर्थिक जीवनमा सुधार आएको पाएका छौं,' नगरको आर्थिक समितिका सभापतिसमेत रहेका शर्माले भने, 'यो कार्यक्रम मूल्यांकन गर्दा हामी ८० प्रतिशत सफल भएको पायौं।'
सूर्योदयले बंगुर प्रवर्द्धन कार्यक्रम अन्तर्गत उन्नत जातको बंगुर पाल्न ५० प्रतिशत अनुदान दिएको छ। यसमा सयभन्दा बढी किसान सहभागी छन्। किसानलाई कुटी काट्ने मेसिन र सिँचाइका लागि मोटर किन्न पनि नगरले अनुदान दिएको छ। प्रविधिमा पनि किसानलाई सहयोग पुर्याएको छ।
'सिँचाइका लागि मोटर दिएपछि सजिलो भएको छ,' वडा नम्बर ६ का किसान अशोक श्रेष्ठले भने, 'मलाई नगरले यसपालि आलुको बिउ ४० केजी, चेरी र सुन्तलाका बिरुवा निःशुल्क दिएको छ।'
पूर्वाधार विकासमा जोडः
चालु आर्थिक वर्षमा कुल एक अर्ब २९ करोड रूपैयाँ बजेट रहेको सूर्योदय नगरपालिकाको आन्तरिक आय वार्षिक सरदर साढे चार करोड रूपैयाँ छ। कन्याम, श्रीअन्तु लगायतका प्रसिद्ध पर्यटनस्थल रहेको सूर्योदय नगरमा वर्षभरि नै पर्यटकको ओइरो लाग्छ। नगरको आन्तरिक आयको ठूलो हिस्सा पर्यटन नै हो।
पर्यटन व्यवसायी राजेन्द्र पौडेलका अनुसार नगरपालिकाले अन्तु क्षेत्रमा पदमार्ग बनाउन, त्यहाँको पोखरीमा डुंगा चलाउन र पर्यटकीय स्थलहरूमा शौचालय बनाउन पर्याप्त लगानी गरेको छ।
त्यसैगरी नगरपालिकाभित्र बाटो पनि धमाधम बनिरहेको छ। यसबीचमा १० किलोमिटर सडकमा कालोपत्रे र ढलान भएको छ, ७० किलोमिटर सडक ग्राभेल भएको छ। नगरले ६७० किलोमिटर बाटो विस्तार गरेर हिलोको समस्या हटाएको छ।
गाडीमा जिपिएस प्रणालीः
नरपालिकाले आफ्ना सवारी साधनको दुरुपयोग रोक्न तीन दर्जनभन्दा बढी गाडी र मोटरसाइकलमा जिपिएस प्रणाली जडान गरेको छ।
'गाडीमा जिपिएस प्रणाली जडान भएपछि दुरुपयोग रोकिएको छ,' नगरका एक कर्मचारीले भने, 'गाडी लिएर कन्याम हिँडेका कर्मचारी र जनप्रतिनिधि झापा घुमेर आउँथे, अहिले बन्द भएको छ।'
उनका अनुसार यो जिपिएसको सूचना सोझै नगरप्रमुखको मोबाइलमा देखिन्छ।
ती कर्मचारीले भने, 'हामी बिदाको दिन बाइक अफिसमै छाडेर बस चढेर घर जाने गरेका छौं। जिपिएस जडान हुनुअघि सबै कर्मचारी अफिसको बाइक लिएर हिँड्थे।'
स्थानीय सरकारको पहिलो कार्यकालको हालसम्ममा नगरभित्र १५ बेडको एउटा अस्पताल तयार भएको छ। सबै वडामा स्वास्थ्यचौकी भवन बनेका छन्। कन्याममा चिया प्रवर्द्धन केन्द्र स्थापना गर्ने र खेल मैदान बनाउने काम अघि बढेको जनाइएको छ।
सूर्योदय नगरपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, बाटो, पर्यटन लगायतमा गरेको कामको सबै राजनीतिक दलका नेताहरूले सराहना गर्ने गरेका छन्।
'शिक्षा र कृषि क्षेत्रमा नगरले राम्रो काम गरेको भन्न सकिन्छ,' प्रदेश १ सरकारका पूर्वमन्त्री तथा एमाले नेता राम रानामगर भन्छन्, 'सूर्योदयले गरेको प्रयास अन्यत्रका लागि पनि उदाहरण बन्नसक्छ।'
उपल्लो पूर्वी पहाडको सूर्योदय नगरपालिकामा सौर्यमण्डलको सूर्यसँगै नगरवासीको खुसीको सूर्य पनि उदाउन थालेको छ।