नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि आगामी आइतबारसम्म बैठक स्थगित गरिएको हो।
बुधबार एकैछिन केन्द्रीय समिति बैठक बसेको थियो। छन्त्यालको निधनमा केन्द्रीय समितिले शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
छन्त्याल समानुपातिकतर्फबाट सांसद थिइन्। उनी यसअघि २०७० सालमा बागलुङबाट संविधान सभा सदस्य पदमा निर्वाचित भएकी थिइन्।
‘उहाँको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ कांग्रेसले पारित गरेको शोक प्रस्तावमा भनिएको छ।
कांग्रेसले बिहीबार एक दिन पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ। पौडेलका अनुसार बिहीबार पार्टीका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम हुने छैन।