भारतका प्रधानमन्त्री बनेको पाँच वर्ष बित्न लाग्दा नरेन्द्र मोदी पहिलो पटक शुक्रबार पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। भारतीय जनता पार्टीले नयाँ दिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोदीले सुरूमा आफ्ना भनाइ राखे।
उनले जारी लोकसभा चुनावमा आफ्नो दलले बहुमत ल्याउने दाबी गरे।
त्यसपछि प्रश्नका लागि फ्लोर ओपन गरियो। पत्रकारले आफूलाई लागेका जिज्ञासा राखे। उनीहरूका प्रश्न मोदीलाई सोधिएका थिए तर जवाफ भने सँगै बसेका भाजपा अध्यक्ष अमित शाहले दिए।
पत्रकारहरूले आफूहरूले प्रधानमन्त्रीबाट उत्तरको अपेक्षा गरेको बताएपछि शाहले भने-सबै प्रश्नको उत्तर प्रधानमन्त्रीले दिइरहनु पर्दैन।
त्यसअघि मोदीले आफू अनुशासनको पालक भएकाले अध्यक्षले जे भन्नुहुन्छ त्यही मान्ने भन्दै प्रश्नहरू शाहतिर सोझ्याएका थिए।
शाहले भाजपाकी लोकसभा उम्मेदवार साधवी प्रज्ञाले नाथुराम गोड्सेबारे दिएको अभिव्यक्ति लगायतका प्रश्नको जवाफ दिएका थिए।
सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदीले अहिलेसम्म पत्रकार सम्मेलन गरेका छैनन्। केही समयअघि अभिनेता अक्षयकुमारले उनको गैरराजनीतिक अन्तर्वार्ता लिएका थिए।