राजधानीको सबभन्दा ठूलो सार्वजनिक स्थल टुँडिखेलको खुलामञ्च मिचेर काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनायो। त्यही बसपार्कमा ठेकेदार कम्पनीले व्यावसायिक सटर निर्माण गर्दा पनि महानगर बेखबर छ।
पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाउन थालिसकेको छ। महानगर प्रवक्ता ईश्वरमान डंगोल भने यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन्।
उनका अनुसार ठेकेदार कम्पनीलाई खुलामञ्चको बसपार्क व्यवस्थापन गर्ने जिम्मेवारी मात्र दिइएको हो। व्यवस्थापन निम्ति एउटा क्यान्टिन, यात्रु प्रतीक्षालय र शौचालय बनाउने अनुमति दिइएको उनले बताए।
'हामीले सटरको काम अघि नबढाउन भनिसकेका छौं,' उनले सेतोपाटीसँग भने, 'अटेर गरे डोजर लगाएर भत्काउँछौं।'
महानगरको यस्तो चेतावनीपछि पनि ठेकेदार कम्पनी तर्सिएको छैन। बरू त्यहाँ पसल राख्न धमाधम फर्निचरको काम भइरहेको छ। कतिपयले पसल सुरु गरिसकेका छन् भने कतिपयले तयारी गर्दै छन्।
ठेकेदार कम्पनीले सटर भाडामा लगाउन ४ लाखदेखि १५ लाख रुपैयाँ अग्रिम उठाउन थालिसकेको छ। यो रकम मासिक भाडामा कटाउन नपाउने उसले स्पष्ट पारेको छ।
बिल्डर्सकका एजेन्टहरूले 'सलामी' का रूपमा उक्त रकम उठाइरहेको सटर भाडामा लिएका एक व्यापारीले बताए।
'अरूले कति तिरेका छन् मलाई थाहा छैन। मैले ९ लाख १० हजार रुपैयाँ बुझाएको हुँ,' ती व्यापारीले भने, 'यो ठाउँमा राम्रो व्यापार हुने देखेर यति रकम तिर्न तयार भएँ।'
अर्का व्यापारी रवीन्द्र बिकले प्रतिमहिना १२ हजार भाडा तिर्ने गरी एउटा सटर लिएको जानकारी दिए।
'फुटपाथमा पसल राख्नभन्दा सटर लिँदा सजिलो हुन्छ भनेर भाडामा लिएको हुँ,' उनले भने, 'यहाँ दुई-तीन वर्ष भए पनि बस्न पाइन्छ कि भन्ने आश छ।'
बिल्डर्सले खुलामञ्चमा खुलेआम सटर बनाउँदा पनि महानगरले थाहा नपाउनु आश्चर्यजनक छ। त्यसमाथि सटर आफैं नहटाए डोजर लगाएर भत्काउने चेतावनी दिँदादिँदै काम नरोकिनु झन् आश्चर्यजनक छ।
यसले मध्यसहरको यो सार्वजनिक सम्पत्ति निजी ठेकेदार कम्पनीलाई पोसेर अकुत व्यावसायिक लाभ गराउने प्रपञ्चमा महानगर नै संलग्न देखिन्छ।
यो त्यही कम्पनी हो, जसले पाँच वर्षमा बनाउने भनेको भ्यू टावरको काम तीन वर्ष बित्दा पनि सुरु गर्न सकेको छैन।
निजी कम्पनी पोस्ने प्रपञ्चमा महानगर संलग्न छैन भन्ने अब त्यतिबेला मात्र पुष्टि हुनेछ, जब प्रवक्ता डंगोलले चेतावनी दिएझैं गैरकानुनी रूपले बनिरहेका सटरमाथि साँच्चिकै डोजर चल्नेछ।