संविधान सभाबाट संविधान जारी भएपछि पनि राजनीतिक मुद्दामा आन्दोलन गरिरहेका ठूला समूह दुइटा थिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत संयोजकत्वको स्वतन्त्र मधेस गठबन्धन। एउटाले हिंसात्मक गतिविधि गरिरहेको र अर्काले राष्ट्रिय अखण्डतालाई नै नस्वीकारेकाले यी दुई समूह राज्यका लागि चुनौती थिए।
शुक्रबारदेखि तीमध्ये एउटा समूह मूलधारको राजनीतिमा आएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले मूलधारको राजनीति गर्न सरकारसँग सहमति गरेका छन्।
राउतको सहमति र सम्बोधनले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहलाई सन्देश दिएको छ-हिंसात्मक राजनीति गर्ने बेला यो होइन।
***
शुक्रबार दिउँसो साढे १ बजे राष्ट्रिय सभागृहको हलको मञ्चमा सरकारका मन्त्री र नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू बसेका थिए।
दर्शकदीर्घाको पहिलो लाइनमा नेकपाका नेता तथा सांसद भरिएका थिए। पछाडिपट्टी नेकपाका कार्यकर्ता बसेका थिए। उनीहरूसँगै मिसिएका थिए, सिके राउतका समर्थक।
केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा प्रवेश गरे।
ओली र दाहालसँगै मञ्चमा देखिए स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउत।
सेतो सर्ट, कालो पाइन्ट र कालो कोटमा आएका राउतले रातो टाई भिरेका थिए।
उनीहरू कुर्सीमा पुगेर बस्न नपाउँदै हलमा गुञ्जियो-
सैयौं थुंगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली…..
राष्ट्रिय गान नसकुन्जेल सबैजना उठिरहे।
प्रधानमन्त्री बीचको कुर्सीमा बसे। दाहाल उनको दायाँतिर बसे। राउत ओलीको बायाँतिर।
कुर्सीमा बस्नासाथ उनका समर्थकले केही सामान राउतको टेबलमा राखिदिए। तर उनले त्यसलाई फिर्ता लैजान भने।
उदघोषकले कार्यक्रम चलाइरहँदा उनी एउटा डायरी केही टिपिरहेका थिए।
उद्घोषकले सरकार-राउत समूहबीच सहमति भएका बुँदाहरू पढेर सुनाइरहँदा राउत आफूसँग भएको कागज हेरिरहेका थिए।
त्यसपछि उनले सहमतिमा हस्ताक्षर गर्ने पालो आयो। सरकारका तर्फबाट हस्ताक्षर गर्न पछाडि बसेका गृहमन्त्री रामबहादुर थापाको कुर्सी पनि प्रधानमन्त्रीको कुर्सी भएको लहरमै तानियो।
हस्ताक्षरपछि राउत सम्बोधन गर्न ड्यासतिर गए। ठूलो संख्यामा उपस्थित उनका समर्थकले ताली बजाए।
सम्बोधनका क्रममा राउतले आजको दिन ऐतिहासिक भएको बताए।
‘विगत केही वर्षदेखि देशमा एउटा विकराल समस्याका रूपमा जुन मुद्दा उठिरहेको थियो त्यसबाट राज्य पक्ष चिन्तित थियो। कसैको नियन्त्रणमा रहला कि नरहला भनेर हामी पनि उत्तिकै चिन्तित थियौं,’ राउतले भने, ‘देशका नागरिकलाई चिन्तित बनाइरहेको त्यो मुद्दाको आज बडो सहज, शान्तिपूर्ण र सुरक्षित रूपमा अवतरण भएको छ। यो सबै नेपाली जनता लागि खुसीको कुरा हो।’
उनले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै उचित राजनीतिक ‘स्पेस’ प्रदान गरेको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए।
सम्बोधनका क्रममा राउतले आफ्नो अभियान, जेल जीवन, स्वतन्त्रता र राजनीतिमा हिंसाबारे बोलेका थिए। झन्डै ६ वर्ष स्वराज मधेसको आन्दोलन चलाएका उनको मुख्य विषय अहिंसा थियो।
‘हामी बुद्धका सन्तान हौं। अहिंसा हाम्रो रगरग (नसानसा) मा बसेको छ। अहिंसाबारे हामीलाई कसैले सिकाउन पर्दैन,’ राउतले भने, ‘गान्धीको अहिंसालाई आदर्श मान्दै अघि बढ्यौं। राज्यले हामीविरूद्ध कदम चाल्यो। प्रहरी दमनबाट मेरो खुट्टा भाँचियो। घाइते भएँ तर शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कहिल्यै मरेन। बुद्धका सन्तान हौं भनेर हामी शान्तिपूर्ण मार्गमा लागिरह्यौं।’
राज्यले आफूहरूमाथि दमन गर्दा प्रतिशोधको साटो प्रहरीलाई फूल दिने आन्दोलन गरेर शान्तिपूर्ण माध्यमबाट बिचलित नहुँदा सुखद परिणाम आज देखिएको उनले बताए।
आफ्ना मागहरू पूरा गर्न भन्दै हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले यसबाट पाठ लिन सक्ने उनको संकेत थियो।
‘लाठी चार्ज गर्ने प्रहरीलाई हामीले सयपत्री फूल थमायौं। त्यसैले हाम्रो आन्दोलन कहिल्यै पनि हिंसात्मक भएन,’ राउतले भने, ‘जो हिंसात्मक आन्दोलन गर्न तम्तयार हुन्छन्। तिनीहरूका लागि पनि यो एउटा पाठ बनेर रहलाजस्तो लाग्छ।’
उनले हिंसात्मक आन्दोलन गर्न सजिलो हुने भए पनि अहिले त्यस्तो आन्दोलनको आवश्यकता नभएको बताए।
‘म देशभरिका जनतालाई आग्रह गर्न चाहन्छु-हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला अब होइन। जनता सार्वभौम सम्पन्न छँदै छ,’ राउतले भने, ‘वार्तामार्फत् पनि राज्यले प्रतिवद्धता जनाएको छ। जनमत प्रयोग गर्ने काम जनताको हो। जनताले चाहेको कुरा शान्तिपूर्ण तरिकाबाट नै हासिल हुन्छ,’ राउतले भने।
यी पनि पढ्नुस् :