शुक्रबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्वीट गरे- आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्वको विषयमा सम्बोधन गर्दै हुनुहुन्छ। प्रत्यक्ष प्रसारण गर्न इच्छुक मिडियालाई स्वागत गर्दछौं।
अर्यालको यो ट्वीटसँगै धेरैलाई आश्चार्य लाग्यो- राष्ट्रका नाममा सम्बोधन गरेको तीन साता नबित्दै प्रधानमन्त्रीले फेरि के त्यस्तो विशेष विषयमा सम्बोधन गर्न लागे?
केहीबेरमा प्रधानमन्त्री कार्यालय स्रोतहरूले अलग मधेसको अभियान थालेका सिके राउतसँग राजनीतिक सहमति हुन लागेको बताए।
तर सकेसम्म उनीहरूले यो कुरालाई गोप्य नै राख्न खोजे।
‘कार्यक्रम विशेष हो, हामीलाई यत्तिमात्र भन्न अनुमति छ। कार्यक्रममा आउनुस्। सबै त्यहीँ थाहा हुन्छ,’ उनीहरूले भने।
सिके राउतसँग भइरहेको वार्ता प्रक्रियाबारे बिहीबारसम्म कसैलाई सुइँको पनि थिएन।
बरू हिजोमात्र राउत समाचार बनेका थिए किनकी सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दामा सुन्धारा कारागारमा रहेका उनलाई रिहा गर्न आदेश दियो।
सर्वोच्चको आदेशपछि साँझ साढे सात बजे उनी कारागारबाट रिहा भए र आफ्नो दाइको कोठामा गए। हिजै राति बालुवाटारमा राउतसँग सहमति हुन लागेको चर्चा चलेको थियो।
सिके राउतसँगको वार्ताको प्रक्रिया प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफैंले थालेका थिए। त्यसैले यो कुरा अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्रीका केही सन्देशवाहकलाई बाहेक अरू कसैलाई थाहा थिएन। वार्ता प्रक्रिया सुरू हुँदा राउत सुन्धारा कारागारमा थिए।
‘डेढ महिनाअघि प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डबीच अब राउतसँग गम्भीर वार्ता गर्ने कुरा भएको थियो,’ वार्ता प्रक्रियामा सहभागी एक नेताले सेतोपाटीसँग भने,‘त्यसपछि प्रधानमन्त्रीले आफूले विश्वास गरेका मान्छेलाई राउतसँग वार्ता गर्न पठाउनु भयो।’
वार्ताका क्रममा प्रधानमन्त्रीको सन्देश लिएर ती नेताहरू सिके राउतकहाँ पुग्थे भने उनको सन्देश प्रधानमन्त्रीसम्म ल्याउँथे।
यो कुरा यति गोप्य थियो कि नेकपाको सचिवालय सदस्यलाई पनि शुक्रबार बिहानसम्म यसबारे जानकारी नै थिएन।
‘आज बिहानको बैठकमा प्रधानमन्त्रीज्यूले सिके राउतसँग वार्ता हुँदैछ। उहाँहरू पृथकतावाद छोडेर मूलधारको राजनीतिमा आउँदै हुनुहुन्छ भन्नुभयो,’ नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘त्यसअघि हामीलाई कुनै जानकारी थिएन।’
उता राउतले पनि आफ्ना कार्यकर्तालाई वार्ताबारे भनेका थिएनन्। शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा पुगेका उनका समर्थक भन्दै थिए- सरकारसँग वार्ता हुन्छ। सभागृह आउनु भनेकाले आएका हौं। अरू हामीलाई थाहा छैन।
प्रधानमन्त्री कार्यालय स्रोतले सिके राउत समस्या बनिरहून र आफूहरूले राजनीतिक फाइदा लिन पाइरहूँ भन्ने समूहले वार्तामा खेल्न नसकोस् भनेर सबै प्रक्रिया गोप्य राखिएको बताएको छ।
‘उहाँहरू नेपालको अखण्डता स्वीकार गर्दै मूलधारको राजनीतिमा आउनुभयो, यसले असन्तुष्ट पक्षलाई समेट्ने सरकारको क्षमता देखिन्छ,’ प्रधानमन्त्रीको सन्देशवाहक बनेका एक नेताले भने, ‘समस्या समाधान ठूलो उपलब्धि हो, प्रक्रिया के हो भन्ने गौण कुरा हो।’