प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ जेठ ४ गते पहिलोपटक भनेका थिए, ‘अब नेपालले आफ्नै पानीजहाजबाट सामान ल्याउँछ।’
त्यतिबेला उनको पानीजहाज सपना धेरैलाई रूमानी लागेको थियो। त्यही भएर होला उनीपछिका दुई सरकारले नेपालमा पानीजहाज ल्याउने वा समुद्रमा नेपालले पानीजहाज चलाउने कुरालाई प्राथमिकतामा राखेनन्। तत्कालीन ओली सरकारले २०७३/०७४ को बजेटमा राखेको ‘पानीजहाज सञ्चालन गर्न कानुनी तथा संस्थागत तयारी गरिने’ कुरालाई पनि वास्ता गरेनन्।
यता ओलीले भने सरकारबाहिर हुँदा पनि पानीजहाजको कुरा गर्न छाडेनन् बरू चुनावी घोषणापत्रमै लेखे- भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिनेछ।
तीन वर्षमा प्रधानमन्त्री ओलीको समुद्रमा पानीजहाज चलाउने सपनामा त खासै प्रगति भएको छैन तर नेपालसम्मै पानीजहाज ल्याउने कुरा भने साकार हुने चरणमा आइपुगेको छ।
बिहीबार प्रधानमन्त्री ओलीले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरे।
कार्यालय उद्घाटन गर्दै ओलीले भने- नेपाल अब पानीजहाजको युगमा प्रवेश गरिसक्यो। रेलभन्दा पहिला नेपालमा पानीजहाज आउँछ।
पानीजहाज कहिले र कसरी नेपाल आइपुग्छ भन्ने प्रश्नको उत्तर भने अहिले नै स्पष्ट छैन।
ओलीले दंग पर्दै पानीजहाज सपना पूरा हुन लागेको बताउनुको पछाडि भारतले गंगा नदीमा पानी जहाज चलाउन सुरू गरेको परियोजनाको महत्वपूर्ण भूमिका छ।
नेपाल पानीजहाज कार्यालय उद्घाटन भएको तीन दिनअघि भारतीय पानीजहाज मन्त्री नितिश गडकरीले गण्डक हुँदै नेपाली सीमासम्म पानीजहाज ल्याउने परियोजनाको शिलान्यास गरेका छन्।
सन् २०२० सम्म पूरा भइसक्ने भनिएको यो परियोजनाअनुसार नवलपरासीस्थित गण्डक ब्यारेजभन्दा केही पर पानीजहाज आउनेछ।
भारतले बिहारको बगाहा भन्ने ठाउँमा १००० टन क्षमतासम्मका पानीजहाज ह्याण्डल गर्न टर्मिनल बनाउन लागेको छ। जुन नेपाली सीमादेखि ४० किलोमिटर तल पर्छ।
भारतले बगाहासम्म अर्को वर्ष मालवाहक पानीजहाज ल्याइपुर्याउने लक्ष्य राखेको छ।
बगाहा आउने पानीजहाज नेपाल ल्याउन गण्डक ब्यारेजसम्म जहाज ल्याउन पानीको बहाव पुग्छ कि पुग्दैन? ब्यारेज छिचोलेर जहाज कसरी आउँछ? नारायणघाटसम्म मात्र आउँछ कि दासढुंगा नै पुग्छ? यो काम गर्न कति समय लाग्छ? जस्ता पश्नको उत्तर नेपाली अधिकारीसँग छैन।
जल तथा उर्जा आयोगका सहसचिव एंव जलमार्ग अध्ययन गर्न बनेको समितिका संयोजक माधव बेल्वासेका अनुसार सैद्धान्तिक रूपमा बगाहा आएको पानीजहाज गण्डक ब्यारेज हुँदै दासढुंगासम्म ल्याउन सकिन्छ भन्ने छ तर यसका लागि गर्नुपर्ने धेरै काम बाँकी नै छ।
‘बगाहासम्म जहाज आउने पानीको बहावमा गण्डक ब्यारेजसम्म पनि आउँछ। किनकी त्यो क्षेत्रमा पानीको बहाव उस्ताउस्तै छ। गण्डक ब्यारेजमा बाइपास च्यानल छ त्यसलाई अपग्रेड गरेर पानीजहाज ल्याउन सकिन्छ,’ बेल्वासेले भने, ‘गण्डक ब्यारेजबाट दासढुंगासम्म पानीजहाज ल्याउन प्रारम्भिक अध्ययन भएको थियो तर धेरै प्राविधिक कुरा अहिले नै भन्न सक्ने अवस्था छैन।’
पानीजहाज कार्यालय खुलेसँगै यी कुरामा तीव्रताका साथ काम हुने उनले बताए।
‘गण्डक ब्यारेजदेखि दासढुंगासम्म पानीजहाज ल्याउने सम्भाव्यताबारे जल तथा उर्जा आयोगले नै छिट्टै सम्भाव्यता अध्ययन गरिदिन्छ, बाँकी काम पानीजहाज कार्यालयले नै गर्छ,’ बेल्वासेले भने। प्रधानमन्त्री ओलीले भने नदीको आकार, गहिराइअनुसारका पानीजहाज बनाएर भए पनि जहाज ल्याउने बताएका छन्।
‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ पानीजहाज कार्यालयको उद्घाटन गर्दै उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ।’
नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए।
‘पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने पनि छ। संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसक्यो, खोलाको वहाव परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘पानीजहाज ल्याउन पुलले बाधा पुर्याउँदैन।’’
कलकत्ता बन्दरगाहदेखि अहिले मासिक ५ हजार हाराहारी कन्टेनर सामान नेपाल आउँछ। एक कन्टेनरको औसत क्षमता २२ टन हुन्छ। कलकत्ताबाट वीरगञ्ज र विराटनगर भन्सारसम्म १ कन्टेनर सामान ल्याउन ढुवानी भाडामात्र सरदर १ लाख ३० रूपैयाँ लाग्छ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कार्गोसम्बन्धी काम गर्ने व्यवसायी अविनाश बोहोराका अनुसार नेपाली सीमा नजिकै पानीजहाज ल्याउन भारतले काम थाल्नु र नेपालमा पनि पानीजहाज कार्यालय खुल्नु आयात र निर्यात दुबैका लागि खुसीको कुरा भएको बताए।
‘पानीजहाज आयो भने आयातका गर्दा सामान सस्तो हुने त छँदै छ हाम्रो निर्यातलाई पनि ठूलो राहत हुन्छ,’ बोहोराले भने, ‘नेपालमा सिपिङ टर्मिनल नभएकाले सामान ल्याएर आएका कन्टेनर रित्तै फर्किन्थे भने यताबाट सामान पठाउन पर्यो भने कलकत्ताबाट कन्टेनर मगाउनु पर्थ्यो। यही आउने कन्टेनरमा सामान पठाउन पायो भने हाम्रो सामानको मूल्य प्रतिष्पर्धात्मक हुन्छ।’
बोहोराले पानीजहाज आउँदा पैसा सस्तोमात्र हुने होइन समय पनि कम लाग्छ अनि अरू प्रशासनिक झन्झट पनि व्यहोर्नु नपर्ने बताए।
नेपालको पानीजहाज सपना ५ दशक पहिला सुरू भएको हो।
४६ वर्षअघि नेपालमा पानीजहाज चलाउन कम्पनी खडा भएको थियो। समुद्रमा पानीजहाज चलाउने महत्वाकांक्षी लक्ष्यसहित ०२७ सालमा पानीजहाजसम्बन्धी कानुन र २०२८ मा नियमावली बनेको थियो। रोयल नेपाल सिप कर्पोरेसन भन्ने संस्थान २०२९ मा खुलेको थियो।
पूर्वअर्थसचिव हिमालयशमशेर राणाका अनुसार कान्तिपथमा कम्पनीको कार्यालय थियो।
‘एउटा जहाज भाडामा लिएर चलाउने तयारी थियो, तर पछि खै के भएर हो त्यो योजना कार्यान्वयन हुन सकेन,’ राणाले भने।
४ दशकदेखि पानीजहाज कार्गोको ढुवानी व्यवसायमा संलग्न इन्टरस्टेटका मल्टी मोडल ट्रान्सपोर्टका प्रबन्ध निर्देशक आरबी रौनियारले पर्याप्त अध्ययनबिना नै कम्पनी खोलिएकाले असफल भएको बताए।
‘राजा महेन्द्रका भाइ हिमालय शाहको लगानी भएको त्यो कम्पनीबाट नाफा नहुने भएपछि चलाउने हिम्मत आएन,’ रौनियारले भने, ‘अहिले त नेपालको मात्र सामान बोक्ने पानीजहाज चल्न सम्भव छैन भने त्यो बेला झन् चल्ने कुरा भएन।’
नेपालले पानीजहाज चलाउन नसक्ने ठानेर २०६५ मा सरकारले उक्त कम्पनीमा भएको आफ्नो सेयर बेचेको थियो।
‘अब यो चल्दैन, बरु घर बेच्दा फाइदा हुन्छ भनेपछि हामीले त्यो अफिस बेचेका थियौं,’ पूर्वअर्थसचिव रामेश्वर खनालले भने।
पानीजहाज हुँदै नेपाल कसरी आउँछ सामान?
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कार्गोसम्बन्धी काम गर्ने व्यवसायी अविनाश बोहोराका अनुसार स्थानीय कम्पनीले पानीजहाजबाट सामान ल्याउँदा किन्ने र बेच्ने पक्षबीच सिपिङ कम्पनी आउँछन्। यस्ता कम्पनीमध्ये केहीका आफ्नै पानीजहाज हुन्छन्, केहीले अरूका जहाजमा सामान पठाउँछन्।
धेरै नेपाली आयातकर्ताले कलकत्तासम्म पुर्याइदिने सर्तमा बिक्रेतासँग सामान किन्छन्। बिक्रेताले सिपिङ कम्पनीसँग ‘डिल’ गर्दा परिमाण ठूलो हुने भएकाले भाडा सस्तो पर्छ। जबकि, नेपाली आफैंले 'डिल' गर्दा महँगो भाडा तिर्नुपर्ने हुन्छ।
संसारभरि पानीजहाज दुई रुटमा चल्छन्, मेन लाइन र फिडर लाइन। मेन लाइनमा चल्ने जहाज ठूला हुन्छन्। धेरै पानी भएको महासागरमा चल्ने यस्ता जहाजले १६ हजार कन्टेनरसम्म सामान बोक्न सक्छन्।
फिडर लाइनमा चल्ने जहाज साना हुन्छन्। यिनले मेन लाइनमा चल्ने जहाजले ल्याएको सामान विभिन्न देशका बन्दरगाहसम्म पुर्याउँछन्। यस्ता जहाजले ४ सय कन्टेनरसम्म बोक्न सक्छन्।
नेपालको कुनै आयातकर्ताले ब्राजिलबाट केएफसीको सामान कलकत्तासम्म ल्याउँदा यी दुवैखाले जहाज चाहिन्छन्।
ब्राजिलबाट सामान पठाउने कम्पनीले यो क्षेत्रभरिका लागि माग भएको मासु एउटा जहाजमा हालेर पठाउँछ। मेन लाइनमा चल्ने त्यो पानीजहाजमा अरू पनि सामान हुन सक्छ।
ब्राजिलबाट हिँडेको झन्डै तीस दिनपछि जहाज श्रीलंकाको कोलोम्बो बन्दरगाह आइपुग्छ।
‘कलकत्ता ल्याउनुपर्ने सामानलाई त्यहीँ अनलोड गरेर त्यो जहाज आफ्नो गन्तव्यमा हिँड्छ,’ कार्गो व्यवसायी बोहोराले भने, ‘कोलम्बोबाट फिडर भेसलले झन्डै सात दिन लगाएर कन्टेनर कलकत्ता ल्याइपुर्याउँछ।’
अफ्रिका, युरोप र अमेरिकाको सामान कोलम्बो बन्दरगाहमा आउँछ भने चीन, जापान, कोरियालगायत पूर्वी एसियाली देशबाट सामान बोकेर आउने ठूला जहाज सिंगापुर र मलेसियाको पोर्ट क्लाङमा रोकिन्छन्। ती दुवै बन्दरगाहबाट कलकत्ता सामान ल्याउन पनि फिडर भेसललाई साता दिन लाग्छ।