सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुयलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरेर भयानक गल्ती नगरेको पनि दाबी गरे। ‘नेपालस्थित अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ। अब यो समस्या हल भयो,’ उनले भने।
प्रचण्ड र अमेरिकी राजदूत र्याण्डी बेरीबीच शनिबार प्रचण्ड निवास खुमलटारमा भेट भएको उनले जानकारी दिए।
नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरे। उनले भने,‘सबै कुरा मिलिसक्यो। सहमति भैसक्यो। अब यसलाई अनावश्यक रूपमा उचाल्नु हुँदैन।’
भेनेजुयलाको राष्ट्रिय सभाका नेता हुवान गोवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने अमेरिकी कदम राष्ट्रपति निकोलस मडुरोमाथिको साम्राज्यवादी कू भएको उल्लेख गर्दै दाहालले वक्तव्य निकालेका थिए।
काठमाडौंस्थित अमेरिकी दूतावासले दाहालको वक्तव्यमा असन्तुष्टि जनाउँदै परराष्ट्र मन्त्रालयको धारणा मागेको थियो।
पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए। उनले भने,‘उहाँहरूबीच तीन घण्टा कुराकानी भयो। मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ।’
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भीर कुराकानी भएको पनि पौडेलले जनाए।
उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरूबीच सहमति भएको छ । पार्टी एकीकरणको कामलाई दुबै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भीर कुरा भएको छ। पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु।’
यसअघि प्रधानमन्त्री ओलीले भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे विज्ञप्ति दिँदा प्रचण्ड चिप्लिएको बताएका थिए। आफू स्वदेशमा भएको भए त्यस्तो विज्ञप्ति नआउने उनको भनाइ थियो।
जवाफमा प्रचण्डले आफूले चिप्लिएर नभई पार्टीको सचिवालयले समेत त्यही किसिमको विज्ञप्ति जारी गरेकाले व्यक्तिले बोल्नुको अर्थ नहुने बताएका थिए।