स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।
सुरूमा डा. केसी आइसियुमा भर्ना हुन राजी थिएनन्। उनी पहिले आफू अनसन बसेको ठाउँमै जान चाहन्थे। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आइसियुमा बस्न राजी भए।
नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको केसी समूहका सदस्य डा. अभिषेक सिंहले जानकारी दिए।
'इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो,' उनले शुक्रबार बिहान काठमाडौं विमानस्थलमा अवतरणलगत्तै सेतोपाटीसँग भने, 'उहाँलाई टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।'
यी पनि हेर्नुहोस्:
डा. केसीलाई भद्रपुरबाट करिब २ बजे सेनाको हेलिकप्टरमा उडाइएको थियो। उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स विमानस्थलमा डाकिएको डा. सिंहले बताए।
केसीलाई काठमाडौं ल्याउन सरकारले पहल गरेको होइन। डा. केसीलाई समर्थन गर्न र उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार इलाम पुगेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र डाक्टर सिंहको पहलमा उनलाई काठमाडौं ल्याइएको हो।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरको टोलीले बुधबार केसीको स्वास्थ्यमा गम्भीर समस्या भएकाले इलाममा राखिराख्नु खतरापूर्ण हुने सुझाव दिएका थिए।
'पहिले त गोविन्द सर काठमाडौँ आउनै मान्नुभएको थिएन, तर हामी सबैले सम्झाएपछि केही बोल्नुभएन। अनि सेनाको हेलिकप्टर मगाएर लिएर आयौं,' सिंहले भने।
धरानका डाक्टरहरूले केसीलाई धेरैथरी समस्या देखिएको बताएका थिए।
‘जाँच गर्ने उपकरण पनि सँगै लिएर गएका थियौं। उहाँको शरीर जाँच्दा स्वास्थ्यसम्बन्धी धेरै समस्या देखिए,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले सेतोपाटीसँग भने, ‘उहाँको हिजोको स्वास्थ्य अवस्थाबारे ९ बुँदा बनाएर बुझाएका छौं। के-के जटिलता आउन सक्छ भन्ने पत्र पनि अस्पताल र स्वास्थ्य मन्त्रालयलाई दिएका छौं।’
डाक्टर साहका अनुसार डा. केसीको रगतमा चिनीको मात्रा ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भए बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या आउनसक्छ। ‘पटक-पटक अनसनमा बसेर होला, उहाँ अहिले पनि बोल्दै हुनुहुन्छ,' डा. साहले सेतोपाटीसँग भने, 'तर कुनै पनि बेला उहाँको होस हराउन सक्छ। श्वासप्रश्वासमा बाधा आउन सक्छ।’
डा. केसीको रगतमा अक्सिजनको मात्रा पनि कम हुँदै गएको छ। सामान्यतया रगतमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी हुनपर्छ तर केसीको रगतमा ८० प्रतिशत हाराहारीमा रहेको र घन्टैपिच्छे घटबढ भइरहेको डाक्टर साहले बताए।
उनका अनुसार डा. केसीको रगतमा अल्बुमिन ३.३ ग्राम प्रतिडेसीलिटर मात्र छ। सामान्य मानिसको शरीरमा अल्बुमिनको मात्रा ३.४ देखि ५.४ ग्राम प्रतिडेसीलिटर हुन्छ।
‘अल्बुमिनको कमीले उहाँको खुट्टा सुन्निन थालेको छ। सेतो रक्तकोषिका (डब्लुबिसी) पनि क्रमश: घट्दै गएको देखियो। प्रोटिन र डब्लुबिसी पनि कम भएपछि शरीरमा संक्रमणको सम्भावना बढी हुन्छ,’ डा. साहले भने, ‘यसले चाँडोचाँडो शरीरलाई अस्तव्यस्त पार्ने सम्भावना हुन्छ र निमोनिया हुन्छ।’
अनसन बस्नुअघि डा. केसीले मुटुको धड्कनका लागि औषधि खाइरहेका थिए।
‘अनसनका कारण औषधि खान छुटाउनुभएको रहेछ। त्यसैले मुटुको धडकन अनियन्त्रित हुँदैछ। कहिले घटेर ३५ सम्म पुग्छ, कहिले बढेर २०० सम्म छुन्छ,’ डा. साहले भने, ‘त्यसबाहेक अरू पनि समस्या छन्। उहाँको शरीरमा हानिकारक रसायन पनि थुप्रँदै गएका छन्। त्यसलाई हामी टक्सिन भन्छौं। यिनले कुनै पनि बेला मुटुलाई फेल पार्ने सम्भावना हुन्छ।’
यिनै स्वास्थ्य समस्या हेरेर डा. केसीलाई इलाममा राखिरहनु खतरापूर्ण हुने सुझाव दिएको उनले बताए।
‘इलाम अस्पतालमा पूर्वाधार पुग्दैन। बेहोस भए श्वासप्रश्वास नियमित गराउन भेन्टिलेटर चाहिन्छ। त्यहाँ भेन्टिलेटर कहिले हुन्छ, कसैले भन्न सक्दैन,’ डा. साहले भने, ‘विशेषज्ञ टोली पठाएर पनि उहाँको उपचार गर्न गाह्रो छ। मुटुको धड्कन मनिटरिङ नगरी मुटुको औषधि दिँदा जोखिम हुन्छ।’
शरीर कमजोर भइसकेकाले यसपालि अनसनको छैठौं दिनमै केसीको स्वास्थ्यमा धेरै समस्या देखिएको साहले बताए। ‘समयमै उपचार गराउन र ज्यान जोखिममा नपार्न सुविधासम्पन्न र सुरक्षित ठाउँमा लैजानुपर्छ,’ साहले भने।