सुन्धारामा आफ्नै कार्यालय रहेको बागदरबार भत्काएर नयाँ बनाउने काठमाडौं महानगरपालिकाको तयारीमा सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ।
सर्वोच्चका न्यायाधीश दिपकराज जोशीको एकल इजलासले 'बागदबार नभत्काउनू' भनी मंगलबार अन्तरिम आदेश दिएको हो।
चौतर्फी विरोध हुँदाहुँदै महानगरले पुरातात्विक महत्वको एेतिहासिक बागदबार भत्काउन खोजेपछि सम्पदा संरक्षण अभियन्ताहरूले सर्वोच्चमा रिट हालेका थिए।
प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्मलाई विपक्षी बनाएर दायर रिटमा लिच्छविकालीन, मल्लकालीन, राणाकालीन वा शाहकालीन सबै दरबार जोगाउने आदेश माग गरिएको थियो। राष्ट्रियकरण गरिएका राणकालीन दरबार सार्वजनिक सम्पत्ति भएकाले यिनलाई एक पुस्ताबाट अर्कोमा हस्तान्तरण गर्न पनि जोगाएर राख्नुपर्ने रिट निवेदकहरूको जिकिर छ।
सर्वोच्चले रिटमा उल्लिखित विषय गम्भीर सरोकारको भएकाले बागदरबार नभत्काउनू भनी अाफ्नो अादेशमा उल्लेख गरेको छ।
‘बागदबार पुरातात्विक महत्वको ऐतिहासिक दरबार भएकाले रिट निवेदन किनारा नलाग्दासम्म विद्यमान स्वरुप परिवर्तन गरी कुनै पनि निर्माणसम्बन्धी काम नगर्नू, नगराउनू,' सर्वोच्चको आदेशमा भनिएको छ, 'दरबारलाई यथास्थितिमै संरक्षण गर्नू, गराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश दिइएको छ।’
भुइँचालोले क्षति पुगेको वसन्तपुर दरबार स्क्वायरस्थित राणाकालीन गद्दी बैठक पुरानै स्वरूपमा जिर्णोद्वार गरिँदा पनि बागदरबार भत्काएर नयाँ बनाउन महानगरपालिका उद्यत थियो। गद्दी बैठकजस्तै यो दरबार पनि ‘रेट्रोफिटिङ’ गरेर जिर्णोद्धार गर्न किन सकिँदैन भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले प्रश्न गर्दै आएका थिए।
सय वर्ष पुरानो सम्पदा सूचीमा पर्ने यो दरबार भत्काउन हुन्छ कि हुँदैन भन्नेमा पुरातत्व विभागले पनि बोली फेरेको थियो।
पुरातत्वले २०७४ कात्तिक १५ गते महानगरलाई लेखेको पत्रमा ‘दरबारको भित्री जग बलियो रहेको र रेट्रोफिटिङ गर्न सकिने’ उल्लेख छ। त्यसपछि जेठ १५ गते अर्को पत्र लेखेर ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनर्निर्माण गर्नू’ भन्यो।
यो पनि हेर्नुहोस्:
पुरातत्वको पछिल्लो पत्रलाई विज्ञहरूले दुराशयपूर्ण भन्दै आएका छन्। कुनै कालखण्डको महत्व दर्शाउने सम्पदा जोगाउनुपर्ने निकायले नै भत्काउने अनुमति दिएकोमा उनीहरूको आपत्ति छ।
पुरातत्व संरक्षण ऐनमा सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम छ। विज्ञहरूका अनुसार बागदरबार सजिलै 'रेट्रोफिटिङ' गरेर जोगाउन सकिन्छ।
महानगरका पदाधिकारीले भने सर्वसाधारण र कर्मचारीको बाक्लो आउजाउ हुने भएकाले भत्काएर नयाँ बनाउनुपर्ने तर्क गर्दै आएका छन्। रेट्रोफिट गर्दा पुनर्निर्माणजस्तो बलियो नहुने उनीहरूको भनाइ छ। यसले रेट्रोफिटिङको मान्यताप्रति नै अविश्वास झल्काउँछ। भुइँचालोमा क्षति पुगेका भवन पुरानै स्वरुपमा रेट्रोफिटिङ गरेर सुरक्षित राख्न सकिने मान्यता छ।
बागदरबारसँग विभिन्न कालखण्डको इतिहास जोडिएको छ।
इतिहासविद्का अनुसार अमरसिंह थापाले यो दरबार बनाएका हुन्। त्यतिबेला यसको आकार सानो थियो। भीमसेन थापाले शक्तिमा आएपछि यसलाई १ सय २० रोपनी क्षेत्रफलमा फैलाए।
अमरसिंहले दरबार बनाएकै ठाउँमा भीमसेन थापाले थप भवन पनि बनाउन लगाए। यही बेला उनले नजिकै धरहरा बनाए। धरहरा र बागदरबार दुवैमा मुगल वास्तुकला प्रयोग गरिएको थियो।
विसं १८९४ मा भीमसेन थापाको पतनपछि यो दरबार सरकारीकरण गरिएको अभिलेख छ। १९०१ मा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि यो सम्पत्ति फेरि थापाहरूकै स्वामित्वमा गयो।
माथवरसिंहले दरबारको प्रवेशद्वारमा पाटेबाघ पालेका थिए। त्यही भएर यसलाई ‘बाघदरबार’ भन्न थालेको मानिन्छ। बाघदरबारबाटै अपभ्रंश हुँदै बागदरबार भन्न थालेको मान्यता छ। यहाँ पछिसम्म बाघको खोर थियो। राणाकालमा समेत बाघ पाल्ने गरिन्थ्यो।
माथवरसिंहलाई उनकै भान्जा जंगबहादुर कुँवरले विसं १९०२ मा हत्या गरे। जंगबहादुरले ल्याएको राणा शासनकालको अस्थिर राजनीतिक अवस्थामा यो दरबार विभिन्न व्यक्तिको स्वामित्वमा गयो।
१९४१ सालतिर राणा प्रधानमन्त्री वीरशमशेरले दरबारमा सेतो मार्बल ओछ्याउन लगाए। ९० सालको भुइँचालोमा जीर्ण दरबार जुद्धशमशेरको पालामा ‘निओ क्लासिकल’ शैलीमा पुनर्निर्माण गरिएको थियो। पछि जुद्धशमशेरले छोरा हरिशमशेरलाई दरबार उपहार दिए। त्यसपछि बागदरबारलाई ‘हरि भवन’ पनि भनिएको पाइन्छ। पछि उनका सन्तानले सरकारलाई बिक्री गरेका थिए।
युरोपियन शैलीमा बनेको तीनतले यो दरबारको भित्री संरचना आकर्षक छ। दलिनमा इम्बोज गरिएका बाक्ला टिन छन्। कलात्मक रेलिङ र झ्याल छन्। 'डोरम्यान लङ मिडल्सबर्ग' भन्ने कम्पनीबाट झिकाइएका फलामका बिम छन्। त्यो बेला राणाहरूले दरबार बनाउँदा प्रायः त्यही कम्पनीबाट फलामका कलात्मक सामग्री आयात गर्थे।
यहाँ काठबाट बनेका बतासी झ्याल पनि छन्। अमेरिका, बेलायत लगायत विभिन्न ठाउँबाट झिकाइएका झल्लर बत्ती छन्। दरबारका भित्ताका गारा ठूला र मोटा छन्। बार्दली फराकिलो छ। ठाउँठाउँमा चोक छन्। ती चोकमा रहेका बगैंचामा लिची, भोगटे, निबुवा लगायत बिरुवा रोपिएका छन्।
दरबार निर्माणमा सिमेन्टभन्दा बलियो मानिने बज्र अर्थात् माटो, मासको दाल, चाकु, जुट, इँटाका टुक्रा लगायत परम्परागत निर्माण सामग्री प्रयोग गरिएका छन्।
नेपालमा ४५ वटा राणाकालीन भवन ‘निओ क्लासिकल’ शैलीमा बनेको तथ्यांक छ। यसमध्ये केही भवन सरकारले अधिकरण गर्यो भने केही राणाहरूले बेचे। ती दरबारमध्ये प्राविधिकहरूले राष्ट्र बैंक बसेको थापाथली दरबार र बालुवाटार दरबार मात्र भत्काउन सुझाव दिएको थियो। बाँकी रेट्रोफिट गरेर जोगाउन सकिने उनीहरूको निष्कर्ष छ।
यही आधारमा बागदरबार भत्काउने कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, काठमाडौं स्कुल अफ लका विद्यार्थी सञ्जय अधिकारी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गरेका थिए।
निवेदक तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल र निवेदक सञ्जय अधिकारीले बहस गरेका थिए।