भुइँचालोले क्षति पुगेको वसन्तपुर दरबार स्क्वायरस्थित राणाकालीन गद्दी बैठक पुरानै स्वरूपमा जिर्णोद्वार गरिएको छ। यही बेला काठमाडौं महानगरपालिका भने आफ्नो कार्यालय रहेको सुन्धारास्थित बागदरबार भत्काएर नयाँ बनाउने तयारीमा छ।
पुरातात्विक महत्वको यो राणाकालीन दरबार के गद्दी बैठकजस्तो ‘रेट्रोफिटिङ’ गरेर जीर्णोद्धार गर्न नसकिने हो ?
सय वर्ष पुरानो सम्पदा सूचीमा पर्ने यो दरबार भत्काउन हुन्छ कि हुँदैन भन्नेमा पुरातत्व विभागले बोली फेरेको छ।
आठ महिनाअघि विभागले दरबार नभत्काउन महानगरलाई निर्देशन दिएको थियो। २०७४ कात्तिक १५ गते महानगरलाई लेखेको पत्रमा ‘दरबारको भित्री जग बलियो रहेको र सबलीकरण (रेट्रोफिटिङ) गर्न सकिने’ उल्लेख छ।
उक्त निर्देशनपछि बागदरबार भत्काउन तम्सिएको महानगर पछि हट्यो।
अहिले आएर पुरातत्व पनि महानगरसँगै हात मिलाउन थालेको छ। उसले यही जेठ १५ गते महानगरलाई अर्को पत्र लेखेर ‘दरबारको मौलिक स्वरुप परिवर्तन नगरी परम्परागत शैलीमा पुनर्निर्माण गर्न’ भनेको छ।
सुरुआतमा दरबारको महत्व वर्णन गर्दै संरक्षण गर्नुपर्छ भनेको पुरातत्वले भत्काउने अनुमति दिनु शंकास्पद रहेको सम्पदा संरक्षण अभियन्ता बताउँछन्। पुरातत्वको दोहोरो व्यवहारले उनीहरू आक्रोशित छन्।
पुरातत्व संरक्षण ऐनमा सय वर्ष पुरानो भवन एवं सम्पदा जगेर्ना गर्नुपर्ने नियम छ।
हामीले यसै सम्बन्धमा पुरातत्व विभागका इन्जिनियर सम्पत घिमिरेसँग बागदरबार पुनर्निर्माण गर्न अनुमति दिनुको कारणबारे प्रश्न गर्यौं।
उनले महानगर कार्यालयमा सर्वसाधारण र कर्मचारीको बाक्लो आउजाउ हुने भएकाले भत्काएर नयाँ बनाउनुपर्ने तर्क गरे।
‘रेट्रोफिट गर्दा पुनर्निर्माणजस्तो बलियो हुँदैन। अर्को भुइँचालोमा भत्किन सक्छ,’ उनले भने, ‘जोखिमपूर्ण देखेर मौलिक स्वरुप परिवर्तन नगर्ने गरी पुनर्निर्माण गर्न खोजिएको हो।’
उनको भनाइले रेट्रोफिटिङको मान्यताप्रति अविश्वास झल्काउँछ। भुइँचालोमा क्षति पुगेका भवन पुरानै स्वरुपमा रेट्रोफिटिङ गरेर सुरक्षित राख्न सकिने मान्यता छ।
‘अर्थक्वेक सेफ्टी सोलुसन’ का सुरज पौडेल रेट्रोफिट गरिएका भवन बस्न सुरक्षित हुने बताउँछन्।
‘राम्ररी जीर्णोद्धार गरियो भने रेट्रोफिट गरिएको भवन बलियो हुन्छ। यसमा कसैले शंका नगरे हुन्छ,’ उनले भने, ‘राम्ररी बनाएन भने पुनर्निर्माण गरिएका भवन पनि भत्किन सक्छन्।’
भवन इञ्जिनियरिङले प्रमाणित गरेको रेट्रोफिटिङ विधि संसारभरि प्रयोगमा आएको उल्लेख गर्दै उनले भने, ‘पुरातात्विक महत्वका भवन पुनर्निर्माण गर्दा मौलिक स्वरुप जस्ताको तस्तै रहँदैन। त्यही भएर संसारभरि रेट्रोफिटिङ गरेर सम्पदा संरक्षण गरिँदै आएको छ।’
पुरातत्वका इञ्जिनियर घिमिरे भने फरक मत राख्छन्।
‘बागदरबार कुनै संग्रहालय भइदिएको भए हामी रेट्रोफिटिङ गर्न भन्थ्यौं। कर्मचारी बस्ने र सर्वसाधारणको आउजाउ हुने कार्यालय भएकाले भत्काउनुपर्छ। रेट्रोफिट गरेर जोखिम मोल्न सकिन्न,’ उनले भने।
पुरातत्वले मौलिक स्वरुपमा बनाउने भनेको बागदरबार पुरानै शैलीमा पुनर्निर्माण होला भन्ने निश्चित छैन। महानगरले गत असोजमा निकालेको डिजाइनअनुसार यसमा मल्लकालीन, राणाकालीन र आधुनिक गरी तीन खालको शैली ‘फ्युजन’ गरिने उल्लेख थियो।
सम्पदा संरक्षण अभियन्ताहरू पुरातत्व र महानगरको यस्तै रवैया रहे पुरातात्विक महत्वका सम्पदाको अवशेषसम्म बाँकी नरहने भन्दै आलोचना गर्छन्।
राणाकालीन दरबारका अध्येता चन्दा राणा बागदरबार एेतिहासिक सम्पदा भएकाले सम्भव भएसम्म जीर्णोद्धार गर्नुपर्नेमा जोड दिन्छिन्।
‘जुनसुकै समयमा बनेको दरबार हाम्रो सम्पदाको हिस्सा हो,’ उनले भनिन्, ‘यी दरबार काठमाडौं सभ्यताभित्र पर्ने मल्लकालीन दरबारजति पुरानो नभए पनि राणाकालीन संरचनाका अवशेष हुन्। कुनै कालखण्डमा यो खालको संरचना नेपाल भित्रिएको थियो भनेर भावी पुस्तालाई देखाउन संरक्षण जरुरी छ।‘
यी सबै दरबार भुइँचालोमा क्षति पुगे पनि पुरानो स्वरुप नमासी जीर्णोद्धार गर्न सकिने उनको भनाइ छ।
चन्दाका अनुसार राणाहरूले आफ्नो शासनकालमा दरबार वा अन्य भवन बनाउँदा ‘निओ क्लासिकल’ शैली प्रयोग गरेका थिए। नेपालमा ४५ वटा राणाकालीन भवन यही शैलीमा बनेको तथ्यांक छ। यसमध्ये केही भवन सरकारले अधिकरण गर्यो भने केही राणाहरूले बेचे।
बागदरबारसँग पनि विभिन्न कालखण्डको इतिहास जोडिएको छ।
इतिहासविद्का अनुसार अमरसिंह थापाले यो दरबार बनाएका हुन्। त्यतिबेला यसको आकार सानो थियो। भीमसेन थापाले शक्तिमा आएपछि यसलाई १ सय २० रोपनी क्षेत्रफलमा फैलाए।
अमरसिंहले दरबार बनाएकै ठाउँमा भीमसेन थापाले थप भवन पनि बनाउन लगाए। यही बेला उनले नजिकै धरहरा बनाए। धरहरा र बागदरबार दुवैमा मुगल वास्तुकला प्रयोग गरिएको थियो।
विसं १८९४ मा भीमसेन थापाको पतनपछि यो दरबार सरकारीकरण गरिएको अभिलेख छ। १९०१ मा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि यो सम्पत्ति फेरि थापाहरूकै स्वामित्वमा गयो।
माथवरसिंहले दरबारको प्रवेशद्वारमा पाटेबाघ पालेका थिए। त्यही भएर यसलाई ‘बाघदरबार’ भन्न थालेको मानिन्छ।
बाघदरबारबाटै अपभ्रंश हुँदै बागदरबार भन्न थालेको मान्यता छ। यहाँ पछिसम्म बाघको खोर थियो। राणाकालमा समेत बाघ पाल्ने गरिन्थ्यो।
माथवरसिंहलाई उनकै भान्जा जंगबहादुर कुँवरले विसं १९०२ मा हत्या गरे। जंगबहादुरले ल्याएको राणा शासनकालको अस्थिर राजनीतिक अवस्थामा यो दरबार विभिन्न व्यक्तिको स्वामित्वमा गयो।
१९४१ सालतिर राणा प्रधानमन्त्री वीरशमशेरले दरबारमा सेतो मार्बल ओछ्याउन लगाए। ९० सालको भुइँचालोमा जीर्ण भएको दरबार जुद्धशमशेरको पालामा ‘निओ क्लासिकल’ शैलीमा पुनर्निर्माण गरिएको थियो।
पछि जुद्धशमशेरले छोरा हरिशमशेरलाई दरबार उपहार दिए। त्यसपछि बागदरबारलाई ‘हरि भवन’ पनि भनिएको पाइन्छ। पछि उनका सन्तानले सरकारलाई बिक्री गरेका थिए।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागदरबार खासमा ‘हरि भवन’ भएको र इतिहास सय वर्ष पुरानो नभएको भन्दै भत्काउने प्रयास गरेका थिए।
संरक्षण अभियन्ताको विरोध र पुरातत्वको निर्देशनपछि उनको प्रयास रोकियो। अहिले त्यही पुरातत्वले आफ्नो अडान छाडेपछि महानगर दरबार भत्काउन तम्सिएको हो।
‘सूर्यलाई चन्द्रमा भन्दैमा त्यसको अस्तित्व बदलिँदैन। दरबारको नाम परिर्वतन हुँदैमा इतिहास परिर्वतन हुँदैन,’ चन्दा भन्छिन्, ‘नाम जेसुकै होस् इतिहासका विभिन्न कालखण्डसँग जोडिएको यो दरबार जोगाउनुपर्छ।’
इञ्जिनियर डिल्लीजंग राणाकी नातिनी चन्दालाई यो दरबार उनकै हजुरबुवाहरूले पुनर्निर्माण गरेको अनुमान छ। ९० सालको भुइँचालोमा क्षति पुगेका लक्ष्मीनिवास, सिहंदरबारको ग्यालरी बैठक लगायत डिल्लीजंगको टोलीले नै पुनर्निर्माण गरेको उनी बताउँछिन्।
युरोपियन शैलीमा बनेको तीनतले दरबारको भित्री संरचना आकर्षक छ। दलिनमा इम्बोज गरिएका बाक्ला टिन छन्। कलात्मक रेलिङ र झ्याल छन्। डोरम्यान लङ मिडल्सबर्गबाट झिकाइएका फलामका बिम छन्। त्यो बेला राणाहरूले दरबार बनाउँदा प्रायः त्यही कम्पनीबाट फलामका कलात्मक सामग्री आयात गर्ने उनले जानकारी दिइन्।
यहाँ काठबाट बनेका बतासी झ्याल छन्। अमेरिका, बेलायत लगायत विभिन्न ठाउँबाट झिकाइएका झल्लर बत्ती छन्। दरबारका भित्ताका गारा ठूला र मोटा छन्। बार्दली फराकिलो छ। ठाउँठाउँमा चोक छन्। ती चोकमा रहेका बगैंचामा लिची, भोगटे, निबुवा लगायत बिरुवा रोपिएका छन्।
चन्दाका अनुसार दरबार निर्माणमा सिमेन्टभन्दा बलियो मानिने बज्र अर्थात् माटो, मासको दाल, चाकु, जुट, इँटाका टुक्रा लगायत परम्परागत निर्माण सामग्री प्रयोग गरिएका छन्।
राणाकालीन ४५ दरबारमध्ये प्राविधिकहरूले राष्ट्र बैंक बसेको थापाथली दरबार र बालुवाटार दरबार मात्र भत्काउन सुझाव दिएको थियो। बाँकी रेट्रोफिट गरेर जोगाउन सकिने उनीहरूको निष्कर्ष छ।
सहरी विकासको पुराना भवन संरचना विभागले भने रेट्रोफिट गर्दा पुनर्निर्माणभन्दा ३० प्रतिशत बढी लागत लागेमा भत्काउन पाउने प्रस्ताव अघि सारेको थियो। यस्तो मापदण्ड सम्पदा संरक्षणमा त्रुटिपूर्ण रहेको चन्दाको भनाइ छ।
‘३० प्रतिशत होस् कि शतप्रतिशत, जति लागत परे पनि इतिहास बोकेका संरचना अमूल्य हुन्छन्,’ उनले भनिन्, ‘यसलाई पैसासँग तुलना गर्न मिल्दैन।’ सबै तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी