सम्पादकीय नोट:सिंहदरबार टाढा छ। पर्खालभित्र बन्द। चौबीसै घन्टा सुरक्षाकर्मीको पहरा। त्यहाँसम्म जनताको आवाज पुग्दैन। नजिकको सरकार जनताकै अगाडि छ। छरछिमेकमै। वडा कार्यालय। यहाँका जनप्रतिनिधि जनताका काम गर्न आएका हुन्। सुरक्षाकर्मीको पहरा छैन। जनताको आवाज सजिलै पुग्छ।
उनीहरुले आफ्ना आवाज पुर्याए त?
हामी 'सिंहदरबार बाहिरका सरकार' शृंखलाको दोस्रो संस्करण सुरु गर्दैछौं। यसमा हामी वडा कार्यालयका प्रतिनिधि र स्थानीयसँग भेट्नेछौं। जनताका समस्या वडाले सुन्छ कि सुन्दैन? जनताको नजिकको सरकार उनीहरुसँग नजिक छ कि सिंहदरबार जत्तिकै टाढा? के गर्दै छन् यहाँका जनप्रतिनिधि?
शृंखलाको यो अंकमा काठमाडौं महानगरपालिका, वडा नम्बर १८ ।
पुरानो बस्ती। साँघुरा गल्ली। एकपछि अर्को चोक। चोकैपिच्छे मठ-मन्दिर र चैत्य।
नेवारी रहनसहन। नेवारी बोलीचाली। नेवारी बाजागाजा। नेवारी कलाशैली। नेवारी परिकारको सुगन्ध।
दिनैजसो चाडपर्व र जात्राको रौनक। अनि मान्छेको भिडभाड।
यो हो, वडा नम्बर १८।
काठमाडौंको भित्री बस्तीमा यो र यस्ता केही वडा छन्, जसले यहाँको मौलिकता धेरै हदसम्म जोगाएर राखेको छ। यो मौलिकता हराउन नदिन स्थानीय सरकारको भूमिका कस्तो रहला?
यही प्रश्नको उत्तर खोज्न हामी नरदेवीको वडा कार्यालय पुग्यौं।
पहिलो तल्लामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छ। दोस्रोमा वडाको प्रशासनिक कार्यालय। त्योभन्दा माथि वडाध्यक्ष र चार जना सदस्यको कोठा।
हामीले वडाध्यक्ष न्हूछेकाजी महर्जनलाई त्यही प्रश्न सोध्यौं।
'वडाको मौलिक पहिचान जोगाउन कुनै कसर छाडेका छैनौं,' उनले भने, 'विकास निर्माणका काम त गरेकै छौं, त्यो सँगसँगै यहाँका चाडपर्व, जात्रा, बाजागाजा र रीतिथिति संरक्षणमा पनि पहल गर्दैछौं।'
नब्बे प्रतिशत नेवार समुदायको बाहुल्य रहेको यो वडामा नेपाल भाषामै निवेदन दिन पाइन्छ। सिफारिस पनि नेपाल भाषामै लेखिन्छ। भुइँचालोले आंशिक र पूर्ण क्षति पुर्याएका मठ-मन्दिर पुनर्निर्माण भइरहेको छ। विभिन्न नाच र बाजागाजा संरक्षणमा पनि वडाले सहयोग गरिरहेको उनले बताए।
अध्यक्ष महर्जनले निर्वाचित भएको एक महिनापछि नै स्थानीय स्तरमा छलफल गरी एजेन्डा तय गरेका थिए। त्यसैअनुरुप यहाँका चोक, गल्ली र भित्री बाटोहरुको मर्मतसम्भार जारी छ। निर्माण सामग्री छरपस्ट देखिन्छन्। चोकहरुमा बत्ती मर्मत र नयाँ थप्ने काम भइरहेको छ। प्रत्येक साता नि:शुल्क स्वास्थ्य परीक्षण हुन्छ।
मध्यसहरमै स्थानीयलाई टहलिन र आराम गर्न भुरुङखेल चउरमा सार्वजनिक पार्क निर्माण भइरहेको छ। चार रोपनी क्षेत्रफलको यो पार्कले भिडभाडयुक्त बस्तीमा खुला स्थलको कमी पूरा गर्ने वडाध्यक्ष महर्जनले बताए।
'यो ठाउँ पहिले केही भूमाफियाले बेच्ने र किन्ने गरेका थिए। मासिने डर भएपछि हामीले पार्क निर्माण सुरु गरेका हौं,' उनले भने।
'हाउस पुलिङ' भनिने एकीकृत भवन निर्माण यो वडाको अर्को निर्माणाधीन आयोजना हो।
किलागल दम्बचोकमा एकीकृत भवन निर्माण गर्न धेरै स्थानीयले २०७२ सालमै लालपुर्जा बुझाएका थिए। सुरुमा २५ प्रतिशत स्थानीयको आपत्ति रहे पनि सबैलाई सहमतिमा लिएर बस्ती विकास गर्न खोजेको उनले बताए। यसले खासै गति भने लिन सकेको छैन।
‘मैले स्थानीयसँग भोट माग्दा नै यो विषय उठाएको थिएँ। त्यतिबेला ९० प्रतिशत जनता यसको पक्षमा थिए। कामले सोचेजस्तो गति लिन नसकेपछि स्थानीय फेरि विभाजित भएका छन्। अहिले त ७५ प्रतिशतले मात्र एकीकृत प्रणालीमा जाने भनेका छन्,’ उनले भने।
यो आयोजनाअन्तर्गत बस्तीका पुराना घर भत्काइनेछ। त्यसपछि बाटो फराकिलो पारेर यहाँको साँस्कृतिक पक्ष कायम राख्दै बहुतले सामूहिक भवन निर्माण गरिनेछ। भवन बनेपछि घरधनीलाई तला वा फ्ल्याट हस्तान्तरण गरिनेछ।
‘हाउस पुलिङले थोरै जग्गामा बनेका साना र जोखिमयुक्त पुराना घरको सट्टा केही परिवार मिलेर बस्ने अपार्टमेन्टको प्रबन्ध मिलाउँछ। पुराना कलाकौशल, सम्पदा र मौलिकता कायम राख्दै यो आयोजना कार्यान्वयन गर्न सकिन्छ,' उनले भने, 'यसमा टोलबासीको पूर्ण समर्थन रहने मैले विश्वास लिएको छु।’
गत माघ २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाएर संयुक्त आवास प्रणाली विकास गर्ने योजना अघि सारेको थियो।
केही स्थानीय भने हाउस पुलिङ अवधारणाले यहाँको प्राचीन र मौलिक सम्पदा मासिने भन्दै आलोचना गर्छन्।
काठमाडौंको भित्री बस्ती भनेको लस्करै मिलेर बनेका स-साना घर हुन्। तिनलाई अहिलेकै अवस्थामा भुइँचालो प्रतिरोधक बनाउनुपर्नेमा निमिट्यान्न पारेर बहुतले घर बनाउँदा यहाँको सभ्यता नाश हुने उनीहरुको भनाइ छ।
'विकास र आधुनिकताका नाममा काठमाडौंलाई चिनाउने परम्परागत बसोबास शैली मास्ने प्रयास भइरहेको छ,' स्थानीय आलोकसिद्धि तुलाधारले भने।
दस वर्षदेखि सम्पदा संरक्षणमा आवाज उठाउँदै आएका तुलाधर यही वडाका स्थानीय हुन्।
‘म आफैं भुइँचालोमा नाशिएका रानीपोखरी, काष्ठमण्डपजस्ता सम्पदा मौलिक शैलीमा पुनर्निर्माण हुनुपर्यो भनेर लागेको छु। आफ्नै वडामा पुरानो मौलिक शैलीका घर भुइँचालो जोखिमका नाममा मास्ने प्रयास भइरहेको छ,' उनले भने।
पहिले केही व्यक्तिलाई भुइँचालोको डर र विकासको लोभ देखाएर लालपुर्जा बटुल्ने काम भएको उनको आरोप छ। महानगरले सुरक्षाको ख्याल राख्ने हो भने यहाँका घरलाई अहिलेकै अवस्थामा भुइँचालो प्रतिरोधक बनाउन सहयोग गर्नुपर्ने उनले बताए।
'गलत सूचनाको भरमा बहकिएका स्थानीयलाई हामी सम्पदाको महत्व बुझाउन थालेका छौं। यसले काठमाडौं सभ्यता मासिने खतरा बुझेपछि धेरैले हात झिक्न थालेका छन्,’ उनले भने, 'यो आयोजना तुरून्तै नरोकिए विवाद हुने पक्का छ।'
'संस्कृति भनेको सेयरमा लगानी गरेजस्तो होइन। हाउस पुलिङ मान्नु भनेको लालपुर्जा बन्धकी राखेर बहुतले घरको सेयर लिएजस्तो हो। बहुतले घर भनेको न हाम्रो सभ्यता हो, न संस्कृति। यसमा हाम्रो मौलिकता रहँदैन। आत्मीयताको भावना हुँदैन। यसले हाम्रो संस्कृति बिगार्छ। भत्काउँछ,’ उनले भने।
यहाँ बिहान-बेलुकी झन्डै आधा घन्टा जाममा फस्नुपर्ने समस्या पनि उनले औंल्याए। यो वडालाई सवारीमुक्त बनाउन ध्यान दिनुपर्ने उनको सुझाव छ।
कतिपय स्थानीयलाई भने हाउस पुलिङ आयोजनाको जानकारी छैन। स्थानीय सरेन्द्र शाक्य त्यसैमध्ये एक हुन्। वडाले आफ्नो टोलमा कुनै काम नगरेको उनको गुनासो छ।
‘वडाले आफ्नो कार्यालय भएतिर मात्र काम गरेको छ,’ उनले भने, ‘बाटो बनाएको थियो, फेरि बिग्रिसक्यो। टोलमा फोहोर पनि थुप्रिएकै छ। किलागलतिर खासै केही काम भएको छैन।’
भुइँचालोपीडित रत्न महर्जन भने वडाको कामबाट सन्तुष्ट छन्। जनप्रतिनिधि आएपछि कर्मचारीतन्त्रले दिने दु:ख अन्त्य भएको उनी बताउँछन्।
‘वडाबाट थुप्रै काम भएको छ। गुनासो गर्ने ठाउँ छैन। पहिला सचिवज्यूले कम्ता दु:ख दिनु हुन्नथ्यो। यो भएन त्यो भएन भनेर काम त्यसै ढिलो गरिदिने,’ उनले भने, ‘अहिले त्यस्तो छैन।’
पञ्चरत्न डंगोल धेरै काममा वडाको अझै ध्यान नपुगेको बताउँछन्।
‘मेरो टोलमा सफाइको काम हुन सकेको छैन। नचाहिने तार धेरै भएर टोलै गज्याङगुजुङ देखिन्छ। बाटो पिच गर्छ तर व्यवस्थित गर्दैन। सार्वजनिक सुनुवाइमा गुनासो राखे पनि सुनुवाइ भएको छैन,’ उनले भने।
८० वर्षीया गणेशकुमारी मानन्धर वडा कार्यालय धाउने काम नपरे पनि टोलमा पहिलेभन्दा विकासका काम भएकोमा दंग छिन्।
यो वडाले गत वर्ष १ करोड ५ लाख रुपैयाँ बजेट पाएको थियो। यो वर्ष १ करोड ५० लाख पाएको छ। वडामा हुने अन्य कामका लागि सात लाख महानगरले छुट्याएको छ।