सरकारले साउन १ देखि माइतीघरमा विरोध प्रदर्शन गर्न रोक लगाउँदै काठमाडौं उपत्यकाभित्र सात ठाउँ तोकेको छ। खुलामञ्च त्यसैमध्ये एक हो। विगतमा पनि राजनीतिक दलहरुको प्रदर्शन र आमसभा हुँदै आएको यो ठाउँ अब आफ्नो नामअनुसार खुला भने छैन।
पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको यो चउर आफैं अतिक्रमणको शिकार छ। अतिक्रमण गर्ने अरु कोही होइन, काठमाडौं महानगरपालिका हो जो संरक्षण गर्ने दायित्वमा छ।
महानगरले यो चउर विभिन्न सरकारी तथा निजी संघ-संस्थालाई आफूखुसी प्रयोग गर्न अनुमति दिँदै आएको छ। यहाँ गृह मन्त्रालयले भनेजस्तो विरोध प्रदर्शन त के, सर्वसाधारणलाई टहलिने ठाउँसम्म बचेको छैन।
खुलामञ्चको एक तिहाइभन्दा बढी भाग जस्तापाताले घेरेर बसपार्क सञ्चालन गरिएको छ। महानगरपालिकाले साविकको पुरानो बसपार्कमा २९ तले बहुउद्देश्यीय टावर निर्माण गर्न लागेकाले त्यहाँको बसपार्क खुलामञ्च सारिएको हो। छ महिनालाई भनेर सारिएको बसपार्क तीन वर्ष पुग्दा पनि हटेको छैन।
२०७१ फागुन २२ गते सार्वजनिक–निजी साझेदारीको मोडलमा काठमाडौं टावर निर्माणको सम्झौता भएको थियो। राजधानीको सार्वजनिक स्थल मास्दै २४ रोपनी क्षेत्रफलमा किन टावर बनाउनुपर्यो भन्नेमा महानगर आफैं प्रस्ट छैन। सम्झौताअनुसार टावर बनाउन दिएको तीन वर्षको समय भदौमा सकिँदैछ। यो अवधिमा भवनको जग पनि पूरा भएको छैन।
कुनै बेला काठमाडौं उपत्यकाभरि गुड्ने स्थानीय रुटका बस छुट्ने यो ठाउँमा अहिले छड र रोडाको थुप्रो छ। यो भवन निर्माण कहिले सकिन्छ र राजनीतिक विरोध गर्ने भनिएको खुलामञ्च बसको घन्चमन्चबाट कहिले मुक्त हुन्छ यकिन छैन।
त्यसअिघ पनि यो ठाउँ पूर्ण रुपमा मुक्त थिएन। यहाँ फुटपाथ बजार सञ्चालन हुँदै आएको थियो।
बसपार्क सँगसँगै महानगरपालिकाले खुलामञ्चमै भूमिगत पार्किङ निर्माण गर्ने योजना ल्याएको छ। यसले फेरि कहिलेबाट खुलामञ्च थप अस्तव्यस्त हुन्छ भन्न सकिँदैन। भूमिगत पार्किङ निर्माणको सम्भाव्यता अध्ययन भइरहेको महानगरले जनाएको छ।
‘भूमिगत पार्किङ निर्माण गर्न सम्भाव्यता अध्ययनसँगै लागतबारे छलफल भइरहेको छ,' महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'पुरानै योजना भए पनि यसमा जनप्रतिनिधिहरुले चासो देखाउनुभएको छ।’
महानगरका तत्कालीन प्रमुख रुद्रसिंह तामाङले सार्वजनिक-निजी साझेदारीमा पार्किङ स्थल बनाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रस्ताव गरेका थिए।
महानगरपालिकाले पुनर्निर्माण क्रममा रहेको दरबार हाइस्कुललाई पनि खुलामञ्चमै अस्थायी कक्षा सञ्चालन गर्ने अनुमति दिएको छ।
भुइँचालोमा भत्किएको देशकै पुरानो दरबार हाइस्कुल पुनर्निर्माण नसकुञ्जेल खुलामञ्चमा कक्षा सञ्चालन गर्ने अनुमति दिइएको हो। यसका लागि दरबार हाइस्कुल र महानगरबीच द्विपक्षीय सम्झौता भएको छ। विद्यालय सञ्चालन गर्न महानगरले खुलामञ्चमा ६ रोपनी जग्गा उपलब्ध गराएको छ।
‘दरबार हाइस्कुल पुनर्निर्माणको चरणमा रहेकाले कम्तिमा छ महिना कक्षा सञ्चालन गर्ने गरी अस्थायी भवन बनाउन दिएका छौं,’ महानगर प्रवक्ता कार्कीले भने।
सर्वसाधारणले उपभोग गर्न पाउनुपर्ने चउर अतिक्रमण गरेको महानगरलाई हामीले सोधेका थियौं- गृह मन्त्रालयले खुलामञ्चमा विरोध प्रदर्शन गर्नू भनेको छ, यहाँ ठाउँ पुग्छ त?
महानगर प्रवक्ता कार्की विरोध प्रदर्शनका लागि खुलामञ्चमा ठाउँ अभाव नहुने बताउँछन्।
‘प्रदर्शन भए पनि एक दुई सय जना त आउने होलान्। त्यसका लागि खुलामञ्चमा ठाउँ अभाव हुँदैन,’ प्रवक्ता कार्कीले भने, ‘अभाव भए हामी रत्नपार्कभित्रै मिलाइदिन्छौं।’
२०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समिति बैठकले प्रदर्शनका लागि स्थान तोकेको थियो। उपत्यकाका खुलामञ्च, तीनकुने चउर, भुइँखेल चउर, पेप्सीकोला खेल मैदान, सानो गौचरण, लैनचौर समाज कल्याण परिषद् अगाडि र सिफल चउरमा विरोध सभा गर्न मिल्ने निर्णय भएको थियो।
गृहमन्त्री रामबहादुर थापाले पत्रकार सम्मेलन गरेर तोकिएको स्थानबाहेक अन्य ठाउँमा प्रदर्शन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।