अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी एजेन्डा केन्द्रित बहसमा जुट्नुपर्ने बताएका छन्।
मनमोहन अधिकारी बाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री अवैध असुलीमा रहेको बताएर आफ्नै पार्टी अध्यक्ष प्रचण्डविरूद्ध 'फायर' खोलेका शर्माले पार्टीमा निरंकुशता हाबी भएको टिप्पणी गरेका थिए।
उनको यस्तो टिप्पणीपछि अध्यक्ष प्रचण्डले पनि उपमहासचिव शर्माको नाम नलिई 'दलाल र प्रतिक्रियावादीहरूको उक्साहटमा पार्टीविरोधी गतिविधि भइरहेको' बताएका थिए। प्रचण्डले 'पार्टीमा आफूले प्रशस्त सिंगौरी खेल्न दिएको' भन्दै निरंकुशता रहेको भन्ने शर्माको भनाइको खण्डन गरेका थिए।
प्रचण्डको प्रतिवादपछि मौन रहेका उपमहासचिव शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत् मुख खोलेका छन्।
उनले माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएकोमा असन्तोष प्रकट गर्दै भने, 'पार्टीबारे उठेका भ्रम र तथ्यहरू गहिरो गरी बुझ्न आग्रह गर्छु।'
'विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भनेर गरिएको प्रचारलाई यति बेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु,' शर्माले भने, 'गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिमा भएको बहस र निर्णयअनुसार असारदेखि सुरू गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गरौं। यसले पार्टी पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।'
उनले दुईबुँदे सहमतिपछि गिरेको पार्टीको साख पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहस गर्नुपर्ने भनेका छन्।
'यति बेला सिंगै देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन। यसको समाधान संविधान संशोधन, अर्थतन्त्र पुनर्संरचना र पार्टी पुनर्गठन नै हो,' उनले भने, 'अर्थतन्त्र पुनर्संरचनाले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्छ।'
यसबाट संकटग्रस्त अर्थतन्त्रमा सुधार आउने र सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्ने उनको भनाइ छ।
'देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ,' शर्माले अगाडि भने, 'संविधान संशोधनले शासकीय स्वरूप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्र पुनर्संरचना लगायत एजेन्डाबाट राष्ट्रलाई एकताबद्ध गर्नेछ।'
विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्यौल, सांगठनिक अराजकता, विधि विहिनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टी पुनर्गठन गर्ने उनको भनाइ छ।