नियम विपरित अध्यक्षले गाउँपालिका कार्यालय सारेपछि….


बबई गाउँपालिकाको अध्यक्ष भुवनेश्वर पौडेलले कानून विपरित गाउँपालिकाको कार्यालय सारेका गरेका छन्।

पहिले कार्यालय रहेको स्थान हंसपुरबाट पौडेलले हापुरेमा कार्यालय सारेका हुन्। स्थानीय तह सेवा सञ्चालन अध्यादेश २०७४ मा कुनैपनि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न परेमा पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने उल्लेख छ।

तर, उनले कानूनै मिचेर मनपर्दी कार्यालय हापुरे सारेको आरोप स्थानीयले लगाएका छन्।

गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सरकारको सिफारिस अनिवार्य मानिने भएपनि अध्यक्ष पौडेलले आफूखुसी कार्यालय स्थान्तरण गरेको आरोप स्थानीयले लगाएका छन्।

सरकारको सिफारिस बमोजिम गाउँपालिका/ नगरपालिकाको नाम वा केन्द्र नेपाल राजपत्र अङ्कित सूचना प्रकाशित गरेर मात्रै हेरफेर गर्न पाउने प्रावधान विपरित अध्यक्ष मनोमानी ढंगले चलेका छन्। गाउँपालिका वा नगरपालिकाको केन्द्र तोक्न सिफारिस गर्नुपर्दा आवश्यक पर्ने जग्गाको क्षेत्रफल,भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेबमोजिम हुने प्रावधान रहेको छ ।

तर, उल्लेखित कानूनी प्रावधान लत्याउँदै गाउँपालिका अध्यक्ष पौडेलले हंसपुरबाट कार्यालय सारेर हापुरेको एउटा निजी घरको कोठामा कार्यालय सारेका छन्। ‘अध्यक्षको मनोमानी स्वीकार्य छैन। हामी मुद्दा हाल्ने तयारीमा छौं’ बबई गाउँपालिका वडा नं. २ का अध्यक्ष चिन्तामणी शर्माको भने।

कार्यालयका कर्मचारी अनुपस्थित रहेको मौका छोपी गाउँपलिका अध्यक्ष पौडेलले सुटुक्क गाउँपालिका कार्यालय सारेको उनले बताए। ‘अझै पनि अधिकृत र लेखापालको कार्यालय पुरानै स्थान(हंसपुर)मै छ,’– वडा अध्यक्ष शर्माले भने ‘नियम मिचेर जान खोज्ने गाउँपालिकाको अध्यक्षको विरोधमा हामी खरो उत्रनेछौं।’ उनले कार्यालय मनपरी सारेको विरोधमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा मुद्दा हाल्ने तयारी गरेको जानकारी पनि दिए।

हापुरेमा कार्यालय सारेपछि हाल विरोधले गर्दा गाउँपालिकाको कार्यालय सञ्चलनमा आउन नसकेको वडा नं. २ का अध्यक्ष शर्माले बताए। गाउँपालिकाका अध्यक्ष पौडेल नेकपा एमालेका नेता पनि हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.