कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी


दाङ निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादीका केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी भएका छन्।

बिना विभागीय मन्त्री तथा पूर्वउपप्रधानमन्त्री महरा प्रतिस्पर्धीभन्दा झन्डै १४ हजार मत अन्तरले विजयी भएका छन्।

महरालाई ३९ हजार ९ सय ५९ मत प्राप्त हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार तथा पूर्वसांसद राजु खनालले २६ हजार ३६ मत पाएका थिए।

शनिबार साँझ साढे ७ बजेपछि प्राप्त परिणाम अनुसार महरा आफ्ना प्रतिस्पर्धा कांग्रेसका खनालभन्दा १३ हजार ९ सय २३ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन्। योसँगै दाङको निर्वाचन क्षेत्र नं. २ मा सबै वाम गठबन्धनका उम्मेदवारले जितेका छन्।

यसअघि यो निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल र २ मा एमालेकै अमरबहादुर डाँगी निर्वाचित भएका थिए। दाङको निर्वाचन क्षेत्र नं. १ को २ मा पनि एमालेकै रेवतीरमण शर्मा विजयी भएका छन्।

दाङमा चार स्थानको नतिजा सार्वजनिक भए पनि अझै ५ स्थानको नतिजा सार्वजनिक हुन बाँकी छ। नतिजा सार्वजनिक हुन बाँकी स्थानमध्ये अधिकांशमा वाम गठबन्धनको नै अग्रता छ। तर निर्वाचन क्षेत्र नं. ३ (१)का नेपाली कांग्रेसका उम्मेदवार तथा श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरी भने झन्डै १२ सय मतले अगाडि रहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.