निर्वाचनका लागि सीमा नाका सिल – एआईजी पुडासैनी

दाङ–रोल्पाको सडकखण्ड पनि बन्द


प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले निर्वाचनका लागि सम्पूर्ण सीमा नाकाहरू गरिएको बताएका छन्।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल भारत बीचमा पर्ने सम्पूर्ण नाकाहरू सोमबार मध्यरातिदेखि नै बन्द गरिसकेको उनले बताए। दाङको कोइलावास नाका, बाँकेस्थित रुपैडिहा नाकामा चेक जाँच र सुरक्षा सतर्कता बढाइएको एआईजी पुडासैनीले बताए।

गम्भीर बिरामी बोकेका एम्वुलेन्स, बारुण यन्त्र जस्ता अत्यावश्यक साधन बाहेक अन्य साधनको आवात जावातमा प्रतिबन्ध लगाइएको एआईजी पुडासैनीले बताए। ‘निर्वाचन पूरा नहुँदासम्म नाका सिल भएको हुँदा आवातजावातमा प्रतिबन्ध लागिसकेको छ। तर, अत्यावश्यक अवस्था भए सोको अध्ययनपछि स्थानीय सुरक्षाकर्मीले प्रवेश दिन सक्नेछ’ एआईजी पुडासैनीले भने।

मंसिर २१ गते हुने निर्वाचनका लागि नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सीमा सिल गर्ने निर्णय भएको उनले बताए। प्रदेश नं. ५ अन्तर्गतका १२ वटा जिल्लामध्ये दुईवटा जिल्लामा मतदान भइसकेको हुँदा मंसिर २१ गते दश वटा जिल्लामा निर्वाचन हुन बाँकी रहेको छ।

दाङको छिमेकी जिल्ला रोल्पा र रोल्पासँगै सीमाना जोडिएको अर्काे पहाडी जिल्ला रुकुम पूर्वमा मंसिर १० गते शान्तिपूर्ण रूपमा मतदान भइसकेको छ। यसैबीच एआईजी पुडासैनीले ५ नं. प्रदेश अन्तरगतका सबै अन्य जिल्लाहरूमा शान्ति सुरक्षा मजबुत र भरपर्दाे पारिएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आग्रह गरेका छन्।

दाङ–रोल्पाको सडकखण्ड पनि बन्द

यसैबीच, मतदान भइसकको रोल्पा र दाङबीचको सीमाना समेत सिल गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिएकी छन्। ‘रोल्पा र पूर्वी रुकुममा यसअघि मंसिर १० गते निर्वाचन भइसकेको हुँदा यहाँ हुने निर्वाचन प्रभावित हुन नपाअोस् भनेर सोमबार मध्यरातिदेखि दाङ– रोल्पा सडक खण्ड सिल गरिएको छ’ एसपी सिंहले भनिन्।

तर, प्रदेश नं. ६ अन्तरगतको दाङको छिमेकी जिल्ला सल्यानमा समेत मंसिर २१ गते नै निर्वाचन हुने भएपनि दाङको तुलसीपुर – सल्यान सडकखण्ड ( राप्ती राजमार्ग) भने सिल नगरिएको उनले बताइन्। दाङ र भारतबीचको चलचल्तीमा रहेको सबैभन्दा ठूलो नाका कोइलावास नाका भएको हुँदा त्यसमा सुरक्षा सतर्कता बढाइएको उनले बताइन्।

दाङ र भारतको बीचमा करीब ८३ किलोमिटरको दूरीको सीमाना छ भने ३१ वटा सीमाना नाकाहरू रहेको एसपी सिंहले जानकारी दिइन्। प्रचलनमा रहेको नाका र लुकीछिपी आवातजावात गर्न मिल्ने सबै सीमाना नाकामा सुरक्षा सतर्कता बढाइएको उनले बताइन्। गत मंसिर १२ मंगलबार तुलसीपुरमा प्रधानमन्त्री आउँदा अज्ञात समूहले फालेर भागेको बम विस्फोट हुँदा ड्यूटीमा रहेका म्यादी प्रहरी २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो भने अन्य ८ जना घाइते भएका थिए। उक्त घटनाका घाइतेमध्ये केहीको हाल काठमाडौंमा उपचार चलिरहेको छ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङको सीमा इलाकामा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताइन्। सीमा इलाकाबाट निर्वाचन विरोधी तत्वहरूको घुसपैठ तथा विस्फोटकजन्य पदार्थहरूको ओसारपसार नियन्त्रणका लागि भारतीय सशस्त्र सीमा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा गस्ती गरिरहेको उनले जानकारी दिइन्।

उनले अहिलेसम्म कुनैपनि अप्रिय घटना नभएको र भविष्यमा पनि हुन नदिने तयारीका साथ आफूहरू खटिएको जानकारी दिइन्। दाङको सीमा नाकाहरू कोइलाबास, मुसी, खवरी, सिरिया, पटौली,गुरुङ, खाङ्ग्रा लगायतका नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सीमा क्षेत्रमा सुरक्षा गस्ती र निगरानी बढाएको जानकारी दिइन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.