दाङमा निर्वाचनको तयारी पूरा,अधिकांश कर्मचारी मतदान केन्द्रमा पुगे

दाङमा निर्वाचनको तयारी पूरा,अधिकांश कर्मचारी मतदान केन्द्रमा पुगे


दाङमा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाका निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

दोस्रो चरण अन्तरगत हुन गइरहेको निर्वाचन शान्तिपूर्ण रूपमा गराउनका लागि ४ हजार एक सयभन्दा बढी कर्मचारी र ३ हजार १ सय ५२ कर्मचारी सम्वन्धित मतदान केन्द्रमा खटिसकेका दाङका सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले बताएका छन्।

उनले जिल्लाका ३ सय ९४ मतदानस्थलका अधिकांश मतदान अधिकृत मतपत्र उपलब्ध गराइसकेको सेतापाटीलाई बताए। दुईदिन अघिदेखि मतदान अधिकृतलाई नियुक्ति दिएर सम्वधित मतदान केन्द्रमा खटाइसकेको जानकारी दिएका उनले छिटफुट र नजिकका केही मतदान अधिकृतले आज (आइतबार) सम्म नियुक्ति बुझिसक्ने भण्डारीले जानकारी दिए।

दाङका ३ सय ९४ मतदान केन्द्रमा कुल ३ हजार १ सय ५२ कर्मचारी निर्वाचनका लागि खटिएको जानकारी दिँदै सहायक निर्वाचन अधिकृत भण्डारीले अधिकांश मतदान अधिकृतले नियुक्ति पत्र बुझिसकेको र अब साढे ३ सय जतिले मात्रै नियुक्ति पत्र बुझ्न बाँकी रहेको बताए। मुख्य निर्वाचन कार्यालयले मतदान अधिकृतलाई मतपत्र, उम्मेदवार र उम्मेदवारका एजेण्ट बस्ने प्रतिनिधिको दस्तखत सहितको विवरण दिएर पठाउने गरेको सहायक निर्वाचन अधिकृत भण्डारीले बताए । तर, त्यो बाहेक आवश्यक निर्वाचन सामग्री भने जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउने गरेको छ । ‘अधिकांश मतदान अधिकृत मतदान केन्द्रमा पुगिसकेका छन् र सोमबारसम्म सबै मतदान अधिकृत अनिवार्य रूपमा तोकिएको मतदान केन्द्रमा पुग्नेछन्’ भण्डारीले भने।

गोलाप्रथाबाट मतदान अधिकृतको टुंगो लगाएको हुँदा सबै कर्मचारी उत्साहित भएर निर्वाचन गराउन मतदान केन्द्रमा खटिएको भण्डारीले बताए। ‘देशले सुम्पेको अभिभारा पूरा गर्न पाउँदा कर्मचारी उत्साहित छन्,’ सहायक निर्वाचन अधिकृत भण्डारीले थपे ‘आसन्न निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने दायित्व हरेक राजनीतिक दल, स्थानीय समुदाय तथा मतदाताको पनि हो।’

दक्षिणमा भारतसँग सीमाना जोडिएको दाङ उपत्यका एशियाकै ठूलो उपत्यका हो भने यसको सीमाना उत्तर पूर्वमा प्यूठान, दक्षिणमा बाँके, पश्चिममा सुर्खेत, उत्तरमा रोल्पा र सल्यान जिल्लासँग सीमाना जोडिएको छ। यातायातको साधानको पहुँच नभएका, भौगोलिक रूपमा जटिल र पैदल हिड्नुपर्ने बाध्यता रहेका जिल्लाका ६ वटा मतदान स्थलहरूलाई अति सुरक्षाका दृष्टिकोणले अति सम्वेदनशील मानिएको छ।

जिल्लाको गंगटे, हाँसिपुर, कोइलावास, रापुरको सिक्टा, प्रतापकोट अम्वास, बाघखोरको सरस्वती आधारभुत विद्यालयको मतदान स्थललाई अति सम्वेदनशीलताको सूचीमा राखिएको भण्डारीले बताए। जिल्लाका १ सय २८ मतदान स्थल सम्वेदनशील र जम्मा १७ वटा मतदान स्थललाई सामान्य सूचीमा राखिएको उनले बताए।

दाङमा १ सय ५१ मतदानस्थल र ३ सय ९४ मतदान केन्द्र रहेका छन्। निर्वाचन क्षेत्र नं. १ मा १२९ , क्षेत्र नं. २ मा १२८ र क्षेत्र नं. ३ मा १३७ मतदान केन्द्र रहेका सहायक निर्वाचन अधिकृत भण्डारीले बताए। दाङमा ३ लाख ३८ हजार नौ सय १४ जना मतदाता रहेका छन्। कुल मतदातामध्ये एक लाख ६६ हजार एक सय पुरुष, एक लाख ७२ हजार ८ सय १२ जना महिला रहेका छन् भने २ जना तेस्रो लिङ्गी रहेका छन्।

९ पदका लागि ७९ जनाको बीचमा प्रतिस्पर्धा

आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि दाङमा ९ जना पदका लागि ८१ जनाको बीचमा प्रतिस्पर्धा हुने भएको छ। तर, यसबीचमा नयाँ शक्ति पार्टीका दुई जना उम्मेदवार भने नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्। निर्वाचन क्षेत्र नं. ३ को १ र २का नयाँ शक्तिका उम्मेदवार कांग्रेसमा पार्टी प्रवेश गरेको हुँदा निर्वाचनमा ८१ जना हुने भएपनि त्यो संख्या भने ७९ मात्रै हुने भएको छ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभा निर्वाचन क्षेत्र ६ वटा पदका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरि व्यवहारिक रूपमा ७९ जनाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। दाङमा १३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

दाङमा १३ दल प्रतिस्पर्धामा

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा माले, संघीय खुम्वुवान लोकतान्त्रिक पार्टी नेपाल, नयाँ शक्ति पार्टी र नेपाली कांग्रेस बीपी जस्ता दलहरूले निर्वाचन क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा छन्।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नयाँ राजनीतिक दलहरू मंगोल नेशनल अर्गनाईजेसन पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी प्रतिपर्धामा उत्रिएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख पार्टी सहित देशभक्त जनगणतान्त्रिक मोर्चा(सिपी गजुरेल), राप्रपा प्रजातान्त्रिक (पशुपती समशेर) ले निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) र निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा (१)मा उमेदावरी दर्ता गराएको सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले बताए । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) लोहनीले निर्वाचन क्षेत्र २ अन्तरगत प्रदेश सभाको (१)मा उमेदवारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.