इतिहासमा चुनावः श्रृंखला-१नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन भयो। त्यसयता संसद र संविधानसभाका चार वटा निर्वाचन भइसकेका छन्।
हामी सातौँ संसदीय चुनावको संघारमा छौं। यस अवसरमा हामीले इतिहासमा चुनाव श्रृंखला शुरू गरेका छौं। ५९ वर्षअघि नेपालमा भएको चुनाव कस्तो थियो? कसरी भएको थियो? कति चरणमा गरिएको थियो। कसले जितेका थिए? यो श्रृंखलाको पहिलो भागमा यिनै विषय समेटिनेछन्।
नेपालको पहिलो आम निर्वाचन २०१५ साल फागुन ७ गते भएको थियो। पहिलो चरणमा मतदान भएका क्षेत्रमा दुई दिनमै परिणाम घोषणा गरिएको थियो। करिब हप्ता दिनको समय राखेर दोस्रो चरणको चुनाव भएको थियो। देशभरी चुनाव गर्न ४५ दिन लागेको थियो।
निर्वाचनको अन्तिम परिणाम भने निर्वाचन सकिएको ३० दिनपछि अर्थात २०१६ साल वैशाख २८ गते मात्र आएको थियो।
निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ४८ मतदातामध्ये १९ लाख ८१ हजार ३ सय ८१ ले अर्थात ४७ प्रतिशत मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए।
सदर मत मध्ये नेपाली कांग्रेसले ६ लाख ६६ हजार ८ सय ९८, राष्ट्रिय गोरखा परिषदले ३ लाख ५ हजार १ सय १८, नेपाल कम्युनिष्ट पार्टीले १ लाख २९ हजार १ सय ४२ मत पाएका थिए।
त्यो बेला निर्वाचनमा एक लाखभन्दा बढी मत पाउने दललाई राष्ट्रिय पार्टीको मान्यता दिइएको थियो। त्यसरी तीन वटा पार्टीले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए।
नेपाली कांग्रेसले देशका १०९ निर्वाचन क्षेत्र मध्ये १०८ क्षेत्रमा उम्मेदवारी दिएको थियो। जसमध्ये ७४ स्थान अर्थात ६८ प्रतिशत स्थान जितेको थियो। ८६ स्थानमा उम्मेदवारी दिएको गोरखा परिषदले जम्मा १९ स्थानमा जितेको थियो भने ४७ स्थानमा उम्मेदवारी दिएको नेपाल कम्युनिष्ट पार्टी ४ स्थानमा सिमित भएको थियो।
त्यो बेला दुई जना सांसद एक भन्दा बढी निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। कांग्रेसका सुवर्ण शम्सेर राणा तीन ठाँउबाट विजयी भएका थिए। नेपालको निर्वाचन इतिहासमा राणा सम्भवत एक्लो व्यक्ती हुन् जसले तीन वटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। राणाले क्षेत्र नं ९१ गुल्मी, क्षेत्र नं ५१ बारा र क्षेत्र नं ५२ बाराबाटै निर्वाचन जितेका थिए। सबैभन्दा रोचक त के छ भने निर्वाचनका क्रममा राणा एकपटक पनि गुल्मी गएनन्। उमेद्वारी पनि राणाले वारेसमार्फत दर्ता गराएका थिए। नेपाली कांग्रेसका शिवराज पन्त दुई निर्वाचन क्षेत्रबाट जित्ने दोस्रो सांसद थिए। उनले ७० र ७१ नम्बर निर्वाचन क्षेत्र डोटीबाट निर्वाचन जितेका थिए ।
कांग्रेसको चुनाव खर्च सुवर्णको जिम्मामा कांग्रेसका लागि निर्वाचनमा लाग्ने सबै खर्च सुवर्ण शमशेर राणाले व्यहोरेका थिए । चुनावका लागि राणाले पार्टीलाई १० लाख रूपैया नगद सहयोग गरेका थिए। कांग्रेसले आफ्ना प्रत्येक उम्मेदवारलाई ५ हजार रूपैया चुनाव खर्च दिएको थियो। ठूला नेताहरुलाई भने त्यो भन्दा धेरै रकम दिइएको थियो।
उद्योग धन्दा विकास नभएकोले निजी क्षेत्र खासै थिएन। त्यसैले चन्दा दिने ब्यवसायिक घराना वा साहुमहाजन खासै थिएनन्।
त्यो बेला राणा र सत्ताको नजिक रहेकाको बाहुल्य रहेको राष्ट्रवादी गोरखा परिषदलाई भने आर्थिक स्रोत जुटाउन खासै समस्या भएन।
पार्टीले चुनाव खर्च भनेर आफ्ना प्रत्येक उमेद्वारलाई १० हजार रूपैया दिएको थियो। नेपाल कम्युनिस्ट पार्टीले सामन्तहरुबाट सहयोग नलिने नीति बनाएको थियो। रौतहटका तीन निर्वाचन क्षेत्रमा नेकपाले चुनावका लागि जम्मा १२०० रूपैया खर्च गरेको थियो ।
पार्टी प्रमुखमा चुनाव जित्ने बीपी मात्रै निर्वाचनमा नेपाली कांग्रेसका सभापति बिपी कोइराला मात्रै पार्टी प्रमुख निर्वाचीत भएका थिए। बिपीले मोरङ क्षेत्र नं ३२ बाट निर्वाचन जितेका थिए। गोरखा परिषदका अध्यक्ष रणधीर सुब्बा क्षेत्र नं २६ धनकुटाबाट पराजित भएका थिए। तराई कांग्रेसका वेदानन्द झाले क्षेत्र नं ३९ सिराहाबाट हारेका थिए। नेकपाका महासचिव केशरजङ रायमाझी पाल्पा क्षेत्र नं ९३ बाट पराजित भएका थिए। प्रजातान्त्रिक महासभाका अध्यक्ष रङगनाथ शर्माले पनि काठमाडैं क्षेत्र नं ५बाट पराजय बेहोरेका थिए।
राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मीले पनि हारेर चित्त बुझाए। नेपाल प्रजापरिषदका भद्रकाली मिश्रले पनि निर्वाचन हारेका थिए ।
पार्टीका प्रमुख मात्रै होइन निर्वाचनमा ठूला–ठूला हस्तीहरु पनि पराजित भएका थिए । मुलुकमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्य काठमाडौं क्षेत्र नं ५ बाट पराजित भएका थिए। कांग्रेसको चार शीर्ष नेता मध्येका एक सूर्यप्रसाद उपाध्यायले पनि निर्वाचन हारेका थिए ।
राजा महेन्द्रका विस्वासपात्र योगविक्रम शाह र हरिशमशेर राणा पनि पराजित भए ।
चुनाव हारेपछि पूर्व प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य र डा के आइसिंह तथा प्रजातान्त्रिक महासभाका अध्यक्ष रङगनाथ शर्माले निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि राजासमक्ष उजुरी समेत गरेका थिए ।
( जगत नेपालको पुस्तक, 'पहिलो संसद बीपी–महेन्द्र टकरावबाट’ साभार तथा सम्पादित।)