सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षा तर्फ यस बर्षदेखि छात्रवृत्तिको शुरुवात गरेको छ।
सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ।
क्यानका अनुसार यो वर्ष मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ४९ विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ।
छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे।
फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई तथा आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई दिइने बताइएको छ।
सम्झौताअनुसार ४९ जनाविद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने छन्। ‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिइएको यसमा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने क्यानको भनाइ छ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंक सहितप्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
क्यानको वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ।