हामी सबै आ-आफ्ना बुवालाई आदर, माया गर्छौं। जसको बुवा हुनुहुन्न, सम्झना हामीसँग छ। हामी बुवालाई सम्झिरहन्छौं।
म बुवालाई सम्झिँदा मेरो बाल्यकालको बेलाको बुवा सम्झिन्छु, अनि उहाँ जीवनको अन्तिम क्षणको। उहाँ प्यांक्रियाजको क्यान्सरको उपचार गर्दागर्दै बित्नुभएको थियो। वर्षवर्षमा श्राद्ध गर्दा म उहाँलाई सम्झिन्छु। उहाँका गुणलाई कसरी निरन्तरता दिने भनेर गम्छु।
आज बुवाको मुख हेर्ने दिन। जसको बुवा हुनुहुन्छ, हामी भेटेर खुशी बनाउने प्रयत्न गर्छौं। नहुनेहरूले आ-आफ्नो बुवालाई सम्झन्छौं।
यो आम कुरा भयो।
अब समाजशास्त्रीय ढंगले बुवाबारे चर्चा गरौं।
एउटा समाजशास्त्रीले पितृत्व(फादरहुड)लाई अमुर्त रूपमा व्याख्या गर्न सक्दैन। हामी यसलाई मुर्त समय र स्थानको आधारमा विश्लेषण गर्छौं। समय र स्थानअनुसार बुवाहरू फरकफरक हुन्छन्।
भावानात्मक रूपमा हामीलाई लाग्न सक्छ- संसारभरिको बुवा उही वा उस्तै त हो नि । तर, उही होइन। दुई पुस्ता अगाडिको काठमाडौंको बुवा र अहिलेको काठमाडौंको बुवा फरक-फरक 'बुवा' हुन्।
यहाँ बुवा र छोराको सम्बन्ध वा बुवा र छोरीको सम्बन्ध कसरी बद्लिँदै छ भन्ने म चर्चा गर्छु। यसले फरक फरक समय र स्थानका बुवाहरु कसरी फरक हुन् भन्ने देखाउँछ।
पहिले पहिले त बुवा र सन्तानबीचको सम्बन्ध छोटो हुन्थ्यो। म स्कुल पढ्दा मेरो किताबमा नेपालीको औसत आयु पैतिँस वर्ष लेखेको हुन्थ्यो। अझ यसभन्दा अघि २८ वर्ष हुन्थ्यो। त्यसकारण त्यो समय बुवा र सन्तानसँगै बाँच्ने समय नै कम हुन्थ्यो।
अहिले औसत आयु ७० वर्ष हाराहारी पुगेको छ। यसको अर्थ बुवाले छोराछोरीसँग बिताउने समय एकदमै बढेको छ। यसले पनि बुवा र सन्तानको सम्बन्धमा परिवर्तन आएको छ।
यसको अर्को पाटो पनि छ। पहिले बुवाको माया र रेखदेख धेरै सन्तानमा बाँडिन्थ्यो। अहिले छोराछोरी कम हुन्छन्। आजको बुवा आफ्ना थोरै सन्तानमा केन्द्रीत हुन्छ।
चार दशकअघि नेपालमा एक महिलाले ६ जना भन्दा धेरै बच्चा जन्माउँथिन्। अहिले एक महिलाले औसत दुई जनाजति बच्चा जन्माउँछिन्। शहरी इलाकामा त यो दर एक दशमलव ५ प्रतिशत मात्रै छ। यसले पनि बुवा र सन्तानको सम्बन्धमा परिवर्तन आउँदै गएको छ।
अहिले महिलालाई/छोरीलाई कसरी हेर्ने भन्ने प्रश्न पनि महत्वपूर्ण छ।
सन् १९९२मा अमर्त्य सेनले लेखेका थिए- टेन मिलियन वुमेन मिसिङ (एक करोड महिला हराइरहेका छन्) । यसपछिका दिनमा भारत, चीन र नेपालकै शहरी इलाकामा यो भ्रुण हत्याको दर बढेको विभिन्न तथ्यांकले देखाएको छ। यो बुवाले छोरीलाई कसरी हेर्छ भन्ने एउटा पक्ष हो।
पहिलेभन्दा अहिले गर्भपतनको दर बढेको छ। यसका अरू पाटा छन्, तर एउटा बुवाले छोरीसँगै छोरालाई नै पनि कसरी हेर्छ भन्ने प्रश्न यहाँ जोडिन्छ। धेरैवटा छोराको महत्व एउटा बुवाको लागि कति छ त भन्ने कुरा हो यो। अब बुवाआमा सिमित संख्यामा छोराछोरी चाहन्छन्।
कामका लागि विदेशिने र छोराछोरीबाट टाढा रहने बुवाको संम्बन्ध पनि बद्लिँदै छ। कामका लागि विदेश जाने कुराले आर्थिक सहुलियत त दिएको छ तर सम्बन्धमा संकट पनि उत्तिकै जटिल बनाइदिएको छ। यसले छोराछोरीको चरित्र निर्माण र भविष्यका लागि बाटो देखाउने कुरामा पनि प्रभाव पारेको छ।
बाबुसँगै नहुर्किएका छोराछोरी गलत बाटोमा जान्छन् भन्ने विश्वास हाम्रो समाजमा छ। कामका लागि विदेश नगएर यहीँ बसिरहेको भए चाहिँ के हुन्थ्यो त? गरिबी र बेरोजगारीले बाबु र छोराछोरीको सम्बन्ध राम्रो हुन दिने थिएन। यो बरु कलहकै कारण बन्थ्यो। सँगै बस्न नपाए पनि वैदेशिक रोजगारीले यसमा केही सहजता ल्याएको छ।
अब एकैछिन नेपालका शहरी बाबुआमालाई हेरौं।
अहिले बुवाआमाको शक्ति ह्वात्तै बढेको छ। यो भनेको धेरै हदमा बाबुकै शक्ति बढेको हो। पहिलो कारण आयआर्जन दुई गुणा भन्दा धेरै छ। जागिर र व्यापारका कारण पनि उनीहरूको आम्दानी धेरै छ। काठमाडौंमा जग्गा भएका बाबुआमाको हैसियत बढेको छ। अरू केही शहरमा पनि यस्तो हुनसक्छ। उनीहरू छोराछोरीकालागि पैसा खर्च गर्नसक्ने भएका छन्।
यो सँगै उनीहरूको छोराछोरी माथि नियन्त्रण पनि बढेको छ। झट्ट हेर्दा शहरी छोराछोरी अलि स्वतन्त्र देखिन्छन्। तर सम्पत्तिमा बाबुको नियन्त्रण हुने भएकाले बाबुको कुरा नमान्न उनीहरूलाई सहज छैन।
अरू धेरैको हकमा भने छोराछोरीमाथि बुवाको नियन्त्रण घटेको छ। ठूलो दायरामा अनुसन्धान त भएको छैन तर नियन्त्रण घटेको देखिन्छ। थोरै मात्रै जग्गा भएका वा जग्गाविहीन बाबुआमाका छोराछोरी धेरै छिटो स्वतन्त्र हुन्छन्। धेरै दलित परिवारमा पनि यो देखिन्छ किनभने जमिनमा उनीहरूको स्वामित्व एकदमै सिमित छ। थोरै सीप आर्जन गर्नेबित्तिकै उनीहरू आफ्नो गरिखान थाल्छन्। जमिनले गाउँमा खासगरी छोरालाई बाँध्छ। बाबुआमाले 'जमिन हेरेर बसे भइहाल्यो नि अरू काम किन गर्नुपर्यो' भन्ने ठान्छन्। यसले गर्दा फरक काममा हात हाल्ने र प्रगति गर्ने अवसर उनीहरूसँग कम हुन्छ।
परम्परागत दृष्टिकोणअनुसार कुल र वंशको निरन्तरता छोरामा जान्छ। यसले बाबुआमा र छोराछोरीको सम्बन्ध निर्धारण गर्छ। एउटा थरकुल र सम्पत्ति हस्तान्तरण हुने प्याट्रोलिनियार्टी (पितृसत्ता) र अर्को प्याट्रोलोकालिटी अर्थात् बिहे गरेर बाबुको घरमा भित्र्याउने प्रचलन, यी दुवै कुरा हाम्रो समाजमा छ।
हामी कहाँ त बिहे गरेर श्रीमती ल्याउने भन्दा पनि बुहारी ल्याउने प्रचलन छ।
प्रशस्त जमिन भएको परिवारमा यी सबै कारणले छोरालाई अझै गाँज्छ। काठमाडौंको नेवारी समुदायको हकमा त कम जग्गाजमिन हुने परिवारमा पनि यो देखिन्छ। जो छुट्टिन चाहन्छ, उसले बाबुबाट थोरैमात्रै सम्पत्ति पाउँछ। त्यसैले नछुट्टीइ बस्ने परिवार यहाँ धेरै छन्।
केही बाबुआमाचाहिँ फरक पनि हुनसक्छन्। उनीहरूले भविष्य र अर्थतन्त्र कता तिर जाँदै छ भन्ने बुझेका हुन्छन्। आफ्नो समयमा खेती गरेर सम्पत्ति जोडियो, अब सम्पत्ति जोड्न के गर्नुपर्छ भन्ने भेउ पाएका हुन्छन्। उनीहरूले भने छोराछोरीलाई यसरी गाँजेर राख्दैनन्। यो बुझाई केही बाबुआमामा मात्रै हुन्छ।
जसले यो कुरा बुझ्दैनन्, उनीहरूले नै छोरालाई गाँजेर राख्ने हुन्। यसरी गाँजेर राख्ने प्रचलन कम भने हुँदैछ। खेती गर्ने बाबुका छोराहरू अब जग्गाजमिन सम्हालेर बसिरहन तयार पनि छैनन्।
यसको अर्थ छोराहरुसँग आम्दानीको वैकल्पिक उपाय छ। अर्थात्, छोराहरू बढी स्वतन्त्र हुँदैछन् र उनीहरूमाथि बाबुको नियन्त्रण घट्दै गइरहेको छ।
सम्पत्तिको स्वामित्वसँगै समाजमा आफ्नो स्थान र ज्ञानका हिसाबले पनि बुवाहरुहरू छोराभन्दा पछि पर्दै गएकाले पनि नियन्त्रण घट्दै गएको हो। छोराहरू बढी पढेका, बुझेका र बढी कमाउने भएपछि बाबुहरूको परम्परागत नियन्त्रण कायम रहन सक्दैन।
पहिले धेरै बाबुका छोराहरूले गर्ने पेशा कृषिनै हो। अथवा बाबुको पेशा जे हो त्यही नै छोराहरूले गर्नुपर्थ्यो। यस्तो बेला बाबुलाई लाग्थ्यो, 'मैले गरेकै काम यसले गर्ने हो। त्यसैले मैले जानेकै कुरा यसलाई सिकाउनु पर्छ।’
बाबुले जे भन्यो छोरोले त्यही गर्नुपर्थ्यो। त्यसैले बाबुहरू जहिले पनि निर्देशनकारी वा आदेश दिने भाषा बोल्दथे। छोराहरू आदेशपालक मात्रै हुन्थे। संवाद एककोहोरो हुन्थ्यो। यसैकारण छोरामाथि बाबुको दह्रो नियन्त्रण हुन्थ्यो।
बाबुछोराको यस्तो सम्बन्ध सैनिक जागिरमा रहेको परिवारमा धेरै देखिन्छ। छोराले त 'मिल्ट्री' बाबुसँग 'हस' र 'हजुर' मात्रै भन्ने हो। तर, त्यही बाबुले छोरालाई सेनामा लगाउन भनसुन पनि उत्तिकै गरिराखेको हुन्छ। उसले छोरालाई प्रेम पनि गर्छ तर दोहोरो संवाद रूचाउँदैन। दोहोरो संवादको त्यहाँ थोरै मात्र स्थान हुन्छ।
मात्रा केही कम भएपनि अरू परिवारमा पनि यस्तो सम्बन्ध हुन्छ। मेरै पनि बुवासँग १६-१७ वर्ष उमेरदेखि मात्रै दोहोरो कुराकानी हुन थालेको हो। म उहाँको आदेश पालक नै थिएँ।
अहिले चाहिँ धेरै बुवाहरूका हकमा यस्तो सम्बन्ध फेरिदँदै गएको छ। खासगरी जो 'प्रोफेशनल' वर्ग हुर्किँदैछ, उनीहरूको हकमा छोराछोरीले बढी स्वतन्त्रता पाउँदै गएका छन्। 'प्रोफेसनल' भन्नाले पढेकै भन्ने होइन, कृषिबाट विमुख भएर अर्को कुनै पेशा समातेको वर्ग भन्न खोजेको हुँ।
यस्ता वर्गमा बाबुहरू छोराछोरीसँग बढी संवाद पनि गर्दैछन् र साथीत्वको मात्रा यो सम्बन्धमा बढ्दैछ। उनीहरूले छोराछोरीको शिक्षामा अलि बढी ध्यान पनि दिइरहेका हुन्छन् र पढाइमा प्रशस्त लगानी पनि गरिरहेका हुन्छन्।
यसरी हाम्रा बुवाहरू बद्लिँदै गएका छन्, उनीहरुको भुमिका र छोराछोरीसँग सम्बन्धको आयाम बदलिदै गएको छ। यो बाबुहरूको चाहनाले होइन, समय बदलिएका कारणले हो, समाजिक सम्बन्धको चरित्रले उनीहरूलाई बदल्दै लगेको हो।
धेरै जना एकैसाथ बद्लिनु वा एक साथ समान व्यवहार गर्न थाल्नु भनेको सामाजिक संरचनाको प्रभावले नै हो।
पछिल्ला केही दशकलाई हेर्दा मैले सुरूमा उल्लेख गरेको एक किसिमको शहरी परिवारबाहेक अन्य परिवारमा बुवाको अदब घटदै गएको छ। छोराछोरीमाथि उसको नियन्त्रण घटदै गएको छ। बुवा कम निर्देशक र छोराछोरी कम आदेश पालक हुँदै गएका छन्।
नेपाली समाजमा बुवाको नियन्त्रण कम हुँदै गएको छ।
(कुराकानीमा आधारीत)
यो पनि हेर्नुहोस्