आज कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिन। यसै सन्दर्भमा हामीले २०७४ भदौ ५ गते प्रकाशन गरेको स्टोरी आज पुनः प्रकाशन गरेका छौ- सम्पादक
एमाले सचिव प्रदीप ज्ञवालीले हामीलाई धुम्बाराही पार्टी कार्यालय डाकेका थिए। हामी जे विषयमा कुराकानी गर्न गइरहेका थियौं, त्यसका लागि पार्टी कार्यालय उपयुक्त थिएन।
बेलाबेला आगन्तुकले चियाइरहने कार्यालय कोठामा उनी आफूलाई त्यो विषयभित्र डुबाउन सक्दैन थिए, सायद।
प्रदेश नम्बर २ को चुनावी रणनीतिदेखि संविधान संशोधन विधेयकमाथिको कल्याङमल्याङबीच उनलाई त्यसमा लय मिलाउन पनि सकस हुन्थ्यो, सायद।
उनले हामीलाई आफ्नो घरै डाके।
शंखमूलको घरमा जुन प्रदीप ज्ञवालीलाई हामीले भेट्यौं, ती एमाले सचिव थिएनन्, ती मात्र एक ‘बा’ थिए। छोराछोरीका ‘प्यारा’ बा।
मात्र एक छोरा थिए। बाआमाका ‘प्यारा’ छोरा।
हामीले उनीसँग कुराकानी गर्न खोजेको विषय यही थियो– जिन्दगी नै सक्रिय राजनीतिमा बिताएका व्यक्ति आफ्ना बालाई कसरी बुझ्छन्? र, अहिले बाका रूपमा आफूलाई कसरी हेर्छन्?
हामी घर पुग्दा उनकी जेठी छोरी क्षितिज सोफामा पल्टिएकी थिइन्, जो न बोल्न सक्छिन् न त हिँडडुल गर्न।
ज्ञवालीले उनलाई हात दिँदै भने, ‘खै खै हात मिलाऊ त।’
क्षितिजले बाबुको हात समातिन्।
ज्ञवालीले छोरीको शिर आफ्नो काखमा राखे। क्षितिजले अनुहार हामीतिर फर्काइन्।
त्यसपछि आफ्नो कथाको सुरुआत ज्ञवालीले नेपाली समाजमा बाको भूमिकाबाट गरे।
‘हाम्रो समाजमा बाका तीन भूमिका छन्,’ उनले भने, ‘आयआर्जन गर्ने, परिवार चलाउने र दण्डाधिकारीको रूपमा रहने। यिनै भूमिकाले धेरै बाहरू कठोर र निदर्यी देखिन्छन्।’
बाहरूको यस्तो सामाजिक भूमिकामा अलिकति प्राकृतिक र अलि धेरै पितृसत्तात्मक मान्यताले काम गरेको उनलाई लाग्छ।
‘प्रकृतिले आमाहरूलाई ममताको विशाल भण्डार दिएको छ। आमाले पिटिनै हालिन् भने पनि कुटाइ खाने बच्चालाई थाहा हुन्छ, यो क्षणिक हो,’ ज्ञवालीले भने, ‘अर्कातिर घर–व्यवहार सम्हाल्दा खानुपर्ने हन्डरठक्करले बाहरूको मनोविज्ञान र चरित्रमा कठोरता हुन्छ।’
सानो हुँदा ज्ञवाली पनि आफ्ना बाभित्र त्यही कठोरता देख्थे। बोल्न धक र संकोच मान्थे।
तीन भाइबहिनीमध्ये प्रदीप कान्छा हुन्। उखानै छ, जेठो छोरा बाबुको प्यारो, कान्छो आमाको।
‘आमासँग मेरो जति आत्मीयता भयो, बुवासँग अलि डरडर, अलि त्रासत्रास जस्तो भयो। आमासँग भएभरका सबै कुरा गर्ने म बुवासँग भने दूरीमा रहेर हुर्किएँ,’ ज्ञवालीले भने, ‘सानो हुँदा मेरो दिमागमा बुवा भनेको कठोर, छोराछोरीलाई माया नगर्ने हुँदा रैछन् भन्ने लाग्थ्यो। अहिले फर्केर सोच्छु, मेरो बुझाइ गलत रैछ।’
गुल्मीको बलेटक्सारमा जन्मेका ज्ञवाली पढाइमा अब्बल थिए। ६ कक्षासम्म छ/छ महिनामा कक्षा चढेका उनले १३ वर्षमा एसएलसी पास गरे। घरनजिकैको स्कुलमा पढाउन थाले। छोराको कमाइले घरपरिवार चलाउन बालाई सजिलो भयो।
१७ वर्षको हुँदा उनले जागिर छाड्ने र वामपन्थी आन्दोलनमा होमिँदै भूमिगत हुने निर्णय गरे।
त्यो २०३६ सालको कुनै एक दिन थियो। उनी विदा माग्न घर गए।
‘आमाले मलाई हरेक कुरामा विश्वास गर्नुहुन्थ्यो, त्यही भएर तैंले ठीकै गरिस् होला भन्नुभयो,’ ज्ञवालीले भने, ‘बुवा भने मेरो निर्णयले खुसी हुनुभएन जस्तो लाग्यो। एक त राजाविरोधी आन्दोलनमा लागेर छोराको भविष्य के होला भन्ने पीर, अर्को मैले कमाउन छाडेपछि घरव्यवहार चलाउने समस्या। यही सोचेर होला, उहाँलाई मेरो निर्णय राम्रो लागेन।’
बुवा खुसी नभए पनि ज्ञवालीले निधो गरिसकेका थिए।
उनी भूमिगत भए।
र, पञ्चायत ढलेपछि एकैचोटि २०४७ सालमा खुला भए।
त्यसपछि पनि बा र उनको सम्बन्धमा कहीँ न कहीँ दूरी रहिरह्यो।
‘पहाडमा बूढा आमाबालाई हेरचाह गर्न सकिन्न, बुटवलतिर भए बिरामी पर्दा पनि सजिलो हुन्छ भनेर हामीले घर बनाएर आमाबालाई बोलायौं,’ ज्ञवालीले भने, ‘बुटवल झर्न आमा सजिलै राजी हुनुभयो, तर बुवाले मान्नुभएन। जन्मेकै ठाउँमा मर्छु भन्नुभयो।’
२०५६ सालको संसदीय चुनावमा ज्ञवाली सांसद चुनिए। काठमाडौं बसाइँ सर्नुपर्ने भयो। त्यतिबेला आमाको निधन भइसकेको थियो। बा दाइभाउजूसँग गाउँमा थिए।
२०६१ साउनमा बाको पनि गाउँमै निधन भयो।
मृत्युको खबरपछि काठमाडौंबाट हिँडेका ज्ञवालीले राम्ररी किरिया पनि गर्न पाएनन्।
‘माओवादी द्वन्द्व चरम थियो। धेरै दिन बस्नु खतरा हुने सूचनाले अन्तिम दिनको काम नसकेरै घरबाट हिँड्नु पर्यो,’ ज्ञवालीले भने, ‘यसरी बासँगको दूरी नमेटिएरै उहाँ स्वर्गे हुनुभयो। अचेल पनि छोराको जिम्मेवारी पूरा गर्न सकिनँ कि भनेर सम्झँदा कहिलेकाहीँ पीडा हुन्छ।’
यति कुरा गरुञ्जेल क्षितिजले टाउको अर्कोपट्टि फर्काएर बाको काखमा आफ्ना खुट्टा राखिसकेकी थिइन्। छोरीको खुट्टा मुसार्दै ज्ञवालीले आफू बा बन्दाको कथा सुरु गरे।
२०४१ सालमा भूमिगत अवस्थामै ज्ञवालीको विवाह सरस्वती अर्यालसँग भयो। उनी गाउँमा पढाउँथिन्।
प्रदीप बेलाबेला घर जान्थे, एकदिन पनि नबसी फर्किहाल्थे।
साहित्य पढ्ने, कथा–कविता लेख्ने ज्ञवालीलाई आफू आकाशजस्तो लाग्थ्यो। आकार नभएको, धेरै टाढा टाढासम्म फैलिएको। र, सरस्वतीलाई उनी धर्तीजस्ती देख्थे, सबै सहने।
२०४४ सालमा सरस्वती दुई जिउकी भइन्।
‘छोरी भइदेओस् भन्ने दुवैको चाहना थियो, हामीले त नाम पनि राखिसकेका थियौं,’ प्रदीपले छेउमै बसेकी सरस्वतीतिर पुलुक्क हेरेर भने, ‘म आकाशजस्तो, उनी धर्तीजस्ती भएपछि यी दुई मिल्ने क्षितिजमा हो। त्यही भएर हामीले छोराछोरी जे भए पनि नाम क्षितिज राख्ने सल्लाह गरिसकेका थियौं।’
सरस्वतीको पेटभित्र हुर्किरहेकी क्षितिज मिर्मिरे उषामा जसरी खुल्न सकिनन्।
एकदिन ज्ञवालीको घरमा छापा मार्न प्रहरी गाउँ पसे।
सुइँको पाउनासाथ सरस्वती घरमा भएका चिठीपत्र, कागजात लुकाउन गोठमा गइन्। त्यतिञ्जेल आँगनमा प्रहरीले बुट बजारिसकेका थिए।
लिस्नो चढेर माथि गएकी उनी हतारमा फर्कंदा त्यही लिस्नोबाट खसिन्। त्यसको चोट उनको पेटभित्रको बच्चालाई लाग्यो।
‘केही दिनपछि पाल्पा आएर स्वास्थ्यलाई देखाएका थियौं, उनीहरूले सबै सामान्य भएको बताए,’ ज्ञवालीले भने, ‘महिना नपुग्दै क्षितिज जन्मिइन्। उनी यति सानी थिइन्, सुरुमा त मैले हातमा लिन पनि सकिनँ।’
एक त जन्मँदै सानी, त्यसमाथि ४/५ महिना भइसक्दा पनि क्षितिजले कुनै प्रतिक्रिया जनाउन सुरु गरिनन्। आँखा पनि चलाउन सकिनन्। ज्ञवाली दम्पतीलाई छोरीको पीरले सताउन थाल्यो। उनीहरू उपचार गर्न बुटवल आए। आँखाका डाक्टरलाई देखाए। उनीहरूले आँखाको समस्या नभएको बताए।
काठमाडौं आएपछि डाक्टर रामेश्वर श्रेष्ठलाई देखाउन लगे। उनले जे भने, त्यसले ज्ञवाली दम्पतीलाई सधैं पीडाबोध हुन्छ।
डा. श्रेष्ठले भने, ‘चोटका कारण उनको मष्तिष्क पक्षघात भएको छ, यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन।’
‘उहाँको कुरा सुनेर निकै पीडाबोध भयो,’ ज्ञवालीले भने, ‘पहिलो सन्तानका बारेमा हामीले जे कल्पना गरेका थियौं, त्योभन्दा सर्वथा विपरित बनेर निस्किइन् क्षितिज।’
ज्ञवाली आफू पन्छीजस्तो सोच्थे। बा बनेपछि लाग्यो– अब जिम्मेवारी बढ्यो। ‘तपाईंको सानो बच्चा ज्यादै बिरामी छ, उसलाई बचाउन मनमा नानावली कुरा खेल्छन्, त्यतिबेला थाहा हुन्छ बा हुनुको अर्थ,’ ज्ञवालीले भने।
पहिलो सन्तानको बा बन्दा उनले सोचेको नपुगे पनि दोस्रोचोटि उनले सबै थाहा पाए, आफू कसरी बा बनेँ भनेर।
२०४७ सालमा उनी गुल्मीकै घरमा थिए। सरस्वतीलाई सुत्केरी बेथाले च्याप्यो। ज्ञवालीले न आमालाई थाहा दिए न त छिमेकीलाई नै। बरु आफैंले श्रीमतीलाई सघाए।
‘अस्पतालमा पनि पुरुषलाई भित्र जान दिँदैन। गाउँघरमा पनि श्रीमती सुत्केरी हुँदा लोग्नेलाई नजिक पर्न दिँदैनन्, तर मैले आफैंले उनलाई सघाएँ,’ ज्ञवालीले भने, ‘मैले पनि देखेँ, उनले कति दुःख सहेपछि म बा बन्ने रैछु।’
क्षितिजसहित उनका तीन सन्तान छन्। क्षितिजपछि जन्मेका प्रशान्त र स्वागत कलेज पढ्ने भइसकेका छन्।
उनी आफ्ना तीनै सन्तानसँग त्यो दूरी राख्नै चाहन्नन्, जुन दूरी मेटिनै नपाई उनका बा छाडेर गए।
ताकि, छोराको जिम्मेवारी पूरा गर्न सकिनँ कि भनेर कहिलेकाहीँ जुन पीडा हुन्छ, त्यही पीडा बाको जिम्मेवारी पूरा गर्न सकिनँ कि भनेर नहोस्।
उनलाई थाहा छ, दूरीले राजनीति मात्र होइन, परिवार पनि बिथोलिन्छ।
तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी