बेइजिङ डायरी
केही दिनदेखि नेपाली सञ्चार क्षेत्रमा हिउँ बिनाको माछापुच्छ्रे हिमालको फोटो भाइरल बनेको छ। जलवायु परिवर्तनको असरका रूपमा नेपालका हिमालहरू कालापहाडमा रूपान्तरण हुँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
चिन्ता हुनु स्वाभाविक हो। रेमिटेन्सपछिको सबभन्दा ठूलो वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै पर्यटन उद्योग हो।
नेपालमा आउने विदेशी पर्यटकको मुख्य रोजाइ र प्राथमिकतामा हिमाल नै पर्छ। वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोतका रूपमा रहेका हिमालहरू नै हिउँविहीन हुनु निराशाजनक हो। यो निराशा नेपाल र नेपालीका लागि मात्र होइन, विश्वकै लागि पनि हो।
नेपालका हिमालहरू तिब्बती पठारमा छन्। तिब्बती पठारलाई एसियाकै जलाधार मानिन्छ। अर्थात्, तिब्बती पठार अन्तर्गत रहेका हिमाल नै एसियाका मुख्य पानीका स्रोत हुन्। यदि यहाँका हिमालहरू कालापहाडमा परिणत भए भने यसले विश्वकै पर्यावरण असन्तुलित बनाउँछ।
जलवायु परिवर्तनबाट नेपालमा डरलाग्दा अन्य संकेतहरू पनि देखा पर्न थालेका छन्। गत असोज १० देखि १२ गतेसम्म भएको अतिवृष्टिलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ। मनसुन सकिएपछिको उक्त वर्षाले अकल्पनीय क्षति पुर्याएको थियो। त्यसैगरी हिमाली क्षेत्रका हिमतालहरू विस्फोट हुने घटना पनि केही वर्षदेखि नेपालमा हुँदै आएका छन्। यस्ता प्रकोप हुँदा तटवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई चेतावनी दिने संयन्त्र नहुँदा आकस्मिक क्षति बेहोर्नुपरिरहेको छ।
जलवायु परिवर्तन हुँदा प्रकोपको केन्द्रमा रहेर पनि नेपालले उल्लेख्य रूपमा खोज अनुसन्धान गरेको देखिँदैन। नेपालका विश्वविद्यालय र सरकारी क्षेत्रबाट भन्दा गैरसरकारी क्षेत्रबाट केही काम भएको छ। तर जति हुनुपर्ने हो, त्यति भएको छैन। कहीँ कतै जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सभा-सम्मेलन हुने भए नेताहरू र असम्बन्धित व्यक्तिको ताँती लाग्नु चाहिँ लज्जाजनक विषय हो। त्यसरी जाने व्यक्तिहरूमा विषयको गाम्भीर्य र प्रस्तुत गर्नुपर्ने सामग्रीबारे सतही ज्ञान पनि हुँदैन।
उदाहरणका रूपमा, केही महिना अगाडि अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु परिवर्तनको सम्मेलन। नेपालबाट सम्बन्धित भन्दा बढी असम्बन्धित व्यक्तिको लर्को लागेको समाचार जताततै प्रकाशन भएको थियो।
विदेश जाने सरकारी प्रतिनिधि मण्डलको तयारी पनि झारा टार्ने खालको मात्र देखिन्छ। विशेष ज्ञान प्राप्त गरेका र सोही क्षेत्रमा कार्यरत व्यक्तिका विचार तथा सुझाव ग्रहण गर्ने चासो सरकारलाई हुँदैन। वैज्ञानिकहरू रातदिन खटेर खोज अनुसन्धान गरिरहेका छन्। उनीहरूको लगन र मेहनतबाट राज्यले भरपुर फाइदा लिनुपर्ने हो। तर सरकारसँग कुन व्यक्तिले कहाँ कस्तो काम गरिरहेको छ भन्नेबारे सूचना पनि नहुन सक्छ।
बाकुमा जलवायु परिवर्तनको सम्मेलन हुँदै गर्दा नेपालका एक जना वैज्ञानिकको अनुसन्धान लेख 'नेचर जर्नल' मा प्रकाशन भयो। नेचरलाई विज्ञान क्षेत्रमा उच्चस्तरीय जर्नल मानिन्छ। यसमा प्रकाशित अनुसन्धान रिपोर्ट पनि गहन र उच्चस्तरीय नै हुन्छन्। अहिलेसम्म नेचरमा सीमित नेपाली वैज्ञानिकको अनुसन्धान मात्र प्रकाशित भएका छन्।
संयोग कस्तो भने, बाकुमा जलवायु परिवर्तनमा विश्वभरका प्रतिष्ठित र सरोकारवालाहरू (नेपालबाट चाहिँ नेताहरूको बोलवाला) भेला भएर गम्भीर बहस गर्दै गर्दा, नेपाली वैज्ञानिकको अनुसन्धान पत्र नेचरमा प्रकाशन भएको हो। अनुसन्धान पत्रको मुख्य विषय पनि जलवायु परिवर्तनकै विषयमा केन्द्रित थियो।
चिनियाँ विज्ञान प्रतिष्ठानमा कार्यरत शालिकराम सिग्देलको नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले वनस्पतिमा पारेको प्रभावबारे गहन अनुसन्धान लेख नेचर प्रकाशनकै 'नेचर प्लान्ट्स' मा प्रकाशन भएको हो। सिग्देलको अनुसन्धान जर्नल वनस्पति जगतको भएकाले नेचर प्लान्ट्समा प्रकाशन भएको हो।
स्याङ्जाका शालिकराम सिग्देल विद्यावारिधि गर्न सन् २०१३ मा चीनको बेइजिङ आएका थिए। उनले चिनियाँ विज्ञान प्रतिष्ठान (चाइनिज एकेडेमी अफ साइन्सेस) बाट सन् २०१७ मा वनस्पति विज्ञानमा विद्यावारिधि (पिएचडी) गरे। पिएचडी क्रममा उनले अनुसन्धान गरेको विषय उच्च पहाडी र हिमाली क्षेत्रका वनस्पतिको अवस्थाबारे थियो।
सिग्देलले नेपालका ६ वटा हिमाली क्षेत्रमा वनस्पतिहरू माथिल्लो भागतिर सर्ने क्रमको अध्ययन गरेका थिए। उनले छानेका क्षेत्रहरूमा कञ्चनजंघा, सगरमाथा, लाङटाङ. मनाङ, जुम्ला र हुम्ला थिए। सिग्देलको अनुसन्धानभन्दा अगाडि, चिसो क्षेत्रका वनस्पति जलवायु परिवर्तनसँगै देखिएको तापमानको वृद्धिले उचाइतिर सर्छन् भन्ने भनाइ स्थापित थियो।
सिग्देलको फरक क्षेत्रका अनुसन्धानले तापमान वृद्धिले वनस्पतिहरू माथिल्लो भेगतिर सर्छन् भन्ने कुरासँगै वर्षाको मात्राले पनि सर्ने क्रमलाई असर पार्ने तथ्य प्राप्त भयो। नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा हुने भएकाले वनस्पतिहरू चाँडो माथिल्लो भेगतिर सर्छन्। नेपालको पश्चिमतिर कम वर्षा हुने भएकाले सो क्षेत्रका वनस्पतिहरू तुलनात्मक रूपमा ढिलो माथिल्लो भेगतिर सर्छन्।
सन् २०१७ मा चिनियाँ विज्ञान प्रतिष्ठानबाट पिएचडी गरेपछि सोही शैक्षिक संस्थानमा सिग्देलले स्पेसल रिसर्च एसिस्टेन्ट (विशेष अनुसन्धान सहयोगी) काम गर्न थाले। उनी सन् २०२३ अक्टोबरदेखि त्यहीँ एसोसिएट प्रोफेसर (सहप्राध्यापक) पदमा कार्यरत छन्।
सिग्देलले सन् २०१९ मा सगरमाथाका दुइटा क्षेत्रमा तीन सातासम्म गोब्रेसल्ला र भोजपत्रको अवस्थाबारे खोज तथा अनुसन्धान गरेका थिए। त्यसै गरी सन् २०२२ मा मनाङको एउटा क्षेत्रमा दुई साता लगाएर तिनै दुई वनस्पति अर्थात् गोब्रेसल्ला र भोजपत्रबारे अनुसन्धान गरे। उनको यही दुई क्षेत्रको अनुसन्धानलाई नेचर प्लान्ट्सले प्रकाशन गरेको हो।
सिग्देलले गरेको खोज तथा अनुसन्धानको नतिजा निकै रोचक र उपलब्धिपूर्ण छ।
समुद्री सतहदेखि ४०००-४१०० सय मिटर उचाइमा रहेका यी दुई वनस्पतिले जलवायु परिवर्तनमा आफ्नो अवस्था कसरी परिवर्तन गरिरहेका छन् भन्ने पुष्टि गरेको सिग्देलको अनुसन्धानले देखाउँछ।
केही सय वर्ष अगाडिसम्म गोब्रेसल्ला पाइने भूभागभन्दा बढी उचाइमा भोजपत्र पाइन्थ्यो। जलवायु परिवर्तनले तापक्रमको वृद्धिसँगै यी दुवै वनस्पति भूसतहको उचाइतिर बढ्न थाले। अर्थात् जुन उचाइमा यी पाइन्थे, बिस्तारै त्योभन्दा अलि माथिल्लो उचाइमा पनि पाइन थाले।
अनौठो कुरा, अहिले भोजपत्र पाइनेभन्दा माथिल्लो उचाइमा गोब्रेसल्ला पाइन थालेको छ।
यसको अर्थ के हो भने, विश्व तापमान वृद्धिसँगै माथिल्लो भेगतिर सर्ने क्रममा भोजपत्रभन्दा गोब्रेसल्लाको गति तीव्र छ।
सिग्देलको अनुसन्धान अनुसार भोजपत्र प्रत्येक वर्ष ६ सेन्टिमिटर र गोब्रेसल्ला ११ सेन्टिमिटर उचाइतिर सर्दै गएको छ। यसको मतलब, गोब्रेसल्लो भोजपत्रभन्दा दोब्बर गतिमा माथिल्लो भेगतिर सरिरहेको छ।
तापमानको वृद्धिले गर्दा वनस्पति उचाइतिर सर्ने क्रमले सो क्षेत्रको जीवनचक्रलाई असर पार्छ। भोजपत्र पतझर वनस्पति हो भने गोब्रेसल्ला कोणधारी। भोजपत्रको पात भुइँमा झरेपछि त्यसबाट मल उत्पादन भएर अन्य वनस्पतिको जीवनलाई सहज बनाउँछ। तर गोब्रेसल्लाको पात नझर्ने र झरेका केही पात पनि हत्तपत्त नकुहिने भएकाले सो क्षेत्रमा अन्य वनस्पति उम्रि र बढ्न नसक्ने अवस्था हुन सक्छ।
पर्यावरणको प्रणालीमा यसले गम्भीर असर पार्ने र कुनै जीवको प्रजाति लोप हुने अवस्था पनि आउन सक्ने भएकाले सिग्देलेको अनुसन्धानको नतिजा महत्वपूर्ण छ। त्यसैले ख्यातिप्राप्त वैज्ञानिक जर्नल प्रकाशक नेचर प्लान्ट्सले सिग्देलको अनुसन्धान गत नोभेम्बर १८ मा प्रकाशन गरेको हो।
नेचर प्लान्ट्समा प्रकाशित सिग्देलको अनुसन्धानात्मक लेखको शीर्षक छ 'तापक्रम वृद्धिले उच्च हिमाली भेगका रूखहरू द्रुत गतिमा उचाइतिर सर्दै' (Accelerated succession in Himalayan alpine treelines under climatic warming)।
सिग्देलको यही अनुसन्धानबारे अमेरिकाबाट प्रकाशन हुने साइन्स मिडियामा समाचार पनि प्रकाशन भइसकेको छ। उनको यो अनुसन्धानात्मक जर्नलबारे प्रायः सबै चिनियाँ सञ्चार माध्यममा समाचार प्रकाशन भएका छन्।
एक जना नेपाली वैज्ञानिकको यो स्तरको उपलब्धिलाई चीन र विश्वले प्रशंसा गर्नु शालिकराम सिग्देल व्यक्तिका लागि मात्र नभएर नेपालकै गौरवको कुरा हो। नेपालले यस्ता वैज्ञानिकलाई स्वदेशमा पनि काम गर्ने वातावरण मिलाउनुपर्छ।
जलवायु परिवर्तनका अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा सहभागी हुँदा नेपालले आफ्ना वैज्ञानिकका खोज तथा अनुसन्धानबाट प्राप्त उपलब्धि टेबलमा राखेर तथ्यगत कुरा गर्नुपर्छ। जलवायु परिवर्तनबाट पर्यावरण, जीवहरूमा कस्तो असर परेको छ, आगामी एक सय वा दुई सय वर्षमा केकस्तो अवस्था सिर्जना हुन्छ भन्ने कुरा वैज्ञानिक दृष्टिबाट प्रस्तुत गरेमा सबैको चासो नेपालप्रति हुन्छ। नेपालका मुद्दाहरू पनि स्थापित हुन सक्छन्।
नेपालले व्यक्तिभित्रको क्षमता पहिचान गरेर उचित अवसर दिँदै उसलाई विदेश पलायन हुनबाट रोक्न सक्नुपर्छ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)