भर्खरै एनपिएल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सकियो। यसका अनेक पक्षहरू छन् जसमा बेग्लै चर्चा हुन सक्छ। यो लेखमा भने म एनपिएल क्रिकेटबाट हामीले के सिक्न सक्छौं भन्नेबारे चर्चा गर्नेछु।
यी पाठहरू क्रिकेट मैदानबाहिर कुनै पनि व्यक्ति, समाज र देशका सबै क्षेत्रमा उपयोगी हुन्छन्।
यहाँ उल्लेख गर्नैपर्छ, क्रिकेटका महिला र पुरूष दुवै राष्ट्रिय टोलीहरूले यी पाठ सिकाउँछन्।
एक — सफलताका निम्ति व्यावसायिक श्रेष्ठता अनिवार्य छ।
चाहे टोलीका रूपमा होस् वा व्यक्तिका रूपमा, सकेसम्म निरन्तर राम्रो प्रदर्शन गर्नु नै सफलताको सूत्र हो। लगातार उत्कृष्ट प्रदर्शन नगरी एउटा खेलाडीका लागि कुनै टोलीमा स्थान हुन सक्दैन।
एउटा खेलाडीले निकै मेहनत र प्रयास गरेको हुन्छ। एक प्रकारले ऊ लगभग चौबीसै घण्टा व्यस्त रहन्छ। हरेक पल क्रिकेटका बारेमा सोच्छ। व्यक्तिगत रूपमा आफूलाई र टिमलाई कसरी निखार्दै, सुधार्दै लैजाने भनेर अनवरत प्रयास गरिरहन्छ।
असफल भइरहेको खेलाडी छ भने पनि सफल हुन थप मेहनत गर्छ। यसका बाबजुद जब ऊ बारम्बार असफल भइरहन्छ, उसलाई थाहा हुन्छ अब उसले अरू कुनै पेसा वा सीप रोज्नुपर्छ। त्यसपछि अन्त कतै ऊ फेरि आफूलाई उत्कृष्ट प्रमाणित गर्न प्रतिबद्ध हुनुपर्छ।
यो क्रम यसरी नै चलिरहन्छ। सहकार्य र प्रतिस्पर्धा गर्न नसक्ने, आफ्नो काम र प्रदर्शन राम्रो बनाउन नसक्ने व्यक्तिका लागि क्रिकेट टिममा कुनै स्थान हुँदैन। आफ्नो कर्तव्य उत्कृष्टताका साथ पूरा गर्नु नै धर्म हो।
उत्कृष्टताप्रतिको यो प्रतिबद्धतालाई हाम्रा अधिकांश शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवस्थापक, सरकारी अधिकारी, राजनीतिज्ञ आदिको जागिर खाने जीवनशैलीसँग तुलना गरौं।
यी सबै पेसामा उत्कृष्टताप्रति प्रतिबद्ध केही व्यक्ति पक्कै छन्। तर समग्रमा कति होलान्, ५ प्रतिशत? वा १० प्रतिशत? त्योभन्दा बढी त पक्कै छैनन्। जबकि क्रिकेटरहरूमा यो अनुपात लगभग शत प्रतिशत छ।
अब सोचौं, उत्कृष्टताप्रति प्रतिबद्ध नभएको र औसतपनमा जीवन बाँच्दा हामी आफूले, हाम्रो घरपरिवारले, देश र समाजले कस्तो मूल्य चुकाउनुपर्छ?
के विद्यालयहरू अक्षम शिक्षकलाई आजीवन कार्यकालका लागि भर्ती गर्ने थलो हुन्? कि, शिक्षकहरूको आजीवन हितका लागि हुन्? कि, शिक्षक युनियन र राजनीतिक दलहरूलाई जोगाइराख्न र लाभान्वित गर्नका लागि हुन्? वा, विद्यार्थीहरूको जीवनको उत्कृष्ट तयारीका निम्ति हुन्? हुनुपर्ने त विद्यार्थीको उत्कृष्ट जीवनको तयारीकै लागि हो, तर यहाँ शिक्षक हितका लागि भइरहेको देखिन्छ। लगभग अन्य सबै पेसामा पनि यस्तै छ। किसान र व्यापारी अपवाद होलान्!
अहिलेको आधुनिक संसारमा आफूले सकेसम्म राम्रो गर्ने र श्रेष्ठता कायम राख्ने धर्म पूरा नगरी व्यक्तिगत मूल्यको कुनै अर्थ हुँदैन। न त समाज र राष्ट्रको उन्नति हुन्छ। हामी जसको सम्मान गर्छौं, ती सबै उनीहरूले गर्ने वा गरेका कर्ममा श्रेष्ठ थिए। यो बेग्लै कुरा हो, हामी किसान, कामदार, महिला, र सीमान्तकृत मानिस र पेसाहरूमा श्रेष्ठता देख्दैनौं।
विशेषज्ञता र उच्च उत्पादकत्व प्रायः सक्रिय र स्वायत्त अनुभवबाटै प्राप्त हुन्छ। यसको अर्थ, वर्तमान समयमा कसैको कार्यसम्पादन वा प्रदर्शन क्षमता, वा सम्भावित उत्पादकत्वको मापन कार्यअनुभवको अवधि वा वरिष्ठता जस्ता मापदण्डले राम्ररी गर्न सक्दैनन्। क्रिकेट र जीवन दुवैमा, सक्रिय, स्वायत्त र उत्पादकत्व भएको कार्यअनुभवकै महत्त्व हुन्छ। यो पाठ हाम्रो लागि मूल्यवान छ, किनभने यसले हामीलाई आफ्ना उपलब्धिहरूमै रमाउनुको साटो निरन्तर काम गर्दै जीवनमा अघि बढ्न सिकाउँछ।
यो पाठ प्रमुख रूपमा सरकारी अधिकारीहरूका लागि अझ महत्त्वपूर्ण छ। सबै श्रेणीका सरकारी अधिकारीले विशेष क्षेत्र वा मन्त्रालयमा वर्षौं सेवा गरेर विशेषज्ञता हासिल गर्नुपर्छ। उनीहरूलाई एक मन्त्रालयबाट अर्कोमा सरूवा गरिनु हुँदैन। सरकारी अधिकारी भनेको मन्त्री वा राजनीतिक दलका घरेलु कर्मचारी होइनन्। आधुनिक लोकतान्त्रिक राजनीतिमा सार्वजनिक प्रशासन हुकुमी शासनमा होइन, विशेषज्ञता र व्यावसायिक योग्यतामा आधारित हुन्छ। त्यसैले कुनै मन्त्रालयमा गएपछि एक सार्वजनिक प्रशासकले सेवानिवृत्त नभएसम्म त्यही मन्त्रालयमा काम गरिरहनुपर्छ र विशेषज्ञता हासिल गर्नुपर्छ।
क्रिकेटमा हेरौं, ब्याट्सम्यान र विकेटकिपरहरू विरलै प्रसिद्ध बलर बन्छन्। एउटा फास्टबलरले विरलै लेग-स्पिन बलिङ गर्छ। फिल्डिङ पोजिसनहरू पनि लामो समयका लागि निर्धारण गरिएको हुन्छ ताकि एउटा खेलाडी स्लिप फिल्डर वा आउटफिल्डर जस्तो कुनै विशेष पोजिसनको विशेषज्ञ बनोस्। सरकारी कर्मचारीले पनि यसैगरी आफ्नो कार्यकालभरि कुनै विशेष मन्त्रालयमा काम गर्नुपर्छ।
त्यस्तै उनीहरूको मूल्यांकन पनि निरन्तर, पारदर्शी र सापेक्ष हुनुपर्छ।
दुई — क्रिकेट खेलाडीहरू उत्कृष्टताका आधारमै छानिएका हुन्छन्। त्यसका बाबजुद उनीहरू स्थायी वा वार्षिक रूपमा सधैं अनुबन्धित हुँदैनन्। कुनै निश्चित सिरिज वा प्रतियोगिताका लागि उनीहरूलाई पुनः अनुबन्धित गरिन्छ।
हाम्रा लागि यहाँ पाठ यो हो कि, सार्वजनिक क्षेत्रका कर्मचारीलाई पनि आजीवन नभई आवधिक रूपमा नियुक्त गर्नुपर्छ। नवीकरण गर्न मिल्ने अवधि एकदेखि पाँच वर्षको हुन सक्छ। यो निजामती सेवाका साथै प्रहरी अधिकृत, शिक्षक, प्राध्यापक आदि अन्य सरकारी अधिकारीहरूमा लागू हुन्छ।
यसको उद्देश्य व्यक्तिगत र सामूहिक प्रदर्शन र नतिजा सकेसम्म राम्रो बनाउनु हो। क्रिकेटमा खेलाडीलाई जागिरेका रूपमा पारिश्रमिक दिइँदैन। जबसम्म कसैले उच्च प्रदर्शन गरिरहन्छ, तबसम्म पारिश्रमिक पाउँछ। टिममा राम्रो खेल्ने धेरै खेलाडी हुन्छन्। तर तीमध्येका उत्कृष्ट खेलाडीले विभिन्न तरिकाबाट अरूभन्दा बढी कमाउँछन्। यसप्रकार खेलाडीहरूका लागि सधैं निरन्तर राम्रो प्रदर्शन गर्ने र धेरै कमाउने अवसर हुन्छ।
अर्कातिर सार्वजनिक अधिकारीहरूको अवस्था हेरौं। उनीहरूको संख्या अत्यधिक छ र कमाइ थोरै छ। समान पदका सरकारी अधिकारीलाई उनीहरूको कार्यसम्पादनको गुणस्तरको आधारमा फरक पारिश्रमिक दिइनुपर्छ। उनीहरूले प्राप्त गर्ने तलब 'ग्रेड' वृद्धि पनि सेवामा बिताएको अवधिमा मात्रै आधारित हुनु हुँदैन।
कार्यसम्पादन धेरै छोटो अवधिमा मापन गरिनुपर्छ। हामीले बुझ्नुपर्ने के हो भने, पाँच वर्ष वा सोभन्दा अघिका पुराना प्रमाणपत्र र कार्यसम्पादन सम्बन्धी कागजातको खास महत्त्व छैन। मान्छे परिवर्तन हुन्छन् र तिनको कार्यसम्पादन क्षमता पनि परिवर्तन हुन्छ। त्यसैले पछिल्ला दुई-तीन वर्षको कामको परिमाण, परिणाम र विशेष गरी गुणस्तरलाई कार्यसम्पादनको प्रमुख सूचकको रूपमा लिनुपर्छ। कुनै व्यक्तिले एसएलसी वा विश्वविद्यालय तहमा धेरै समयअघि प्राप्त गरेको 'डिभिजन' ले चालु वर्ष र अर्को वर्षमा उसको अपेक्षित कार्यसम्पादन मापन गर्न गाह्रो हुन्छ।
तीन — उत्कृष्टता समाजका सबै समूहहरूमा समान रूपमा छरिएर रहेको हुन्छ। असल गुण र उच्च प्रदर्शन जातीय, लैंगिक, क्षेत्रीय, वर्गीय रूपमा वा आधारमा प्राप्त हुँदैन। आर्थिक, राजनीतिक र सांस्कृतिक शक्तिका कारण पनि उत्कृष्टता प्राप्त हुन सक्छ तर यो आंशिक र आवधिक हुन्छ। समाजको सबै तह र तप्काबाट उजागर हुने उत्कृष्टतालाई लामो समयसम्म थुनेर राख्न सकिँदैन।
एनपिएल क्रिकेट टोलीका सदस्यहरूलाई नै हेरौं – त्यहाँ सबै वर्ग, ठाउँ, रङ, धर्म, जात लगायत समूहका खेलाडी छन्। राष्ट्रिय महिला र पुरूष टोलीहरूमा पनि यस्तै देखिन्छ।
हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के भने, आज 'माथि' भएकाहरूले उनीहरू त्यहाँ अस्थायी रूपमा छन् भन्ने महसुस गर्नुपर्छ। माथि हुनुको कारण प्राकृतिक वा ईश्वरको वरदान वा व्यक्तिगत गुण होइन। यो ऐतिहासिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत कारणहरूको परिणाम हो। पूर्ण रूपमा नभए पनि धेरै हदसम्म कथित 'उच्च' जात वा जातीय समूह, पुरूष, सहरी आदि समूहको भएकाले ऊ माथि भएको हो। तसर्थ, माथि हुनुको व्यक्तिगत अहंकार अनुचित छ।
त्यस्तै परिवर्तन अपरिहार्य छ। कुनै शक्तिशाली समूहले केही समयका लागि परिवर्तन रोक्न सक्छ, तर सधैंभरि रोकिँदैन। कुनै विन्दुमा पुगेर 'माथि' रहेका समूह वा व्यक्तिका लागि पनि परिवर्तन विरोधी हुनु र त्यसलाई रोक्नुभन्दा परिवर्तन पक्षधर हुनु र समयको प्रवाहसँग चल्नु नै बुद्धिमत्तापूर्ण हुन सक्छ।
त्यसकारण, समावेशिताको अभ्यास पूर्णतया उचित छ। यदि उत्कृष्टता कुनै विशेष समूहमा मात्र सीमित, प्राकृतिक वा वरदान होइन भने, हरेक सामाजिक प्रक्रियामा सबैलाई समावेश गर्नुपर्छ। यो नै एक मात्र लोकतान्त्रिक बाटो हो। यसबाट मात्रै सबभन्दा धेरै सामूहिक र कालान्तरमा व्यक्तिगत लाभ सम्भव छ।
हाम्रो समाजमा विशिष्टताको सहारा लिएर कसैको रङ, ठाउँ, भाषा आदिमा आफूभन्दा अलग हुनेको मजाक उडाउने र दुर्व्यवहार गर्नेहरू पनि छन्। क्रिकेटमा पनि यस्तो देखिएको छ। तर एनपिएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच फाइनलका बेला र त्यसपछि भएको दुर्व्यवहार घृणित थियो। घृणित रंगभेद र क्षेत्रीयताको प्रदर्शन थियो।
घृणाविरूद्ध अझ धेरै मानिसहरूको आवाज हुनु चाहिँ खुसीको कुरा थियो।
चार — व्यक्तिका रूपमा होस् वा देशका रूपमा, हामी अरूबाट अलग छैनौं।
यस विषयमा जोड दिन किन आवश्यक छ भने, हामीमध्ये धेरैमा राष्ट्रवादको भावना धेरै छ। यो भावनाको आंशिक कारण हामी दुई विशाल, ठूलो जनसंख्या भएका र विश्वव्यापी रूपमा झन् शक्तिशाली बन्दै गरेका देशका बीचमा हुनु पनि हो। पक्कै पनि, लगभग सबै कमजोर देशहरू र कतिपय शक्तिशाली देशहरूले पनि अतिरञ्जित राष्ट्रवादको भावना राख्छन् र प्रदर्शन गर्छन्। तर हामी अन्य देशहरू बिना बाँच्न र प्रगति गर्न सक्दैनौं भन्ने स्पष्ट छ।
आधुनिक विश्वव्यापी संसारमा सफलता हासिल गर्न अन्तर्राष्ट्रिय सहयोग र प्रतिस्पर्धा आवश्यक छ। यो कुरा देश, टोली र खेलाडीहरू सबैमा लागू हुन्छ।
एनपिएलका आठ टोलीका खेलाडीहरू विभिन्न देशका थिए। उनीहरूले देशका लागि भन्दा पनि आफ्नो र क्रिकेटको बृहत्तर हितका लागि सहकार्य गरे। त्यसका साथै उनीहरू टोलीका रूपमा प्रतिस्पर्धा गरिरहेका छन्।
एउटै टिममा विभिन्न देशहरूको प्रतिनिधित्व भएको छ। विभिन्न देशका भए पनि उनीहरू एउटै टोलीमा सँगै काम गर्छन्। आशा छ, प्रत्येक खेलाडीले धेरै हदसम्म अन्य खेलाडी, दर्शक र अन्य देशका मानिसहरूको सम्मान गर्नेछन् र कम कट्टर राष्ट्रवादी बन्नेछन्। आशा छ, विश्वबन्धुत्वको एउटा सानो बिउ त्यहाँ अंकुरित हुनेछ। त्यसो भयो भने, त्यो हामी सबैले खुसी मनाउन सक्ने कुरा हुनेछ।
यसबाट हामीले सिक्ने पाठ यो हो कि, कार्यस्थल, विद्यालय, विश्वविद्यालय, सरकार आदिमा हामीले व्यावसायिक रूपमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग सहकार्य गरेर फाइदा लिन सक्छौं। यस्तो सहकार्यबाट सिक्ने र बढ्ने अपार सम्भावना छ।
तर नेपालमा यस्तो अवस्थाको एकदमै अभाव छ। यस्तो लाग्छ मानौं, हामीमध्ये धेरैले आफूभन्दा अघि रहेका देश र मानिसबाट सिक्न आवश्यक नै छैन। वा, यसो गर्नु देशभक्तिपूर्ण होइन भन्ने सोच बनाइसक्यौं। यो वास्तवमा ठूलो झुट हो।
उदाहरणका लागि, विश्वभर धेरै राम्रा विश्वविद्यालय छन्। हामीले ती विश्वविद्यालयका बोर्डका ट्रस्टी, डिन, विभाग प्रमुख, प्राध्यापक र विद्यार्थीहरूबाट धेरै कुरा सिक्न सक्छौं। तर हामी उनीहरूलाई यहाँ आएर सँगै काम गर्न पर्याप्त मात्रा र अवधिको भिसा समेत दिँदैनौं। उनीहरूको सहयोग लिन प्रोत्साहित पनि गर्दैनौं। हाम्रा विश्वविद्यालयका बोर्डमा अर्को देशको नागरिकले काम गर्न सक्दैन। अन्य देशका विश्वविद्यालयमा काम गर्ने श्रम स्वीकृति पाएका नेपाली नागरिकले समेत यहाँका विश्वविद्यालय बोर्डको सदस्य बन्नु गैरकानुनी छ। यो नियम विश्वविद्यालयमा मात्र होइन, नेपालका धेरै जसो क्षेत्रमा छ। यो भनेको नियन्त्रण बाहिर गएको संकीर्ण राष्ट्रवाद हो।
नागरिकता आजको आधुनिक राज्यको सबभन्दा महत्त्वपूर्ण प्रतीक हो। सबै राज्यले नागरिकतालाई महत्त्व दिन्छन्। तर नागरिकता अन्तर्राष्ट्रिय रंगभेदको प्रतीक बन्नु हुँदैन। नागरिकता मात्रै हाम्रो संलग्नता, विशिष्टता, व्यावसायिक कार्यसम्पादन र आत्मसम्मानको सबभन्दा महत्त्वपूर्ण कारण हुनु हुँदैन। गैर-नागरिकहरूलाई राष्ट्रिय निर्वाचन, शीर्ष तहमा निर्णय गर्ने पद र सेनाबाट मात्र प्रतिबन्धित गर्नुपर्छ। बाँकी अन्य पदहरू धेरै हदसम्म खुला राख्नुपर्छ।
यसपालिको एनपिएल क्रिकेटले दिएका पाठ हुन् यी।
(चैतन्य मिश्र प्राध्यापक तथा समाजशास्त्री हुन्।)