आज डिसेम्बर २६ तारिख।
ठीक १३२ वर्ष अगाडि माओ जन्मिएको दिन। चिनियाँ क्रान्तिका महान योद्धा, समाजवादी विचारक, मार्क्सवाद र लेनिनवादलाई चिनियाँ परिवेशमा प्रयोग गरेर नयाँ विचार सिर्जना गर्ने सर्जक।
उनको नाम हो माओ चतोङ। नेपालीहरूका लागि माओ त्से तुङ। नेपाली कम्युनिस्टहरूले समेत उनको नाम गलत भनिरहेका छन्।
सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक सदस्य हुन् माओ। उनी सन् १९३५ देखि शक्तिमा आएका हुन्। सन् १९३५ को जनवरीमा चीनको क्विचौ प्रान्तको चुनयीमा भएको बैठकले माओलाई केन्द्रीय नेतामा स्थापित गराएको हो। उनी सन् १९४३ देखि जीवन पर्यन्त अर्थात् सन् १९७६ सेप्टेम्बर ९ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष रहे।
माओको देहान्त भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अध्यक्षात्मक प्रणाली हटाएर महासचिवलाई कार्यकारी प्रमुख बनायो। अनि माओको सम्मानमा उनको नाम अगाडि सधैं अध्यक्ष राखेर सम्बोधन गर्न थालियो।
माओ चीनमा मात्र होइन विश्वमै प्रख्यात छन्। नेपालमा माओको लोकप्रियता कम्युनिस्ट विचार राख्नेसँग मात्र नभई अन्य व्यक्तिमा पनि उत्तिकै छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले माओको सम्मानमा कविता लेखेका छन्। नेपालका तत्कालीन राजाहरू महेन्द्र शाह तथा वीरेन्द्र शाहसँगै नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले माओको प्रशंसा गरेका छन्।
चीनमा त माओ कति लोकप्रिय छन् भन्ने कुरा चीन भ्रमण गर्ने हरेक पर्यटकले थिआनआनमन स्क्वायर क्षेत्र वरिपरि विचरण गर्दा थाहा पाउँछन्। पर्यटक लक्षित पसलहरूमा माओको फोटो अंकित लकेट, टोपी, टिसर्ट, ज्याकेट, प्लेट, कलम, नोटबुक, तास, झोला, चुरोट, लाइटर, घडी, किरिङ र मूर्ति लगायत सामग्रीले पर्यटकको ध्यान तानेकै हुन्छ। त्यसमाथि विभिन्न भाषामा अनुदित माओको रातो किताब। चीन भ्रमणलाई सार्थक बनाउन माओकै फोटो छापिएको पैसासँग किनिने माओ चिनाउने अनगिन्ती उपहारहरू।
चीनभरिमा माओले बिताएका क्षणहरूलाई अहिले पनि संरक्षण गरेर राखिएको छ। त्यस्ता ठाउँहरू हेर्न हरेक दिन चिनियाँ तथा विदेशी पर्यटकको घुइँचो लाग्छ। मूलतः 'लाल पर्यटन' अर्थात 'रेड टुरिजम' भनिने ती ठाउँहरूले चिनियाँ राष्ट्रवाद मुखरित गर्छ।
सन् १९४९ मा माओकै नेतृत्वमा आन्तरिक सामन्तवाद र विदेशी हस्तक्षेपको दलदलमा फसेको चीनलाई मुक्त गरिएको थियो। एक सय वर्षभन्दा लामो अपमानको जाँतोमा पिसिएको चीनलाई मुक्ति दिलाएको हुनाले माओ र उनको विचारलाई चिनियाँ राष्ट्रवादको मियो मानिन्छ। तसर्थ, इतिहासको सम्झना र नेतृत्वप्रतिको आस्थालाई कायम राख्दै नयाँ पुस्तामा राष्ट्रवादको भावना जागृत गराउन यस्ता लाल पर्यटन क्षेत्र निकै महत्वपूर्ण मानिन्छन्।
माओ जन्मिएको घर, बाल्यकालमा पढेको स्कुल, जनमुक्ति आन्दोलनमा सेल्टर लिएको स्थान, भूमिगत कालमा चिनियाँ कम्युनिस्ट पार्टी र माओको कार्यालय रहेको ठाउँ, माओका डायरीहरू, माओका पोसाकदेखि माओ चढ्ने गरेको रेलसम्मलाई संग्रहालय बनाएर राखिएको छ। ती ठाउँमा दैनिक हजारौंको संख्यामा पुग्ने व्यक्तिले चिनियाँ इतिहासको जानकारी पनि पाउँछन्।
साढे सात वर्ष पहिले गरिबी निवारणको स्थलगत अवलोकन गर्ने सिलसिलामा पत्रकारहरूको टोलीमा सहभागी भएर चीनको पश्चिममा पर्ने कान्सु प्रान्तमा पुगेको थिएँ। कान्सु प्रान्तको दक्षिणमा रहेको कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा अधिकांश तिब्बती जातिका मानिसहरू बसोबास गर्छन्। सरदर ३ हजार ३ सय मिटरभन्दा उचाइमा रहेको उक्त क्षेत्रका मानिसले अझै पनि चौंरीपालनलाई मुख्य पेसाका रूपमा अँगालेका छन्।
सन् २०१७ जुन १८ देखि २४ सम्म भएको उक्त भ्रमणका क्रममा जुन २२ का दिन हामीलाई एउटा गाउँमा लगियो। गाउँ भए पनि घरहरू आधुनिक थिए। तिब्बती कलाकौशलले सिँगारिएका भव्य घरहरूका बीचमा एउटा पुरानो घर अनौठो देखिन्थ्यो। हामीलाई त्यही घर देखाउन लगिएको रहेछ।
पूर्वी चीनको च्याङसु प्रान्तबाट सुरू भएको लङमार्चलाई नेतृत्व गर्दै माओ कान्सुको कान्नानमा पुगेका रहेछन्। सन् १९३५ सेप्टेम्बर १२ देखि १५ उनी त्यहाँ बसेका थिए रे! खासमा माओलाई लेक लागेर उपचार गराउन त्यहाँ बस्नु परेको रहेछ! तिब्बती जडीबुटीबाट माओको उपचार गरिएको स्थानीय गाइडले हामीलाई बताए।
त्यति बेला माओ सुतेको ओछ्यान, माओले खाएका चुरोट, माओको ओछ्यान तताउन छेउमा बनाइएको अँगेनो अनि भुइँतलामा माओका सुरक्षाकर्मी सुतेका कोठाहरू संरक्षण गर्नु परेकाले उक्त घर जस्ताको जस्तै राखिएको रहेछ।
माओ सुतेको कोठा, ओछ्यान, चुरोटका ठुटा, उनले पढेका किताब, डायरी र पोसाक प्रदर्शनीमा आकर्षक ढंगले राखिएको छ। जहाँ माओ, त्यहाँ चुरोट र किताब। माओ जति अध्ययनशील थिए उति नै चुरोटका अम्मली पनि। उनले सेल्टर लिएको ठाउँमा राखिएका सक्कली चुरोटका खातले पनि उनी अम्मली रहेको प्रस्ट्याउँछ।
जम्मा तीन दिन माओले सेल्टर लिएको घरलाई यसरी लाल पर्यटन स्थल बनाइएको छ भने माओ जन्मिएको घर कस्तो होला!
कुतूहल त मलाई पनि थियो।
चीन बसेको दस वर्षपछि सन् २०२४ को मार्चको अन्ततिर हुनान प्रान्तको सदरमुकाम छाङसा जाने मौका मिल्यो। दुई दिनको एउटा सेमिनारमा भाग लिन जानुपरेको थियो। तेस्रो दिन बेइजिङ फर्किने विमान अपराह्नतिर मात्र थियो। उक्त दिनको खाली समयमा मैले माओ जन्मिएको घर जाने इच्छा आयोजकलाई सुनाएँ।
छाङ्साबाट माओको घर भएको ठाउँ शाओशान निकै टाढा पर्ने भएकाले समय अपुग रहेको आयोजकको उत्तर सुनेपछि म निराश भएँ। मेरो मनोदशा बुझेपछि उनीहरूले छाङ्सामै रहेको एउटा स्कुल अवलोकन गराउने भए। त्यो स्कुलमा माओले प्रारम्भिक शिक्षा लिएका रहेछन्।
अहिले त्यो स्कुल पनि संग्रहालयका रूपमा रहेछ। त्यहाँ माओको बाल्य अवस्था र किशोरावास्थाको तस्बिर पनि राखिएको छ। बालबालिकादेखि प्रौढ व्यक्तिसम्मको भीड लाग्ने उक्त ठाउँ पनि लोकप्रिय लाल पर्यटनमा पर्ने रहेछ।
माओ स्मरण गराउने सबैभन्दा लोकप्रिय लाल पर्यटन स्थल चाहिँ बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन स्क्वायरस्थित माओ स्मारक भवन हो। यही भवनमा माओको शव संरक्षण गरेर राखिएको छ।
सन् १९७६ सेप्टेम्बर ९ तारिख मृत्युवरण गरेका माओलाई अझैसम्म पनि जस्ताको जस्तै राखिएको उक्त भवन सोमबार बाहेक साताको ६ दिन खुल्छ। नेपालबाट आएका साथीहरूलाई देखाउनकै लागि पनि म दर्जनौंपटक त्यहाँ पुगेको छु।
माओ स्मारक भवनको ठीक उत्तरपट्टि सहिद स्मारक छ। नेपालका प्रधानमन्त्री र राष्ट्रपति आउँदा त्यहाँ माल्यार्पण गर्छन्। उक्त सहिद स्मारकमा माओको हस्ताक्षर छ। चीनमा प्रकाशन हुँदै आएको चिनियाँ भाषाको 'पिपुल्स डेली' को नामांकित चिह्न 'मास्टहेड' पनि माओकै हस्ताक्षर हो।
माओले बास बसेको ठाउँ मात्र होइन, माओ चढ्ने रेल र हवाइजहाज पनि संग्रहालयमा राखिएको छ। सन् १९४९ मा जनगणतन्त्र चीन स्थापना भएपछि चीनभरिको यात्रामा माओले प्रायः रेललाई यातायातको साधन बनाए।
जनगणतन्त्र चीन स्थापना भएपछि माओले दुईपटक विदेश यात्रा गरेका थिए। उनका दुवै यात्रा तत्कालीन सोभियत संघ (हालको रूस) मा भएको थियो। सन् १९४९ डिसेम्बर ६ देखि १९५० को फेब्रूअरी १७ सम्म सोभियत संघको भ्रमण गर्दा माओले रेल प्रयोग गरेका थिए। सन् १९५७ नोभेम्बर २ मा उनी विमान चढेर सोभियत संघ गएका थिए।
माओ सकेसम्म यात्रामा हवाइजहाज चढ्दैनथे। सुरक्षा र समय सदुपयोगका लागि उनको रोजाइमा रेल पर्ने गर्थ्यो। रेलमा यात्रा गर्दा काम गर्न सजिलो भएकाले पनि माओको छनोटमा रेल पर्थ्यो। रेलयात्रामै उनी स्थानीय अधिकारीहरूसँगको भेटघाट गर्थे, समस्या सुन्थे। सधैं व्यस्त हुने र अत्यधिक बैठक तथा छलफल हुने भएकाले यात्राको समयमा पनि बैठक र छलफल चलिरहन्थ्यो।
माओले प्रयोग गरेको रेललाई चीनको राजधानी बेइजिङमा रहेको रेलवे संग्रहालयमा जस्ताको तस्तै राखिएको छ। यो संग्रहालयको मुख्य आकर्षण माओले प्रयोग गरेको 'माओरेल' हो।
वास्प इन्जिनको प्रविधिमा चल्ने यो रेल सन् १९४१ मा जापानमा निर्माण गरिएको हो। चीनमा केही वर्ष चलेर बिग्रिएपछि यो रेल कतै फालिएको थियो। सन् १९४६ मा रेलवेका कर्मचारीले भेट्दा यो थोत्रो र पूर्ण रूपमा विरूप अवस्थामा थियो। यसलाई मर्मतसम्भार गरेपछि सन् १९४९ सम्म चीनमा सञ्चालित क्रान्तिमा यसले जनमुक्ति सेनाका लागि सामान ढुवानी गरेर चीनको इतिहासमा निकै महत्वपूर्ण योगदान दिएको थियो।
सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछि बेइजिङ बाहिरका ठाउँमा भ्रमण गर्नुपर्दा माओले यही रेल प्रयोग गर्थे। उक्त रेलमा माओको छुट्टै कार्यालय स्थापना गरिएको थियो। डेस्क, टेबलबत्ती, किताब राख्ने दराज, मेच आदि माओको अध्ययन कोठामा छन्। त्यसैगरी सुत्ने कोठाका पलङ, डसना तथा सिरक अहिले पनि संरक्षण गरेर राखिएको छ। उनका घरायसी प्रयोगका सामग्रीहरू हेडबोर्ड, चप्पल, दराज, साइड टेबल लगायत सबै सामग्री माओ रेलका डिब्बामा छन्।
रेलको अर्को डब्बामा माओको बैठक कोठा पनि निकै आधुनिक र सजावटपूर्ण छ। सोफा, कफी राख्ने टेबलसँगै पाहुनाका लागि बस्ने र कुराकानी गर्ने ठाउँ पनि आकर्षक छ। माओ त्यही कोठामा बसेर चीनका विभिन्न क्षेत्रका अधिकारीहरूसँग चीनको शासन कार्यबारे छलफल गर्थे।
माओले प्रयोग गरेको विमान पनि संग्रहालयमा राखिएको छ।
यो विमान २१.३१ मिटर लम्बाइ, ३१.७ मिटर चौडाइ र ७.८ मिटर उचाइको छ। १७ जना यात्री अट्ने यो एयरक्राफ्ट ८ घण्टा १० मिनेटसम्म उड्न सक्छ। रेलमा जस्तै विमानमा पनि माओको ओछ्यान, सोफा र टेबल राखिएको छ।
सोभियत संघले बनाएर सन् १९५६ मा स्टालिनले माओलाई उपहारमा दिएको 'आइएल १४' एयरक्राफ्टले माओलाई अन्तिमपटक चङचौबाट बेइजिङ ल्याएको थियो। यो विमान १९९२ सम्म चिनियाँ आकाशमा उडेको थियो।
माओलाई सम्झाउने उनका भनाइहरू पनि विश्वमै चर्चित छन्।
महिलालाई सम्मान गर्दै माओले भनेका थिए — महिलाहरू आधा आकाश हुन्।
माओको यो भनाइ अहिले पनि विश्वमा राजनीति गर्ने नेताहरूका लागि मुखाग्र जस्तै छ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुनु अगाडि नै सन् १९१९ मा माओले लेखेका थिए — संसार हाम्रो हो, राष्ट्र हाम्रो हो, समाज हाम्रो हो। हामी बोलेनौं भने को बोल्छ? हामी सक्रिय भएनौं भने को हुन्छ?
संग्रहालयका बस्तु वा पसलमा बेच्न राखिएका सामग्री। चिनियाँ पैसामा छापिएको फोटो अथवा ग्रेटवाल चढ्ने व्यक्ति बहादुर हुन्छ भन्ने भनाइ। विभिन्न लाल पर्यटन क्षेत्रले अमर बनाएको एक अर्ब ४१ करोड चिनियाँका सम्मानित 'अध्यक्ष माओ'।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)