बेइजिङ डायरी
'चीनले सधैं नै पारस्परिक सम्मान, समान तथा पारस्परिक हित, खुला तथा सहिष्णु, सहकार्य तथा साझा विजय हुने सिद्धान्तको पालना गरी ल्याटिन अमेरिकी देशहरूसँग मैत्रीपूर्ण सहयोग विकास गरेको छ। चीनको यस्तो कार्यमा कुनै थप सर्त छैन। कुनै तेस्रो पक्षमाथि लक्षित छैन र कुनै देशसँग प्रभावको प्रतिस्पर्धा गर्ने मनसाय पनि छैन।'
यो कुरा नोभेम्बर १५ मा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले बताएका हुन्।
चीन र ल्याटिन अमेरिकाको सहयोगबारे पत्रकारले प्रश्न उठाएपछि त्यसलाई स्पष्ट पार्ने क्रममा उनले उक्त भनाइ राखेका हुन्।
कोभिड महामारीपछि थला परेको विश्व अर्थतन्त्र अझै राम्ररी तंग्रिन सकेको छैन। विश्वव्यापी मन्दीले धेरै देशलाई लपेटेको छ। ठूला अर्थतन्त्र पनि नराम्ररी धसिएका छन्। यस्तो अवस्थामा एक देशले अर्को देशलाई गर्ने सहयोग र आर्थिक सहकार्यलाई राजनीतिक रङ दिएर भूराजनीतिक मुद्दा बनाउने प्रवृत्ति छ।
चीनले ल्याटिन अमेरिकी मुलुकमा गरेको लगानी र सहयोगलाई लिएर पश्चिमा शक्ति केन्द्रले चीनको मनसायमाथि शंका गरिरहेका सन्दर्भमा चीनकै राजधानी बेइजिङमा पत्रकारले यसबारे स्पष्ट गरिदिन भनेका थिए। नोभेम्बर १६ का दिन ल्याटिन अमेरिकी मुलुक पेरूको राजधानी लिमामा एपेकको ३१ औं शिखर सम्मेलन सम्पन्न भयो। सोही अवसरमा उद्घाटन भएको चानकेई बन्दरगाहलाई लिएर माथिको प्रश्न उठेको हो।
पेरूको समय अनुसार नोभेम्बर १४ को साँझ, चिनियाँ राष्ट्रपति सी चिनफिङ र पेरूका राष्ट्रपति डिना बोलुआर्टेले लिमास्थित राष्ट्रपति भवनबाट 'रिमोट' दबाएर चानकेई बन्दरगाहको उद्घाटन गरे। लिमादेखि करिब ६० किलोमिटर दुरीमा रहेको चानकेई बन्दरगाह चीनबाट करिब १७ हजार किलोमिटरको दुरीमा छ। यो बनिसकेपछि ल्याटिन अमेरिकाकै महत्त्वपूर्ण 'हब बन्दरगाह' बन्नेछ।
सन् २०१९ देखि बनाउन थालिएको चानकेई बन्दरगाह चीन र पेरूको संयुक्त लगानी र विकासमा आधारित छ। यो चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को एक महत्त्वपूर्ण परियोजना हो। यसको तीन अर्ब ५० करोड अमेरिकी डलर लगानीमध्ये ६० प्रतिशत चीनको र ४० प्रतिशत पेरूको छ। यो बन्दरगाह बनिसकेपछि, चीन र ल्याटिन अमेरिकाबीच एक नयाँ भूमि-समुद्री करिडोर बन्नेछ। चानकेईदेखि शाङहाईसम्म नारा लिएर सञ्चालन हुने यो बन्दरगाह चीन र पेरूको साझा विकास बढाउने मार्ग कहलिनेछ।
बन्दरगाह खुलेपछि दुई देशबीच एकतर्फ समुद्री ढुवानी समय २३ दिनले घट्नेछ। कम्तीमा २० प्रतिशत लागत बचत हुनेछ। प्रत्येक वर्ष चार अर्ब ५० करोड अमेरिकी डलरको कारोबार गर्नेछ। र, पेरूका लागि ८ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ।
सी चिनफिङ सत्तामा आएको एक दशक समयमा विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा चीनले प्रत्यक्ष रूपमै हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेको छ। विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन, जी २० समूह, आसियान, ब्रिक्स लगायत संगठनमा चीनको प्रभाव बढ्दो छ। चीनकै अगुवाइमा खुलेका शाङहाई सहयोग संगठन, नयाँ बैंक, एसियाली पूर्वाधार लगानी बैंक तथा पोआवो फोरम जस्ता संस्था उसकै निर्देशनमा चल्छन्। यसको पछिल्लो उदाहरण, एसिया प्रशान्त आर्थिक परिषद अर्थात् एसिया प्यासिफिक इकोनोमिक्स काउन्सिल (एपेक) मा चीनको उपस्थिति प्रभावकारी बन्दै जानु हो।
पेरूमा भएको एपेकको ३१ औं अनौपचारिक शिखर सम्मेलनमा चीनले अगाडि सारेको ग्लोबल साउथ नाराले निकै ठूलो सफलता पाएको छ। एपेकले आफ्ना शिखर सम्मेलन सधैं अनौपचारिक भन्ने चलन चलाएको छ। चीनले ल्याटिन अमेरिकासँगको सहयोगी सम्बन्धलाई ग्लोबल साउथको एउटा हिस्साका रूपमा अर्थ्याएको छ। प्रशान्त महासागरका आमनेसामने रहेका चीन र पेरूलाई सी चिनफिङले चलाखीपूर्वक 'असल छिमेकी' भन्दै सम्बोधन गरेर दुई मुलुकले एकअर्कालाई सुन्दर अभिवादन गरिरहेको भनेर प्रशंसा गरे।
सी चिनफिङ प्रायः जुन देश भ्रमण गर्छन्, त्यो देशका मिडियामा आफ्नो हस्ताक्षर सहितको लेख प्रकाशन गराउँछन्। उनीभन्दा अगाडिका कोही चिनियाँ राष्ट्रपतिले यस्तो गरेका थिएनन्। सी चिनफिङ सन् २०१९ मा नेपाल भ्रमण नेपाली पत्रपत्रिकामा उनको लेख प्रकाशन भएको थियो।
नोभेम्बर १४ मा पेरूको 'पेरू पत्र नामक पत्रिकामा 'चीन र पेरूबीचको मित्रताको जहाजलाई टाढासम्म लैजाऔं' शीर्षकमा सीको हस्ताक्षरसहितको लेख प्रकाशन भएको थियो।
उक्त लेखमा सी चिनफिङले लेखेका छन् — यो भ्रमणका क्रममा, म पेरूका राष्ट्रपति दिना बोलुआर्टसँगै चानकेई बन्दरगाहको सार्वजनिक समारोह सहभागी हुनेछु। चीन र पेरूद्वारा संयुक्त रूपमा निर्माण गरिएको चानकेई बन्दरगाह बिआरआईको महत्त्वपूर्ण परियोजना हो। र, दक्षिण अमेरिकाको पहिलो स्मार्ट बन्दरगाह पनि हो। हामीले यो बन्दरगाह राम्रोसँग निर्माण र सञ्चालन गर्नुपर्छ। चानकेई-शाङहाई वास्तविक रूपमा चीन र पेरूबीचको समृद्धिको विकासमार्ग बन्नेछ।
सीको उक्त लेखबाट प्रस्ट हुन्छ — उनको ल्याटिन अमेरिका भ्रमणमा एपेक जति महत्त्वपूर्ण थियो, त्यति नै महत्त्वपूर्ण चानकेई बन्दरगाह पनि छ।
शिखर सम्मेलनमा अरू मुलुकहरू सहभागी मात्र हुँदै गर्दा चीनले भने विश्वलाई तहल्का पिट्ने विशाल बन्दरगाहको उद्घाटन गर्न सफल भएको छ।
सन् १९८९ मा स्थापित एपेकमा चीन सन् १९९१ मा सदस्य बनेको हो। यसमा २१ देश आबद्ध छन्। चीनले सन् २००१ र २०१४ मा एपेक शिखर सम्मेलनहरू आयोजना गरिसकेको छ। अब सन् २०२६ मा तेस्रोपटक आयोजना गर्ने भएको छ।
जनसंख्या र अर्थतन्त्रका हिसाबले एपेक संयुक्त राष्ट्र संघपछि सबभन्दा ठूलो संगठन हो। इतिहासको लामो कालखण्डदेखि एसिया प्रशान्त क्षेत्र विश्व विकास र स्थिरताको महत्त्वपूर्ण पक्ष हो। एसिया प्रशान्त क्षेत्रको जनसंख्याले विश्वको जनसंख्याको एकतिहाई ओगटेको छ। आर्थिक मात्राले विश्वको ६० प्रतिशतभन्दा बढी क्षेत्र समेटेको छ। र, व्यापारिक मात्राको अनुपात करिब ५० प्रतिशत पुगेको छ। एसिया प्रशान्त क्षेत्र विश्वको आर्थिक वृद्धिको महत्त्वपूर्ण इन्जिन हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२४ मा एसिया प्रशान्तको आर्थिक वृद्धिदर ४.२ प्रतिशत पुग्नेछ।
एपेकले चीनसँगको सहकार्यबाट आधार तय गरेको छ। हाल चीन एपेकका १३ वटा आर्थिक समूहको सबभन्दा ठूलो व्यापारिक साझेदार हो। चीनले एपेकको अर्थतन्त्रका लागि दिएको योगदान ६४.२ प्रतिशत पुगेको छ।
पेरूमा आयोजित एपेक शिखर सम्मेलनको अर्को आकर्षण चिनियाँ र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता थियो। अमेरिकी सञ्चार माध्यमहरूले निकै महत्त्वका साथ यस विषयमा समाचार सम्प्रेषण गरेका छन्। विशेष गरी सन् २०१८ देखि चीन र अमेरिकाको सम्बन्धमा दरार उत्पन्न भएको छ। विश्वको पहिलो र दोस्रो अर्थतन्त्रबीचको सिँगौरीमा विश्व अर्थतन्त्र घाइते बनेको अवस्थामा दुई नेताबीचको भेटले सम्बन्ध सुधार हुने झिनो आशा थियो।
झिनो यस अर्थमा कि, अमेरिकी राष्ट्रपति जो बाइडेन केही समयपछि विस्थापित हुँदैछन्। उनको ठाउँमा डोनाल्ड ट्रम्प आउँदैछन्। ट्रम्प तिनै व्यक्ति हुन् जसको पहिलो कार्यकालमा चीनसँग व्यापार युद्ध सुरू भएको थियो।
सी चिनफिङको सम्बन्ध तुलनात्मक रूपमा जो बाइडेनसँग बढी सहज थियो। किनभने, सन् २००८ मा सी चीनका उपराष्ट्रपति हुँदा बाइडेन अमेरिकाका उपराष्ट्रपति थिए। र, उनीहरूबीच पहिलोपटक दुई पक्षीय भेटवार्ता भएको थियो।
तर ट्रम्पले ठोसेको अगुल्टो अझै झर्झराउँदो देखिन्छ।
नोभेम्बर १६, दिउँसो, लिमामा सी र बाइडेनबीच गहन भेटवार्ता भयो। सीले चिनियाँ चासोका गहन कुराहरू राखे। दुई मुलुकबीच सही रणनीतिक समझदारी हुन आवश्यक छ भन्दै 'नयाँ शितयुद्ध' आवश्यक नरहेको र यस्तो द्वन्द्वले कसैको हित नगर्ने कुरामा उनले जोड दिए। चीनलाई नियन्त्रण गर्नु मूर्खतापूर्ण र अवाञ्छित छ भन्दै सीले बाइडेनलाई चेतावनी पनि दिए।
सीले भनेका छन्, 'आफूले भनेको कुरा पालन गर्नु र आफ्नो कामप्रति उत्तरदायी हुनुपर्छ। मानिस विश्वास बिना उभिन सक्दैन। चीनले जे भन्छ, त्यही गर्छ। यदि अमेरिकाले एउटा कुरा भन्छ र अर्कै गर्छ भने, त्यो अमेरिकाको छविका लागि निकै नराम्रो हुनेछ। साथै दुई पक्षबीच पारस्परिक विश्वासमा क्षति पुग्नेछ।'
अमेरिकाले ताइवानलाई हातहतियार बेचेर गरिरहेको सहयोगप्रति सीले संकेत गरेका हुन्।
अमेरिकाले चीनसँग गरेको औपचारिक सम्झौतामा एक चीनको नीति पूर्ण रूपमा पालना गर्ने र ताइवानलाई चीनकै एक अभिन्न भूभाग मान्ने उल्लेख छ। सीले एकअर्कालाई समान व्यवहार गर्न अमेरिकालाई सम्झाएका छन्। चीन र अमेरिकाले एकअर्कालाई आफ्नो इच्छा अनुसार रूपान्तरण गर्न नसक्ने र तथाकथित शक्तिबाट दबाउन नसक्ने भन्दै एकअर्कालाई आफ्नो अग्रणी स्थिति कायम राख्न र यसको वैध विकास अधिकारबाट वञ्चित गर्न नसक्ने उनले बताए।
यसको मूल मर्म भनेको, अमेरिकाले चीनको विकासलाई अवरोध गर्दै आएको चीनको आरोप छ। त्यस्तै अमेरिकाले लगाएका विभिन्न प्रतिबन्धले चिनियाँ विकास रोक्ने कुचेष्टा गरेको तर साझा जित हासिल गर्न ठूला देशहरूबीच हातेमालो हुनुपर्ने पनि भन्दै आएको छ।
चीनले निर्दिष्ट गरेको न्यूनतम रातो रेखा प्रस्तुत गर्दै त्यसलाई कसैले चुनौती दिन नसक्ने सीले बताए।
उनका अनुसार 'ताइवान मुद्दा', 'लोकतन्त्र र मानव अधिकार', 'चिनियाँ प्रणाली' र 'विकासको अधिकार' चीनका चारवटा न्यूनतम रातो रेखा हुन्। यसबारे बताएर उनले चीन-अमेरिका सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण, सुरक्षात्मक घेरा र सुरक्षा जालहरू रहेको पनि स्पष्ट पारे। थप संवाद र सहकार्यमा संलग्न हुँदै चीन र अमेरिकाले सहयोगको सूची लम्ब्याउनुपर्ने र सबैलाई सफल बनाएर साझा सहयोग प्राप्त गर्नुपर्नेछ।
दुई देशबीच जनस्तरकै आदानप्रदान कायम राख्नुपर्छ। यसका लागि मार्गप्रशस्त गर्ने कुरालाई सीले जोड दिएका छन्।
उनले 'जनस्तरको आदानप्रदानमा हस्तक्षेप र अवरोधहरू हटाउनुपर्छ भनेका छन्। पछिल्लो समय अमेरिकाले चिनियाँ विद्यार्थी, व्यापारी, अनुसन्धानकर्ता, संस्कृतिकर्मीमाथि प्रतिबन्ध लगाएको प्रसंगमा सीले यो कुरा उठाएका हुन्।
चीन र अमेरिकाले सधैं मानव जातिको भविष्य र नियति विचार गर्नुपर्छ। विश्व शान्तिका निम्ति दुवै राष्ट्रले भूमिका खेल्नुपर्नेमा सीले जोड दिएका छन्। त्यस्तै, मानव जातिको भविष्यबारेको वार्तामा सहयोग विस्तार गर्न र मतभेदहरू व्यवस्थापन गर्दै सम्बन्ध स्थिर बनाउन, चीनको कडा गतिलाई निरन्तरता दिन उनले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। ताइवान, अर्थतन्त्र, व्यापार, विज्ञान तथा प्रविधि, साइबर सुरक्षा, दक्षिण चीन सागर, युक्रेन संकट र कोरियाली प्रायद्वीपमा चीनको धारणा पनि राखेका छन्।
एपेकको शिखर सम्मेलनले 'चिनियाँ नारा ग्लोबल साउथ' लाई जोड दिनु, चीनको रणनीति अनुसार चानकेई बन्दरगाह उद्घाटन हुनु, अमेरिकी राष्ट्रपतिसँगको वार्तामा चिनियाँ एजेन्डाको मात्र चर्चा हुनु आदि कुराले ल्याटिन अमेरिकामा चीन हावी भएको स्पष्ट हुन्छ। अमेरिकाको काखैमा रहेको ल्याटिन अमेरिका १७ हजार किलोमिटर टाढा रहेको चीनको 'असल छिमेकी' बन्दैछ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)