झन्डै चार वर्षअघि सन् २०२१ जनवरी ६ मा डोनाल्ड ट्रम्पका समर्थकहरूले संसारकै चासोको केन्द्र 'क्यापिटल हिल' मा बबन्डर मच्चाए। क्यापिटल हिल भनेको अमेरिकी संसद भवन हो। त्यहाँको सुरक्षा छेकबार नाघेर, ढोका फुटाएर, सुरक्षाकर्मीलाई लछारपछार गर्दै हत्या समेत गरेर ट्रम्पका समर्थक त्यहाँ पुगेका थिए।
क्यापिटल हिलको चोटाचोटा र कोठाकोठामा घुसेर उनीहरूले त्यहाँ मन लागेजति गरे। रिस शान्त पार्न मनपरी गरे। केही घण्टा ताण्डवनृत्य देखाएर उनीहरू त्यहाँबाट निस्किए।
क्यापिटल हिल र ह्वाइट हाउसको दुरी तीन किलोमिटर हाराहारी छ। तत्कालीन राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा बसेर टेलिभिजन प्रशारणबाट आफ्ना समर्थकले अमेरिकी संसदभवनमा मच्चाएको बबन्डर हेरे। उनले तिनीहरूलाई रोकेनन्। आमक्रमणपछि उनले 'त्यहाँबाट फर्क' भनेर देखावटी आदेश दिए।
खासमा उनका समर्थकहरूले त्यसरी आक्रमण गर्नुको उद्देश्य दुई महिनाअघि (सन् २०२० नोभेम्बरमा) भएको निर्वाचन परिणाम अस्वीकार गरेको देखाउनु थियो।
प्रतिस्पर्धी जो बाइडेनसँग पराजित भएपछि बहालवाला राष्ट्रपति ट्रम्पले परिणाम अस्वीकार गरे। त्यो नतिजा उल्टाउन संसदलाई दबाब दिए, समर्थकलाई उचाले।
उनले आफ्ना उग्र कार्यकर्ता र समर्थकहरूलाई वासिङटन डिसी आउन उर्दी जारी गरे। हवाइजहाजमा फ्लाइट एटेन्डेन्स र यात्रूहरूलाई अभद्र व्यवहार गर्दै ट्रम्पका समर्थकहरू डिसी पुगे।
जनवरी ६ मा हजारौं समर्थकले ट्रम्पका विरोधी सांसदहरूको हत्या गर्ने नियतले क्यापिटल हिल आक्रमण गरेका थिए। उनीहरूले त्यहाँ बेहिसाब तोडफोड गरे। त्यो घटनामा १० जना मारिए। तीमध्येका ५ जना क्यापिटल हिलको सुरक्षार्थ खटिएका प्रहरी थिए।
संसारले त्यो घटनाको निन्दा गर्यो। अमेरिकासँग राम्रो सम्बन्ध भएका संसारभरिका सरकार र नेताहरूले उक्त घटना दुःखद रहेको र त्यसले लज्जित बनाएको भनेर विज्ञप्ति जारी गरे। अमेरिकासँग सम्बन्ध राम्रो नभएका इरान र अन्य देशहरूले 'अमेरिकी प्रजातन्त्रको असली रूप' भनेर खिसी गरे। त्यो दिन अमेरिकी इतिहासमा 'अँध्यारो दिन (डार्क डे)' का रूपमा चिनियो। अमेरिकीहरूले यसलाई आन्तरिक आतंकवाद माने।
बहालवाला राष्ट्रपति, जसले चुनाव हारेका थिए उनैले चुनावी परिणाम अस्वीकार गरेका थिए। सामाजिक सञ्जालहरूमा 'चुनावी परिणाम लुटियो, मैले जितेको छु' भनेर भ्रम फैलाएका थिए।
त्यो घटनापछि फेसबुक, ट्विटर (हालको एक्स) लगायतका सामाजिक सञ्जालहरूले ट्रम्पलाई लामो समय प्रतिबन्ध लगाए। उनका सामाजिक सञ्जाल अकाउन्टहरू निलम्वित गरिए। जनवरी ६ पछि अमेरिकी जनतालाई ट्रम्पका दिन सकिए भन्ने लागेको थियो। उनको उचाइको यात्रा त्यति नै हो, बाँकी जीवन जेलमै सड्नेछ भन्ने अनुमान थियो।
विश्व समुदायले पनि पात्र मात्र नभएर प्रवृत्ति बनेका ट्रम्पको ओरालो यात्रा सुरू भयो भन्ने ठानेको थियो। कानुन पालनामा कठोर मानिनेको अमेरिकामा त्यति ठूलो विध्वंश मच्चाउने व्यक्तिको सार्वजनिक जीवन सकिन्छ भन्ने मानिएको थियो।
वालमार्टमा दुई डलरको क्यान्डीमा लामो हात गर्नेले जेल भोग्नुपर्ने देशमा क्यापिटल हिलमा आक्रमण गराउने राष्ट्रपति अवश्य जेलमा पर्नेछ भन्नेमा अमेरिकीहरू विश्वस्त थिए, संसार ढुक्क थियो। ट्रम्पकै उपराष्ट्रपति माइक पेन्स, पूर्वसभामुख पल रायन, ट्रम्पसँग रहेर काम गरेका सचिवहरू लगायत अधिकांशले घटनामा खेद व्यक्त गरेका थिए। घटनाको कारक ट्रम्प नै रहेको ठहर गरेर रिपब्लिकन पार्टीका नेताहरूले सम्बन्ध विच्छेद गरेका थिए।
ट्रम्पले जनवरी २० मा सहज रूपमा सत्ता हस्तान्तरण गर्नुपर्ने थियो तर उनी संसारले चासोपूर्वक हेर्ने त्यो समारोहमै सहभागी नै भएनन्। फ्लोरिडाको पाल्मबिचमा बसाइ सरे। त्यहाँ रहेको आफ्नो घर 'मार ए लागो' बाटै आफ्ना उग्र समर्थकका साथमा छाया ह्वाइट हाउस चलाए।
राष्ट्रपति हुँदाका महत्त्वपूर्ण सरकारी कागजपत्र डिसीबाट बोकेर मार ए लागो पुर्याए। ती कागजातहरू सरकारी सम्पत्ति थिए, राष्ट्रपतिका निजी थिएनन्। उनले अमेरिकी राष्ट्रपतिको सरकारी विमान 'एअरफोर्स वान' को नक्कल गरेर आफ्नो निजी विमानलाई 'ट्रम्पफोर्स वान' नामकरण गरे।
जनवरी ६ को घटनामा क्यापिटल हिलमा अनुहार देखिएकाहरूलाई प्रहरीले अमेरिकाका कुनाकुनामा पुगेर समाउँदै जेलमा हाल्न थालेपछि धेरैलाई कुनै दिन ट्रम्प पनि जेलमै हुनेछन् भन्ने विश्वास थियो। उनी सन् २०२४ को चुनावमा उम्मेदवार हुने कल्पना पनि थिएन।
सन् २०२१ देखि २०२४ को सुरूवातसम्मको तीन वर्षमा ट्रम्पविरूद्ध संसद थियो। अमेरिकी जस्टिस डिपार्टमेन्ट खडा भएको भयो। एफबिआई अनुसन्धानमा सक्रिय थियो। न्यूयोर्कका अदालतहरूमा उनीविरूद्ध दर्जनौं मुद्दाहरूको चाङ लाग्यो।
सन् २०२२ अगावै अमेरिकी तल्लो सदन हाउसले जनवरी ६ घटनाको अनुसन्धान गर्न गठन गरेको समितिले ट्रम्पलाई दोषी ठहर गर्यो।
दुई वर्ष लगाएर तयार गरेको प्रतिवेदन जस्टिस डिपार्टमेन्टमा पठाइयो। उक्त समितिको नेतृत्व वायमिङबाट रिपब्लिकन सांसद रहेकी लिज चेनीले गरेकी थिइन्। उनी रिपब्लिकन पार्टीबाट उपराष्ट्रपति भइसकेका डिक चेनीकी छोरी हुन्। अमेरिकी सरकारी निकायहरूले सन् २०२१ देखि २०२२ मध्यसम्मको डेढ वर्ष कछुवाको चाल मात्र समाते। ट्रम्प अब फर्किने सम्भावना छैन भन्ने उनीहरूको अनुमानले अनुसन्धान, कारबाही र फैसलाहरू समयमा भएनन्।
त्यसको परिणाममा दुई वर्षअघि सन् २०२२ को हाउस चुनावमा फेरि ट्रम्पले 'मलाई हराइयो, मत लुटेर बाइडेनले जित्यो' भन्ने अफवाह फैलाए। त्यसमा उनका समर्थकहरूले साथ दिए।
त्यही अफवाहका कारण ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवारहरूले मात्र पार्टीको प्राइमरी चुनाव जित्ने अवस्था बन्यो। हाउसमा रिपब्लिकनको सामान्य बहुमत आयो यद्यपि 'रेड वेभ' (रिपब्लिक बाहुल्य) हुन्छ भनिएको थियो।
त्यसपछि ट्रम्पले टाउको उठाउने अवसर पाए। तल्लो सदन हाउसमा रिपब्लिकनको सामान्य नै भए पनि बहुमत भयो। कुल ४३५ सिटमध्ये रिपब्लिकनले २२० सिट पायो। त्यो संख्या सामान्य बहुमतका लागि आवश्यक भन्दा दुईले मात्र बढी थियो। सभामुख, समितिका सभापति लगायत महत्त्वपूर्ण स्थान रिपब्लिकनको कब्जामा पुग्यो। सभामुख छान्न पनि रिपब्लिकनलाई सकस पर्यो। चौध पटक मतदान हुँदा पनि सभामुखको छनौट हुन सकेन। पन्ध्रौं पटकमा क्यालिफोर्नियाबाट निर्वाचित केभिन मकार्थी सभामुख भए।
पुरातनवादी कंग्रेस सदस्यहरूले उनलाई नौ महिना पनि सभामुख रहन दिएनन्। सन् २०२३ अक्टोबरमा हार्डलाइनर रिपब्लिकन माइक जोन्सन सभामुख चुनिए। उनी ट्रम्पका कट्टर समर्थक मानिन्छन्। कट्टरपन्थी ट्रम्पसमर्थक सभामुख चुनिनु डेमोक्र्याटिक पार्टीका लागि दुर्दिनको सुरूआत थियो। त्यसले ट्रम्पलाई राष्ट्रपति पदका लागि फेरि प्राइमरीमा भिड्न हौसला दियो।
यसपटकको राष्ट्रपति निर्वाचनमा आधाजति रिपब्लिकन नेताहरूलाई ट्रम्पले जित्लान् भन्ने विश्वास थिएन। पूर्वसभामुख पल रायनले त दुई वर्षअघि नै भनेका थिए – ट्रम्प उम्मेदवार हुनु भनेको रिपब्लिकन पार्टी फेरि हार्नु हो।
आखिर ट्रम्पले प्राइमरीमा भिड्ने घोषणा गरे। त्यसपछि पनि करिब एक दर्जन रिपब्लिकन नेताहरू प्राइमरीमा उम्मेदवार भए। ट्रम्पकै उपराष्ट्रपति माइक पेन्स पनि भिडे।
उनीहरूलाई लागेको थियो — एकपटक हारिसकेका, जनवरी ६ को घटनाका मुख्य सूत्रधार, अनेक मुद्दामामिलामा फसेका, आफ्नै बोली र व्यवहारले निकटस्थहरू गुमाउँदै गएका र कोभिडमा गरेको हेलचेक्र्याइँले १२ लाख अमेरिकीको ज्यान गएको जस्ता घटनामा आरोपित ट्रम्प प्राइमरीमा विजयी हुने छैनन्।
ट्रम्पनिकट रहेर काम गरेकी निकी हेली, फ्लोरिडाका गभर्नर रोन डी सान्टिस, विवेक रामास्वामी, माइक पेन्स, टिम स्कट, क्रिस क्रिस्टी लगायत १० जना प्राइमरीमा उम्मेदवार थिए। जोदाहा र जबर्जस्त चरित्रका ट्रम्पका अघिल्तिर अन्तिमसम्म टिक्ने निकी हेली मात्र रहिन्। अरूले बीचमै उम्मेदवारी फिर्ता लिएर ट्रम्पलाई समर्थन गरे।
रिपब्लिकन पार्टीका एक करोड ७० लाख १५ हजार रजिस्टर्ड सदस्यले ट्रम्पलाई चुने। निकी हेलीलाई ४३ लाख ८१ हजारले मात्र भोट दिए। जेल जान्छन् भन्ने अनुमान गरिएका ट्रम्प यसरी प्राइमरीमा ७६ प्रतिशत भोटले रिपब्लिकनको आधिकारिक उम्मेदवार भए।
यसबीच न्यूयोर्कको अदालतले ३४ वटा फौजदारी मुद्दामा ट्रम्पलाई दोषी ठहर गर्यो। अमेरिकी कानुनअनुसार फौजदारी अभियोग लागेको व्यक्ति पनि उम्मेदवार हुन पाउँछ। जनता नै सबैभन्दा ठूला हुन् र त्यस्ता व्यक्तिलाई छान्ने वा अस्वीकार गर्ने विवेक जनतामै हुन्छ भन्ने मान्यताका साथ अभियुक्तहरू पनि उम्मेदवार हुन पाउने सुविधा छ।
उता डेमोक्र्याटिक पार्टीबाट प्राइमरी जितेर वर्तमान राष्ट्रपति जो बाइडेन नै उम्मेदवार भए। अमेरिकामा सामान्यतया एकपटक राष्ट्रपति भएपछि अर्को एक कार्यकाल पाउने मान्यता लामो समयदेखि चल्दै आएको छ। प्राइमरीमा अन्य उम्मेदवार खडा भए पनि बहालवाला राष्ट्रपतिलाई दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने चलन छ।
मिनिसोटाका डिन फिलिप, मेरिल्यान्डका जेसन पाल्मर, मेरिएन विलिम्सन डेमोक्र्याटिकको प्राइमरीमा उम्मेदवार थिए। बाइडेन डेमोक्र्याटिक पार्टीका एक करोड ४४ लाख रजिस्टर्ड भोटर्स (८७ प्रतिशत) मतसहित विजयी भए। जुनमा राष्ट्रपतिका दुई उम्मेदवार जो बाइडेन र ट्रम्पबीच भएको टेलिभिजन बहसमा बाइडेनको प्रस्तुति फितलो भयो। त्यसपछि पार्टीभित्रकै दबाबले जुलाई २१ मा उनले उम्मेदवार फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरे।
यसले ठूलै तरंग ल्यायो। डेमोक्र्याटिक पार्टीभित्र आशा र निराशा दुवै देखियो। वृद्ध बाइडेनको सट्टा जोसिली अश्वेत महिला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीका नेता कार्यकर्ताले सहजताका साथ स्वीकार गरे। उनी प्राइमरीबाट चुनिएर आएकी भने थिइनन्।
प्राइमरीमै नरहेको व्यक्तिलाई उम्मेदवार बनाइएको विषय पार्टीभित्र उठे पनि बाइडेनको कमजोर प्रस्तुति र भूमिकाबीच ह्यारिसको उम्मेदवारीमा धेरै ठूलो असन्तुष्टि र टिप्पणी बाहिर आएन। तथापि डेमोक्र्याटिक पार्टीका निम्ति यो गम्भीर कमजोरी थियो।
बाइडेनले ह्यारिसको नाम अघि सार्दा उनका लागि १०७ दिन मात्र बाँकी थियो। यसो भए पनि ह्यारिस उम्मेदवार हुने भएपछि ओइलाएको डेमोक्र्याटिक पार्टी, पार्टीनिकट व्यवसायी, कार्यकर्ता र सेलेब्रिटीहरूमा उत्साह थपियो। एकातिर अनेक फन्डा, काण्ड, अभियोग, खराब रेकर्डसहित ढल्दो उमेरका ट्रम्प छन्। अर्कातिर जोस, उत्साह र बलियो कमान्ड भएकी पहिलो अश्वेत महिला उम्मेदवार छिन्।
कसैले पनि कल्पना समेत गरेको थिएन ट्रम्पको दाँजोमा ह्यारिस कमजोर हुनेछिन् भनेर।
ह्यारिसलाई सिंगो डेमोक्र्याटिक पार्टीको साथ थियो, पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन र बाराक ओबामा पनि साथमा थिए। ट्रम्पबाट आजित रिपब्लिकन पार्टीका धेरै नेता-कार्यकर्ता कोही खुलेर त कोही नखुलेर ह्यारिसका पक्षमा थिए। ह्यारिसका साथमा सेलेब्रिटी हलिउड कलाकारहरू टेलर स्विफ्ट, जर्ज क्लुनी, ओपरा विन्फ्रे, बियोन्से, लियोनार्डो डी काप्रियो, जुलिया रोबर्ट, रिकी मार्टिन लगायत थिए। अर्बपतिहरूको त भिड नै थियो। माइक्रोसफ्टका बिल गेट्स र माइकल ब्लुमबर्ग लगायत ८३ जना अर्बपति ह्यारिसको साथमा थिए।
अर्कातिर ट्रम्पका पक्षमा ५२ जना अर्बपति थिए।
यस्तो अवस्थामा पनि चुनावको दिन नोभेम्बर ५ को मध्यरात ननाघ्दै ट्रम्पले जित्ने संकेत देखापर्यो। भोलिपल्ट बिहानसम्ममा त ट्रम्प नै अमेरिकाका ४७औं राष्ट्रपति हुने निश्चित भयो। ह्यारिसले फोन गरेर ट्रम्पलाई बधाइ दिइन्।
ह्यारिसको चुनावी अभियानका लागि झन्डै एक अर्ब डलर संकलन भएको थियो। पुराना राजनीतिज्ञ, कलाकारहरू र महिला जमातको साथ थियो। युरोप, एसिया, अफ्रिका र मध्यपूर्वका प्रजातान्त्रिक मुलुकसहित दक्षिण अमेरिका र अस्ट्रेलियाले ह्यारिसको पक्षमा 'सफ्टकर्नर' राखेका थिए। यस्तो सहानुभूति आठ वर्षअघि हिलारी क्लिन्टनले समेत पाएकी थिइनन्।
चार वर्षअघि सत्तामा छँदा ट्रम्पको बोली र व्यवहारबाट विशेष गरी युरोप आजित थियो। चीन तनावमा थियो। ह्यारिसको जित युरोप र चीनले सहज मान्ने ठानिएको थियो। चुनावी परिणाम उल्टो भयो। हिलारीसँग भन्दा पनि ह्यारिससँग ट्रम्प फराकिलो मतले विजयी भए। इलेक्टोरल कलेज मतमा मात्र होइन, पपुलर मतमा समेत ट्रम्प नै विजयी भए।
ट्रम्प चारैतिर बदनाम छन् तैपनि उनैले किन जिते? के प्रजातान्त्रिक परिपाटीप्रति अमेरिकी जनताको मोह भंग भएको हो?
यति बेला संसारमा यसको लेखाजोखा, व्याख्या-विश्लेषण र चर्चा-परिचर्चा भइरहेको छ।
डेमोक्र्याटिक पार्टी सरकारमा छ, सिनेटमा बहुमत छ। ठूला सहरहरू डेमोक्र्याटिक पार्टीका मेयरले हाँकेका छन्। यस्तो अवस्थामा पनि विवादित र बदनाम पात्र ट्रम्पले अप्रत्याशित ढंगले जितेपछि संसारमा करेन्टको झड्का लागेझैं भएको छ।
अमेरिकाभित्रै डेमोक्र्याटिक पार्टीका लागि यसपटक थोरै समस्या थियो तर बाहिर असाध्यै अनुकूल समय थियो। चुनाव त मज्जाले जितिहालिन्छ, कहाँ तानाशाह ट्रम्पले जित्नु भन्ने मनोविज्ञान थियो। जनताले जनवरी ६ बिर्सिएका छैनन् भन्नेमा डेमोक्र्याटहरू ढुक्क थिए।
तर एक हिसाबले, यसपटक डेमोक्र्याटिक पार्टीका नेताहरूले ज्ञान, सीप, आकर्षक वक्तृता र बजारमा बिक्री हुने चिज हातमा भएर पनि बोल्न जानेनन्। उनीहरूले बजारको माग र प्याकेजिङ भेउ नै पाएनन्।
अमेरिकी जनताले सन् २०२० मा ट्रम्पको अराजकता, कोभिडमा गरेको लापरबाही, विश्व सम्बन्धमा पुगेको हानिको पृष्ठभूमिमा बाइडेनलाई छानेका थिए। सन् २०२१ जनवरी २० मा बाइडेन र ह्यारिसले ह्वाइट हाउस सह्माल्दा ट्रम्पको लापरबाहीले १२ लाख अमेरिकीको ज्यान गइसकेको थियो। सेयर बजार झरेको थियो। अर्थतन्त्र, रोजगारी र व्यापार चौपट थियो। एउटा मान्छे अर्कोसँग तर्केर, छिपेर बस्नुपर्ने अवस्था थियो।
बाइडेन ह्वाइट हाउसमा पुग्नासाथ कोभिड विरूद्ध खोप सुरू भयो। लगत्तै करोडौं अमेरिकीलाई निःशुल्क खोप दिइयो। मानिसहरूमा बाँचिन्छ भन्ने आशा पलायो। बाइडेनको एक वर्ष नपुग्दै कोरोनाबाट डराउनुपर्ने अवस्था हट्यो तर डेमोक्र्याटिक पार्टीले यो उपलब्धि आकर्षक प्याकेजिङ गरेर जनतामा पुर्याउन सकेन। जहाँ पुगे पनि, जहाँ बोले पनि डेमोक्र्याटिक नेताहरूको रटान जनवरी ६ को केन्द्रभन्दा बाहिर निस्किन सकेन।
जनवरी ६ को घटनाबाट अमेरिकी डेमोक्रेसी कसरी बदनाम भयो? इरानले के भन्यो? चीनले कसरी ग्रहण गर्यो? रूसले कसरी हेपेर बोल्यो?
डेमोक्र्याटिक नेताहरूले यी विषयमा जनतालाई बुझाउन सकेनन्। फासिस्ट भनेर ट्रम्पविरूद्ध एकोहोरो रटान लगाइरहनुभन्दा पनि नयाँ विश्वमा अमेरिकाप्रति आशा जगाउनुपर्ने थियो। 'अमेरिका ग्रेट' हुन विश्व समुदायमा प्रभाव र उपस्थितिबारे बोल्नुपर्ने थियो। साढे दुई शताब्दीअघिका पुर्खाहरूले ब्रिटिससँग लडेर, भिडेर स्वतन्त्रता र प्रजातन्त्र ल्याएका थिए। अहिलेको अमेरिकी पुस्ताले प्रजातन्त्र भनेको धारामा पानी र चुह्लोमा ग्यास आएजस्तै 'बाई-डिफल्ट' हो भन्ने बुझ्छ।
संसारभरि राष्ट्रियताको आवरणमा प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्दै आफ्नो पञ्जामा पार्न शासकहरूमा देखिएको सक्रियताबारे डेमोक्र्याट नेताहरू बोल्न सकेनन्। डेमोक्र्याट नेताहरूले यसपटक महिलाको गर्भपतन अधिकारको कुरा चर्को रूपमा उठाए।
गर्भपतन कहिलेसम्म गर्न दिने? कस्तो अवस्थामा गर्न दिने? यसको अधिकारक्षेत्र चिकित्सकहरूको हो। डेमोक्र्याटहरूले गर्भधारण गर्ने कि नगर्ने भन्ने अधिकार महिलामै निहित हुनुपर्छ भनेर राखेको आवाज सही भए पनि रिपब्लिकनको हल्लाले त्यो आवाज अवरूद्ध भयो। रिपब्लिकनहरूले डेमोक्र्याटहरूको तर्कको प्रतिवाद गर्दै आठ महिनाको गर्भ पनि फाल्न पाउनुपर्ने माग गरेको भनेर मुद्दा अन्तै पुर्याइदिए।
बाइडेन नेतृत्वमा आएपछि अमेरिकाको दक्षिणी सीमाबाट आप्रवासीको आगमन बढेकै हो। यसलाई रिपब्लिकनले चुनावको सबैभन्दा बिकाउ मुद्दा बनायो। रिपब्लिकनले भनेजस्तो आप्रवासीहरू ह्वारह्वारी छिरेका भने होइनन्। सीमामा आएर अनलाइनबाट शरणार्थीको आवेदन दिएपछि उनीहरूलाई अन्तर्वार्ताका आधारमा प्रवेश दिएको हो।
चुनावी मसला बनाउने नियतले सीमाभित्र पसेका आप्रवासीहरू टेक्सस गभर्नर ग्रेट एबट लगायत रिपब्लिकन नेताहरूको मिलेमतोमा बसमा चढाएर सिकागो र न्यूयोर्क लगिए। मिडियाको ध्यान तान्न र बाइडेन सरकारलाई बदनाम गर्न रिपब्लिकनहरूले चार वर्ष तयारी गरे। डेमोक्र्याट नेताहरू सिमाना र आप्रवासीका विषयमा त्यति गम्भीर भएनन्। उनीहरूले चुनावी परिणाम नै उल्टाउने गरी यो मुद्दाले असर गर्ला भन्ने भेउ नै पाएनन्।
ह्यारिस लगायत डेमोक्र्याटिक पार्टीका नेताहरूले 'अवैध रूपमा प्रवेश गर्नेहरूले शरणार्थीको आवेदन गर्न पनि पाउने छैन, जहाँ भेटियो त्यही समातेर निकाला गरिनेछ, अनलाइनबाट आवेदन दिएर बोर्डरमा अन्तर्वार्ता लिएपछि वास्तविक ठहरिएमा मात्र प्रवेश दिइनेछ' भनेका भए चुनावी नतिजा सम्भवतः यति टीठलाग्दो हुने थिएन कि!
केही समययता डेमोक्र्याटिक पार्टी सेलेब्रिटीहरूको भरोसामा अडिन लागेको हो कि भन्ने छनक पाउने पनि धेरै छन्। सेलेब्रिटीहरू आफ्नो क्षेत्रमा सफल छन् तर यसकै आधारमा उनीहरूले जनमतमा ठूलो प्रभाव पार्न सक्छन् भन्ने हुँदैन। सेलेब्रिटीलाई हेर्न मानिसको भिड लाग्छ, कन्सर्टमा सबै टिकट बिक्छ तर मतदातालाई ठूलो प्रभाव पार्ने गरीको पहुँच नहुँदो रहेछ। डेमोक्र्याटिक पार्टी भने सेलेब्रिटीसँग बढ्ता आशावादी देखियो।
ट्रम्पशासनको अन्तिम समयमा कोभिडका कारण अर्थतन्त्र चौपट भएको थियो। त्यसले सेयर बजार निकै तल झारेको थियो। बाइडेन सत्तामा पुगेपछि अर्थतन्त्रमा क्रमिक सुधार भएकै हो। 'अर्थतन्त्रमा तीव्र सुधार भइरहेको छ, सेयर बजार तल झर्नुपर्ने कारण छैन। हाम्रो सेयर बजार संसारकै सबैभन्दा दह्रो हो' भन्न पनि डेमोक्र्याट राष्ट्रपति र नेताहरूलाई गाह्रो भएको देखियो। यता सेयर बजारका लगानीकर्ताहरू बाइडेन र ह्यारिससँग रिसाएका थिए।
यसपटक डेमोक्र्याटिक पार्टीले चुनावमा पराजय भोग्नुको सबैभन्दा मुख्य कारण भरमन्टका सिनेटर बर्नी स्यान्डर्सले भनेझैं हो। उनले भनेका छन् – डेमोक्र्याटिक पार्टीले काम गरिखाने वर्गलाई हेर्न छाड्यो अनि काम गरी खाने वर्गले बाध्य भएर डेमोक्र्याटिक पार्टीलाई छाड्यो।
रस्टबेल्ट भनिने मिसिगन, पेन्सलभेनिया, ओहायो लगायत राज्यमा रहेका विगतका ठूला उद्योगहरू अहिले खियामा परिणत भएका छन्। ती उद्योगमा काम गर्ने लाखौं मजदुर विस्थापित भएका छन्। त्यहाँको लगानी चीन र भियतनाम पुगेको छ।
डोनाल्ड ट्रम्प अराजक हुँदाहुँदै पनि ती भेगमा जनताले उनैलाई चुन्नुको कारण अमेरिका छाडेर गएका ती उद्योगहरू फिर्ता हुन्छन् भन्ने आशा हो। सधैं ट्रेड युनियनहरूबाट समर्थन पाउने डेमोक्र्याटिक पार्टीका उम्मेदवारले यसपटक साथ र समर्थन नपाउनु ट्रम्प बोलेको कुरा पूरा गर्छन् विश्वास र मृगतृष्णा पनि हो।
यो थियो आकर्षक सामान हुँदाहुँदै पनि डेमोक्र्याटिक नेताहरूले गतिलो प्याकेजिङ गरेर बेच्न सकेनन् भन्ने कुरा। अब कुरा गरौं सामान गुणस्तरीय नहुँदा पनि ट्रम्पले कसरी बेच्न सके भन्नेबारे।
ट्रम्पले अवैध आप्रवासीको मुद्दा सबैभन्दा चर्को पारेर उठाए। दैनिक हजारौं अवैध आप्रवासी पसिरहेको, तिनीहरूले अपराध गरिरहेको, भेनेजुयलासहित संसारभरिका कुख्यात अपराधीहरू सिमानाबाट आइरहेको भनेर प्याकेजिङ गरे। त्यही प्याकेजबाट उनी 'देशको सुरक्षा गर्ने त ट्रम्प मात्र रहेछन्' भन्ने भान पार्न सफल भए।
आफूले कार्यभार सह्मालेकै दिन एक करोड ११ लाख अवैध आप्रवासीलाई निकाला गर्न थाल्ने भनेर ट्रम्पले गरेको घोषणाले अमेरिकीहरूलाई तान्यो। ट्रम्पले महँगीलाई पनि मसला बनाए। आफूले सरकार छाडेको समयभन्दा अहिले भान्छा महँगो भएको र सर्वसाधारण मानिस मर्कामा परेको भनेर मन जित्ने प्रयास गरे।
उनले आफू निर्वाचित भएको २४ घण्टाभित्र रूस-युक्रेन युद्ध अन्त्य गर्ने दाबी गर्दै मत मागे। रूस-युक्रेन युद्धमा अमेरिकाले डलर खन्याएकोमा असन्तुष्ट अमेरिकी जनतालाई आकर्षित गर्न गर्न सके। ट्रम्पले आफूलाई 'युद्धविरोधी' का रूपमा प्रस्तुत गरे। साँच्चै ट्रम्प आए भने रूस-युक्रेन, इजरायल-प्यालेस्टाइन युद्ध रोकिनेछ भनेर जनताले विश्वास गरेको देखियो।
चुनावी प्रचारका क्रममा ट्रम्प जहाँ जे बोल्दा फाइदा हुन्छ, त्यसैअनुसार अघि बढे। हैटीका आप्रवासीले कुकुरबिरालो खाइदिएको भनेर आप्रवासीप्रति घृणा जगाए। म्याकडोनाल्ड्समा पसेर काम समेत गर्न भ्याए। राष्ट्रपति जो बाइडेनले ट्रम्पका मतदातालाई 'गार्बेज' भनेको प्रतिक्रियामा फोहोर उठाउने गार्बेज ट्रक समेत चलाएर आफू गार्बेजप्रेमी रहेको भन्ने कला प्रदर्शन गर्न पनि भ्याए।
ट्रम्पले ओभरटाइम काम गर्नेको संख्या ठूलो रहेको पत्ता लगाएर त्यसको पारिश्रमिकमा कर नलाग्ने आश्वासन दिए। करदातालाई सहुलियत दिने र मोटरकारको उत्पादन पहिले जस्तै गर्ने आश्वासन पनि दिए।
डेमोक्र्याटिक नेताहरूले जनवरी ६ को घटना र गर्भपतनलाई केन्द्रमा राखे। घर किन्न चाहनेलाई २५ हजार डलर र व्यापार गर्नेलाई ५० हजार डलर सहुलियत, महँगी नियन्त्रण, ऊर्जामा आत्मनिर्भरता, मध्यम वर्गको उत्थानसहितको ८२ पृष्ठ लामो कार्यक्रमले चर्चा पाएन।
ट्रम्पले चर्को स्वरमा बोलेको कुरामा विश्वास भयो। शालीन ह्यारिसले लिखित रूपमा सार्वजनिक गरेको नीति, योजना र कार्यक्रम छायामा पर्यो। ट्रम्पसँग लिखित रूपमा 'हेरिटेज फाउन्डेसन' ले तयार पारेको 'प्रोजेक्ट २०२५' बाहेक कुनै लिखित नीति, योजना र कार्यक्रम थिएन। प्रोजेक्ट २०२५ का केही नीति विवादमा परेपछि उनले त्योसमेत आफ्नो होइन भनिदिए।
लिखित दस्तावेज, नीति र कार्यक्रम भएर पनि यसपटक डेमोक्र्याटिक पार्टी कुशल 'सेल्स पर्सन' हुन नसकेकै हो। त्यसैले चुनावी परिणाम ट्रम्पको पोल्टामा पुग्न गएको कुरा सबैका सामु प्रस्ट भएको छ।