बेइजिङ डायरी
२०७९ असोज ३० गते आइतबार म छाङहो दिदीसँग कुरा गर्दै थिएँ। छाङहो दिदी ७९ वर्षीय एक चिनियाँ नागरिक हुनुहुन्छ। उहाँलाई धेरै नेपालीले चिन्छन्। कसैले कुसुम भनेर चिन्छन् भने कसैले छाङहो।
चीन सरकारले राजधानी बेइजिङबाट सन् १९७५ जुन २५ तारिख तत्कालीन रेडियो पेकिङ (पछि रेडियो बेइजिङ र चिनियाँ अन्तर्राष्ट्रिय रेडियो हुँदै हाल चिनियाँ मिडिया ग्रूप) को नेपाली सेवा सुरू गर्यो। यो रेडियो प्रसारणका लागि नेपाली भाषा सिकेर पहिलो समूहमा काम गर्ने एक दर्जन चिनियाँमध्ये एकजना हुनुहुन्थ्यो छाङहो दिदी।
रेडियोमा काम गर्दागर्दै नेपाली भाषा, संस्कृति, साहित्य आदि क्षेत्रमा उत्कृष्ट खोज अनुसन्धान गरेर उहाँ प्राध्यापक हुनुभयो र २० वर्षजति नेपाली सेवालाई नेतृत्व गरेर सन् २००५ मा सेवानिवृत्त हुनुभयो।
अहिले उहाँ अमेरिकामा बस्नुहुन्छ। बेइजिङमा हुँदा उहाँसँग बारम्बार भेटघाट र कुराकानी हुन्छ। दुई वर्षअगाडि उहाँ बेइजिङमै हुनुहुन्थ्यो। अरू बेलाको कुराभन्दा उक्त दिनको हाम्रो गफको विषय भिन्न थियो। निकै दुखद खबर लिएर म उहाँलाई फोन गर्दै थिएँ।
विषय थियो — उहाँका प्रिय गुरू सत्यमोहन जोशीको निधन।
यो खबर जब मैले छाङहो दिदीलाई सुनाएँ, उहाँ निकैबेर मौन रहनुभयो।
दबेको स्वरमा भन्नुभयो, 'बुबाआमा गुमाएपछि टुहुरी भएकी थिएँ। आज फेरि दोस्रोपटक टुहुरी भएँ। मैले मेरो पथप्रदर्शक र जीवन निर्माणकर्ता गुमाएँ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली।'
छाङहो दिदीको कुराले मलाई पनि भावुक बनायो। उहाँसँग कुरा गरेर जोशीजीले चिनियाँलाई नेपाली शिक्षण गरेको कुरामा एउटा स्मृति लेख बनाउने रहर जाग्यो मलाई। छाङहो दिदीसँग अनुमति मागेर कुरा अघि बढाएँ। कुराका सिलसिलामा उहाँले जोशीजी बेइजिङ बस्दाको एउटा अत्यन्त पीडादायी र दुखद कुरा सुनाउनुभयो।
जोशीजी सन् १९६५ मा चिनियाँहरूलाई नेपाली भाषा शिक्षण गर्न बेइजिङ आउनुभयो। उहाँ बेइजिङ आएको दोस्रो वर्षमै सांस्कृतिक क्रान्ति सुरू भयो। सांस्कृतिक क्रान्तिका कारण चीनका सांस्कृतिक सम्पदाहरू बन्द भएकाले जोशीजी अरनिकोले निर्माण गरेको श्वेत चैत्य जान पाउनुभएन।
उहाँ सन् १९६९ मा नेपाल फर्किनुभयो। फेरि सन् १९८० मा तत्कालीन रेडियो पेकिङमा विदेशी विशेषज्ञका रूपमा काम गर्न आउनुभयो। दुई वर्ष बेइजिङ बसेर काम गर्दा उहाँले अरनिकोबारे गहन खोज र अनुसन्धान गर्नुभयो।
नेपाल फर्किनु अगाडि उहाँको ठूलो इच्छा चीनको वल्लो शान्सी प्रान्तको ऊथाइशान जाने थियो। उहाँले रेडियो प्रशासनसँग बारम्बार अनुरोध गर्नुभयो। तत्कालीन चीनको प्रशासनिक झन्झटका कारण उहाँ ऊथाइशान जान पाउनुभएन। उहाँको जीवनकै सबभन्दा ठूलो इच्छा अधुरै रह्यो।
छाङहो दिदीको कुरा सुनेपछि मैले प्रश्न गरेँ, 'ऊथाइशानमा उहाँ जान खोज्नुभएको मुख्य कारण चाहिँ के थियो?'
दिदीले भन्नुभयो, 'अरनिकोबारे खोज र अनुसन्धान गर्न। ऊथाइशानको अवलोकन नगरेसम्म अरनिकोबारे अधुरो बुझाइ हुन्छ भन्ने थियो उहाँमा।'
मैले पनि ऊथाइशानबारे सुनेको थिएँ। जोशीजीले लेख्नुभएको 'कलाकार अरनिको' किताबमा समेत अरनिकोले आफ्नो अन्तिम कालखण्ड ऊथाइशानमा बितोस् भन्ने चाहना तत्कालीन सम्राट कुब्लाइखानसँग व्यक्त गरेको उल्लेख छ। संयोग कस्तो पर्यो भने, न अरनिकोले जीवनको अन्तिम कालखण्ड ऊथाइशानमा बिताउन पाए, न जोशीजी ऊथाइशान अवलोकन गर्न पाउनुभयो।
अरनिकोले चीनमा बनाएका सम्पदामध्येको भौतिक रूप अहिले तीनवटाको मात्र भेट्न सकिन्छ। चीन, तिब्बतको सिगाच्छेमा रहेको सुवर्ण चैत्य अरनिकोले बनाएको पहिलो सम्पदा हो। बेइजिङको श्वेत चैत्य दोस्रो सम्पदा हो। त्यसैगरी ऊथाइशानमा रहेको अर्को श्वेत चैत्य अरनिकोद्वारा निर्मिति तेस्रो जीवित सम्पदा हो।
यो प्रसंगले मलाई ऊथाइशानबारे जाने हुटहुटी लाग्यो। बेइजिङदेखि ३७० किलोमिटर पश्चिममा पर्ने ऊथाइशान चीनकै उत्तरी भेगको सबैभन्दा उच्च भूगोल (३ हजार मिटरभन्दा बढी) हो। कोभिडको बन्देज खुकुलो भएपछि जाने भनेर तारतम्य मिलाउँदा मिलाउँदै समय घर्किँदै थियो। बल्ल साइत जुर्यो सन् २०२४ को जुन २१ मा, म ऊथाइशान पुगेँ।
चिनियाँ भाषामा 'ऊ' भनेको पाँच हो भने 'थाइ' भनेको टावर र 'शान' भनेको पहाड हो। त्यस कारण ऊथाइशानलाई पञ्चशीर्ष पहाड भनिन्छ। अरनिकोभन्दा धेरै अगाडिदेखि ऊथाइशानको नाइटो नेपालसँग जोडिएको रहेछ।
काठमाडौं उपत्यकाको पानीलाई चोभारबाट निकास गराएर मानव वस्ती बसाउने महामन्जुश्री ऊथाइशानबाट नेपाल गएका हुन्। त्यही भएर सन् २००५ मा नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालमा बनाएर ल्याइएको महामन्जुश्रीको मूर्ति प्रतिस्थापन गरेका रहेछन्।
ऊथाइशानको नेपाल सम्बन्ध यति मात्र होइन, अर्को पनि छ। सम्भवतः विश्वमा कहीँ पनि नभएको एउटा मन्दिर ऊथाइशानमा छ। त्यो हो राहुल मन्दिर। यहाँ शाक्यमुनि बुद्धका छोरा राहुलको नाममा एउटा भव्य मन्दिर छ।
बेइजिङबाट ऊथाइशान जाँदा मेरो मुख्य ध्याउन्न नै अरनिकोले बनाएको श्वेत चैत्य र राहुल मन्दिर हेर्ने थियो।
मैले सोचेको थिएँ, त्यहाँ यी दुइटा सम्पदा मात्र छन्।
सन् २००९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको ऊथाइशानमा पुगेपछि म आश्चर्य चकित भएँ। त्यो ठाउँ पुग्दा आश्चर्य हुनुपर्ने केही कारण थिए। जुन महिनामा बेइजिङमा निकै गर्मी हुँदा पनि ऊथाइशान चिसो थियो। बेइजिङमा अप्रिल मध्यतिर दुई सातासम्म सेतै उड्ने भोटेपीपलको भुवा त्यहाँ जुन महिनाको चौथो सातातिर उड्दै थियो। यसको अर्थ ऊथाइशान भौगोलिक हिसाबले निकै उचाइमा छ।
मैले गुगल गरेर हेर्दा थाहा भयो, यो भूभाग उत्तरी चीनको सबभन्दा उचाइमा पर्ने रहेछ। यहाँको उचाइ ३ हजार ६१ मिटर रहेछ।
सबभन्दा पहिले म श्वेत चैत्य नियाल्न गएँ। जब त्यसको समीप पुगेँ, मेरो इच्छा र चाहनामाथि पानी घोप्टियो। श्वेत चैत्यको जिर्णोद्धार हुँदै रहेछ। चैत्य आसपास जान बन्देज थियो। जिर्णोद्धारका लागि बाहिरबाट जालीले ढाकिएको थियो।
ऊथाइशान क्षेत्रको सबभन्दा ठूलो आकर्षण र सबभन्दा उच्च भवनका रूपमा रहेको यो चैत्य लगभग ५० मिटर उचाइको छ। बेइजिङमा रहेको श्वेत चैत्य ५०.९ मिटर उचाइको छ। तसर्थ बेइजिङको भन्दा केही होचो यो श्वेत चैत्यले ऊथाइशानको गौरव बढाएको छ। हरियो जालीले छोपिएको चैत्यको केही तस्बिर लिएर जिर्णोद्धारको काम सकिएपछि फेरि आउने भाकल गर्दै म चुकचुकाएँ।
ऊथाइशानको शान्त वातावरण, शितल हावापानी, आध्यात्मिक व्यक्तिहरूको घुइँचो, चैत्य र बिहारबाट मगमग बास्ना आइरहेको धुप, पुराना कला र सम्पदाले जोसुकैलाई लोभ्याउँछ।
एक फन्को लगाउन होइन, केही दिन बसेर रमाइलो मान्न पनि होइन, यो त महिनौं घोत्लिन जानुपर्ने ठाउँ हो। कुनै तपश्वीका लागि सबभन्दा उत्तम ठाउँ ऊथाइशान हो। खोज र अनुसन्धानकर्ताका लागि, साहित्य सिर्जना गर्न, गहन अनुवाद गर्न वा अत्यासलाग्दो जीवन भोगाइबाट शान्ति खोज्नेका लागि ऊथाइशानको विकल्प छैन। तब न अरनिकोले आफ्नो जीवनको अन्तिम क्षण बिताउन खोजेका थिए!
अरनिकोले पौरख गरेर श्वेत चैत्य ठड्याएकाले मात्र त्यो ठाउँ मन पराएका थिएनन्। त्यो ठाउँसँग विलक्षण शक्ति थियो, आकर्षण क्षमता थियो, महामञ्जुश्रीको जन्मस्थान थियो र पवित्र भूमि थियो। आज पनि यी सबै गुण बोकेर ऊथाइशान शिर ठाडो गरिरहेको छ।
अरनिको निर्मित श्वेत चैत्यको तस्बिर लिएर म राहुल मन्दिर खोज्न थालेँ।
ऊथाइशानमा पाँच दर्जनभन्दा बढी पवित्र बौद्ध मन्दिर (गुम्बा) छन्। मन्दिरका हरेक नाम खोज्दा पनि मैले राहुल मन्दिर पत्ता लगाउन सकिनँ। मोबाइलमा तुरून्तै भिपिएन अन गरेर गुगल सर्च गरेँ। गुगलले पनि कुनै जानकारी दिएन।
मलाई एकजना लामा गुरूको सम्झना आयो। नेपाली लामा गुरू कोभिड महामारीभन्दा अगाडि लामो समय ऊथाइशानमा बस्नुभएको थियो। यति बेला काठमाडौंको बौद्धनाथमा बसिरहनुभएका उहाँलाई विच्याटमा कल गरेँ। उठेन। भ्वाइस मेसेज छाडेर राहुल मन्दिरका बारेमा बताउन भनेँ। उहाँको जबाफ नआएपछि फेरि खोज्न थालेँ।
केही चिनियाँलाई नै सोधखोज गरेँ। कसैले पनि बुझेनन्।
एक नवजवान चिनियाँले भने प्रश्न गरे, 'तपाईँले शाक्यमुनिका छोराको मन्दिर खोज्नुभएको हो?'
ओहो उनको प्रश्न नै मेरा लागि उत्साहको मूल थियो।
हो भनेपछि उनले उत्तरपूर्वतिर औंल्याउँदै भने, 'ऊ…त्यही हो त राहुल मन्दिर!'
ओहो, त्यो मन्दिरलाई मैले अगाडि नै दुई फन्का लगाइसकेको थिएँ। त्यही मन्दिर राहुलका नाममा बनेको भनेर मलाई अझै शंका थियो। तैपनि म दौडेर त्यहाँ पुगेँ र बाहिर लेखिएको सूचना पढ्न थालेँ। यसअघि पनि दुईपटक त्यो सूचना पढेको थिएँ। त्यहाँ राहुल मन्दिर भनेर लेखिएकै थिएन। टाउकोमा अर्कै मन्दिर लेखेको देखेपछि म पूरै सूचना नपढी हिँडेको थिएँ। पढ्दै गएपछि बल्ल थाहा भयो, त्यही रहेछ राहुल मन्दिर।
सूचनापाटीमा लेखिएको नाम थियो 'लुओहोउ मन्दिर'। मैले ध्यान दिएर पढेँ। त्यहाँ शाक्यमुनि बुद्धका छोराको मन्दिर भनेर लेखिएको रहेछ। अझ अनौठो कुरा त उनको शरीर नै यहाँ संरक्षण गरेर राखिएको थियो भन्ने उल्लेख छ। १७ हजार वर्गमिटरमा रहेको यो मन्दिरमा ११८ वटा कोठा रहेछन्। त्यहाँ भएका मन्दिरहरूमै सबभन्दा भव्य यही लाग्छ।
यो मन्दिर थाङ राजवंशको समयमा निर्माण गरिएको रहेछ। थाङ वंशले चीनमा सातौंदेखि दसौं शताब्दीसम्म शासन गरेको थियो। सन् १४९२ मा यसको पुनर्निर्माण भएको जानकारी पाइन्छ। यो मन्दिर तिब्बती बौद्ध धर्मावलम्बीका लागि एउटा प्रमुख र पवित्र स्थलका रूपमा रहेको छ।
राहुल मन्दिर अर्थात 'लुओहोउ मन्दिर' भव्य र ज्वलन्त छ। पहेँलो लामा पोशाकमा तिब्बती लामाहरूले मन्त्रपाठ गरिरहेका थिए। गुम्बाको आपपास र वातावरण अरूभन्दा पृथक। अरू गुम्बामा चिनियाँ लामा थिए भने राहुल गुम्बामा तिब्बती लामा थिए। तिब्बती लामाको पोशाक नेपाली लामाकै जस्तो हुन्छ। चिनियाँ लामाको पोशाकको रङ केही फरक हुन्छ।
शाक्यमुनि बुद्ध नेपालमा जन्मिएका, उनकी श्रीमती यशोधरा अनि छोरा राहुल। हामीलाई यति मात्र थाहा छ। राहुल कहाँ गए, के गरे भन्ने कतै उल्लेख छैन। तर चीनले उनको शरीर नै संरक्षण गरेर मन्दिर बनाएको छ भन्ने कुरा आजसम्म कुनै नेपाली सन्दर्भमा उल्लेख नहुनु दुःखद हो।
सत्यमोहन जोशीजीले हेर्न नपाउनु भएको ऊथाइशानमा अरनिकोले बनाएको श्वेत चैत्य मैले पनि राम्ररी हेर्न पाइनँ। बरू मैले राहुल मन्दिर राम्ररी अवलोकन गर्ने मौका पाएँ। श्वेत चैत्यको पुनर्निर्माण सकिएपछि म फेरि जानेछु ऊथाइशान।
जोशीज्यू, तपाईँको तेस्रो वार्षिकीमा श्रद्धा अर्पण गर्दै अरनिकोका पदचाप खोज्दै ऊथाइशान पुगेको जानकारी गराउँछु।
तपाईँको आत्माले शान्ति पाओस्।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)