बेइजिङ डायरी
पछिल्लो समय चन्द्रमाबारे सबभन्दा बढी अनुसन्धान गर्ने देशका रूपमा चिनिएको छ चीन। अन्तरिक्षको खोज अनुसन्धानबाट चीनले हासिल गरेको उपलब्धिलाई लिएर उसको प्रतिस्पर्धी देश अमेरिकाले समेत प्रशंसा गरेको छ।
सन् २०१९ जनवरीमा पृथ्वीबाट नदेखिने चन्द्रमाको पछिल्लो भागमा चीनले अन्तरिक्ष यान अवतरण गरेपछि विश्वभर प्रशंसा चुलिएको हो।
चन्द्रमा छुन पुग्ने चिनियाँ रकेटको नाम 'छाङ्अ' हो। चीनले चन्द्रमामा पठाएको रकेट शृंखलाको नाम किन छाङ्अ राख्यो भन्ने बारेमा रोचक मिथक जोडिन आउँछ।
मिथक कथाकी एक पात्र हुन् 'छाङ्अ'। चिनियाँ भाषामा यसको अर्थ हुन्छ परी। चार हजार वर्ष पहिले पृथ्वीबाट उडेर गएकी छाङ्अ चन्द्रमा अर्थात् स्वर्गमा बस्छिन् भन्ने चिनियाँ विश्वास छ। चिनियाँहरूको परम्परागत मान्यता अनुसार चन्द्रमा भनेकै स्वर्ग हो।
छाङ्अको रोचक कथाको प्रसंग यस्तो छ।
कुनै बेला आकाशमा दसवटा सूर्य एकैचोटि उदाउँथे। तिनको तापले पृथ्वीमा कुनै पनि जीव बाँच्नै नसक्ने भए। सूर्यको प्रचण्ड ताप कम गर्ने विषयमा स्वर्गका भगवानहरू पनि सोचमग्न थिए।
त्यही बेला एकजना साहसी व्यक्ति देखापरे। उनको नाम थियो — हौ यी।
उनी तीर हान्न निकै सिपालु थिए। उनले तीर हानेर नौवटा सूर्यलाई आकाशबाट खसालिदिए। आकाशमा एउटा मात्र सूर्य भएपछि पृथ्वीमा प्रचण्ड तापमान हरायो र सामान्य अवस्था सिर्जना भयो। तिनै हौ यीले अत्यन्त सुन्दरी छाङ्असँग बिहे गरे।
हौ यीको तीरकलाबाट प्रभावित भएर स्वर्गकी रानीले अजम्बरी हुने खाद्य पदार्थ 'बुटी' दिएकी थिइन्। त्यो बुटी खाएपछि जिउँदै स्वर्गमा उडेर जान सकिन्थ्यो र सदा अमर भएर स्वर्गमा बस्न पाइन्थ्यो। हौ यीले बुटी सुरक्षित राख्न छाङ्अलाई दिएका थिए।
हौ यीले सबैलाई तीर चलाउने कला सिकाउँथे। उनका थुप्रै शिष्य भए पनि उनीजत्तिकै निपुण कोही थिएनन्। उनका शिष्यमध्ये फङमङले उक्त बुटी खाएर अमर हुने षड्यन्त्र बुने।
एक दिन हौ यीले आफ्ना सबै शिष्य लिएर जंगलमा तीर हान्न जाने योजना बनाएका थिए। त्यो दिन फङमङले आफूलाई सन्चो नभएकाले जंगल जान नसक्ने बताए र सबै गएपछि हौ यीको घर गएर अजम्बरी बुटी चोर्ने विचार गरे। उनले छाङ्अलाई धम्क्याए र बुटी नदिए मारिदिने डर देखाए। छाङ्अले उनलाई बुटी दिनुभन्दा आफै खाने विचार गरिन् र क्वाप्पै खाइदिइन्।
बुटी खाएपछि छाङ्अ उडेर 'स्वर्ग' अर्थात् चन्द्रमामा पुगिन्। जंगलमा तीर हान्ने काम सकेर साँझ फर्केर आएपछि मात्र छाङ्अ उडेर चन्द्रमामा गएको हौ यीले थाहा पाए। उनी पत्नी वियोगको पीडामा परे। सधै चन्द्रमातिर हेरेर आफ्नी श्रीमती फर्केर आउने कल्पना गरेर बसे।
एकदिन हौ यीले छाङ्अलाई मनपर्ने परिकारहरू बनाएर टेबलमा सजाएर राखे। त्यो दिन हौ यीलाई भेट्न छाङ्अ पृथ्वीको नजिकै आइन्। आफूलाई मनपर्ने परिकार देखेर खुसी भइन्।
छाङ्अ आफ्नो प्रिय हौ यीलाई भेट्न आएको उक्त दिन परम्परागत चिनियाँ पात्रोअनुसार आठौं महिनाको १५ औं दिनको पूर्णिमामा रात थियो। त्यसपछि उक्त पूर्णिमाका दिन चन्द्रमा सबभन्दा चम्किलो र आकारमा सबभन्दा ठूलो हुन्छ भन्ने चिनियाँ विश्वास रहँदै आएको छ।
हौ यीलाई भेट्न छाङ्अ पृथ्वी नजिक आएको दिनको त्यही सम्झनामा चिनियाँहरू चन्द्रमा हेर्दै केक खान्छन्। यो समय शरद ऋतुको मध्यमा पर्ने भएकाले यसलाई मध्य शरद चाड पनि भनिएको हो।
परापूर्वदेखि मनाइँदै आएको यो चाडलाई सातौं शताब्दीमा चीनको थाङ राजवंशले राष्ट्रिय चाडका रूपमा मनाउन थालेको थियो। सन् २००६ मे २० मा चीनले अभौतिक सांस्कृतिक सम्पदामा राख्यो र सन् २००८ देखि मध्य शरद चाडका अवसरमा चीनमा सार्वजनिक बिदा दिन थालियो।
आधुनिक विज्ञानमा छलाङ मार्दै चन्द्रमा खोज अनुसन्धानमा चीनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। त्यही चन्द्रमालाई स्वर्गको प्रतीक मान्दै पूजा गर्ने चलन पनि चीनमै छ। एकातिर सांस्कृतिक संरक्षणका रूपमा परम्परागत विश्वासलाई चीनले भयंकर प्रचार गर्दै आएको छ भने, अर्कातिर अन्तरिक्ष विज्ञानमा चीनले प्रगति विश्वमै अग्रणी भागमा पुगेको छ। यी विरोधाभास विषयलाई नियाल्दा विश्वास र आधुनिक विज्ञानमा चीनको बेजोड लगाव देखिन्छ।
मिथक परीकै नाममा चिनियाँ अन्तरिक्ष यान
चीनले अन्तरिक्ष अन्वेषणका लागि प्रक्षेपण गरिने यानको नाम 'छाङ्अ' राखेको छ। पाँच हजार वर्ष अगाडि अमृत पिएर चन्द्रमामा पुगेर बसेकी परीकै नाममा आफ्नो शृंखलावद्ध प्रक्षेपण गरिने रकेटको नाम छाङ्अ राखेको हो।
चीनको चन्द्रमा अन्वेषण कार्यक्रमलाई 'छाङ्अ परियोजना' पनि भनिन्छ। यो चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनद्वारा सञ्चालित 'रोबोटिक मून मिसन' को निरन्तर शृंखला हो।
चीनले सन् २०२३ जुलाइमा अन्तरिक्ष कार्यक्रमको लक्ष्य प्रस्तुत गरेको थियो। जस अनुसार सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना छ। त्यसो त सन् २०१९ मै चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन कार्यालयका प्रमुख चाङ खचियानले दस वर्षभित्रमा चन्द्रमाको दक्षिणी ध्रुवमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माण गर्ने योजना बताएका थिए।
चीनले सन् २००७ मा पहिलोपटक चन्द्रमामा छाङ्अ-१ प्रक्षेपण गरेको थियो जसले चन्द्र सतहको मौलिक संरचना मापन गर्यो। त्यसपछि सन् २०१० मा छाङ्अ-२ र सन् २०१३ मा छाङ्अ-३ प्रक्षेपण गर्यो। त्यसैगरी सन् २०१८ मा छाङ्अ-४ र सन् २०२० मा छाङ्अ-५ अन्तरिक्ष यान सफल रूपमा प्रक्षेपण गर्यो। सन् २०२४ मे ३ मा चीनले छाङ्अ-६ प्रक्षेपण गरेको छ। चीनको योजना अनुसार सन् २०२६ मा छाङ्अ-७ प्रक्षेपण गर्ने छ।
'चन्द्रमा' खाँदै चन्द्रमा हेर्दै
यो चाड मनाउन टाढा पुगेका परिवारका सदस्यहरू एकै ठाउँ भेला हुनैपर्ने भएकाले यसलाई पारिवारिक पुनर्मिलनको चाडका रूपमा लिइन्छ। यो चाड मनाउँदा चन्द्रमा हेर्नैपर्ने मान्यता छ। बरन्डा अथवा झ्यालको छेउमा गएर चन्द्रमा हेर्दै चिनियाँहरू केक खान्छन्।
मुख्य रूपमा पिठोमा अण्डा र विभिन्न फलफूल मिसाएर बनाइने केकलाई बास्नादार र स्वादिलो बनाउन विभिन्न फूलको रस मिसाइन्छ। मूलतः यो चाड मनाउन तीनवटा कुरा हुन अनिवार्य छ; केक, चन्द्रमा देखिनु र पारिवारिक पुनर्मिलन।
केकलाई चन्द्रमाकै आकारमा बनाइएको हुन्छ। यसलाई चन्द्रमाकै प्रतीक पनि मानिन्छ। त्यसकारण भनिन्छ, यो दिन चिनियाँहरू चन्द्रमा खाँदै चन्द्रमा हेर्छन्।
पहिले पहिले घरमा गोलो ठूलो रोटी पकाएर परिवारका सदस्य बराबर भाग लगाएर चन्द्रमा हेर्दै खाने चलन थियो।
मान्यता कति कडा थियो भने, सो रोटी भाग लगाउँदा परिवारका सदस्यभन्दा एक टुक्रा पनि घटीबढी बनाउन पाइँदैन थियो। हिजोआज बनिबनाउ केक बजारमा छ्यापछ्याप्ती किन्न पाइने भएपछि चिनियाँहरू घरमा बनाउँदैनन्। साथी र आफन्तबाट यो समयमा पाउने उपहार पनि केकका बट्टाहरू नै हुन्।
परम्परागत चिनियाँ पात्रो अनुसार औंसीबाट महिना सुरू हुन्छ। चिनियाँ मान्यतामा आठौं महिनाको पन्ध्रौं दिनमा पर्ने पूर्णिमामा देखिने चन्द्रमा पृथ्वीबाट अरू बेलाभन्दा नजिक र सबभन्दा बाटुलो देखिन्छ। अनि यही दिनलाई चिनियाँहरू 'चोङ छ्यौ च्ये' भन्छन्। चिनियाँ भाषामा चोङ भनेको मध्य र छ्यौ भनेको शरद हो। त्यसपछि आउने च्ये शब्दको अर्थ चाहिँ चाड अथवा पर्व हुने गर्छ। त्यसकारण यो दिनलाई मध्य शरद पर्वका रूपमा चीनमा मनाइन्छ।
यो वर्ष मध्य शरद पर्व आज (सेप्टेम्बर १७ तारिख) परेको छ।
यस पर्वको साँझ चिनियाँहरूले चन्द्रमाको दर्शन र पूजाआजा गर्छन्। रंगीबिरंगी बत्ती बालेर परिवारका सबै सदस्य भेला भएर विशेष प्रकारको केक खान्छन्। अनि आपसमा सुख, शान्ति, समृद्धि र सौभाग्यका लागि शुभकामना बाँड्छन्। साँझमा चन्द्रमाको पूजाआजा गर्न विशेष प्रकारको केक नभई हुँदैन। यो केकलाई चिनियाँ भाषामा 'युए पिङ' भनिन्छ। युए भनेको चन्द्रमा र पिङ भनेको रोटी हो।
नेपालीहरूले बुझ्ने जस्तो यो रोटी बाटुलो र पातलो हुँदैन। बरू भुक्क परेको र हत्केलामा अट्ने भएकाले यसलाई अंग्रेजी अनुवाद गर्दा 'मूनकेक' भनिएको हो। यो ठ्याक्कै चन्द्रमा आकारको हुन्छ।
यो विशेष प्रकारको रोटीमा विभिन्न खाद्य पदार्थ राखिएको हुन्छ। त्यसकारण साधारण रोटीभन्दा निकै फरक हुन्छ। यस किसिमको रोटीको बाहिरी भागमा प्रायः चिनियाँ पौराणिक कथामा उल्लेख भएकी 'छाङ्अ' नामकी परी चन्द्रमातिर उडेर गएको चित्र बनाइएको हुन्छ (हेर्नुस् आवरण तस्बिर)। त्यसो त समृद्धि जनाउने अन्य चित्र पनि राखिएका हुन्छन्।
यस पर्वका साँझमा पूर्ण गोलाकार चन्द्रमा उदाउँदा मानिसहरू चन्द्रमातिर उक्त केक देखाउँदै पूजा गर्छन् र परिवारका सबैजना बसेर खुसीसाथ खान्छन्।
चीनका विभिन्न क्षेत्रहरूका रोटीको शैली र स्वाद फरक फरक हुन्छ। चिनियाँहरूको जीवनस्तरमा सुधार हुँदै आएपछि रोटीभित्र राखिने चिजबिजहरूमा पनि परिवर्तन हुँदै आएको छ। चिनी, बयर, नरिवल, राजमा, सुकुटी मासु बाहेक हाँसका नुनिला अण्डाको पहेँलो भाग, फलफूलका टुक्रा र भेनेगर आदि रोटीमा हालिएको हुन्छ।
अल्पसंख्यक जातिका रोचक चलन
चीनमा रहेका विभिन्न अल्पसंख्यक जातिमा यो चाड मनाउने चलन पनि फरक फरक छ।
'ताई' जातीय मान्यता अनुसार स्वर्गका सम्राटका तेस्रो छोरा नै चन्द्रमाका रूपमा रहेका हुन्। उनले ताई जातिको नेतृत्व गरेर शत्रुलाई परास्त गरेका थिए। उनको निधन भएपछि चन्द्रमा बनेर आकाशमा नरम चाँदनीबाट अँध्यालोमा प्रकाश छरेर ताई जातीय सर्वसाधारणलाई उज्यालो दिएका हुन् भनिन्छ।
चीनको अर्को अल्पसंख्यक जाति 'अलुनछुन' जातिमा चन्द्रमाको पूजा गर्ने चलन फरक छ। उनीहरू खाली ठाउँमा सफा पानीले भरिएको भाँडो राख्छन् र चन्द्रमाको छाया पानीमा प्रस्ट देखिएपछि साना ढुंगा हानेर चन्द्रमालाई गिज्याउँछन्।
'मंगोलिया' जातिमा चाहिँ घोडा चढेर चन्द्रमा तिर लम्किने चलन छ। चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मंगोलिया स्वायत्त प्रदेशको घाँसे मैदानमा घोडा चढेर चन्द्रमातिर दौडाउँदै रमाइलो गरिन्छ। मंगोलिया जातिजस्तै तिब्बती जातिमा पनि चन्द्रमा खोज्ने चलन छ। उक्त पर्वको राति तिब्बती युवायुवती र बालबालिकाहरू नदी वा तालमा रहेको चन्द्रमाको छाया हेर्न जान्छन्।
चीनको उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्ने 'ह च' जातिका मान्छेहरू मध्य शरद पर्वमा अंगुर टिपेर चन्द्रमाको पूजा गर्छन्।
त्यसैगरी 'यी' जातिका विभिन्न गाउँका गाउँलेहरू एउटै ठाउँमा भेला भएर रमाइलो गर्दै नाचगान गर्छन्। युवायुवतीहरू गीतमार्फत आपसमा माया व्यक्त गर्छन्। उक्त समयमा आकाशमा रहेको चन्द्रमाले पनि उनीहरूबीचको चोखो प्रेम सुन्छन् भन्ने विश्वास छ।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)