शुक्रबार बिहानैदेखि पानी परेको थियो। हिमाली भेग, उसै पनि तुवाँलाले ढाकेकै हुन्छ; मध्य वर्षातमा त हुस्सु डम्मै हुन्छ। वरपर पनि देख्न दुरूह!
शनिबार ठीक उल्टो थियो मौसम।
बिहानैदेखि मौसम छ्यांग उघ्रिएको थियो। आकाशमा बादलको टुक्रासम्म थिएन। पूरै 'क्रिस्टल क्लियर'।
झलमल्ल घाम लागेकाले वारिपारि देख्न कठिन थिएन।
हामीले दोलखा हुँदै रूट तय गरेका थियौं, नेपाली सेनाको एमआई १६ हेलिकप्टरमा। अवलोकन समूहमा रक्षामन्त्री मानवीर राई, गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसाल, नेपाली सेनाका अधिकारीहरू पनि हुनुहुन्थ्यो।
हिमाली क्षेत्रमा जाँदै थियौं। थामे आफैमा ३८०० मिटर उचाइमा छ। त्यहाँभन्दा माथिको उचाइमा उडान गर्नुपर्ने थियो। चिसो होला भन्ने लागेर बाक्लो ज्याकेट लगाएको थिएँ।
हामी दोलखाबाट तामाकोसीको किनारैकिनार अघि बढ्यौं। हेलिकप्टरको झ्यालबाट हराभरा जंगलमा आँखा पुग्थ्यो। उत्तरतिर खुल्न खोजेका हिमाल, तिनलाई फेरो मार्न खोजिरहेका बादलले झन् सौन्दर्य थपिरहेको आभास हुन्थ्यो।
यसपटक कञ्चनपुरमा हाँडीघोप्टे वर्षा भयो। पढ्नुस्ः नेपालको इतिहासकै सबभन्दा ठूलो वर्षा
कञ्चनपुरमा मात्र होइन, बागलुङ लगायत मध्य पहाडका केही भूभागमा पनि त्यस्ता प्रकृतिका वर्षा भए। डाँडाकाँडा तछारिए। साना, ठूला पहिरा चले। बस्ती बगे। पर्वतमालाहरूमा प्रशस्तै घाउ लागेको देखियो।
दोलखातर्फ भने त्यस्ता दृश्य केही आँखामा आएनन्। जताजतै हरियाली, तरेली परेका डाँडा। तीमाथि हाँडीघोप्टे वर्षातका कुनै संकेत छैनन्। अहँ, सूचक भेटिएनन्। सोलुखुम्बु छुँदासम्मै त्यस्ता दृश्यमा मेरा आँखामा परेनन्। हामीले सोलुखुम्बुको फाप्लुमा अवतरण गर्यौं। अवलोकन टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायत जनप्रतिनिधि थपिनुभयो।
हामी लुक्ला हुँदै थामेतर्फ प्रस्थान गर्यौं।
थामे पुग्दा नपुग्दै बाढीको रौद्र, विनाशकारी दृश्य आँखामा परिहाल्यो। पर्वतै फुटेर आएजस्तो विध्वंश दृश्य त्यहाँ मौजुद थियो। भीमकाय ढुंगा थुप्रिएका थिए। बीसभन्दा बढी घरहरूमा क्षति पुगेको, विद्यालय बगेको, स्वास्थ्य चौकी निशानामा परेका खबर आइसकेका थिए। त्यहाँ पुगेपछि विद्युतगृहमा समेत क्षति पुगेको थाहा पायौं।
खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मै ९५० किलोवाट क्षमताको जलविद्युत आयोजना छ। ९०० हाराहारी घरधुरी उपभोक्ता छन्। त्यसको इनटेक (बाँध) मा असर परेपछि विद्युत सेवा प्रभावित छ। अहिले २०-२२ घर क्षतिग्रस्त छँदैछन्। अरू घरसमेत जोखिममा छन्।
थामे अति सुन्दर र मनोरम उपत्यका हो। पर्यटकीय ठाउँ। उच्च समस्थली भूभाग; केही गह्राहरू पनि छन्। उत्पादन हुने प्रकृतिका। अहिले त्यहाँ ठूला ढुंगा आएर बसेका छन्। कति त सोफाजत्रा होलान्! छुन, चलाउन नसकिने। तिनलाई पल्टाएर त्यस क्षेत्रको जीवन कसरी बौर्याउने भन्ने चुनौती छँदैछ।
संयोग नै भनौं, दिउँसो यो घटना भयो। अफ-सिजन भएकाले पर्यटक थिएनन्। दिउँसो भएकाले कतिपय नाम्चे झरेका थिए। नाम्चेमा शुक्रबार हाट लाग्छ। कति गोठाला गएका हुँदा हुन्। त्यसैले मानवीय क्षति भएन। तर कटान र बगानका कारण थामे खण्डहर छ। मन थाम्न सकिने अवस्था छैन। प्रभावित मूर्च्छित छन्।
राति भएको भए अकल्पनीय परिस्थिति हाम्रो भागमा पर्थ्यो। दिउँसो भएकाले मानवीय क्षति भएन, तर मानिस मात्रै बच्ने स्थिति बन्यो। लुगाफाटा, भाँडावर्तन सब बगाएर लग्यो। तत्काल राहतको जरूरी थियो; त्यसका लगि संघीय सरकारले तत्काल १५ हजार रूपैयाँ सहायता उपलब्ध गराउने यसअघि नै व्यवस्था छ। सोही अनुरूप हामीले नगद लिएर गएका थियौं। तत्काल आर्थिक सहायता दिनुपर्ने परिवार हिजै पहिचान गरिसकिएकाले प्रमुख जिल्ला अधिकारी र पालिकाको रोहवरमा वितरण गर्यौं।
अस्थायी आवास बनाउने प्रक्रिया विलम्ब नगरी, तत्काल सुरू गर्छौं। समस्या के छ भने, त्यो ठाउँ असाध्यै जोखिममा छ। त्यहीँ आवास बनाउन मिल्दैन। तत्कालका लागि त्रिपालको प्रबन्ध भएको छ। प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने, घाइतेको उपचारको प्रबन्ध भएको छ।
अस्थायी आवासका लागि पालिकासँग समन्वय गरेर, कहाँ उपयुक्त हुन्छ पहिचान गरेर, के पहिला गर्ने, के क्रमिक रूपमा गर्ने भनेर विस्तृत योजना बनाउँछौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कार्यकारी समितिको बैठक राखेर त्यससम्बन्धी निर्णय गर्छौँ। प्रदेश र पालिकासँग समन्वय गरेर काम अघि बढाउँछौं।
यो त भयो विपदपछिको पुनर्स्थापना, पुनर्निर्माणको विषय।
हामीलाई त थामे विपदको मूल जड पत्ता लगाउनु थियो।
काठमाडौंबाट उड्दा हाम्रा मनमा अनगिन्ती जिज्ञासा थिए। थामे विपत्तिको स्रोत केहो? त्यसको पानीढलो, जहाँबाट भेलबाढी आयो, त्यसको कारण के हो?
हामीले केही अनुमान गरेका थियौं — हिमताल फुटेको हो कि, ठूलो पानी परेर पो भेलबाढी आएको हो कि?
भेलबाढीको स्रोत खोज्दै उत्तर जानुपर्थ्यो। बादल लाग्न थालिसकेकाले ठूलो हेलिकप्टर जान समस्या हुने भयो। सानो हेलिकप्टरबाट हामी माथितर्फ लाग्यौं।
त्यहाँ जानुअघि स्थानीयसँग कुराकानी गरेका थियौं। उहाँहरूले केही कुरा बताउनुभएको थियो। हामी पनि अनुमानको नजिक पुगेका थियौं।
थामेको शिरमा पाँचवटा साना-ठूला हिमताल रहेछन्। त्यसमध्ये तीनवटा ताल दुरूस्त रहेछन्। तिनको आकृति प्रस्टै र छ्यांगै देखिन्थ्यो।
दुइटा ताल चाहिँ फुटेको देख्यौं। त्यसको फोटो र भिडिओ लिएका छौं। कति सार्वजनिक पनि भइसकेका छन्।
थामेबाट चरो उड्ने बाटोलाई आधार मान्ने हो भने ९ किलोमिटर माथि छ हिमतालहरू भएको ठाउँ। एउटा ताल पूर्ण रूपमा फुटेर त्यसले विध्वंशको स्वरूप लिएको रहेछ।
आँखो देखा हाल सुनाउँदा, त्यो कस्तो छ भने, एउटा तालबाट हिउँ पग्लिएर अर्कोमा खसेको छ। फुटेको हिमतालमा त केही ठुल्ठूला हिमढिक्का, हिमचिराहरू हामीले देख्यौं।
हिमताल सामान्यतः सेतो रङको हुन्छ। वर्षौंदेखि हिउँ सञ्चित भएको हुन्छ। जब त्यसमा विचलन आउँछ त्यो नीलो रङमा परिणत हुन्छ। बाँकी रहेका तीन वटा ताल हामीले नीलै देखेका थियौं।
फुटेका दुइटा ताल सँगै छन्। माथिल्लो ताल फुटेर तल्लोमा गयो र त्यसले विनाश निम्त्याउने अवस्था बनेको देखिन्छ। जुन ताल पहिले फुट्यो, त्यसको पानी सबै बगिसकेको छैन। जोखिमयुक्त अवस्थामा देखिएको त्यो ताल त खरानी रङमा परिणत भइसकेको छ।
हामीले तालहरूलाई १, २, ३, ४, ५ नामकरण गरेका छौं। विध्वंश निम्त्याएको पाँचौं तालले हो। माथिल्लोबाट त्यसमा पानी खस्दा त्यो तालको डिल (बाँध) भत्किएको देखिन्छ। भत्किएको मात्र होइन, निकै गहिरिएर पानी गएको रहेछ। त्यो ताल ठूलो र एकैपटक बगेकाले विनाशको प्रकृति पनि ठूलो भयो।
हिमतालको डिलमा हिउँ, माटो र ढुंगाको सम्मिश्रण जमेर बसेको हुन्छ। यसलाई पर्माफ्रस्ट भनिन्छ। थामेमा यही फुटेर बाढीको रूप लिएको हो। ठूला चट्टान, गेग्रानसहितको बाढीले खोलाको सतह खोतल्दै, वरिपरिका डिल भत्काउँदै अघि बढेको देखिन्छ।
त्यहाँ अचम्म के भयो भने, हामी ४००० मिटर माथिको उचाइमा छौं तर त्यहाँ जाडो अनुभव भएन। गर्मीको पो छ!
मेरो विचारमा १५-१६ डिग्रीभन्दा कम तापक्रम थिएन होला हामी पुगेको समयमा। त्यो ठाउँमा यति तापक्रम हुनु सामान्य मौसमी घटना होइन, असामान्य नै हो।
यसकारण नै मैले यो घटना (थामे विपत्ति) लाई जलवायु परिवर्तनको असर भनेको हुँ।
त्यहाँ डोजर पुगेको छैन। कसैले रूखपात काटेको छैन। मानवीय क्रियाकलाप पनि भएका छैनन्। विकासजन्य गतिविधि पनि छैनन्। जलवायु परिवर्तनका कारण तापक्रम बढ्यो, वर्षाको चरित्र बदलियो, त्यसले निम्त्याएको घटना हो यो। त्यो सँगसँगै त्यस भेगमा निरन्तर वर्षा भयो। पछिल्लो १६ दिनमा १३३.८२ मिलिमिटर वर्षा देखिएको छ। त्यो भेगमा यति पानी पर्नु स्वाभाविक मौसमी घटना होइन।
एकातिर तापक्रममा निरन्तर वृद्धि, अर्को पानी पनि परिरहने कारण हामीले विपदको सामना गर्नुपर्यो।
बढ्दो तापमान वृद्धिसँगै हामीलाई भय थियो, हाम्रा हिमाली भेग सुरक्षित छैनन्। जुनसकै बेला हिमताल फुट्न सक्छ, भेलबाढी आउन सक्छ। नभन्दै त्यही भएको छ।
चालीसको दशकमा दूधकोसीका हिमताल विस्फोट भएर तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुगेको थियो। भोटेकोसीमा हामीले त्यस्तै प्रकृतिको विपत्तिको सामना गरेका हौं। थामेमा हामी त्यस्तै चोट बेहोर्नुपरेको छ।
माथिल्लो तालको पानी बाँकी नै भएकाले स्वाभाविक रूपमा त्यो जोखिममा छ। तल्लो ताल त सुख्खा नै हुने गरी फुटेको छ। त्यत्रो तालको पानी एकैपटक बग्दा तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्यायो। यस्तो बहावमा 'इनर्सिया' बढी हुन्छ, भेलले ढुंगामुढा सोहोरेर बगाउँछ।
हिमतालबाट उत्पत्ति भएको बाढी थामे पुगेपछि फिँजारिएको छ। माथि पहिल्यै बगिराखेको खोँच भएकाले फिँजारिन नपाएको र तल पुगेपछि आकार लिएको देखिन्छ। थामेमा बगान र कटान गरिसकेपछि तल्लो तटीय क्षेत्रमा त खोला ४०-५० मिटरसम्म गहिरिएको छ। यस्तै प्रकृति मेलम्ची नदीमा पनि देखिएको थियो। भेमाथाङमुनिको तटीय क्षेत्रमा मेलम्ची नदी गहिरिन पुगेको थियो।
थामेमा विध्वंश मच्चाउँदै तल झरेको बाढीले दूधकोसीमा दुइटा पालिका मिलेर झन्डै ८ करोड रूपैयाँ लागतमा बनाएको पुलमा समेत असर पुर्याएको छ। पुलको एकातर्फको पिलर नै लच्काएकाले काम नदिन पनि सक्छ। जलविद्युत गृह, थामे क्षेत्रका घरहरू विनाश, विद्यालय र स्वास्थ्य चौकीको नोक्सानी जोड्दा एक अर्ब रूपैयाँ हाराहारीको क्षति भएको प्रारम्भिक आकलन गर्न सकिन्छ। यद्यपि क्षतिको लेखाजोखा हुनै बाँकी छ।
त्यस क्षेत्रको स्थलगत अवलोकन, पुर्याएको क्षतिको आधारमा अहिले हामी यो घटना 'ग्लासिकल लेक आउटब्रस्ट फ्लड ( जिएलओएफ, हिमताल विस्फोटबाट उत्पन्न बाढी)' नै हो भन्ने निचोडमा पुगेका छौं। यसको कारण तापक्रम वृद्धि र निरन्तर पानी पर्नुलाई औंल्याएका छौं।
हाम्रा हिमालमुनि थुप्रै हिमताल, तलैया छन्। त्यस्ता ताल फुट्ने अवस्थामा पुगेका हुन सक्छन्। ती तालहरूको अध्ययन गर्नुपर्छ। जोखिम आकलन र विश्लेषण गर्नुपर्छ। जोखिम न्यूनीकरणमा लागिहाल्नु पर्नेछ।
दक्षिण एसियामै हेर्ने हो भने पहिलोपटक तामाकोसीमाथिको च्छोरोल्पा र सोलुखुम्बुकै इम्जा हिमतालको जोखिम कम गरेको राम्रो अनुभव हामीसँग छ। हाम्रो अनुभवबाट प्रभावित भएर भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले हामीसँग अन्तर्क्रिया गरिराखेको हुन्छ। अघिल्लो वर्ष मात्र हामीले त्यस्तो अन्तर्क्रिया गरेका थियौं।
कर्णाली, कोसी लगायत जलाधार क्षेत्रका हिमतालको जोखिम घटाउन खर्चिलो छ। एउटै हिमतालको जोखिम न्यूनीकरण गर्न २० देखि ५० लाख डलर खर्च हुन्छ। हिमतालको आकार, भूअवस्थिति हेरेर कति खर्च लाग्छ अनुमान गर्न सकिन्छ। हामीसँग भएको स्रोत मात्र अपुग हुन्छ।
हिमतालको जोखिम जलवायु परिवर्तनसँग जोडिएर आएको छ। हिमतालहरूको जोखिम न्यूनीकरण गर्ने, उपकरण राखेर ट्र्याकिङ गर्ने र निरन्तर नियमन गर्न सकेमात्र यस्ता विपत्तिबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ।
थामेको घटना हाम्रा लागि पाठ हो!
सबै तस्बिर सौजन्यः अनिल पोखरेल।
(राष्ट्रिय विपद जोखिमम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलसँग सेतोपाटीका अक्षर काकाले गरेको कुराकानीमा आधारित)