पछिल्ला केही सातामा बंगलादेशमा जे भयो, त्यो नाटकीय त छ, तर बंगलादेशको इतिहासका हिसाबले सर्वथा अनौठो छैन। विश्व इतिहासमा पनि हठात् सत्तापलट हुनु वा निर्वाचित अनिर्वाचित तानाशाहहरू खेदिनु अनौठो होइन।
तर दक्षिण एसियाका छिमेकी देशका घटनाक्रमहरूले हामीलाई जसरी प्रभावित गर्ने गर्छन्, त्यस हिसाबले बंगलादेशमा हालै विकसित घटनाक्रमबारे हामीले धेरै चिन्तन, मनन गर्न र पाठहरू सिक्न जरूरी छ। तीमध्ये केही पाठहरू विश्वभर तरल राजनीति भएका धेरै देशहरूले सिक्न जरूरी छ।
पाठ १ः फिलिंगो सानो हुन सक्छ तर डढेलोको विनाशको सीमा हुँदैन
पछिल्लो सत्तापलटपछि बंगलादेशमा मध्यम र दीर्घकालमा यसै होला भन्ने यकिन गर्न अहिले गाह्रो छ। तर बंगलादेशी समाजका अगाडि आज सर्वाधिक ठूलो जोखिम भनेको राजनीतिकसँगै सामाजिक र आर्थिक प्रणाली धराशायी हुनु हो।
कारण — राजनीतिको संकटले सत्ता तलमाथि हुन्छ तर आर्थिक संकटले मानिसलाई भोकै पार्छ, कुपोषित बनाउँछ र मृत्युको मुखमा धकेल्न सक्छ। सामाजिक संकटले जटिल र दीर्घकालीन द्वन्द्वहरूलाई जन्म दिन सक्छ। बिग्रेको राजनीति बरू छिटो सही बाटोमा फर्किन सक्छ, तर बिग्रेको समाज र अर्थतन्त्रलाई सही बाटोमा फर्काउन असाध्यै कठिन हुन्छ।
अक्सर राजनीतिक विश्लेषणमा चर्चा नहुने एउटा कुरा के भने, बंगलादेशको राजनीतिक संकट कुनै भ्याकुममा आएको छैन, आइसकेका वा आसन्न अरू चौतर्फी विपत्तिहरूको साथमा आएको छ। र, तिनलाई सामना गर्नु अन्यथा सामान्य अवस्थामा रहेको बंगलादेशका लागि समेत सहज थिएन।
जलवायु संकटले निम्त्याउने भविष्यबारे अहिलेसम्मको विश्वसनीय कम्प्युटर मोडलका अनुसार अहिलेकै रफ्तारमा कार्बन उत्सर्जन हुने र पृथ्वी तात्दै जाने हो भने सन् २०७० भन्दा अगावै साढे तीन अर्ब हाराहारी मानिसहरू आफ्नो थातथलोबाट विस्थापित हुने छन्।
कारण — त्यो बेला त्यति मानिस बस्ने भूभागको वार्षिक औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी अर्थात् सहारा मरूभूमिको बीच भागभन्दा तातो हुनेछ।
तीमध्ये एक अर्ब हाराहारी हाम्रा तीन विशाल जनसंख्या भएका छिमेकीहरू भारत, पाकिस्तान र बंगलादेशबाट विस्थापित हुनेछन्।
हाम्रा राजनीतिक-सामाजिक-आर्थिक प्रणालीहरूमा नाटकीय स्खलन नआउँदा समेत बिस्तारै हामी केही दशकमै अकल्पनीय र व्यवस्थापन गर्न असम्भवप्रायः भएको संकटतिर जाँदैछौं। चर्को गरिबी र उच्च जनघनत्वका कारण बिस्तारै दक्षिण एसिया मानवीय विपत्तिको फुट्न लागेको ज्वालामुखीको मुखतिर धकेलिँदै गएको अवस्था छ अहिले।
यस्तो माहोलमा साविकका प्रणालीहरू धराशायी हुने कुनै पनि यस्ता अनपेक्षित घटनाक्रमहरू, जसलाई अंग्रेजीमा 'ब्ल्याक स्वान इभेन्ट' पनि भनिन्छ, तिनले त्यस्ता टुट्ने बिन्दु (ब्रेकिङ प्वाइन्ट) लाई वर्तमानतिर झनै निकट ल्याइदिन्छन्।
१७ करोड मानिस भएको बंगलादेश, जहाँ सन् १९९१ मा एउटै चक्रवातले १ लाख ४० हजार मानिसको ज्यान लिएको थियो, जहाँ १९९८ को एउटै बाढीले ३ करोड अर्थात् आजको नेपालको कुल जनसंख्याभन्दा बढी मानिसलाई घरबारविहीन बनाएको थियो, त्यस्तो देशमा आउने कुनै पनि उथलपुथल, अस्थिरता, द्वन्द्व र विस्थापनबाट छिमेकी देशहरू अछुतो रहन सक्दैनन्।
त्यसैले बंगलादेशमा जारी राजनीतिक संकट त्यो देशको सीमाभित्र सीमित हुन सक्ला तर त्यसले उदांगो पार्ने र झन् गहिरो बनाउने सामाजिक र आर्थिक संकटहरू सिंगो दक्षिण एसिया र विश्वका लागि ठूलो चुनौतीका विषय हुन्।
पाठ २ः अस्तव्यस्त लोकतन्त्रको जबाफ सुदृढ लोकतन्त्र हो, तानाशाही होइन
सन् २००९ मा पछिल्लो पटक निर्वाचित भएर सत्तामा पुगेपछि शेख हसिना वाजेदले बंगलादेशी लोकतन्त्रमा खेलका नियम आफू अनुकूल फेर्ने र प्रतिस्पर्धा निमिट्यान्न पार्ने प्रयास गरिन्।
यसबीच आर्थिक वृद्धि र रोजगारी सिर्जनामा बंगलादेशले लोभलाग्दा उपलब्धिहरू पनि हासिल गर्यो। पछिल्लो समय प्रदर्शनकारीहरूले हसिनालाई व्यापक रूपमा 'भारतीय सरकारको एजेन्ट' भनेर चित्रित गरे पनि अर्को महाशक्ति छिमेकी चीनसित उनको सरकारले राखेको सन्तुलित सम्बन्ध नेपालजस्ता देशका लागि इर्ष्याको विषय बनेको छ।
मूलतः हसिनाको शासनका यस्तै उपलब्धि देखाउँदै उनका समर्थक र शुभचिन्तकहरू तर्क गर्थे — उनले बंगलादेशमा आममानिसको अभिव्यक्ति स्वतन्त्रता खण्डित गरिन्, विपक्षी दलका नेता कार्यकर्तालाई जेल कोचिन् र मिडियाको मुख थुनिन् त के भयो? आखिर उनले बंगलादेशको अन्तहीन राजनीतिक अस्थिरतामा पूर्णविराम लगाइन्। निर्यात व्यापार चम्काइन्। गरिब र बेरोजगारलाई राहत दिइन्।
त्यसैले हरेक पाँच वर्षमा सरकार फेरिइरहने लोकतन्त्रभन्दा त, बंगलादेशको जस्तो कुण्ठित भए पनि स्थिरतासहितको लोकतन्त्र ठीक भएन र! — केही साता अघिसम्म केही मानिसहरू यस्तै तर्क गर्थे।
तर आजका दिनमा बंगलादेशमा जस्तो चौतर्फी संकटको अवस्था छ र शेख हसिनाले हासिल गरेको उपलब्धिहरू जसरी उल्टिने जोखिममा छन्, त्यसैले प्रस्ट पार्छ — आमनागरिक र प्रतिपक्षको मुख थुनेर, शक्तिको असंवैधानिक केन्द्रीकरण गरेर, संस्थाहरूलाई धराशायी पारेर गरिएको विकास र समृद्धि टिकाउनु असम्भव वा असाध्यै कठिन काम हो।
मलाई लाग्छ — हसिनाको कार्यकालमा बंगलादेशमा जेजति प्रगति भयो, उनले त्यहाँको लोकतन्त्र हरण नगरेको भए त्यो धेरै दिगो हुने थियो। उनले गरेका उपलब्धिहरू राम्रोसँग संस्थागत हुने थिए।
पाठ ३ः हरेक राजनीतिक अस्त्रको आयु हुन्छ
बंगलादेशका लागि सन् १९७१ को विद्रोह अस्तित्वको लडाइँ थियो। भारतको सहयोगले भए पनि बंगलादेशले पाकिस्तानबाट जुन स्वतन्त्रता पायो, त्यसको विकल्प अन्धकारमय थियो।
तत्कालीन पाकिस्तानले सन् १९७० को चुनावमा त्यहाँको संसदमा ३०० मध्ये १६७ सिटसहित सहज बहुमत ल्याएको तत्कालीन पूर्वी पाकिस्तानमा केन्द्रित अवामी लिगलाई सरकार बनाउन दिन छाडेर बंगालीभाषीहरूविरूद्ध राज्य आतंक सुरू गर्यो। यसपछि पाकिस्तानी सैनिकका हातहतियार निहत्था बंगालीभाषीहरूका छातीतिर सोझिएका थिए।
त्यसैले बंगलादेशको इतिहासमा स्वतन्त्रता संग्रामको महत्ता अधिक र दुरगामी हुनु स्वाभाविक हो।
जब स्वतन्त्रता सेनानीहरूका नाति, पनातीहरूले पुर्खाको बलिदानका लागि सरकारी जागिरमा ठूलो आरक्षणजस्ता सुविधा पाइरहन्छन्, जब आजका राजनीतिज्ञहरूले युग सुहाउँदो आर्थिक विकास र सुशासनको बदला स्वतन्त्रता संग्राममा आफ्नो पार्टीको योगदानको रट मात्रै लगाइरहन्छन्, त्यस्तो राजनीतिक अस्त्र भुत्ते बन्दै गएर निस्प्रभावी बन्छ।
नेपालमा पनि 'बिपीको समाजवाद' वा 'मदनको जबज' का नाममा जीवनभर भोट बटुलिरहने यत्नमा रहेका दलहरूले समयसँगै आउने यस्तो परिवर्तनलाई मनन गर्नु उचित हुन्छ।
पाठ ४ः आवधिक चुनावजत्तिकै महत्वपूर्ण हुन्छ पार्टीभित्रको लोकतान्त्रिक संस्कृति, लिखित संविधानजत्तिकै महत्वपूर्ण हुन्छ शक्तिमा हुनेहरूको त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता
सत्तामा पुग्नासाथ आफ्नो शासन लम्ब्याउने अनुचित उपायको समेत खोजी गर्नु, अनि सत्ताबाट निस्किनासाथ निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर महिनौंसम्म आमहडताल गर्नु गत साढे तीन दशकयता बंगलादेशको राजनीतिक संस्कृति बनिसकेको थियो।
यो प्रवृत्ति दुवै प्रमुख दल अवामी लिग र बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा उत्तिकै थियो। सन् २००८ भन्दा अगाडि राजनीतिक हिंसालाई संस्थागत गर्नमा पनि यी दुईमध्ये कुनै दल कम थिएनन्। भलै सन् २००९ पछि हसिनाले त्यस्तो हिंसालाई अर्कै उचाइमा पुर्याइएकी थिइन्।
बंगलादेशमा निरन्तर राजनीतिक संकटको शृंखला चल्नुका पछाडि मुख्य पार्टीहरूको यस्तो अलोकतान्त्रिक प्रवृत्ति जिम्मेवार थियो। सन् २००९ मा निर्वाचित भएयता प्रतिपक्षमाथिको दमनको पारोलाई ह्वात्तै बढाएर भए पनि हसिनाले बंगलादेशलाई यस्तो दुश्चक्रबाट निकालिन् भन्ने उनीप्रति सहानुभूति राख्ने केही विश्लेषकहरूको मत थियो।
जहाँसम्म राजनीतिक शक्तिको कुरा छ, बंगलादेश स्वतन्त्र भएयताका पहिलो दुई दशकको समयमा अधिकांश समय त्यो सैन्य नेतृत्वको हातमा थियो। त्यो अवधिमा चलेका हत्या र 'कू' का शृंखलाले बंगलादेशको संविधानलाई निष्प्रभावी कागजी दस्तावेजमा बदलिदिएका थिए।
सन् १९९१ मा खालिदा जिया र शेख हसिनाको पालैपालो सरकार बन्ने थिति बसेपछि पनि सन् २००६ र २००८ को बीचमा त्यहाँका सेना प्रमुख मोइन यु अहमदले अवैधानिक रूपमा आफ्नो तजबीजमा सरकार चलाएका थिए। त्यसबीच उनले जिया र हसिना दुवैलाई थुन्ने र देशबाट भगाउने अनि आफू लामो समय शासक बन्ने प्रयाससमेत गरेका थिए।
त्यसैले कुनै पनि देशको संविधानले गरेको शासनको परिकल्पना जत्तिकै महत्वपूर्ण हुन्छ त्यसलाई पालना गर्नुपर्ने शक्तिशाली व्यक्तिहरूको व्यवहार पनि।
पाठ ५ः खतरनाक हुन्छ निषेधको राजनीति
सन् २००९ पछि बंगलादेशमा शेख हसिनाको सरकारले क्रमशः फरक मतहरूलाई निषेध गर्दै लगेको थियो। त्यो प्रक्रिया कसरी बौलठ्ठीपूर्ण हदसम्म पुगेको थियो भन्ने एउटा उदाहरण, विपक्षी दल र नागरिक समाजका व्यक्तिहरूविरूद्ध अदालतहरूमा दायर कयौं मुद्दामध्ये १७१ वटा त नोबेल शान्ति पुरस्कार विजेता वयोवृद्ध मोहम्मद युनुसविरूद्ध मात्रै थिए।
राज्यको यस्तो चर्को दमनबीच समाजमा मध्यमार्गका विचारहरू कुण्ठित हुँदै जान्छन् र अतिवादीहरूले ठाउँ पाउँदै जान्छन्।
परिणाम — 'सेकुलर' अवामी लिगको १५ वर्षे शासनमै बंगलादेशमा अतिवादी इस्लामिक राजनीति भित्रभित्रै भुसको आगोझैं फैलियो।
त्यसको पहिलो चरणमा सन् २०१५ र २०१८ को बीचमा शृंखलाबद्ध रूपमा दर्जनौं सेकुलर लेखक, ब्लगर, प्राध्यापक, विदेशी नागरिक र अल्पसंख्यक समुदायका अगुवाहरूको इस्लामिक अतिवादीहरूले छुरा प्रहार गरेर हत्या गरे। अरूलाई मरणासन्न बनाए र अझ धेरैलाई देशै छाड्न बाध्य पारे।
त्यसबाहेक एक खाले निषेध र दमनले सधैं प्रतिरोधमा अर्को निषेध र दमन निम्त्याउँछ। हसिनाको सरकारले १५ वर्षसम्म बंगलादेशका संस्थापक प्रधानमन्त्री 'बंगबन्धु' शेख मुजिबुर रहमानको नाममा विपक्षी र आम नागरिकमाथि दमन गरिरह्यो। अहिले त्यहाँ सत्तापलट हुनासाथ कुनै बेला बंगाली राष्ट्रिय गौरवको निशानीका रूपमा रहेको बंगबन्धु संग्रहालयलाई प्रदर्शनकारीले जलाएर खरानी बनाइदिएका छन्। आगजनीका कारण त्यहाँ चार जनाको जलेर वीभत्स मृत्युसमेत भएको छ।
हिजोसम्म बिएनपी र अरू विपक्षी दलका नेता-कार्यकर्तालाई खोजी खोजी पक्राउ र हत्या गराउने अवामी लिगका नेता-कार्यकर्ताको आज भागाभाग छ। र, तीमध्ये धेरैको प्रतिशोधमूलक हत्यासमेत भएको छ।
त्यसैले लोकतन्त्रमा जहिले पनि प्रतिस्पर्धालाई ठाउँ हुन्छ तर प्रतिशोध र निषेधलाई हुँदैन। यो तथ्य राजनीतिज्ञहरूले सत्तामा रहँदा जति मनन गर्छन्, उति नै राम्रो।
अन्तमा, ठूलो मूल्य चुकाएर पनि बंगलादेशका राजनीतिक शक्तिहरूले सिक्न नसकेको एउटा पाठ के भने — हिंसाको बाटो कहिल्यै प्रगति र समृद्धितिर जाँदैन।
सन् १९७५ मा भएको 'बंगबन्धु' शेख मुजिबुर रहमानका दुई छोरीबाहेक खलकै नाश हुने हत्याकाण्डको केही महिनामा जियाउर रहमान (खालिदा जियाका श्रीमान) सत्तामा आए। तर सन् १९८१ मा गएर उनको पनि हत्या भयो। यी दुवैको शासनका बीच सन् १९७५ मा कू गरेर सत्तामा पुगेका खालेद मुसर्रफको त सत्तामा पुगेको चौथो दिनमा हत्या भएको थियो।
स्वतन्त्र भएको सवा पाँच दशकभित्रै आखिर कसरी यस्तो चौबाटोमा पुग्यो त बंगलादेश?
प्रस्तुत छ स्वतन्त्रतायताको बंगलादेशको संक्षिप्त इतिहास यो भिडिओमाः