बेइजिङ डायरी
'होइन, होइन, मैले पूरा परिवारको कुरा गरेको होइन। मैले त अरनिकोको श्रीमतीको पो कुरा गरेको,' साढे आठ वर्षकी चिनियाँ बालिका हन चिया छनले प्रतिवाद गरिन्।
उनलाई रविनाले चिनियाँ भाषामा सम्झाइन्, 'हामीले पनि अरनिकोकै श्रीमतीको कुरा गरेको। उनका ११ जना श्रीमती थिए। त्यसमध्ये पहिलो चाहिँ नेपाली थिइन्, बाँकी दस जना चिनियाँ।'
'एघार जना श्रीमती!,' बालिकाले आश्चर्यभाव व्यक्त गर्दै हत्केलाले आफ्नो अनुहार छोपिन्।
चिनियाँहरू लजाउँदा ठ्याक्कै नेपाली जस्तै गरी भाव व्यक्त गर्छन्। त्यही संस्कार उनले पनि व्यक्त गरिन्। उनको अनुहार रातोपिरो भएको थियो।
तुरून्तै सम्हालिएर भनिन्, 'माफ गर्नुहोला। मलाई यसबारे थाहा थिएन। तपाईंहरू नेपाली भएकाले स्पष्ट पारिदिनुभयो। अब आउने अरू पर्यटकलाई यो कुरा सुनाउँछु।'
गुलाबी रङको जुत्ता र सेतो मोजासँगै सेतो भुइँमा बुट्टा भएको जामा लगाएकी हन चिया छनले बाहुला बिनाको निलो रङको ज्याकेट लगाएकी थिइन्। ज्याकेटमा प्रिन्ट गरिएको लोगोबाट उनी स्वयंसेवक हुन् भन्ने कुरा झल्किन्थ्यो। लोगोमा 'बिभिएफ' लेखिएको थियो। यसको अर्थ 'बेइजिङ भोलेन्टियर फेडेरेसन' हुन्छ। उनको शरीरमा हंलङ्ग झुन्डिएको ज्याकेटले भनिरहेको थियो, संस्थाले बनाएको ज्याकेट उनी जस्ता बालिकाका लागि मिल्दो आकारको थिएन।
कक्षा दुईको वार्षिक परीक्षा दिएर गर्मी बिदामा आफ्नी आमासँग उनी अरनिकोले बनाएको श्वेतचैत्यमा पुगेकी थिइन्। बिदा अवधिभर त्यहाँ घुम्न जाने चिनियाँ तथा विदेशी पर्यटकलाई अरनिकोका बारेमा व्याख्या गर्न थालेको उनले सुनाइन्।
अरनिकोको जीवनीसँगै त्यहाँ राखिएका काठमाडौं, पोखरा र लुम्बिनीका चित्र हेरेर उनी नेपालका बारेमा आफूले जानेको कुरा बताउँदै थिइन्।
गत असार २२ गते शनिबार बेइजिङको केन्द्र भागमा रहेको अरनिको निर्मित श्वेतचैत्य अवलोकनमा हामी पुगेका थियौं। त्यही दिन श्वेतचैत्यको प्रदर्शनी कक्षमा भेट भएकी थिइन् ती चिनियाँ बालिका। परिचय गर्ने क्रममा उनले आफ्नो नाम हन चिया छन भएको बताइन्।
नेपालबाट मित्रहरू डा. विनोद मञ्जन र उहाँकी श्रीमती गायत्री विष्ट आफ्नी छोरी विज्ञताको दीक्षान्त समारोहमा भाग लिन चीनको पल्लो शान्षी प्रान्तको सिआन आएका थिए। त्यही मौकामा बेइजिङमा मेरा पाहुना बन्न आइपुगेका उनीहरूलाई घुमाउने क्रममा शकुन्तला राई र रविना राई पनि मिसिन आइपुगे।
चिनियाँसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गर्ने सोलुखुम्बुका चेलीहरू शकुन्तला र रविना पनि हामीसँगै ग्रेटवाल गएर फर्केका थिए। रविना र शकुन्तलालाई चिनियाँ भाषा फरर्र बोल्न आउने भएकाले हामीलाई बेइजिङ घुम्न थप सहज भएको थियो।
बेइजिङमा जुलाई महिनाको उखरमाउलो गर्मी, त्यसमाथि मध्य दिउँसोको उखपट्टे घामबाट असिनपसिन हुँदै ग्रेटवालबाट फर्किँदै थियौं हामी। बेइजिङबाट ६० किलोमिटर उत्तरमा रहेको चोयुङक्वाङ ग्रेटवाल जाँदा सार्वजनिक बसमा गएका थियौं। फर्किँदा एउटा कार फेला पर्यो। केहीबेरको मोलमोलाइपछि हामी कारमा फर्किने भयौं। तालु पोल्ने गर्मीमा बसको यात्राभन्दा कारमै पाँच जना खाँदिएर ग्रेटवालबाट बेइजिङको केन्द्र भागतिर फर्किने निधो हामीले गरेका थियौं। तर कार चालक परेछन् चीनको पूर्वउत्तर हैलुङचाङ प्रान्तका। उनलाई बेइजिङका बारेमा उति जानकारी रहेनछ।
ग्रेटवालबाट फर्किँदा हाम्रो लक्ष्य थियो महान नेपाली कलाकार अरनिकोले निर्माण गरेको श्वेतचैत्यको रहेको स्थल। बेइजिङको दोस्रो चक्रपथको उत्तरपश्चिमी क्षेत्र फुछङमन भित्रपट्टि रहेको श्वेतचैत्यका बारेमा मैले कसै गरे पनि चालकलाई बुझाउन सकिनँ। शकुन्तलाले चिनियाँ भाषामा भनिन्, तैपनि चालक अलमलिएर 'मलाई थाहा छैन' भन्ने भाव व्यक्त गरिरह्यो। मैले मोबाइलमा लोकेसन खोलेर चालकलाई दिएँ। उसले मेरै मोबाइलको जिपिएसबाट कार चलाउँदै श्वेतचैत्य अगाडि ल्याइपुर्यायो।
श्वेतचैत्यभित्र प्रवेश गरेपछि त्यहाँको भव्य बिहार अनि बौद्धमूर्तिसँगै छतमा खोपिएका रञ्जना लिपिका बौद्ध मन्त्र 'ओम मानेपेमे हु' हेर्दै हामीले अरनिकोको शालिकसँग केहीबेर संवाद गर्यौं। शिलालेखमा नेपाली भाषामै लेखिएको अरनिकोको परिचय सस्वर वाचन गर्यौं। श्वेतचैत्यलाई दाहिने बनाएर एक फन्को परिक्रमा गरेपछि फर्किने क्रममा पूर्वतिरको हलमा प्रदर्शित अरनिकोको जीवनी दर्शाउने चित्रकथा अवलोकन गर्दा भेट भएको थियो चिनियाँ बालिका हान चिया छनसँग।
उक्त प्रदर्शनी कक्षमा चित्रकथाका रूपमा अरनिकोको जीवनी समेटिएको छ। अरनिकोले बाल्यकालदेखि नै मूर्ति र चित्र बनाउन सिकेको, १६ वर्षे किशोरावस्थामा तिब्बत गएको, चीनको राजधानी गएर तत्कालीन सम्राट कुब्लाई खाँसँग भेट गरेको, चीनमा विशाल सांस्कृतिक सम्पदा निर्माण गर्ने क्रममा श्वेतचैत्य बनाएको आदि कुराहरू चित्रकथामा समेटिएको छ।
अरनिकोको जीवनचित्रको व्याख्या गर्दा स्वतः नेपाली भूगोल र संस्कृति आउने भयो। अनि मृत्यु हुने समयमा उनकी श्रीमती उनीसँगै रहेको कुराको व्याख्या गर्दा श्रीमतीको प्रसंग आएको थियो। ती चिनियाँ बालिकालाई अरनिकोले ११ जनासँग बिहे गरेका थिए भन्ने चाहिँ थाहा रहेनछ।
छोरीमा नेतृत्व विकास, स्वयंसेवा, मानिसहरूसँग घुलमिलसँगै सामाजिक भावना, वाकपटुता र सञ्चारको विकास होस् भनेर हान चिया छनकी आमाले त्यस्तो कार्यमा सहभागी गराएकी रहिछन्। ती बालिकाले अचम्मसँग नेपालको व्याख्या गरिन्। अरनिकोबारे त उनी जानकार नै थिइन् होला। किनभने श्वेतचैत्यमा आउने पर्यटकलाई व्याख्या गर्ने अभ्यासका लागि उनले अरनिकोबारे पक्कै पनि खोजबिन गरेको हुन सक्छ। त्यसमा अरनिकोका ११ श्रीमती थिए भन्ने कुरा उनलाई थाहा नहुनु स्वाभाविक हो।
यसबारे अधिकांश चिनियाँलाई थाहा छैन। भर्खर साढे ८ वर्ष पुग्दै गरेकी बालिका जो कक्षा दुईको वार्षिक परीक्षा दिएकी छन्, त्यस्ती बालिकालाई अरनिकोका श्रीमतीबारे थाहा नभए पनि नेपालबारे त्यति जानकारी हुनु आफैमा आश्चर्य लाग्दो कुरा थियो। हान चिया छनले पोखरा र लुम्बिनीको फोटो देखाउँदै अत्यन्त सुन्दर ढंगले व्याख्या गरिन्।
उनले बारम्बार दोहोर्याउने वाक्य चाहिँ 'नेपाल हिमालको काखमा रहेको सुन्दर देश' भन्ने थियो। नेपालको सौन्दर्यलाई उनले प्रसंग अनुसार अरनिकोमा लगेर जोड्ने गर्थिन्। आजभन्दा साढे सात सय वर्षअगाडि साधन र स्रोतको सीमिततामा पनि अरनिकोले नेपालको सौन्दर्यलाई चिनियाँसामु निकै गहन ढंगले प्रस्तुत गरेका रहेछन् भन्ने कुरा मैले ती बालिकाको व्याख्याबाट अनुभूति गरेँ। उनी अलमलिएको र लजाएको क्षण चाहिँ अरनिकोका ११ श्रीमती थिए भन्ने कुरामै थियो।
सत्यमोहन जोशीले २०४४ सालमा लेख्नुभएको कृति 'कलाकार अरनिको' मा अरनिकोको जीवन विस्तृत रूपमा उल्लेख छ। अहिलेसम्म प्राप्त सामग्रीमा अरनिको चिनाउने सबभन्दा गहन कृति यही हो। यो कृतिको अन्तिम पृष्ठमा जोशीले अरनिकोको वंशतालिका चित्र अर्थात् 'फ्यामिली ट्री' हातैले कोरेर नेपाली र चिनियाँ भाषामा राख्नुभएको छ।
उक्त स्रोत अनुसार अरनिकोका ११ श्रीमतीमध्ये पहिलो नेपाली थिइन् जसबाट एउटा छोरा र एउटी छोरी थिए। दोस्रो श्रीमती हान जातिकी थिइन्। उनीबाट जन्मिएकी एक छोरी भिक्षुणी बनेको जोशीले प्रस्ट पार्नुभएको छ। तेस्री श्रीमती मंगोलियन थिइन्। उनीबाट सन्तान भएनन्। चौथी श्रीमतीबाट दुई छोरी थिए। पाँचौं श्रीमतीबाट एक छोरा थिए भने छैटौंबाट सन्तान थिएनन्। सातौं र आठौं श्रीमतीबाट एक-एक छोरी जन्मिएका थिए। नवौं श्रीमतीबाट दुई छोरा र एक छोरी थिए। दसौं र एघारौंबाट एक-एक छोरा थिए।
सन् १२४४ मा जन्मिएका अरनिकोको मृत्यु ६२ वर्षको उमेरमा, सन् १३०६ बेइजिङमा भयो। उनका ११ श्रीमतीमध्ये नौ श्रीमतीबाट १३ सन्तान थिए।
लामो समयसम्म एक सन्तानको नीति लिएर भर्खरै बढीमा तीन सन्तान जन्माउन पाउने नीतिमा पुगेको चिनियाँ समाजका बालबालिका मात्र होइन, युवा र प्रौढ पुस्तालाई पनि एक व्यक्तिका ११ श्रीमती र १३ सन्तानभन्दा अचम्म लाग्नु स्वाभाविक हो। एघार श्रीमती त हामी नेपालीका लागि पनि अचम्म लाग्दो नै हो।
हामी नेपालीहरू छिमेकी मुलुकका बारेमा धेरथोर जानकारी राख्छौं। हाम्रो पाठ्यक्रमले छिमेकी मुलुकबारे केही न केही जानकारी दिएकै छ। तर चिनियाँ पाठ्यक्रममा नेपालका बारेमा निकै थोरै अथवा सीमित जानकारी मात्र छ। कतिपय जानकारी अधुरा र गलत पनि छन्। अझै पनि चिनियाँहरू गौतम बुद्ध भारतमा जन्मिएका थिए र विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भनेर पढ्छन्।
यसबारे एउटा रोचक जानकारी यहा उल्लेख गर्छु।
सन् २०१५ मा बेइजिङमा डा. रेन्नी छनसँग भेट भएको थियो। उनी चीनको पल्लो शान्षी प्रान्तमा जन्मिएर १४ वर्षकी हुँदा आफ्ना आमाबुबासँग न्युजिल्यान्ड बसाइ सरेकी चिनियाँ प्रवासी हुन्। उनले भनेअनुसार चीनमा छँदासम्म उनले गौतम बुद्ध भारतमा जन्मिएको लेखिएका पाठ्यपुस्तक घोकिन्। विश्वको सर्वोच्च सगरमाथा चीनमा पर्छ भन्दै पढिन्। जब उनी न्युजिल्यान्ड पुगिन्, तब उनलाई थाहा भयो, गौतम बुद्ध नेपालमा जन्मिएका थिए। अनि विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ। चीन हुँदासम्म उनले नेपालको नामै सुनेकी थिइनन्। तर हजारौं किलोमिटरको दुरीमा पुगेपछि बल्ल नेपालबारे थाहा पाइन्।
कारण के रहेछ भने, एडमन्ड हिलारीले नेपालका तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गरेपछि न्युजिल्यान्डका पाठ्यपुस्तकमा नेपालबारे धेरै कुरा पठनपाठन हुन थाल्यो। चीनमा रहुन्जेल रेन्नीले सीमा जोडिएको मुलुकको नाम थाहा पाइनन्। तर ११ हजार किलोमिटरभन्दा टाढा न्युजिल्यान्ड पुगेपछि उनले नेपालबारे धेरै कुरा थाहा पाइन्। फलस्वरूप उनी नेपाल आएर मध्यपश्चिम पहाडी जिल्लामा स्वास्थ्य स्वयंसेविका भएर काम गरिन्।
त्यसो त अहिले नेपाल र नेपाली भाषा क्षेत्रमा काम गर्ने चिनियाँहरू पनि विश्वविद्यालय (स्नातक तहमा) भर्ना भएपछि मात्र नेपालको नाम सुनेको बताउँछन्। नेपाली भाषा अध्ययन गर्न स्नातक तहमा भर्ना हुने एउटा विद्यार्थीलाई नेपाल भन्ने देश कहाँ पर्छ भन्ने कुरा थाहा नहुने देशमा कक्षा दुई सकेकी बालिकाले पर्यटकलाई नेपालको परिचय गराउनु आफैमा आश्चर्यजनक भइहाल्यो।
श्वेतचैत्यबाट फर्किँदै गर्दा ती बालिका आफ्नी आमालाई भन्दै थिइन्, 'आमा अरनिकोका ११ श्रीमती रहेछन् है।'
उनकी आमा बाहिरपट्टि प्रांगणको छायामा ल्यापटप खोलेर केही काम गर्दै थिइन्। राम्रैसँग अंग्रेजी बोल्ने उनले आफू व्यवसाय गर्ने बताएकी थिइन्। छोरीको जिज्ञासामा उनको अनुहार पनि हेर्न लायक थियो।
उनले आश्चर्य व्यक्त गर्दै भनिन्, 'मलाई थाहा छैन। उहाँहरू नेपाली हो। त्यसैले अरनिकोका बारेमा उहाँहरूलाई बढी थाहा होला।'
यति भनेर उनी थोरै जिब्रो निकालेर हाँसिन्।
सानी बालिकाको नेपालप्रतिको रूचि र उनको क्षमताले देखेर हामी गदगद भयौं। उनको सामीप्यले दिएको मायालु र कोमल भावनाले पुलकित बनाएको थियो। ग्रेटवाल चढ्दाको थकाइ र गर्मी भुलेर हामी फूलका थुंगा जस्तै हुलका र शीतल भएका थियौं।
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)