स्कुलको विद्यार्थी छँदा भवानी भिक्षुकृत ‘मेरो सानो साथी’ पढेको थिएँ। त्यहाँ रेल यात्राका क्रममा एउटा सानो साथी भेटिएको थियो उसकी आमाका साथ।
यहाँ ‘मेरो बूढो साथी’ छ काठमाडौंको भिडभाड बाटोमा भेटिएको।
बूढो साथीको घर दोलखा हो, मेलुङ गाउँपालिकाको पोगटी गाउँ।
ऊ काठमाडौंमा महिनाको ६ हजार ६ सय रूपैयाँ डेरा भाडा तिर्छ। बाबुआमा, एक छोरी र एक छोरासहितको परिवार छ। चार जना एउटै कोठामा अटाउनुपरेको छ, भान्साकोठा पनि त्यही हो।
मेरो बूढो साथी ७० वर्ष उमेरको छ। ऊ काठमाडौं बसेको कम्तीमा २० वर्ष भयो। गाउँमा एउटा सानो घर थियो। गरिखान थोरै खेतबारी थियो। खेतबारीबाट नपुगेको बनिबुतोबाट पूरा हुन्थ्यो। जसोतसो काम चलेकै थियो।
एक दिन दुर्भाग्य भयो। तीस वर्षअघिको कुरा हो, ४० वर्षको बलिष्ठ उमेर छँदा। मेरो बूढो साथी रूखबाट लड्यो। गाउँघरको ओखतीमूलोले काम गरेन। अस्पताल बस्नु पर्यो। निको भए जसरी पनि गरिखाइएला भन्ने आशा गर्नै पर्यो।
ऋण काढेर पार लागेन। उपचारमा खेत सकियो। अलिकति भएको बारी पनि सकियो। बचेको एउटा गाउँले घर र करेसाबारीले छ जनाको परिवार धानिने भएन। बुढीले भारी बोकेर परिवार पालिन्। यसरी नै बित्यो दस वर्ष।
मेरो साथी बैसाखीको सहाराले हिँडडुल गर्न सक्ने भयो। धेरै बल नपर्ने काम गर्न सक्ने भयो। यस्तो बेलामा उसले बालवयमा देखेको काठमाडौं सहर सम्झ्यो।
ऊ गाउँको स्कुलमा पाँच कक्षामा पढ्दै थियो। आफूभन्दा अलिक ठूलो एउटा गाउँले केटाको पारामा लागेर काठमाडौं पस्यो।
त्यस्तो बालवयमा काठमाडौंमा गर्नु के थियो र! घरेलु कामदार भयो। घरमालिकले राम्रै गर्यो। खानलाउनको दुःख भएन। बस्दाबस्दै झन्डै दस वर्ष बित्यो। घरमालिकले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र पनि बनाइदियो।
सधैं अर्काको घरमा बसेर भएन। एक दिन मेरो बूढो साथी फेरि गाउँ फर्क्यो। पढाइ छुटिगयो। हातमा सिप पनि केही भएन। त्यो पहाडी गाउँमा नयाँ काम के नै हुन्थ्यो र! उही खेतबारी, मेलापात, भारीको खेप दोहोरियो। आजभोलि भन्दाभन्दै उमेरले ३० छोयो। बिहे भयो। छोराछोरी जन्मिन थाले।
जसोतसो व्यवहार चलेको थियो। रूखबाट लडेर ज्यानमा खती भएपछि उसलाई बालवयमा बसेको काठमाडौं याद आएको थियो। गाउँमा धेरै मानिस काठमाडौं आउजाउ गर्ने गरेको पनि विचार गर्यो।
त्यति ठूलो काठमाडौंमा मेरो परिवार कसो नअटाउला! सडकमा नाङ्ले पसल थापेर पनि पनि ज्यान पाल्छु!
यस्तै सोचेर मेरो बूढो साथी फेरि गाउँ छाडेर एक दिन काठमाडौं पस्यो। नेपाल जाँदा कपाल सँगै भनेजस्तो भयो। पढाइ छाडेर हिँड्दा ऊ एक्लो थियो। अहिले जहानियाँ भएको थियो। भुँडी बढेर ६ वटा भएका थिए।
आजकाल एउटा छोरो आफ्नो परिवारका साथ गाउँमा छ। उसको गरिखाने मेलो थोरैतिनो खेतीपाती र बनीबुतो हो। एउटी छोरी बिहे गरेर गइन्।
साथमा रहेकी छोरी अविवाहिता हुन्। उमेर ३५ वर्ष नाघ्यो। मुखमा आवाज छैन। इशाराले काम चलाउनु पर्छ। रानी पोखरीको पश्चिम–दक्षिण कुनाबाट असन प्रवेश गर्ने मुखैमा मोजा बेच्थिन्।
मुखमा आवाज नभएपछि व्यापार त के हुनु, तैपनि कहिलेकाहीँ दुई-चार रूपैयाँ कमाउँथिन्। फुटपाथमा बालेनको बल लागेपछि उनको व्यापार बन्द छ।
छोरो पनि छ साथमा, उमेर ३० नाघ्यो। मानसिक रोगी छ। धेरै जसो एकोहोरो भएर कोठामै बस्छ। कहिलेकाहीँ बाहिर निस्किन्छ। कताकता डुल्छ र फर्किन्छ।
मेरो बूढो साथीले असनको बाटोमा पसल फिँजाएको बीस वर्ष भयो। बिहान साढे पाँच बज्दा उसको पसल लागिसकेको हुन्छ; झरी होओस् कि घाम, हिउँद होओस् कि बर्खा।
पसल भन्नु के नै छ र! नेलकटर, कन्कर्नो, इअर-बड, टुथपिक, काइँयो, सानो–ठूलो कैंची, साना खालका ताल्चा इत्यादि व्यक्तिगत प्रयोगका सामान छन्। मोजा र यस्तै सानातिना सामान पनि राख्छन्। साथमा तौल नाप्ने मिसिन छ।
कमाइ भन्नु यिनै सामान बेचेर आउने नाफा हो। जतिको तति नाफा हुने भनेको तौल जोख्ने मिसिनमा हो। त्यही पनि बिग्रिन्छ र खर्च गराउँछ कहिलेकाहीँ।
बूढो साथीको श्रवणशक्ति कमजोर हुँदै गएको छ। आँखाको हालत पनि उस्तै छ। भुइँमा बस्नुपर्छ, उभिन बैसाखी वा लौरो चाहिन्छ। कहिले बस्छ, कहिले उभिन्छ।
वार्ध्यक्यले खिइँदै गएको ज्यान छ, आँखा र कान कमजोर छन्, बैसाखीको सहारा छ। उसको पसलतिर त्यति सजिलै को जान्छ र! तैपनि यतिका वर्षदेखि थोरैतिनो व्यापार भएकै हो। सास धानेकै हो।
वृद्ध हुँदै गएपछि घरमा आमाबाबु त हेपिन्छन्! सडकमा एक-दुई हजार धनको पसल थाप्नेको हालत के होला!
काठमाडौंमा मेरो बूढो साथीले अहिले टेक्दै गरेको बैसाखी सातौं हो। दुई-तीन वटा त सडकबाटै हराए। ट्याक्सीले तीन वटा भाँचिदियो।
बिहान नौ बजेसम्म असनको सडकमा पसल चल्थ्यो। त्यसपछि वीर अस्पतालतर्फ जाँदा भूमिगत बाइपास नजिकैको पिपलको फेद सहारा बनेको थियो।
ऊ असनको सडकबाट आफ्नो पसल सरक्क पिपलको फेदमा पुर्याउँथ्यो। साँझ परेपछि डेरा फर्किन्थ्यो। दिउँसो खाना त्यहीँ खान्थ्यो, बूढीले ल्याइदिन्थिन्।
यसपालिको दसैंअघिदेखि ऊ बिहान नौ बज्दा कोठामा पुग्न थालेको छ। पिपलको फेदको सहारा छुटेको छ। कमाइ ह्वात्तै घट्यो। अब चार वटा ज्यान कसरी पाल्ने? दिमागमा यही प्रश्नको घनले हिर्काएको हिर्कायै छ। कुनै उपाय सुझेको छैन।
मेरो बूढो साथीले सुनेको छ– काठमाडौंमा बालेन भन्ने नयाँ मेयर आएको छ। पार्टीका मान्छे चुनाव हारेर ऊ आएको रे।
उसलाई यसभन्दा बढी केही थाहा छैन। मानिसहरूले बालेनको डोजर भनेको पनि फाटफुट सुनेको छ। कान कमजोर भएपछि खास कुरा के हो बुझ्नै मुश्किल।
उसको आँखै अगाडि डोजरले केही पसल भत्कायो। अन्तअन्त पनि भत्कायो भन्ने उसले सुनेको छ। एक दिन हरिया लुगा लगाएका प्रहरीले बिहान सातै बजे उसलाई असनको सडकबाट पसल उठाउन आदेश दिए।
उसको के लाग्थ्यो र! सामानको कुम्लो बनायो। बैसाखी टेक्यो अनि लाग्यो पिपलबोटतिर।
हेर्छ त पिपलबोटको आडैको पसल छैन, टहरो भत्काएको छ। उसले अकमक्क पर्दै पिपलको फेदमा पोको बिसायो। अलिक भारी मनले पोको फुकाएर बिस्तारै पसल फिजाउँन लाग्दै थियो। छेउछाउको कसैले चर्को स्वर गर्यो, पसल नराख्न आदेश जारी गर्यो।
मेरो बूढो साथीको होसहवास उड्यो। किंकर्तव्यविमूढ भयो। ट्वाल्ल परेर हेरिरह्यो। केही बेरमा तौल मिसिन निकालेर फूटपाथको छेउमा बस्यो। एक-दुई दिनमा थोरै सामान पनि निकालेर फिँजायो।
भएन, यहाँ पनि निर्मोही आँखा लाग्यो।
गरिबी छँदै थियो तर जसोतसो दुई छाक खाना र एक झुम्रो नाना चलेकै थियो।
सडकको पसलमा निर्मोही आँखा लागेपछि गरिबी झन् बढ्यो। गरिबीले घरझगडा चर्काउँछ भन्छन्। मेरो बूढो साथीले वर्षौंदेखि यही नियति व्यहोर्दै आएको छ।
कोठामा कहिले चामल हुँदैन त कहिले तरकारी। कहिले यी दुबै चिज हुँदैन। चामल एक-दुई किलो र त्यहीअनुसार तरकारी किनेर छाक टार्ने गरेको छ उसको परिवारले।
कोठामा सिंगो बोरा चामल नपुगेको कति भयो, उसले बिर्सिसक्यो।
उसकी बूढीको पनि यस्तै सानोतिनो सडक पसल थियो। बालेनको डोजर घुम्न थालेपछि बूढीको व्यापार बन्द छ। दुई जनाले कमाइ गर्दा त यस्तो हालत थियो, अहिले कस्तो होला!
मेरो बूढो साथीलाई कहिलेकाहीँ टेन्सन हुन्छ। टेन्सनको 'ओखती' छ तर त्यसको पनि भाउ बढेको छ। पहिले ६० रूपैयाँमा एकमाना पाइन्थ्यो, अहिले ८० रूपैयाँ भएको छ। यो 'ओखती' उसका लागि ज्वरो आउँदाको सिटामोल जस्तै हो। सिटामोलले ज्वरो घटाउँछ तर निको बनाउने होइन। उसको 'ओखती' ले ठ्याक्कै सिटामोल जस्तै काम गर्छ।
धेरै टेन्सन भयो भने ऊ एक माना दन्काइदिन्छ अनि कहिले त सडकपेटीतिरै पनि सुतिदिन्छ।
सरकारले वृद्धभत्ता दिन्छ अरे, महिनाको चार हजार, उसले यस्तो कुरा पनि सुनेको छ। उमेर सत्तरी वर्ष नाघे पनि मेरो बूढो साथीले पाएको छैन।
आजकाल त ६८ वर्षमै पाइन्छ भन्ने पनि उसलाई थाहा छैन।
एक पटक मेरो बूढो साथीले चिनेको एक जनालाई वृद्धभत्ता पाउने उपाय सोध्यो। उसले नागरिकता चाहिन्छ, आफ्नो गाउँ जानुपर्छ भन्यो।
मेरो बूढो साथी खिस्रिक्क पर्यो, अक्क न बक्क भयो। उहिले काठमाडौंको घरबेटीले यतै नागरिकता बनाइदिएको हो। हरायो, धेरै वर्ष भएको पनि छैन तर आफूसँग त्यसको कुनै पनि निस्सा छैन।
अर्को कसरी बनाउनु! मेरो बूढो साथी बिलखबन्दमा छ। उसकी बूढीको त नागरिकता छ तर भत्ता पाउने उमेर भएको छैन। ऊ कल्पना गर्छ, दुई जनाको गरेर महिनाको आठ हजार रूपैयाँ हुन्थ्यो। उता गाउँमा भए बसीबसी खान पुग्थ्यो। काठमाडौंमै बसे पनि एकातिरको गर्जो टर्थ्यो। अहिले उसको ध्यान नागरिकतामा छ।
त्यो एउटा चिर्कटो भइदिएको भए यति हैरानी खेप्ने पर्ने थिएन। दुनियाँले पाएका छन्, मै अभागीलाई छैन। कहाँ हरायो त्यो नागरिकता भन्ने चिर्कटो!
आजकाल मनमा यस्तै कुरा खेलाउँछ।
काठमाडौंमा गरिखाने मेलो खुम्चिएपछि मेरो बूढो साथीको टेन्सन बढेको छ। ओखतीलाई पनि सधैं पैसा पुग्दैन।
दसैं आयो, गयो। धेरै वर्षदेखि मेरो बूढो साथीको परिवारमा यस्तै चलेको छ। के दसैं, के तिहार, सधैं उस्तै हो, झोला बोके बसैं, कुखुरो काटे दसैं भनेजस्तो।
यसपालि त कुखुरो जुटाउन पनि मुश्किल भयो। अब झोला बोक्न मात्र बाँकी छ।
दसैंपछि बूढी र छोरो गाउँ फर्के। यता काठमाडौंमा बाबुछोरी बाँकी छन्।
गाउँमा केही नभए पनि ओत लाग्ने एउटा घर छ। तरकारी रोपी खान थोरै बारी छ। साह्रोगाह्रो पर्दा गुहार्न छिमेकी छन्।
यता काठमाडौंमा मेरो बूढो साथीजस्ता धेरै जनाको निद्रा खलबलिएको छ। गरिखाने मेलो हराएको छ।
उसले सुनेको छ– नगरप्रहरीले मकै पोलेर बेच्नेको ठेला खोस्यो। सडक पेटीमा मोजा र कट्टु बेच्नेको पसल उठायो। भाडा तिरेर बस्नेको समेत उठिबास भयो।
धन्य! उसको माल खोस्न पाएको छैन।
एक दिन मेरो बूढो साथी बिहान दस बजेतिर पिपलको बोटअगाडि तौल मेसिन राखेर टुक्रुक्क बसेको थियो।
थोरै सामान पनि फिँजाएको थियो, पोको उठाएर भाग्न सजिलो हुने गरी परपरसम्म आँखा तन्काउँदै।
मैले उसलाई त्यहाँबाट उठाएँ। सोधेँ, उसले बिहान एक कप चियाबाहेक केही खाएको थिएन। मेरो आग्रहमा ऊ खाजा खान राजी भयो। बूढीले घरबाट खाना ल्याइदिन्छे भन्थ्यो, कति वेला हो, उसलाई थाहा थिएन।
मैले ऊसँग एक घण्टा बिताएँ। उसले आफ्नो दुःख कह्यो। सुन्नुबाहेक मसँग कुनै उपाय थिएन।
एक घण्टामा उसले थोरै भए पनि कमाइ गरिहाल्थ्यो कि! त्यही पनि मैले बिगारी दिएको थिएँ।
मैले ऊसँग बिदा मागेँ। उसले फेरि त्यही पिपलबोट अगाडि व्यापारको पोको बिसायो। म छिटोछिटो हिँडेर असन चोकको एउटा पसलमा पुगेँ। थोरै चामल किनेर एउटा थैलोमा बोकेँ अनि फटाफट पिपलबोटतिर अघि बढेँ।
मेरो बूढो साथी उस्तै त्रस्त आँखा फिँजाएर टुक्रुक्क बसेको थियो। मैले बिथोलिदिएको व्यापारको क्षतिपूर्ति त्यो पोकोले गरोस् भन्ने मेरो अपेक्षा थियो।
उसले त्यो सानो पोको स्वीकार गर्यो र सुटुक्क हेर्यो। उसको बोली फुटेन, आँखाबाट बिस्तारै खसेका दुइटा बूँदले धन्यवाद भनेको जस्तो सुनेँ।
मैले गर्न सक्ने केही थिएन, निःशब्द आफ्नो बाटोमा अघि बढेँ।