आज सोमबार, बिहानको ठिक पौने ६ बजेको छ। सडकमा सवारीसाधन पातलो गरी चल्दैछन्। घण्टाघरको घण्टीको आवाज टड्कारो सुनिँदैछ। ६ बजे गन्तव्यमा पुगिसक्नु पर्ने हतारो छ।
एक जना पुरुष रत्नपार्कको बडेमानको आकासे पुलको सबभन्दा माथि फलामे डण्डामा बसेका छन्, बागबजारतर्फ फर्केर। दुवै खुट्टा पुलको बाहिरपट्टि खसाएका छन्।
मलाई रत्नपार्क भन्नै प्रिय लाग्छ।
पुलको बारमा ठूला होर्डिङ बोर्ड राखिएका छन्। होर्डिङ बोर्डको भित्रपट्टि छन् ती पुरुषका खुट्टा।
तिलचामले कपाल, ओठमा पनि तिलचामले जुँगा, गालामा तीन-चार दिनजति अघि काटिएको जस्तो देखिने ठोसा दाह्री, खाइलाग्दो ज्यान र औसत नेपाली उचाइ छ तिनको। उमेर पैंसठ्ठी हाराहारी हुँदो हो।
सम्भवतः तत्क्षण आकासे पुलमा हिँड्दै गरेको व्यक्ति म एक्लै थिएँ। उनी त्यसरी बसेको देखेर हुनसम्म झसंग भए।
अलिक चर्को स्वरमा बोलेँ– ए हजुर! के गरेको त्यस्तो? किन त्यसरी बस्नुभएको?
सिधा जवाफ दिए– मरूँ भनेर!
आदेश जारी गरेँ– कहाँ मर्ने कुरा गर्या, तल ओर्लिनुस्।
मेरो विपरीत दिशाबाट एक युवक आइपुगे। ती पुरुष चटपटाएकै थिएनन्। युवकले पनि तल ओर्लिन आग्रह गरे।
निकै असजिलो पाराले ती पुरुष पुलतर्फ घुमे। मैले भरोसा दिन खोजेँ। तिनले अस्वीकार गरे।
एउटा शब्द अंग्रेजी प्रयोग गरेर भने– म आफूलाई ब्यालेन्स गर्न सक्छु, आफैं ओर्लिन्छु।
ओर्लिंदै गर्दा आफैं केही बोले। प्रष्ट भइनँ तर 'ज्वाइँ साब आउनुभएन' भनेको जस्तो सुनेँ।
उनको बोलीको लय सुन्दा उनी शिक्षित व्यक्ति हुन् भन्ने लाग्यो।
निकै अप्ठ्यारो गरी पुलमा ओर्ले।
मैले सोधेँ– हजुर अब कता जाने?
टड्कारो स्वरमा भने– विराटनगर जाने।
हँसिला देखिन्थे। अनि सरासर अघि बढे।
'ल हजुर, राम्ररी जानुस्' भन्दै मैले उनलाई एकै छिन हेरेँ।
उनले 'हुन्छ' भने।
आफ्नो बाटो अघि बढेँ। मेरो धर्ती हल्लिएझैं भयो। मनमा अनेक प्रश्न उब्जिए।
साँच्चै, वृद्ध वयतिर अघि बढेका ती पुरुष मर्नलाई हाम्फाल्ने मनसायले नै पुलको बारमा त्यसरी बसेका थिए?
तिनी ठिकठाकै थिए कि मानसिक रूपमा असन्तुलित?
तिनी कहाँका बासिन्दा थिए? राति कहाँ सुतेका थिए र एकाबिहानै खतरनाक रूपमा पुलको बारमा बसेका थिए?
दुई दिनअघि 'आत्महत्या रोकथाम विश्व दिवस' को चर्चा भएको थियो। अधिकांश पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमले यससम्बन्धी समाचार र आलेखहरू छापेका थिए।
मानिसले आत्महत्या गर्नुका कारणहरू के के हुन सक्छन्? मानिस कसरी आत्महत्याको निर्णयमा पुग्छ? कुनै व्यक्ति आत्महत्याको बाटोतर्फ अघि बढ्दै छ भनेर कसरी थाहा पाउने? आत्महत्या हुन नदिन गर्न के गर्ने?
यस्तै प्रश्नहरूमा केन्द्रित थिए समाचार र आलेखहरू।
करिब पन्ध्र वर्षअघि मेरा एक जना निकट आफन्तले आत्महत्या गरे। नाताले मेरा दाइ थिए र अझ बढी त साथी थिए। माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए।
त्यसैको एकदुई वर्षपछि अर्की एक निकट आफन्तले त्यसै गरिन्, नाताले बहिनी।
मरेपछि घरपरिवार र समाजमा अनेक चर्चा भए। यसो भन्थ्यो, उसो भन्थ्यो भन्नेहरू फेला परे।
ती कुरा सुन्दा लाग्थ्यो कि दाइले आत्महत्याको लामै तयारी गरेका रहेछन् तर कसैले पनि यो मानिस मर्न खोजेको त होइन, आत्महत्याको बाटोमा अघि बढेको त होइन भनेर सोचेन सायद।
उनी के भन्थे भन्ने कुरा मैले त मरेपछि मात्रै सुनेँ।
ती बहिनी चाहिँ 'फलाना दाइ त मरे, मलाई केको आइतबार' भन्थिन् अरे।
करिब चार वर्षअघि अर्की एक निकट आफन्तले आत्महत्या गरिन्। मेरोसमेत सहयोगमा उनी मनोरोगको उपचारको क्रममा थिइन्। उनको अवसानपछि उनले पनि लामै तयारी गरेको भन्न सकिने कति कुरा सुन्नमा आए। सायद ती कसैले पनि उनका कुरा गम्भीर ठानेनन्।
फिल्म निर्देशक थिए, नेपाल टेलिभिजनमा फिल्मसम्बन्धी कार्यक्रम पनि चलाउँथे आलोक नेम्वाङ। अचानक एक दिन उनले आफ्नै कोठामा आत्महत्या गरेको खबर फैलियो। साँच्चै, आलोकले आत्महत्या गरे।
उनको अवसानपछि केही आलेखहरू छापिए। त्यसै बेला पढेको एउटा कुरा सम्झिन्छु– आलोकले 'म आफैंलाई नराम्रो हुने निर्णय गर्छु कि जस्तो लाग्दैछ' भनेका थिए अरे।
आखिर उनले आत्महत्या गर्ने निर्णय लिए।
त्यो बेला मेरो मनमा लाग्यो– त्यति भन्दा पनि, जोसँग भनेका थिए, तिनले आफैंलाई नराम्रो हुने निर्णय भनेको के हो भनेर किन सोचेनन् होला!
कतै आत्महत्याको मनस्थिति त होइन भनेर किन शंका गरेनन् होला!
र्याप गायक यम बुद्धले बेलायतमा आत्महत्या गरे। नाम सुनेको थिएँ तर उनका गीत सुनेको थिइनँ।
मृत्युको खबरपछि मैले उनका गीत खोजेँ।
फेला परेको पहिलो गीत सुन्दै गएँ–
'...किन देखिँदैछ ममा पागलपनको लक्षण... हे आमा म यो कस्तो गीत गाउँदै छु, थकित भएर स्वर्गको ढोका ढकढक्याउँदै छु... मैले गरेँ आर्यघाटको स्पर्श... धेरै भोका पेटहरू, छैन यहाँ कपास, छैन घरबार तर ठडिन्छ दरबार, केही हुने छैन आओस् यहाँ जोसुकैको सरकार...
यसरी बाँच्नुभन्दा त मर्नुमा लज्जा छैन... नरुनू तिमी मेरो शरीर आगोमा रन्कँदा, चिसा लुगा लिएर मलामी ती फर्कंदा...मलाई त धेरै टाढा जानु छ,... दुनियाँमा एक्लै हराउनु छ।'
मन उदास भयो। गीत सुन्दै गर्दा लाग्यो– यम बुद्धले आफ्नो मृत्युको घोषणा त पहिले नै गरेका रहेछन्।
'...हे आमा म यो कस्तो गीत गाउँदै छु, थकित भएर स्वर्गको ढोका ढकढक्याउँदै छु... मैले गरेँ आर्यघाटको स्पर्श...
...नरुनू तिमी मेरो शरीर आगोमा रन्कँदा, चिसा लुगा लिएर मलामी ती फर्कंदा...'
म र्याप गीतको श्रोता कहिल्यै भइनँ। आज पनि म श्रोता होइन। बालेन शाहले काठमाडौं महानगरको मेयर पदमा उम्मेदवारी दिएपछि उनका केही गीत सुनेँ।
यम बुद्धको उक्त र्याप सुनेपछि मन एक तमासले भावुक भयो। उपर्युक्त शब्दहरू धेरै दिन कानमा गुञ्जिरहे। ती युवा गायक कुन विषादले सुटुक्क यस्तो कठोर निर्णयमा पुगे होला!
उनलाई केले गीतमा यति गम्भीर शब्दहरू प्रयोग गरायो होला!
धेरै दिन मनमा यस्तै कुरा खेलिरह्यो। बिस्तारै विस्मृतिमा गयो, जानै पर्थ्यो, गयो।
साढे चार दशक भयो हास्यव्यंग्य निबन्धकार भैरव अर्यालको निधन भएको।
कतै पढेको हुँ, उनले दशैंमा श्रीमतीलाई सेतो पृष्ठभूमि भएको सारी किनेर लगिदिएछन्। मनपर्ने कुरै भएन, श्रीमती रिसाइन्।
भैरवले 'एक दिन तैंले लगाउनै पर्छ क्यारे' भनेछन् अरे। नभन्दै दशैंपछि उनले आत्महत्या गरे। उनको निधन असोजमा भएको हो।
मेरा मनोचिकित्सक एक साथी भन्छन्– कहिलेकाहीँ भावावेशमा हुनेबाहेक अरू सबै आत्महत्या निकै लामो तयारीबाट मात्रै हुन्छ। महिनाको के कुरा! एक वर्ष, दुई वा धेरै वर्षको पनि तयारी हुन सक्छ।
उनका अनुसार मर्न हिँडेको मानिस कति पटक साधन बोकेरै वा उतै फालेर घर फर्किन्छ। र, कयौं प्रयासपछि मात्रै अन्तिम निर्णयमा पुग्छ।
केही अघि एक जना पत्रकार साथीले आफ्नो फेसबुकमा अंग्रेजी अक्षरमा लेखे– आत्महत्या भन्ने कुराको बारेमा अध्ययन गर्दै छु।
मैले कमेन्ट लेखेँ- बहुत राम्रो! मानिस किन आत्महत्या गर्छ? आत्महत्या गर्न केले प्रेरित गर्छ? कसैले आत्महत्याको सोच पो बनाउँदै छ कि! आत्महत्या रोक्न के के उपायहरू अपनाउन सकिन्छ? यस्ता र यस्तै अन्य प्रश्नहरूमा गहन अध्ययन आवश्यक छ साथी! यस बाहेक चाहिँ अध्ययन नगरेकै राम्रो!
आज खोजेर हेर्दा सोह्रवटा कमेन्ट रहेछन्।
पहिलो कमेन्ट छ– ह्या यस्तो कुरो नसोचौं न हो ब्रो।
अधिकांश कमेन्ट यसै आसयका छन्।
एक जनाले 'तपाईंलाई काउन्सेलिङको जरुरत छ, ढिलो नगर्नु होला दाइ' लेखेका छन्।
यी साथी बडो रमाइलो पाराका छन्। साँच्चै बिन्दास छन् तर मनले आफैंसँग सोध्छ– यी साथीले किन यस्तो कुरा लेखे?
केही दिनअघि पनि विषादका केही शब्द लेखेका छन्। बिन्दास पाराले बिहेको कुरा पनि लेखेका छन्।
केही वर्षअघि एक जना साथीले अर्का एक साथीको कुरा सुनाए– साथीहरूको एउटा समूह पूर्वी तराई घुमेर काठमाडौं फर्किंदै थियो। सप्तकोशी आइपुगेपछि बराजको रमिता हेर्न सबै जना पुलमा हिँड्न थाले।
बीचतिर कतै पुगेपछि एक जना चाहिँ पुलको एउटा खम्बामा चढेछन् र 'ए फलाना ल यता हेर' भनेछन्।
सबै जना छक्क परे। 'ए! तैंले के गरेको! ओर्ली' भन्दै कराउन थालेछन्।
ती साथी त 'म अब यहीँ मर्ने हो, यही भँगालोमा हामफाल्ने हो, ओर्लिन्नँ' भनेर जिद्दी गर्न पो थालेछन्।
'साँच्चै हाम्फाल्ने हो कि!' आत्तिँदै अनुनय विनय गरेछन्। 'हामीलाई आपतमा नपार्' भनेर के के सम्झाएछन्।
निकै बेरपछि ती साथी ओर्लेछन् र 'खैंजडीहरू के गर्दा रहेछौ भनेर नि, यो फलानो त्यति सजिलै मर्छ भन्ठानेका छौ' भनेछन्। उल्टै थर्काएछन्।
मेरा मनोचिकित्सक साथीका अनुसार यस्तो क्रियाकलाप पनि कतै न कतै आत्महत्याको सोचको एउटा अंश हो। फरक त्यसको मात्र कति भन्नेमात्रै हो।
चिकित्सकहरूका अनुसार हाल संसारमा मानिसको मृत्युका प्रमुख बीस कारणमध्ये आत्महत्या पनि एक हो। विश्वभर वर्षमा कम्तीमा सात लाख मानिस यसरी मर्छन्, दैनिक सरदर एक हजार ९१८ जना।
नेपालमा दैनिक सरदर अठार जनाले आत्महत्या गर्ने विवरण छ। यसरी हेर्दा विश्वमा नेपालको अंश झन्डै एक प्रतिशत हुन्छ।
मनोचिकित्सक साथीका अनुसार नेपाली समाजमा मनोरोगलाई रोग मान्ने चेतनाको विकास भइसकेको छैन। व्यक्ति स्वयं पनि सहजै रोग स्वीकार गर्दैन।
मुख्य समस्या यहीँ छ।
रोग मानेर चिकित्सककहाँ आइपुग्दा कतिपयलाई त निकै ढिलो भइसकेको हुन्छ। रोग स्वीकार गर्ने र प्रारम्भिक अवस्थामै चिकित्सकहाँ पुग्नेहरू निको भएर सामान्य जीवनमा फर्किन्छन्।
उनका अनुसार अर्को समस्या पनि छ। कसैले आफ्नो कोही निकटस्थलाई, साथीलाई मनको रोगको समस्या छ भन्ने शंका गर्यो। तैपनि ऊ भन्न आँट गर्दैन। चिकित्सककहाँ जाने सुझाव दिँदैन। उसलाई पनि शंका लागेको न हो, रिसाउँछ कि भन्ने ठान्छ।
कुराको चुरो उही हो, रोगी त्यति सजिलै कसैले शंका गरेकै भरमा स्वीकार गर्दैन। ए हो कि भनेर आफूमाथि शंका गर्दैन।
आज एकाबिहानै रत्नपार्कको आकासे पुलमा देखेको उपर्युक्त दृश्यले विस्मृतिका धेरै कुरा एकाएक ताजा गरायो।
साँच्चै, ती पुरुष रत्नपार्कको आकासे पुलको बारमा किन चढेका थिए होला!
दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलि!