कुरा सुरू गरौं, नेपालको सन्दर्भमा विकास र प्रकृतिको। मानिसका लागि विकास ठूलो कि प्रकृति संरक्षण? अर्थात अझ सजिलो प्रश्न गरौं– बाघ ठूलो कि मान्छे?
घाँस काट्न गएको परिवारको सदस्य बाघले मारेर शोक परेको ठाउँमा बाघको पक्षमा कसरी बोल्नु!
बाघ ठूलो कि मान्छे? खासमा यो उचित प्रश्न नै होइन।
प्रकृतिमा ज्यानका हिसाबले बाघ र मान्छे बराबर हुन्। आफ्नो ज्यान जोगाउन दुवैले बराबर प्रयत्न गर्छन्।
कसैले कुनै युवा पुरुषलाई आमाको माया बढी लाग्छ कि श्रीमतीको भनेर सोध्यो भने के जवाफ दिनु! यो कुनै प्रश्न नै होइन।
बाघ, चितुवा, हात्ती, गैंडा, भालु इत्यादि जनावर संरक्षणका लागि राज्यले चारकिल्ला तोकेर जंगल क्षेत्र छुट्याएको छ। मानिस त्यो चारकिल्लाभित्र विचरण गर्न पाउँदैन। यसो भएपछि त त्यो जंगलको जनावर पनि बाहिर निस्केर मानिस मार्न नपाउनु पर्ने हो नि! यसो त हुँदैन।
यस किसिमको संरक्षण गतिविधिमा एउटा देश मात्रै संलग्न भएको हुँदैन। अन्तर्राष्ट्रिय संंस्थाहरू पनि संलग्न भएका हुन्छन्। यस सम्बन्धमा आधुनिक विश्वमा अनेक सन्धि–सम्झौताहरू छन्। तीमध्ये धेरैमा नेपाल पक्षराष्ट्र छ। चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदामा र कोशीटप्पु वन्यजन्तु आरक्ष रामसार क्षेत्रमा यसै परेका होइनन्।
मानिसले गाँस, बास र कपासको कुरा गर्छ। अधिकारको कुरा गर्छ, वर्चस्वको दाबी गर्छ। यसैका लागि द्वन्द्व, वैमनश्य र हतियारयुक्त लडाइँ चल्छ। जनावरलाई पनि गाँस र बास चाहिन्छ। उसले पनि आफ्नो वर्चस्व दाबी गर्छ। यिनै मामिलामा मानिस र जनावरका बीच द्वन्द्व चल्दै आएको छ, चलिरहन्छ।
प्रकृतिमा मानिस होओस् वा आँखाले देख्न नसकिने सूक्ष्मदेखि अजंगका प्राणी वा वनस्पति, सबै बराबर हुन्। मानिसले जसरी आफ्नो खाना, नाना, बास र सासका लागि संघर्ष गर्छ, त्यसरी नै अरू प्राणीले पनि गर्छन्। वनस्पतिको जीवन पनि संघर्षपूर्ण छ, फरक यति छ कि उसमा प्राणीमा जस्तो तत्काल प्रतिक्रिया जनाउने चेतना हुँदैन, मानिसले त्यो बोध पनि गर्दैन।
समस्त प्राणीहरूमध्ये मानिस बुद्धिमान र विवेकशील भनेर कसले भनेको? बाघ र हात्तीले हो र? मानिस आफैंले भनेको हो नि! आफूले आफ्नो आत्मप्रशंसा गरेको हो। योभन्दा बढी केही होइन।
प्रकृति संरक्षणको चेतना नयाँ होइन। हाम्रा पुर्खाहरूमा प्रकृतिप्रति कृतज्ञताको कति गहिरो भाव थियो भन्ने कुरा आजसम्म प्रचलित परम्पराहरूले देखाउँछन्। सूर्यको, नदीको र वनदेवीको पूजा गरेको; वर र पिपलको रूखमा पानी चढाएको केवल मूढविश्वासले होइन।
यो सबै प्रतीकात्मकरूपमा कृतज्ञता हो। विस्तारै संस्कृति भयो त के बिग्रियो र! एकछिन आँखा चिम्लेर सूर्य नभएको पृथ्वी कल्पना गरौं त! हाम्रो नजिकको खोलो सुकेको, वन मासिएको कल्पना गरौं त! अनि कृतज्ञ हुन त अवश्य पाइन्छ।
हाम्रा पुर्खाहरूले पहाडका भित्तामा घर बनाएर फाँट जति खेतीलाई जोगाएको बुद्ध भएर अनि आज हामीले फाँटमा सहर बसाएको बुद्धिमान भएर होइन।
यति कुरा थाहा पाउन प्रकृति विज्ञान वा विकास विज्ञानको कुनै थेसिस पल्टाउनु पर्छ र!
एउटा भनाइ छ– अन्तिम रूख र अन्तिम खोलो सुकेपछि तिमीसँग भएको पैसाले केही पनि किन्दैन।
हाम्रो व्यवहार ठिक उल्टो छ। हामीलाई लागेको छ कि पैसा भएपछि सबथोक पाइन्छ। हो, केही मानिसले पाएका पनि छन्। आधुनिक र विकसित भनिएको आजको युगले मानिसलाई सिकाएको कुरा यही हो– पैसा कमाऊ, सबथोक पाऊ। पैसा जसरी कमाए पनि हुन्छ।
अन्तिम रूख र अन्तिम खोलो सुक्नु भनेको पृथ्वी वनस्पतिविहीन र जलविहीन हुनु हो। यस्तो पृथ्वीमा मानवजीवन सम्भव हुने छैन।
विकास भनेको के हो?
साधारण अर्थमा विकास भनेको मानिसको आर्थिक, सामाजिक र भौतिक अवस्थामा सकारात्मक परिवर्तन हो। विकासले मानिसको जीवनमा सुविधा थप्दै जान्छ। हुन पनि एउटा जीवका रूपमा मानिसले आफ्नै बुद्धि र बर्कतले आफ्नो सुविधा बढाउँदै गएको छ र कुनै युगमा पनि आकांक्षा पूरा भएको छैन।
हाम्रा राजनीतिक नेताहरू पनि देशको विकास र जनताको समृद्धिका लागि मरिमेटेर लागेका छन्। बाराको निजगढमा जंगल मासेर अत्याधुनिक विमानस्थल बनाउने सर्वदलीय प्रतिबद्धता हेरौं न! कस्तो राष्ट्रिय सहमति छ!
सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आयोजनाको विकल्प खोज्नू भनेर सरकारलाई आदेश दियो। ‘सर्वदलीय राष्ट्रिय सहमति’ विरूद्धको यो आदेशले अदालत घानमा परेको छ।
नेताहरूले प्रतिनिधिसभामा बोल्ने क्रममा उक्त आदेशप्रति ‘दुःख’ प्रकट गरे। नेताहरूलाई लागेको छ कि सर्वोच्च अदालत विकास विरोधी भयो, न्यायालयले कार्यकारिणीलाई अवरोध गर्यो।
यति मात्रै हो र! मन्त्रीका मुखले सोधेको छ– प्रधानन्यायाधीश हुने आकांक्षा छ कि छैन?
पूर्वप्रधानमन्त्रीले न्यायाधीशमा भारतको प्रभाव देखेका छन्। क्या त्रिकालदर्शी छन् हाम्रा नेताहरू!
आदेशपछिको राष्ट्रिय बजेटले निजगढ विमानस्थललाई बजेट विनियोजन गरेको छ। संसदीय समितिले आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
हेर्नु छ, घानबाट कति र कस्तो तेल निस्कनेछ।
पक्ष–विपक्षका बहसकर्ताको तर्क के के छ, अदालतको व्याख्या कता छ, के मतलब, मानौं तरुन्तै बोलेन भने जहाज छुटिहाल्छ, अर्कै कोही त्रिकालदर्शी भइदिन्छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल चालु भयो। पोखरामा चाँडै चालु हुनेवाला छ। यीबाहेक अर्को अझ गतिलो विमानस्थल चाहिएरै होला नेता, नीति निर्माता र विकास अभियन्ताहरूले निजगढको जंगल क्षेत्र रोजेका।
निजगढमा बन्ने विमानस्थलकै लागि द्रुतमार्ग बन्दैछ। नेताहरूको भनाइ छ कि विमानस्थल नहुने हो भने द्रुतमार्गको अर्थ छैन। यो भनाइ ठ्याक्कै सही हो कि होइन, अध्ययनको विषय हुन सक्ला। आठ खर्ब रूपैयाँ खर्च हुन्छ भनिएको त्यति बृहतस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आकांक्षालाई अहिले नै पहाडी टाकुराको भ्यूटावरसँग कसरी दाँजूँ!
निजगढको जंगलक्षेत्रमा आठ हजार हेक्टर जमिन ओगटिने गरी संसारमै ठूला मानिनेमध्येको एउटा विमानस्थल बनाउँदा त्यसले दीर्घकालसम्म प्रकृतिमा पार्ने प्रभाव कस्तो होला! त्यहाँको मौजुदा जंगलमा विचरण गर्ने र त्यही ठाउँलाई वारपारको मार्ग बनाउने ठूला जनावरहरू के गर्लान्! विमानस्थलबाहिरको जंगलमा कस्तो चाप पर्ला! पानीको प्राकृतिक वहाव कसरी व्यवस्थापन होला!
अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, पूर्वाधार विकास गर्ने अनि देशमा समृद्धि, समुन्नति, सुख र खुसी ल्याउने राजनीतिक आकांक्षाका सामुन्ने उपर्युक्त जिज्ञासाहरू निम्छरा लाग्न सक्छन्, विकासविरोधी सुनिन सक्छन्।
विकास अभियन्ताहरूका लागि अर्को ठाउँ खोज्नुभन्दा त जंगल मास्नु नै निको हुन सक्छ। दुई दशकभन्दा लामो समयको दुःखले आर्ज्याको ठाउँ पो त!
अहो! कहाली पो लाग्छ त! देशको विकास चाहिएको छ, समृद्धि, समुन्नति र सुख तरुन्तै चाहिएको छ अनि ‘मुठ्ठीभर’ लाई कहाली लागेर के हुन्छ!
धेरै राम्रो! रूखको सट्टा रूखको अवधारण छ, कुनै ठाउँमा रूख नमासी नहुने भयो भने त्यसको सट्टा अर्को ठाउँमा अझ धेरै वटा रूख रोप्ने। रूखको सट्टा रूख हुन त असम्भव छैन तर जंगलको सट्टा जंगल र त्यहाँका जनावरको सट्टा जनावर कहिलेसम्ममा होला! अझ जंगलभित्रको बहुवानस्पतिक झाडीको हिसाब कसले गर्ने! अनि त्यहाँको जैविक विविधता नि!
पृथ्वीको तापमान बढाउन हामी नेपालीको योगदान अवश्य पनि नगन्य छ तर हिमतालको पानी घटाउन देशले बजेट छुट्याउनु परेको छ। हिमतालमा हिउँ पातलिने क्रम बढ्दो छ। हिमताल फुट्दैन भन्ने के छ र! साँच्चै फुटेका दिन तालको ठिकमुनिदेखि तल मधेसम्म हुन सक्ने क्षतिको कल्पना गरौं त!
चुरे संरक्षण राष्ट्रपतिको कार्यक्रम बनेको छ। चुरेमा बढेको भूक्षयका कारण बढ्दो मरूभूमीकरणले आगामी दुई–तीन दशकमा झापादेखि कञ्चनपुरसम्मको तराईमा कस्तो असर पुर्याउला, धेरैलाई चिन्ताको कुरा छ! रोप वे टाँगेर ढुंगागिटी निकासी पनि गर्नु छ। छैन त अनौठो!
हामी आ-आफ्नो ठाउँ एक पटक गम्भीर भएर नियालौं त, दुई दशक अघिदेखि आजसम्म। हिमाली क्षेत्रमा तपाईंको घरबाट कति माथि हिउँ थियो र आज कति माथि छ! पहाडमा तपाईंको घर वरिपरि कति उन्यू थियो, आज कति छ! तराईमा तपाईंले देख्ने गरेका भ्यागुता, गड्यौंला र चरा छन् कि छैनन्!
हामी धेरैलाई सर्प त नभएकै राम्रो भन्ने लाग्छ, प्रकृतिमा सर्पको योगदान देख्ने यो दुनियाँमा कति होलान् र!
ब्रन्टलेन्ड आयोगले सन् १९८७ मा राष्ट्रसंघलाई बुझाएको ‘आवर कमन फ्युचर’ हाम्रा कति नेताले पढेका होलान्! धन्य! दिगो विकासको लक्ष्य भेट्न चाहिँ आतुरै छन्।
पृथ्वीमा मानिसका कारणले हुने प्राकृतिक विनाशले मानवजातिको अस्तित्व संकटमा परेको छ भन्ने कुरा आजका रूसी शासकका लागि अर्थहीन छ। विकासको रनाहाका अगाडि निजगढको वन र त्यहाँका वन्यजन्तुको अस्तित्व पनि हामीमध्ये धेरैलाई औचित्यहीन छ।
अवश्य, हामी आममानिसलाई आफ्नै जीवनकालमा विकास र समृद्धि देख्ने आकांक्षा छ। यो अकांक्षाभित्र दाउ हेर्नेहरू कति होलान्! कसैले आफ्नै पालामा विकास भएको देखाउनु पर्ने होला। कसैलाई घडेरीको कारोबार गरेर रातारात सकेसम्म अर्बको र नभए पनि धेरै करोडको मालिक हुने आकांक्षा होला। कसैले त्यहाँ काटिने लाखौं रूखको व्यापार गर्नु पर्ने होला। कसैलाई कमिसनको लोभ होला!
अनि कति नेतालाई त्यही विमानस्थलको सपना देखाएर शासन गर्ने महत्वाकांक्षा होला। नागरिकको कर वितरण गरेर पार्टीको ब्रान्ड बनाएको कुरा सगर्व संसदमा प्रस्तुत भइसक्यो।
एक छिन आँखा चिम्म गरेर हाम्रै तराईमा हामीले देखेको कुनै घना जंगलका वयस्क रूख एक, दुई तीन गर्दै बीस लाखसम्म गनौं त! ती रूखले ओगट्ने भूभाग पनि अनुमान गरौं त!
प्रकृतिको विनाश देखिँदैन, भोगिन्छ मात्रै।
बाघ ठूलो कि मान्छे?
जसरी यो कुनै प्रश्न नै होइन ठिक त्यसरी नै निजगढमा आठ हजार हेक्टर वन मासेर विमानस्थल बनाउनु पर्छ कि पर्दैन?
यो पनि प्रश्न नै होइन।