नेपाली कांग्रेस र कम्युनिस्ट गठबन्धनको संयुक्त जनआन्दोलनबाट २०४६ सालको अन्तिम साता बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछिको सामाजिक विभाजन उदेकलाग्दो थियो। ओल्लोघर–पल्लोघर, ओल्लोटोल–पल्लोटोल सबै कांग्रेस र कम्युनिस्टमा विभाजित भए। प्रतिनिधिसभाको चुनावसम्ममा पञ्चहरूको पार्टी पनि थपियो।
विभाजन कस्तोसम्म भने बोलचाल र आउजाउ बन्द, बिहे–बर्तमनको निम्तो पार्टी हेरेर, पार्टी विचार गरेर मात्रै बिहेबारी, मलामीमा समेत शवको पार्टीअनुसारको लर्को; साँच्चै अनौठो भएथ्यो।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेको थिएँ। अर्को अवसर तीन दशकमा मात्रै जुर्यो।
सञ्चारकर्ममा चुनाव बेला बिदा पाउन कठिन पर्छ। उम्मेदवारी दर्ता हुने दिनदेखि मतगणना नसकिँदासम्म प्रत्येक दिन समाचारको असार पन्ध्र हुन्छ। असार पन्ध्रमा घरमा लास परे पनि छोपेर खेत रोप्नुपर्छ भन्थे बुढापाका। यसपालि चाहिँ असार पन्ध्रमा बिदा मिल्यो, मतदानको भोलिपल्टै फर्किने गरी।
मेरो मतदान स्थलबाट सिधा पूर्व करिब बीस मिनट हिँड्दा पुगिन्छ नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको घर। सिधा पश्चिम त्यति नै हिँड्दा पुगिन्छ २०३५ पुसमा नेकपा माले स्थापना भएको सेल्टर। त्यही मतदान स्थलका नजिकमा छन् त्यो समयका केही कम्युनिस्ट नेताका सेल्टर। सेल्टर दिनेहरू त्यही इतिहासको स्मरणमा गौरवान्वित छन्।
मदनका आमाबाबुका परिवारजनले अठ्ठाइस–उनन्तीस सालदेखि भोगचलन गरेको घरजमिन परिसर ‘मदनग्राम’ भएको छ। दुई दशकअघि नै काठको त्यो फराकिलो घर र केही जमिन परिवारका एक सदस्यले बेचेका थिए। पछि मदनका नामको ‘मदन स्मृति प्रतिष्ठान’ ले त्यही जमिन किन्यो अर्थात पैसा दिएर फिर्ता लियो। काठको घर जसले उखेलेका थिए उनैले उही स्वरूपमा पुनर्निर्माण गर्ने ठेक्का पाए।
अहिले देख्नेका लागि घर दुरुस्तै छ तर उही होइन। त्यो पुरानो घरमा एकदुई छाक खाएको र एकदुई रात सुतेको स्मरण मभित्र पनि ताजै छ। उखेलेको करिब दुई वर्षपछि बनेको हो अहिलेको घर। क्रेताले अधिकांश खाँबाखुट्टी र तखती खपत गरिसकेका थिए। बचेखुचेको थोरै काठ र झ्यालढोका पुरानै घरका प्रयोग हुन सके।
नेकपा माले स्थापना भएको बक्राहा खोलाधारको त्यो ठाउँको स्मृति ताजा बनाइराख्न मदनकै नामको अर्को एउटा संस्था सुस्त गतिमा ‘मदन स्मृति पार्क’ का केही संरचना निर्माण गर्दै छ। पार्कभित्र त्यही घर पर्छ जहाँ बसेर युवा नेताहरूले पार्टी स्थापनाको घोषणा गरेका थिए।
त्यही नेकपा माले हो आजको नेकपा एमाले।
हालको रतुवामाई नगरपालिकाको वडा नम्बर नौ नेकपा एमालेको इतिहासमा सबभन्दा बढी महत्वको ठाउँ हो जहाँ नेकपा माले स्थापना भयो। एमालेले आदर्श मानेको ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादन गर्ने तिलस्मी नेता मदन भण्डारीको घर छिमेकी वडामा सँधियार छ।
मदन सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङको दुर्गमा गाउँमा जन्मे। गाउँकै स्कुलमा पढे। भारतमा उच्च शिक्षा हासिल गरे। अधिकांश समय ‘भूमिगत’ रहेर कम्युनिस्ट संगठन गरे। यिनै मदनले राजधानी काठमाडौंमा प्रधानमन्त्री र पार्टी सभापतिको आसनबाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरिदिए। आफू दुई वटा निर्वाचन क्षेत्रबाट विजयी भए।
मदन पराजित हुने अनुमान गर्नेहरू धेरै थिए। एमाले नेताहरू भन्थे– हराउने भट्टराईलाई हो र हार्ने पनि उनैसँग हो।
यसको तीन दशकपछि मधेशको टन्टालापुर वैशाखी घाममा गाउँ डुलेर हेर्दा रमाइला दृश्यहरू देखिए। एउटा पार्टीको उम्मेदवारको छिमेकी घरमा अर्को पार्टीको झन्डा फहराएको छ। यही रीतले घरहरूमा पार्टीका झन्डा छन्। चुनाव प्रचारका पार्टी कार्यकर्ताहरू एउटै चिया पसलमा हँसिमजाक गर्छन्। गाउँ डुल्दा भेटिएका प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरू हात हल्लाएर बाइबाइ गर्छन्।
मतदान स्थल शान्त छ। शीतल बस्ने ठाउँ एउटै छ। एउटा पार्टीका मतदाताको हुलमा अर्को पार्टीको हुल मिसिन्छ। दाहिने औँठो देखाएर मतको चर्चा चल्छ। स्वयंसेवकहरू अँगालो मारेझैँ देखिन्छन्।
मतदातालाई ‘खाजा’ खुवाउन खुला व्यवस्था छ। अधिकांश मतदान स्थलनजिक दुई ठूला पार्टीका नेताहरूले खाजा खुवाउने प्रबन्ध मिलाएका छन्। औँठामा रङ लगाएर बाहिर निस्केका मतदातालाई खाजा खुवाउन स्वयंसेवकहरू तैनाथ छन्।
वृद्ध मतदाता ओसार्न पार्टी कार्यकर्ताहरू सक्रिय छन्। मोटरसाइकल कुदेका कुदेकै छन्, स्थानीय बाटामा कुद्ने तीनपाङ्ग्रे साधनको दौड उत्तिकै छ। काठमाडौंबाट मतदाता पुर्याउने व्यवस्था साताअघिदेखि सक्रिय थियो।
घरघरमा पार्टी स्वतन्त्रता छ। एउटै घरमा मत बाँडिएको छ। आपसमा सबै जानकार छन् तर कसैको सम्बन्ध खराब भएको छैन। परिवारका सदस्यहरू घरभित्र र छिमेकमा फरक पार्टीका कार्यकर्ता सक्रिय हुनुको लाभ थाहा पाउन थालेका छन्।
मैले तीन दशकअघि राजनीतिक आधारमा उत्पन्न सामाजिक विभाजन र दुर्गम पहाडी बस्तीको त्यो समयको मतदान स्थल सम्झेँ। छरछिमेक र नसनातामा भएका चर्काचर्की सम्झेँ। प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न जाँदा तल्लो चौतारोमा लाठी बोकेर बसेका युवाहरूको एउटा हुल छिचोल्नु परेको सम्झेँ।
नेकपा माले गठनको गाउँ र मदनको घरगाउँसमेत समेटिएको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला लगातार तीनपटक विजयी भए। संविधानसभाको पहिलो निर्वाचनमा कांग्रेसका आमोदप्रसाद उपाध्याय निर्वाचित भए। संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसको त्यो निरन्तरता एमालेका ऋषि पोखरेलले तोडिदिए।
नयाँ संविधानअनुसार दुई वर्षपछि भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले आफ्नो प्रतिनिधित्व फिर्ता लियो। उनै ऋषिलाई हराएर मीनेन्द्र रिजाल विजयी भए।
प्रतिनिधिसभाअघि भएको स्थानीय तह निर्वाचनमा नेकपा माले गठनको घोषणा भएको गाउँ रहेको वडामा नेपाली कांग्रेसका उम्मेदवार चालीसभन्दा कमको झिनो मतान्तरले वडाध्यक्ष विजयी भएका थिए। पाँच वर्षपछि कांग्रेसका तिनै उम्मेदवार चार सय मतान्तरले विजयी भए।
कम्युनिस्टहरू आफ्नो वर्चस्व भएको ठाउँलाई ‘लालकिल्ला’ भन्छन्। यो शब्दप्रति आममानिसमा वितृष्णा सुनिन्छ। लोकतन्त्रमा कहीँ कसैको किल्ला हुँदैन। कुनै पार्टीका उम्मेदवारले जित्नुको अर्थ उसको किल्ला बन्नु होइन।
मदनको घरगाउँ र नेकपा माले स्थापनाको ठाउँ भए पनि त्यो समयमा पञ्च नेताहरूको वर्चस्व थियो। स्थानीय स्तरमा मदनको पहिचान थिएन। उनी चिनिएका त बहुलीय व्यवस्था पुनर्स्थापनापछि मात्रै हो। उनीभन्दा बढी त भुवनसिंह राई र सुरेन्द्र कुथुमीहरूको कम्युनिस्ट पहिचान बलियो थियो।
बहुदलीय व्यवस्था पुनर्स्थापनापछि मदनको चमत्कारको प्रभावले उनको घरगाउँ छपक्कै छोपियो।
स्थानीय तह स्थानीय बासिन्दाको दैनिक जीवनसँग सम्बन्धित सरोकारहरूमा प्रत्यक्ष सेवाका लागि हो। किल्ला भनेको सामरिक प्रतिरक्षाको ठाउँ हो जहाँ शत्रुपक्ष निषेधित हुन्छ। लोकतन्त्रमा कोही कसैको शत्रु हुँदैन त्यसैले कुनै किल्ला पनि हुँदैन। किल्ला हुने हो भने प्रतिस्पर्धीहरू, चिनिएका मतदाताहरू शत्रुपक्ष ठहरिन सक्छन्। शत्रुको सेवा कसैले पनि गर्दैन।
अठ्ठाइस–उनन्तीस सालको झापा काण्ड र पैँतीस सालको नेकपा माले गठनको समयका स्थानीय कम्युनिस्ट नेताहरू वृद्धको लाइनमा छन्। अहिलेका युवाहरू कसैको वर्चस्व हेरेर मात्रै पार्टी रोज्ने र मतदानको निर्णय गर्ने होइन रहेछन्। उनीहरूका अलग एजेन्डा छन्। किल्लामा विश्वास नगर्ने युवाहरू व्यक्तिगत स्वतन्त्रताका पक्षपाती छन्। किल्लाको अवधारणाबाट स्वतन्त्र छनोटले फड्को लिँदैछ।
एउटा समय थियो सम्बत् चालीसको दशकको मध्यसम्म जहाँ युवावय प्रवेश गर्दै गरेकाहरू कम्युनिस्ट हुन्थे। अधिकांश स्कुल–कलेजमा कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरू बलिया थिए। जेबी टुहुरे, रामेश, रायन, मञ्जुल र शम्भु राईका क्रान्तिकारी गीत सुनेकाहरू अखिलको रसिद काट्न लाइनमा हुन्थे।
क्रान्तिका ती गीतहरू पुराना भए। नयाँ गीतले त्यो समयको तरंग ल्याउन सकेनन् अर्थात गीतले किल्ला बनाउने समय रहेन। पच्चीस वर्षको उमेरसम्म जो कम्युनिस्ट बन्दैन उसको मुटु छैन भन्ने आहान पनि असान्दर्भिक भइसकेछ।
बुढाजति कांग्रेस र युवाजति कम्युनिस्ट भन्ने अवधारणा पुरानो भएछ। अहिले त बुढाहरू पो कम्युनिस्ट छन्! अर्थात त्यो समयका युवा कम्युनिस्टहरू अहिले बुढा भए।
आममानिसलाई राज्यका तर्फबाट पाइने सेवासुविधा निष्पक्ष रूपमा सुलभ ढंगले चाहिएको छ। आफूले रोजेको जनप्रतिनिधि मिजासिलो होओस्, परेका बेला सहयोग गर्न तत्पर होओस्, पक्षपात नगरोस्। यहाँभन्दा बढी अपेक्षा देखिँदैन ग्रामीण मतदाताहरूमा। स्वार्थ त केन्द्रमा बसेर निर्णय थोपर्ने निरंकुश पार्टी नेताहरूमा पो छ!
लोकतन्त्रमा कानुनको शासन चल्नुपर्छ। कानुनसामु सबै बराबर हुन्छन्। शासनमा रहनेलाई थोरै भए पनि कानुनले अंकुश लगाउँछ। हाम्रा पार्टी नेताहरूलाई अंकुश लगाउने बलियो कानुन छैन। पार्टीको विधिविधान नेताले कार्यकर्ता तह लगाउन सक्दो बढी उपयोग हुन्छ, नेता निरंकुशका निरंकुश!
पार्टीका स्थानीय नेता–कार्यकर्ता आफ्ना शीर्ष नेताहरूको निरंकुशताबाट आजित छन् तै पनि अनुशासनमा छन्।
चुनावमा विकृतिहरू छन्। जुनसुकै पार्टीका होऊन्, अहिलेका युवाहरूको विवेकले राजनीतिक संस्कार परिष्कृत हुँदै जाने अपेक्षा गर्ने ठाउँ छ किनभने विकृति छ भन्ने कुरामा युवाहरू सचेत देखिन्छन्।