शासकको मात्र इतिहास लेखिने परम्परा भएको ठाउँमा देशका धेरै भूभाग 'टेरा इनकग्निटा' अर्थात अज्ञातस्थल बनेर बस्छन्। नेपालमा पनि शासकसँग जोडिएका दृष्टान्त र स्थानबाहेक अन्य ठाउँ, विशेषगरी गाउँबस्तीको विगत अज्ञात छ।
लेखापढी वा कर्मकाण्ड बेला तीन पुस्ता चाहिने भएकाले बाजेको नाउँ सबैलाई थाहा हुन्छ। तर धेरैलाई त्यसअघिका पुस्ता बाँचेको समयबारे जानकारी हुँदैन।
मलाई तीन पुस्ताको नाउँ मात्र थाहा छ। कहिलेकाहीँ उता पृथ्वीनारायण शाह काठमाडौं झर्नेताका यता जुम्लाराज्यको सूर्यभान शाही शासनकालमा मेरो गाउँका मानिस को थिए, के गर्थे होला भनी कल्पना गर्न मनलाग्छ। उता दिल्लीमा अलाउद्दीन खिलजीले उपद्रो मच्चाउँदै गर्दा यता आफ्नो सम्पन्नताको उत्कर्षमा रहेको खस साम्राज्यमा मेरो गाउँको अस्तित्व कस्तो थियो भनी जान्न मन लाग्छ।
त्यसको अब पूरा जवाफ मिल्दैन किनकी मेरो गाउँमा शासकहरू बस्थेनन्। शासकको मीतघर, मामाघर वा ससुराली भए पनि बढाइचढाइँ गरेर वर्णन आउँदो हो।
मेरो गाउँको इतिहास कतै लेखिएको छैन। कर्णालीमा त शासकहरूको इतिहास पनि लेखिएको छैन। भएको पनि सुनियोजित ढंगले मेटिएको छ।
खस साम्राज्यकालीन इतिहासको खोजी सुरू भएको सत्तरी वर्षजति मात्र भयो। करिब चार सय वर्ष कायम रहेको खस साम्राज्यको प्रभावशाली र वैभवशाली पहिचान सर्वत्र प्रसिद्ध छ। कम्तीमा दुई हजार वर्षदेखि संगठित मानव बस्ती रहेको कर्णाली क्षेत्रमा आधुनिक संसारका कैयौं देश बन्नुअगावै, एघारौं शताब्दीतिरै खस साम्राज्यकालीन शासकीय उच्चता तथा व्यापारिक र सांस्कृतिक अग्रता विकास भइरहेको थियो। तर यही क्षेत्र आधुनिककाल आएर पटक्कै विकसित नहुनु रहस्यमय छ।
कर्णालीको समाज वैज्ञानिक अध्ययनहरूले यस क्षेत्रको विकास समृद्धिको बाधक यहाँ व्याप्त अशिक्षा, अन्धविश्वास, भोकमरी, महामारी, भाग्यबाद तथा जटिल भूबनोटलाई मानेका छन्। तर नयाँ शिराबाट गहिरिएर अध्ययन गर्ने हो भने आधुनिककालको वास्तविकता फरक भेटिन्छ।
केही उदाहरण हेरौं।
बेरी सी. बिशपको अध्ययनमा करिब दुई सय वर्षअघि, बि.सं. १८८७, अर्थात जुम्लाराज्य एकीकरणको चारदशक पछिको करसम्बन्धी रेकर्डमा त्यहाँको जनसंख्या ७० हजार थियो। त्यसको सय वर्षपछि बि.सं. १९८६ मा ७५ हजार पुग्यो। उतिबेलाको जुम्ला भनेको मुगु, हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका अठार दरामा फैलिएको माथिल्लो कर्णाली भूभाग हो। यति विशाल क्षेत्रमा सय वर्षको जनसंख्या वृद्धि मात्र ५ हजार भयो।
नेपालमा आधिकारिक जनगणना हुन थालेपछि सांख्य विभागको तथ्यांकमा आजभन्दा सय वर्षअघि, बि.सं. १९७७ मा कर्णालीको जनसंख्या ८९,०२२ छ। त्यसयता बर्सेनि डेढदेखि तीन प्रतिशत जनसंख्या वृद्धि भई बि.सं. २०११ सालमा १६८,००७ पुगेको छ। घरधुरी संख्या पनि बि.सं. १९९८ को गणनासम्म केवल ०.६ प्रतिशत दरमा वृद्धि भएको छ।
यसरी जनसंख्या तथा घरधुरीसंख्या बृद्धि रोकिनुको कारण के कर्णालीमा व्यप्त कुरीति, भोकमरी वा महामारीले ल्याएको उच्च मृत्युदर मात्र थियो त? थिएन।
प्रमुख कारण त जुम्लाराज्य एकीकरण बेलाको बैमनश्यता, युद्ध र त्यसयताको राज्यनियन्त्रित दमन तथा उत्पीडन थियो। यसबारे अध्येताहरू प्रायः मौन छन्। तत्कालीन समयमा प्राज्ञिक मौनता सायद उनीहरूको बाध्यता थियो। रोयल नेपाल एकेडेमीले प्रायोजन गर्ने अध्ययनमा शाहवंशको क्रुरताबारे उल्लेख हुन सम्भव थिएन। तर अब पुनर्व्याख्या र पुनर्लेखन आवश्यक छ।
केही तथ्य जाँचौं।
'बाइसी राज्यको इतिहास' पुस्तक लेखक सूर्यबिक्रम ज्ञवालीका अनुसार बि.सं. १८४६ मा गोर्खाली फौजले जित्नुअघि जुम्लाराज्यले पटकपटकको गोर्खाली आक्रमण असफल पार्न २२ हजारजति सेना परिचालन गरेको थियो। त्यस्तै, 'बहादुर शाहः द रिजेन्ट्स अफ नेपाल' किताबका अनुसार गोर्खालीसँग पराजित पर्वतका राजा कीर्तिबम मल्लले तत्कालीन ब्रिटिस इण्डियालाई चिठी लेखेर जुम्ला राज्यका सुभान शाहीसँग ७० देखि ८० हजारसम्म सेना भएको बताएका थिए। यदि अंग्रेजले दुई बटालियन सेना पठाइदिए नेपाल जित्न सकिन्छ भनी सहयोग अपील पनि गरेका रहेछन्।
जुम्लाका असी हजारजति सेना भनेका झराला सैनिक समेत हुन्। यी आवश्यक पर्दा बोलाइने पारामिलिसिया जस्तै सामान्य तालिमप्राप्त युवा हुन्। यसरी असी हजार सैनिक नै भएको जुम्लामा पराजयको चार दशकपछि जनसंख्या नै सत्तरी हजार मात्र रहनु के अनौठो होइन र? अझ त्यसपछि अर्को सय वर्षमा पनि जनसंख्या केवल पाँच हजार मात्र थपिनु थप रहस्यमय छ।
वास्तवमा कर्णाली क्षेत्रको सदियौंको जनसांख्यिक शिथिलता एउटा युद्ध प्रतिशोधले निम्तिएको भयानक नरसंहारको श्रृंखला थियो। केही तथ्यहरूले यसलाई प्रमाणित गर्छन्।
पश्चिमा जुम्लाराज्य सबभन्दा बलियो थियो। गोर्खालीले पटकपटक प्रयास गरी बि.सं. १८४६ असोज २३ मा जुम्लाराज्यको केन्द्र छिनासीम जिते पनि जुम्ला, मुगु र हुम्लाका गाउँतिर गोर्खालीविरूद्ध बिद्रोह भइरह्यो। त्यसलाई दबाउन तत्कालीन सत्ताका नायब बहादुर शाहले सोही वर्षकै माघ ८ गते जुम्लाका सुबांगी भक्ति थापालाई पत्र पठाए।
त्यस पत्रमा '...ठाना हाल (किल्ला बनाउ), झारजंगल पस्याकालाई कुर हान, रसद षोल, बाह्र वर्षदेखि उभोकालाई साफ गर, जहान बच्चालाई बस्तीमा बसाव...' भनी निर्मम निर्देशन दिएका छन्।
बहादुर शाह एक क्रुर युद्ध नायक थिए। उनले एकीकरणमा ठूलो योगदान गरे पनि आफूले जितेको राज्यका जनतामाथि न्याय गर्न सकेनन् भनी बहादुर शाहमाथि नै विद्यावारिधि गरेका भद्ररत्न बज्राचार्यले लेखेका छन्। लडाइँ अभियानमा तीव्र लुटपाट भयो भने पराजित राजपरिवारका सदस्यमाथि अमानवीय व्यवहार पनि अत्यधिक भयो। उनलाई आफ्नै भतिजाले बन्दी बनाएर चालीस वर्षकै उमेरमा रहस्यमय ढंगले मारे। उनको क्रुरताले आजित भएर उनको टाउकोमा तातो तेल खन्याएर मारियो पनि भनिन्छ।
एकीकरणका क्रममा सुरू भएको संहार र दमन शृंखलाले समग्र कर्णालीको जनसांख्यिक, सामाजिक, साँस्कृतिक र मनोवैज्ञानिक रूपरेखा बदल्यो। यो क्रम राणाशासनकालको उत्तर्राद्धसम्मै रह्यो। राणाकालीन एकान्तपना तथा दुर्गम हुनुले केन्द्रसँगको दूरीका कारण बाह्य प्रभावबाट उति प्रभावित थिएन। तर आफैंमा फस्टाउन सक्ने अवसर र वातावरण पनि कहिल्यै मिलेन।
स-साना आन्तरिक आर्थिक, सामाजिक र साँस्कृतिक गतिविधि बाहेक उल्लेखनीय विकास र विस्तार अवरूद्ध थियो। प्रजातन्त्र आगमनपछि पनि यसका अवशेष कायमै रहे। यसरी संकट र पीडाबाट उन्मुक्ति नपाएरै कर्णालीका बासिन्दाका करिब दुई सय वर्ष बिते।
आधुनिककालमा कर्णालीका वस्तीमा लेखपढ गर्ने अवसर निकै ढिलो आयो। सुनेरै हस्तान्तरण गरिएका अधिकांश जानकारी पुस्तान्तरसँगै विस्मृतिमा पुगे। कर्णाली हुँदै पूर्वतिर फैलिएका पुर्खाका सन्तानले बरू केही जानकारी राखेका हुन सक्छन्। तर कर्णालीमै आममानिसलाई भने आफ्नो वंशावली समेत थाहा छैन। मलाई पनि मुस्किलले मेरो चार पुस्ता अघिसम्मको छिटपुट जानकारी छ। शिक्षित भए पनि मसँग अघिल्लो पुस्ताबारे केही जानकारी मिल्ने तमसुक र अन्य टिपोट कागज छिचोल्न सक्ने व्यावहारिक क्षमता छैन।
गाउँको पनि इतिहास हुन्छ। धेरैजसो गर्विलो विगत नै हुन्छ। बस्ती कसरी बस्यो र विस्तार भयो अनि को कताबाट कहिले आएर बसे भन्नेबारे कथाहरू मार्मिक र रोचक हुन्छन्।
एउटा पहल गत कात्तिकमा 'लाम्रा संवादः गाउँका कुडा २०७७' को 'गाउँको जडो' सत्रमा भएको थियो। सत्र सञ्चालक शिक्षक लालप्रसाद चौलागाईंले गाउँकै जानकार वक्ताहरू पूर्णचन्द्र चौलागाईं, विश्वराम सार्की, कर्णप्रसाद उपाध्याय, र भद्रवीर दमाईसँग गाउँको विशेषता के छन्, नाउँ कसरी रह्यो, वस्ती कसरी बस्यो भन्नेबारे छलफल गरेका थिए। यसलाई रेकर्डमार्फत गाउँको हाल उपलब्ध इतिहासको अंश अभिलेखीकरण गर्ने प्रयास भएको छ।
भारतमा इस्ट इण्डिया कम्पनी प्रवेश गर्दायता जुम्लाका पहाडमा मेरा पुर्खाहरू के गर्दै थिए होला? आजभन्दा सय वर्षअघि गाउँ आसपासबाट देवदारका काठलाई तिलानदीमा बगाउँदै कर्णाली नदीमा मिसाएर बर्दियामा उतारी ब्रिटिसराजको रेल्वे बनाउन धमाधम तस्करी हुँदै गर्दा गाउँमा के चर्चा हुन्थ्यो? महामारीले कति रूपरेखा बदलियो? जस्ता विगत जान्न मन त छ तर सायद अब पर्याप्त जानकारी सम्भव छैन। किनकी गाउँलेको इतिहास लेखिएन।
तथापी लाम्रा संवादः गाउँका कुडामा पुर्खाहरूको आगमन र विस्तारबारे केही चर्चा भयो।
यहाँ मानव बसोबासको सुरूआत त हजारौं वर्षअघिदेखि नै भयो। यहाँ पहिले लामी रह थियो। पानी सुक्दै गएपछि तिलानदीको मलिलो फाँट बस्तीयोग्य भयो। तिला उपत्यकाको यो बस्तीलाई समयक्रममा लाम्रा भनिन थालियो।
मानव वस्तीको सिधा सम्बन्ध त्यहाँ आसपासका वातावरणीय श्रोतहरूसँग हुन्छ। यहाँ खेतबारी, वनजंगल, खोलानालाको प्रचुरता छ। त्यसैले यहाँ विभिन्न ठाउँ र प्रयोजनबाट मानिस आएर बसोबास गर्न थाले। कालान्तरमा मूलतः चौलागाईं थरका मानिसको बाहुल्य रह्यो। उनीहरूसँगै सार्की, दमाई र अन्य बाहुन पनि आएर बसे।
चौधौं शताब्दीसम्म खस साम्राज्यकाल र त्यसपछि जुम्लाराज्यमा राजगुरु, ज्योतिष, पण्डित, सेना, अधिकारी, सहयोगी आदिलाई विर्ता दिएर बस्ती बसाल्ने चलन थियो। लाम्रागाउँमा आएर बसोबास गर्ने चौलागाईंलाई पनि जुम्लाराज्यका पहिलो कल्यालवंशी राजा बलिराजका पालामा विर्ता मिलेको इतिहास भेटिएको छ। अचेल कालिकोटमा पर्ने राताडाबमा रहेका भारद्वाज गोत्रीय परिवारबाट चार सन्तान आएर हालको हाँकुगाउँ नजिक चौंडिल्या भन्ने ठाउँमा आएर बसे।
त्यहाँबाट एकजना अनन्त नाउँ गरेका भाइ पूर्वतर्फ गए। नेपालको पूर्वी भागमा भेटिने चौलागाईंहरूका पुर्खामध्ये एकजना सायद उनै हुन्। अर्को कान्छा भाइ बालाराम कुडारीको नुवाकोट गाउँको चौसिलामा गए। उनैका सन्तानमध्ये एकजना पछि लाम्रा गाउँको फान्चौर आएर बसे भने अर्का डोल्पातिर बसाइ सरेका थिए।
अहिले लाम्रागाउँ रहेको स्थानमा ढुँडे र भरुने नाउँका मानिस बस्थे। कारणबस उनीहरू दुवै निसन्तान भए। उनीहरूकै मौजामा चौंडिल्याबाट शिव शर्मा र देउ शर्माका परिवार आएर बसे। उनै ढुँडे र भरुनेको पालामा हाल गाउँमा रहेको देवदारको रूख रोपिएको हो भन्ने किम्बदन्ती पनि छ। अर्थात रूखको जडोसँगै गाउँको जडो पनि छ।
यो रूख निकै विशाल छ। यसको फेदको गोलाइ मात्र ३६ फिट छ। उचाई हालसम्म नाप्न सकिएको छैन।
योगी नरहरिनाथले आजभन्दा चालीस वर्षअघि यो रूख हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरेका थिए। यो अनुमान अनुसार रूखको अस्तित्व हालका गाउँलेका पुस्ताले बासोबास गरेभन्दा निकै पुरानो हुन्छ। तर यसको वैज्ञानिक परीक्षण नगरी यसै ठोकुवा गर्न सकिन्न।
यस क्षेत्रका बासिन्दाको औसत आयु निकै कम हुने तथ्य मनन गर्दा २५ वर्षभन्दा कम समयमा पुस्तान्तर हुने अनुमान गर्न सकिन्छ। उतिबेलाका रजौटाको पुस्ता परिवर्तन हुने इतिहास पनि यस्तै थियो। यस हिसाबले लाम्रा गाउँमा अहिलेका बासिन्दाको कम्तिमा पच्चीस पुस्ताले बसोबास गरिसकेको हुनुपर्छ। तर अधिकांश गाउँलेलाई पछिल्ला केही पुस्ता र सुरूआतका किम्बदन्ती मात्र जानकारी छन्।
कम्तीमा ६०० वर्षको इतिहास भएको गाउँमा हालसम्म १३५ घरधुरी मात्र विस्तार भएको छ। माथि चर्चा गरिएजस्तै महामारी तथा अन्य दैवीप्रकोपका कारण मात्र नभई तत्कालीन सामाजिक राजनीतिक प्रतिकूलताका कारण पनि स्वभाविक वृद्धि र विस्तार हुन नसकेको हो। जसरी समग्र कर्णालीको इतिहासको पछिल्लो दुई सय वर्षको कालखण्ड अन्धकार छ, त्यसरी नै गाउँको इतिहास पनि ओझेल छ।
लाम्रा संवादः गाउँका कुडा २०७७ को दोस्रो सत्र 'गाउँको जडो' पूरा भिडिओ हेर्नुस्ः
(लेखक माधव चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका, लाम्रागाउँका बासिन्दा हुन्।)