'दाइ, गोलभेँडा लैजानू न।'
म पांगा दोबाटोबाट कोठातिर आउँदै थिएँ। उनको आवाज सुनेर रोकिएँ।
१४ वर्ष भयो कीर्तिपुरमा साँझपख तरकारी किन्न जान थालेको। अहिलेसम्म कसैले पनि यति मीठो स्वरमा तरकारी लैजानू भनेको सुनेको थिइनँ।
टाउको मात्र घुमाएर हेरेँ। कुर्ता-सुरुवाल लगाएकी, निधार पनि ढाकिने गरी टाउकोमा कपडा बाँधेकी अनि निलो सर्जिकल मास्कले नाक-मुख छोपेकी युवती अगाडि एउटा क्यारेट राखेर उभिएकी थिइन्। उनको क्यारेटभरि गोलभेँडा थियो।
तरकारी त मैले भित्रको बजारबाट किनिसकेको थिएँ। 'दाइ, गोलभेँडा लैजानू न' भन्ने उनको बोलीमा यति धेरै अनुरोध मिसिएको थियो, बेवास्ता गरेर हिँड्नै सकिनँ। फर्केर उनको छेउमा गएँ।
पांगा दोबाटो चोकको फुटपाथमा उनीजस्ता अरू धेरै महिला/पुरूष अगाडि तरकारी फिँजाएर बसेका हुन्छन्। कसैले डोकोमा फर्सीका मुन्टा, काँक्रा, च्याउ, अकबरे खुर्सानी राखेका हुन्छन्। सिजनअनुसार उनीहरूका अगाडि हुने तरकारी फेरिइरहन्छन्। कोही-कोहीसँग ठेला हुन्छ। पांगा दोबाटोदेखि नगाउँ दोबाटोसम्म ठेला गुडाइरहन्छन्- आयो है आयो, ताजा-ताजा तरकारी भन्दै। ठेलामा तरकारीको आइटम पनि अलि धेरै हुन्छ।
उनको क्यारेटमा त गोलभेँडा मात्रै थियो।
'एक केजी राखिदिऊँ, दाइ?' म छेउमा आएपछि उनले सोधिन्।
'एकछिनमा ल,' मैले फिस्स हाँस्दै भने। मेरो हाँसो मास्कले छेकिदियो। उनले देख्नै पाइनन्।
नाक-मुख र निधार त उनको पनि मैले कहाँ देखेँ र! तर मेरो 'एकछिन' शब्दले उनी पक्कै खिन्न भई होलिन्।
म साइडमा गएर उभिएँ। उनका लागि भर नभएको ग्राहक बनेँ।
मेरो भर नभएपछि बाटोमा हिँड्नेलाई उनी फेरि भन्न थालिन्- दाइ, गोलभेँडा लैजानू न। दिदी, गोलभेँडा लैजानू न।
पांगा दोबाटोमा थोरै मान्छे हिँडिरहेका थिए, लहरै बसेका तरकारी बेच्नेहरू सबैले एकैचोटि ग्राहक पाउन मुस्किल थियो।
कोही मान्छे ती युवतीको क्यारेटअघि रोकिँदा दायाँबायाँ बसेकाहरू यस्तरी हेर्थे, मानौं उहिल्यैदेखि बसेका हाम्रो भाग यसले आएर खोसिदिई।
कोरोना भाइरस आउनुभन्दा अघिको कुरा हो। साँझपख पांगा दोबाटोमा खुबै भीडभाड हुन्थ्यो। कसैसँग ठोक्किएला कि भनेर जोगिँदै हिँड्नुपर्ने।
चार-पाँचवटा माइक्रोबस छेउमा हुन्थे। कन्डक्टर भाइहरू हिपबाट खस्नै लागेको पाइन्ट एक हातले उँभो तान्दै भन्थे- दाइ/दिदी जाने हो: बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क।
सरकारी जागिर खान हातमा सोपान, अन्तर्राष्ट्रिय मञ्च पत्रिका र लाइन नभएका सादा कापी बोकेकाहरू पनि भेटिन्थे।
यही बीचमा सुनिन्थे- छिंगु, पाल्ली, साराम, सोजु मेक्जु, यजाछिंगुजस्ता कोरियन शब्द। म तिनको अर्थ बुझ्थेँ- साथी, छिटो, मान्छे, रक्सी, बियर, केटीसाथी।
गाउँका स्कुलबाट प्लस-टु सकेका, बजारमा ब्याचलर पढेका वा त्रिभुवन विश्वविद्यालयमा मास्टर्स पढ्दै गरेकाहरू बाटोमा हिँड्दा पनि साथीभाइसँग यी शब्दहरू भनिरहेका हुन्थे। उनीहरू शब्द पो कोरियन भन्थे, सपना त तिनमा आमनेपालीको मिसिएको हुन्थ्यो- महिनामा डेढ-दुई लाख पैसा कमाउने। सहर-बजारमा घडेरी किन्ने, घर बनाउने। फर्किने बेला अलिअलि पैसा लिएर आउने, नेपालमै केही बिजनेस गर्ने अनि सुखसँग जिन्दगी काट्ने।
कोरोना आयो। रोक्छु भनेर सरकारले लकडाउन गर्यो। लकडाउनलाई कोरोनाले टेरेन कि मान्छेले! कोरोना नरोकिँदै चार महिनापछि लकडाउन खुल्यो। तर कीर्तिपुरका सडकमा हिँड्दा छिंगु, पाल्ली भन्नेहरू फर्किएनन्। अचेल कहाँ गए होलान् कोरियन शब्दसँग जिन्दगीका सुनौला सपना बुन्ने उनीहरू?
'दाइ-दिदी अलि पछाडि सर्नू, मिलेर बस्नू न' भन्दै माइक्रोबसको ढोकाढोका ढ्यापढ्याप हान्ने ती कलिला कन्डक्टर भाइहरूका हात अचेल के गर्दै होलान्?
'एक केजी राखिदिऊँ दाइ,' उनले अगाडि आएको ग्राहकसँग सोधिन्।
त्यो मान्छेले हातले तानेर मास्क चिउँडोमा पुर्यायो। र, सोध्यो- कसरी हो?
'९० रुपैयाँ किलो हो दाइ, मिलाएर ८५ मा लैजानू,' उनले हतारहतार भनिन्।
'एक्लो ज्यानलाई एक किलो लिएर त के गर्नु बैनी। एक पाउ राखिदेऊ,' त्यो मान्छे गोलभेँडा छान्न थाल्यो।
केही बेर कोही ग्राहक आएनन्। उनले फर्केर पुलक्क मलाई हेरिन्। म उनको भर नभएको ग्राहक बनेर त्यहीँ उभिइरहेको थिएँ। फिस्स हाँसेँ। मेरो हाँसो मास्कले छेकिदियो। उनले देख्नै पाइनन्।
एकछिनमा उनले नबोलाएको ग्राहक आयो। झुत्रा लुगा लगाएको उसका हातगोडा मैला थिए।
त्यो मान्छे सरासर क्यारेटबाट गोलभेँडा छान्न लाग्यो। उनी अलमलमा परिन्। सोधिन्- दाइ कति राखिदिऊँ?
उसले बोलेन। तीन-चार दाना गोलभेँडा तराजुमा राख्यो।
झुत्रा लुगा लगाएका दाइलाई २०६३ सालमा कीर्तिपुर आएदेखि म चिन्छु। उनी कहिल्यै किचन र्याक, कहिले ग्यास सिलिन्डर, कहिले चारखुट्टे खाट बोकेर भाजंगलदेखि ट्यांग्लाफाँट, बाघभैरवदेखि राराहिल स्कुलसम्म हिँडिरहेका हुन्थे। कहिले बुद्ध विहारनिरको पाटीमा साथीभाइसँग बाघचाल खेलिरहेको देख्थेँ।
'दाइ, सूर्यबहादुरलाई चिन्नुहुन्थ्यो?' मैले नजिकै गएर सोधें।
'को सूर्यबहादुर?' उनले उल्टै प्रश्न गरे।
'तामाङ, सूर्यबहादुर तामाङ,' मैले दोहोर्याएँ।
'त्यो बूढो...' उनी एकछिन अड्किए। सोचेजस्तो गरेर भने, 'मर्यो।'
'कसरी मरेको नि दाइ,' उनलाई उत्तर दिन झर्को लागेको छ भन्ने थाहा पाउँदापाउँदै पनि मैले सोधेँ।
उनले एक हातले नाम्लो काखीमा च्यापे। अर्को हातले गोलभेँडाको पैसा दिँदै भने- भोकभोकै मर्यो भन्छन्।
यति भनेर उनी हिँडे।
सूर्यबहादुर पनि यसरी नै एक हातमा नाम्लो बोकेर हिँड्थे कीर्तिपुरमा। बूढो भइसकेको ज्यान पाल्न उनी ज्यानभन्दा ठूलो भारी बोक्थे। कहिले त्यही बुद्ध विहारनिरको पाटीमा बाघचाल खेलेर साथीलाई हराएको खुसीमा हाँस्थे। नाम्लोसँग उनको नाता यति कसिलो थियो, गत जेठ ११ गते मंगल स्कुलअगाडिको फुटपाथमा उनले अन्तिम सास फेर्दा पनि उनको हातमा नाम्लो थियो।
सूर्यबहादुर कहाँ गए होलान्?
सानो हुँदा म हजुरआमालाई सोध्थेँ- बज्यै, मान्छे मरेपछि काँ जान्छन्?
हजुरआमा भन्नुहुन्थ्यो- ऊ... त्यस्ता तारा हुन्छन्।
मैले आकाशतिर हेरेँ। सोचेँ- सूर्यबहादुर तामाङ पनि तारा भए होलान्। माथि आकाशबाट उनी हेर्छन् होला, कीर्तिपुरको सडकमै छुटेको आफ्नो नाम्लो। अनि आफूजस्तै साथीहरू भोकभोकै ढलेको देख्नुपर्छ कि भनेर बिलाउँछन् होला, झिसमिसे उज्यालो नहुँदै।
मैले यति सोचिसक्दा पनि उनले क्यारेटको गोलभेँडा बेचिसकिनन्। दायाँबायाँ बसेकाहरू बिक्री नभएको तरकारी पोको पारेर घर जान थाले। रात छिप्पिँदै गएपछि पांगा दोबाटोमा ड्युटीमा खटेका प्रहरीबाहेक मान्छे देखिन छाडे।
अब उनी र म मात्र बाँकी रह्यौं।
'तपाईं सधैं तरकारी बेच्नेजस्तो त लाग्दैन,' झन्डै डेढ घन्टा भर नभएको ग्राहक बनेपछि मैले सोधेँ।
'अब विस्तारै लाग्छु होला,' उनले 'गोलभेँडा लैजाने भए लैजानू, नत्र म जान्छु आफ्नो कोठामा' को भावमा भनिन्। दाइ, गोलभेँडा लैजानू न, दिदी, गोलभेँडा लैजानू न भन्दाभन्दै धेरै थाकिसकेकी थिइन् सायद।
'पहिला के गर्नुहुन्थ्यो?' प्रश्नसँगै मैले गोलभेँडा पोलिथिनमा हाल्न थालेँ। अब पनि भर नभएको ग्राहक बनेर उभिरहेँ भने उनी मेरा प्रश्नको उत्तर दिन झन्झट मानेर कोठामा गइदिन सक्थिन्।
'बोर्डिङ स्कुलमा पढाउँथेँ,' उनले भनिन्।
'अनि?'
मैले पोलिथिनभरि गोलभेँडा तराजुमा राखेँ।
'अनि अहिले गोलभेँडा बेच्छु,' उनको जवाफ निकै रूखो थियो।
मैले उनलाई आफू पत्रकार भएको बताएँ।
'ठिकै छ त, तपाईं पनि कुनै दिन मजस्तै फुटपाथ तरकारी बेच्न आउनुहुन्छ होला, ढिलोचाँडो, उनले भनिन्।
मलाई मिल्न सक्ने भविष्यवाणी सुनाएपछि उनले आफ्नो कथा भनिन्।
नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट ब्याचलर्स सकेपछि काठमाडौं आएकी रैछन्, मास्टर्स पढ्न। अंग्रेजीमा एमए पढ्न बिहानै आरआर क्याम्पस जान्थिन्। सधैं एक-दुई लेक्चर छाडेर कोठामा फर्किन्थिन्। हतारहतार लुगा लगाएर बोर्डिङ पढाउन जान्थिन्।
लक्ष्य उनको युनिभर्सिटीकी प्रोफेसर बन्ने थियो रे।
'घरकाले त मलाई बिहे गरेर मास्टर्स पढे भइहाल्छ नि भन्थे। मैले मानिनँ,' उनले भनिन्, 'बरू पढ्न कसैसँग पैसा माग्दिनँ। पहिला आफ्नो सपना पूरा गर्छु अनि मात्र बिहे गर्छु भनेर आएँ।'
बोर्डिङ पढाउँदै मास्टर्स पढ्ने, मास्टर्स सकेर कलेज पढाउने अनि एमफिल सक्ने। पैसा जोगाउने, पिएचडी गर्ने अनि युनिभर्सिटीमा पढाउने। उनले सपनाको भर्याङमा खुट्किला राखिसकेकी थिइन्।
'अनि?' मैले फेरि सोधेँ।
'अनि कोरोना आयो,' उनले भनिन्।
कोरोनाले उनको सपनाको भर्याङ लडाइ मात्र दिएन बगाइदियो।
'पहिला घर गइसकेकी थिएँ। घरतिर बोर लाग्दा टिकटक हेर्थें,' उनले भनिन्, 'एसइईको नम्बर दिनुपर्यो भनेर बोर्डिङले बोलायो। पाँच हजार तिरेर काठमाडौं आएँ।'
उनले कोठामा भएका कापी जाँचेर विद्यार्थीलाई एसइईको नम्बर दिइन् तर बोर्डिङले उनलाई तलब दिएन।
घरबेटीलाई दिने पैसा थिएन। 'धन्न हाम्रा घरबेटी मन ठूलो रैछ- अहिलेसम्म पैसा मागेका छैनन्,' उनले भनिन्।
साउन ७ मा लकडाउन खुल्यो तर उनले पढाउने बोर्डिङ खुलेन।
'कोठामा बस्दाबस्दा दिक्क लाग्थ्यो तर मलाई फेरि घर जान मन लागेन। बरू भत्केपाटीतिर गएँ। त्यहाँ धेरैले टनेल बनाएर तरकारी खेती गरेका छन्,' उनले भनिन्, 'दुई-चार हजार लगानी गरेर गोलभेँडा बेच्ने योजना बनाएँ। केही न केही त गर्नै पर्यो।'
उनले गोलभेँडा बेच्न थालेको दुई दिन भएछ।
'नाफा हुन्छ त?' मैले तराजुमा राखेको गोलभेँडा ठ्याक्कै एक किलो पुर्याएँ।
'सबै बिक्री भए त हुन्छ। अलि धेरै आइटम राख्न सके नाफा हुन्छ होला,' उनी आशावादी देखिइन्।
'अँ चाहिनेजति सबै तरकारी राख्नू, म रेगुलर कस्टमर हुन्छु नि,' मैले हाँस्दै भनेँ।
सायद उनी पनि हाँसिन् होला। हाम्रो हाँसो दुई मास्कबाहेक कसैले देखेन।
म एक किलो टमाटरको ९० रुपैयाँ दिएर निस्कन खोजेँ।
'म विस्तारै अरू पनि तरकारी राख्छु, आउनू न,' उनले निम्तोसहितको विदाइ गरिन्।
अर्को दिन काठमाडौं जिल्लाका तीन सिडिओहरूको बैठक बस्यो। कोरोना भाइरस संक्रमण बढेकाले निषेधाज्ञा गर्ने निर्णय गर्यो।
भदौ ४ देखि काठमाडौंमा निषेधाज्ञा छ। निषेधाज्ञामा उनीजस्ता फुटपाथमा तरकारी बेच्नेहरू बाहिर निस्कन पाउँदैनन्।
सुनसान सडक देखेर मेरो दिमागमा एउटा प्रश्न घुमिरहन्छ- फुटपाथमा तरकारी बेचेर आफ्ना टुटेका सपना जोड्न खोज्ने उनी आफू चार दिनदेखि तरकारीसँग भात खाइरहेकी होलिन् कि निस्तै?