हिजोआज बहस-विमर्शमा सत्य र असत्यका सबै दार्शनिक पक्षहरू, सरलीकरण र षड्यन्त्र भय प्रशारण गर्ने कुतर्कका अरूचिकर कोलाहलबीच गौण बनेका छन्। समग्र मुलुकको सरोकार जोडिएका सामाजिक र राष्ट्रिय महत्त्वका विषयमा हुने बहसमा समेत विषयवस्तुको गहिराइमा नगई, तटस्थ रूपमा ती विषय अध्ययन नगरी आफ्ना संकुचित स्वार्थको धरातलमा उभिएर एकतर्फी विचार राख्ने प्रवृत्ति मौलाएको छ।
कुनै पनि महत्त्वपूर्ण विषयमा चर्चा चल्दा बिना कुनै आधार र तथ्य 'विदेशी विस्तारवाद', 'धर्म परिवर्तन (विशेष गरी इसाईकरण)', 'राष्ट्रिय विखण्डन, 'पश्चिमाको योजना' जस्ता षड्यन्त्रको हवाला दिई कुनै कुरा समर्थन वा विरोध गरिएका दृष्टान्त सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा प्रशस्तै पाउन सकिन्छ।
सार्वजनिक रूपमा जस्तोसुकै विचार जवाफदेहिताबिनै प्रस्तुत गर्नु सामान्य बन्दै गएको छ। आफ्नो सुविधा अनुकूल परिकल्पना गरिएका तथा तथ्य र तर्कको कसीबाट कहिले पनि परीक्षण नगरिएका (कु)तर्कहरू सगर्व व्यक्त गर्ने तृष्णा फैलिएको देख्न सकिन्छ। यस्ता कुतर्क र अफवाहबीच एउटा 'इको च्याम्बर' बन्दै गएको देखिन्छ, जहाँ जसले जति धेरै षड्यन्त्रका कुरा गर्यो वा जति चर्को स्वरमा बोल्यो, चिच्यायो, त्यो नै सबभन्दा सफल मानिन्छ। त्यस्तै व्यक्ति ज्ञानी कहलिन्छ। र अरूभन्दा बढी राष्ट्रवादी पनि !
'मानव अधिकार पश्चिमा षड्यन्त्र हो', 'वैदेशिक सहायता धर्म परिवर्तनका लागि हो', 'कोरोना भाइरस चीन र अमेरिकाले आफ्नो प्रयोगशालामा बनाएका हुन्', 'एनजिओ र आइएनजिओले देश टुक्य्राउन लागेका छन्', 'सगरमाथाको पानी बेचेर नै नेपाल धनी हुन्छ', 'अर्को जंगबहादुर राणा भए नेपालको भलो हुन्थ्यो', भन्ने जस्ता अतिशयोक्ति मूलधारकै बहसमा देखिन्छन्।
मुलुकको अस्तित्व, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, विदेशी लगानी, वैदेशिक सहयोग, कानुन निर्माणलगायत मुलुकको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने पछिल्ला केही विवाद वा छलफल हेर्दा त झन् षड्यन्त्रका भय-प्रशारण एवं अत्यन्तै जटिल प्राविधिक कुरा पनि सरलीकरण गरिएका विचार र बहसको प्रभुत्व सजिलै देख्न सकिन्छ।
यस्ता चर्का र सरलीकृत विचार चर्चित हुनुमा एकखाले सामाजिक समर्थन र अनुमोदनले पनि काम गरिरहेको देखिन्छ। जटिल विषयमा तार्किक गहिराइसहितको बहसले भन्दा हेत्वाभास हुने जोशिला र असंगत तर्क प्रस्तुत गर्दा सामाजिक सञ्जालमा 'भाइरल बन्न' र वाहवाही कमाउन सकिने जस्तो देखिन्छ।
त्यसैले पनि गम्भीर सोच र मन्थनको ठाउँमा लोकरिझ्याइँ गर्ने अभिप्रायका असत्य मिश्रित अफवाह बढी चर्चित हुन थालेका छन्। नकारात्मक सोच, कुण्ठा, नैतिक मूल्य-मान्यतामा आएको ह्रासको परिणामस्वरूप गरिने सामाजिक समर्थनले हेत्वाभासीलाई थप दुरुत्साहित बनाएको जस्तो देखिन्छ। र आफूलाई मन लागेको कुनै विषयसँग जोडेर थप असंगत तर्क गर्ने दुरुत्साहन पैदा हुने गरेको पाइन्छ।
यसबाट हाम्रा कतिपय राजनीतिक विश्लेषक, पत्रकार, वकिल, प्राध्यापक, राजनीतिक दलका नेता र कर्मचारीलगायत समाजमा 'विचार निर्माण' गर्ने महत्त्वपूर्ण प्राज्ञिक दायित्व निर्वाह गर्नुपर्ने धेरै व्यक्ति ग्रसित देखिन्छन्। विडम्बना के पनि देखिन्छ भने, उच्चतम शैक्षिक उपाधि हासिल गरेका, समाजका गन्नेमान्ने, नीति-निर्माण तहमा पहुँच भएका मानिस पनि आफ्नो ज्ञान र विवेकका आधारमा विचार निर्माण र प्रस्तुत गर्नमा भन्दा सस्तो लोकप्रियता कमाउने र सामाजिक सञ्जालका पर-पीडक पछौटे र विवेकशून्य दस्ताको क्षणभंगुर अनुमोदनमा दंग पर्छन्।
लाग्छ- हेत्वाभाससहित षड्यन्त्रबारे चर्चा गर्न अघोषित प्रतिस्पर्धा नै भइरहेको छ हाम्रा विद्वानहरूबीच। भैरव अर्यालले सायद यही प्रवृत्तिलाई व्यंग्य गर्दै भनेका हुन्- 'नाराका लागि सबै थोक बेच्छन् पढे-लेखेका कति गुंगाहरू…।'
कसैले यस्ता कथित विद्वानलाई प्रश्न गर्यो, उनीहरूको विचारलाई वस्तुगत र तार्किक चुनौती दियो भने, तर्क र तथ्यका आधारमा आफ्नो विचारको प्रतिरक्षा गर्नुभन्दा व्यक्तिगत आक्षेप र विपरीत विचार अपुष्ट षड्यन्त्रको हिस्सा भएको भनी सहजै भन्दिने प्रचलन पनि निर्माण भएको छ। अझ एकथरिका विद्वानहरू त आफू र आफ्नो विचारलाई प्रश्न गर्ने व्यक्तिलाई अवस्थानुसार नानाथरी गालीगलौज र उपमा भिराउन पनि पछि पर्दैनन्।
बिखण्डनकारी, विकास भडुँवा, धर्मप्रचारक, विदेशी एजेन्ट, डलरखेती गर्ने, फलानो देशको दलाल आदि-इत्यादि हाम्रा विद्वानले आफ्ना आलोचकलाई भिराउने तयारी अवस्थामा रहेका उपाधि हुन्।
सबैलाई निरपेक्ष रूपमा भ्रष्टाचारी र देशद्रोही देख्नु र भन्नुमा नै सामाजिक अभियन्ता हुनुको योग्यता ठान्ने विचित्रको प्रवृत्ति विकास पनि यही बृहत सामाजिक अनुमोदनबाट हुने दुरुत्साहनको एक पक्ष जस्तो देखिन्छ। यो प्रवृत्ति भ्रष्टाचारविरुद्ध कुनै ठोस परिणाम प्राप्तिका लागि भन्दा पनि अदृश्य षड्यन्त्रको अशिष्ट र नाटकीय प्रस्तुतिमा केन्द्रित रहेको प्रतीत हुन्छ।
अझ त्यस्ता उत्तेजित विचार बढावा दिई गफ्फिने, सेयर र लाइक गर्ने, दंग पर्ने सामाजिक सञ्जालका पर-पीडक पछौटेहरूको विवेकशून्यता र आफ्नो विवेक एवं बुद्धिको भाँडोमा बिर्को लगाएका मानव-जत्थाको अविवेकी जोशिला प्रतिक्रिया र बिना सुझबुझको अनुमोदनमा नै हाम्रा 'अभियन्ता' सन्तुष्ट छन्।
सम्भवत: भ्रष्टाचारबाट वास्तवमै आक्रान्त हाम्रो समाज र त्यसको कारण निराश बनेका हाम्रो भावना यी 'अभियन्ता' ले राम्रैसँग उपयोग गरेका छन्। यस्ता 'अभियन्ता'ले 'फलानो काममा भ्रष्टाचार भयो' वा 'फलानो भ्रष्टाचारी हो' भन्दिए मात्र पनि पर्याप्त हुने अवस्था छ। तथ्य, प्रमाण, तर्क र बहसको गुञ्जायश बाँकी रहँदैन।
फरक राजनीतिक विचारलाई प्रश्न गर्नु र आफ्नो विचारको श्रेष्ठताको पक्षमा तर्क प्रस्तुत गर्नु राजनीतिको एउटा प्रमुख तत्व हो। तर हाम्रो प्रवृत्ति हेरौं त!
फरक राजनीतिक विचार र तर्कमाथि सान्दर्भिक प्रश्न नगरी उरन्ठेउलो तर्कमार्फत जग हँसाउने प्रतिस्पर्धा छ। झन् उच्चतम् राजनीतिक वा शासकीय जिम्मेवारी प्राप्त व्यक्तिको अभिव्यक्तिमा विवेकपूर्ण विचार वा तर्कभन्दा अस्थायी, तदर्थवादी, हलुका र मनोगत लहडी कुराकै प्रचुरता देखिन्छ। हेत्वाभासका यिनै हिमायतीले आफ्ना आलोचकलाई 'देशद्रोही', 'भद्रगोलवादी', 'इर्ष्यालु', 'विपक्षी दलको समर्थक', 'प्रतिगामी' भनी निसंकोच विशेषण थप्छन्। सस्तो लोकप्रियताका लागि प्रतिपक्षको हरेक विचारमा षड्यन्त्र देख्ने प्रवृत्तिले खुला बहस गर्ने राजनीतिक सुन्दरता नै विद्रुपीकरण हुँदै गएझैं लाग्छ।
विवेक प्रयोग गर्ने क्षमताका कारण मानव जाति अन्य जीवजन्तुभन्दा फरक छ। विवेक मानव जातिका लागि प्रकृतिको उच्चतम वरदान हो। हरेक व्यक्तिमा सोच-विचार गर्ने र विवेक प्रयोग गर्ने केही न केही क्षमता हुन्छ। मानवीय गुणको यो सुन्दर पक्षमा ह्रास आएका कारण कतै हामी प्राकृतिक एवं मानव सभ्यताको ऐतिहासिक नियम विपरीत डोनाल्ड ट्रम्पहरू जस्ताले भन्ने 'वैकल्पिक तथ्य' को दिशातिर बढ्न अग्रसर त छैनौं?
नेपाली समाजले अनुशरण गरी आएको धर्म, संस्कृति र परम्परामा तर्क र बहसलाई धेरै महत्व दिएको पाइन्छ। हिन्दू धर्मशास्त्रमा उक्तियुक्त तर्कको विशेष स्थान छ। शास्त्रमा उल्लेख भए पनि तर्कसंगत नरहेका कुरा बाध्यकारी हुँदैनन् भन्ने कौटिल्यको अर्थशास्त्रमा उल्लेख छ। सम्भवतः राम्रो तर्कलाई महत्व दिइएका प्राचीन ग्रन्थमध्ये कौटिल्यको अर्थशास्त्र एक हो।
हिन्दू धर्मशास्त्रमा 'केवलं शास्त्रमाश्रित्य न कर्तव्यो विनिर्णयः। युक्तिहीने विचारे तु धर्महानिः प्रजायते' अर्थात् शास्त्रमा हुँदैमा निर्णय गर्नु हुँदैन, युक्तिहीन विचारले धर्म हानी गर्छ भनी उल्लेख छ। यसले पनि हाम्रो संस्कार र सभ्यतामा तर्कपूर्ण बहसको महत्व दर्शाएको छ।
करिब २६ सय वर्षअगाडि अक्षयपद गौतम ऋषिले 'न्यायसूत्र' नामक पुस्तकमा तर्कपूर्ण बहस गर्नेसम्बन्धी शास्त्र, प्रवृत्ति र हेत्वाभासको विवेचना गरेका छन्। उनले वादविवाद, तर्क-वितर्कको क्रममा हुनसक्ने विभिन्न प्रकारका कुतर्क जस्तै 'जल्प', 'वितण्डा', 'छलम्', र 'जाति:' को पनि विवेचना गरेका छन्। गहिरो दार्शनिक पक्ष रहेको गौतम ऋषिको तर्कको विवेचनामा अभिमान गरे पनि व्यवहारिक रूपमा सभ्य र तार्किक बहस गर्ने कुरा हाम्रो संस्कृतिको अंग बन्न नसकेका कारण यो अवस्था सिर्जना भएको हुन सक्छ।
हाम्रा विद्यालय र महाविद्यालयमा बहस र विचारमाथिको मन्थन अझै प्रोत्साहित गर्न सकिएको पाइँदैन। समाज र परिवारमा त झन् यो विषय हाम्रो प्राथमिकतामा कहिल्यै परेकै देखिँदैन। हिन्दू कानुनका अध्येता रोबर्ट लिङ्गाटले उल्लेख गरेजस्तो कतै हिन्दू समाजको विकाससँगै वैधतालाई क्रमश: प्राधिकारले प्रतिस्थापन गरेका कारण हामीले तर्क र विवेकभन्दा सामाजिक, आर्थिक एवं राजनैतिक 'हाइरार्की'लाई सत्य र असत्य छुट्टाउने मापदण्डका रूपमा निसंकोच स्वीकारेका त हैनौं?
आफ्नो बाबु, बाजेले भनेका, साहु, हाकिम, नेता, शासन गर्ने अधिकारी, सञ्चारमाध्यमका विश्लेषक एवं पत्रकार र शिक्षकले भनेका कुरा हामी स्वत: सत्य भनी स्वीकार्छौं। स्वीकार्न बाध्य पनि गर्छौं। आफूले आदर गर्नुपर्ने व्यक्तिको विचारलाई प्रश्न गर्नु अशिष्टताको संज्ञा दिन्छ हाम्रो समाजले। कतै यही 'आफूभन्दा साना'को प्रश्न नरूचाउने वा 'आफूभन्दा ठूला'लाई प्रश्न नगर्ने प्रवृत्तिका कारण हाम्रो सार्वजनिक बहस-विमर्शको स्तर खस्कँदो छ।
सिद्धान्त, तथ्य, तर्क र विवेकका आधारमा राजनीतिक वा बौद्धिक बहस गर्ने प्रचलनमा ह्रास आउनु लोकतन्त्र र समाज दुवैका लागि हानीकारक छ। यसको कारण राष्ट्रहितमा निर्णय लिनसक्ने हाम्रो क्षमतामा क्रमश: ह्रास आउँछ। क्षणिक लोकप्रियताका लागि राष्ट्रहितका लागि गर्नुपर्ने व्यवहारिक र दीर्घकालीन कामहरू ओझेलमा पर्न सक्छन्। तथ्य, सम्बन्धित क्षेत्रको विज्ञता र प्रमाणको आधारमा कुनै पूर्वाग्रह नराखी तर्क प्रस्तुत गर्नबाट मानिस दुरुत्साहित बन्ने खतरा बढ्न सक्छ। स्वतन्त्र र विवेकपूर्ण बहस-विमर्श नै लोकतन्त्रको आधार स्तम्भ हो।
तर कुल्शित अभिप्रायः राखी दार्शनिक रूपमा सबल तर्कसहितको बहसभन्दा लोकप्रिय नाराको जगमा निर्णय हुँदा लोकतन्त्र र जनताको स्वतन्त्रता माथि खेलवाड हुनसक्ने खतरा उत्पन्न भएको छ।